स्यादवाद, संदेहवाद र अज्ञेयवाद
|स्यादवाद
सँस्कृतमा “अस” धातुबाट बनेको स्यात् अनेकान्तवाची शब्द हो । अनेकान्तवाची भनेको वस्तुको सत्ता अनेक गुण र पदार्थहरूबाट बनेको हुन्छ भन्ने बुझाउन प्रयोग गरिने शब्द हो । स्यात् शब्द जैनको अनेकान्तवादी दर्शनलाई बुझाउन पनि प्रयोग गरिन्छ । यसको सम्बन्ध ज्ञानमीमांसासँग छ । स्याद्वादमा भएको स्यात् शब्दको अर्थ फारसी भाषाको शायद शब्दसँग जोडेर त्यसको अर्थ शायद, सम्भावना, शंका, संदेह भएकोले यसलाई संदेहवादी (Scepticism), सम्भावनावादी, शायदवादी, कदाचित्वादी वा अज्ञेयवादी (Agnosticism) दर्शन भनेर गलत आरोपित गरेको पाइन्छ । यसो हुनाको कारण जैन दार्शनिकहरूले स्यात् शब्दको अर्थ सन्देह वा अज्ञेयका आधारमा प्रयोग गरेको नभई सापेक्षताको अर्थमा प्रयोग गरेको हुनाले भ्रम सिर्जना हुन गएको हो । तसर्थ, जैन दर्शनमा स्यादवादलाई सापेक्षतासँग जोडेर हेर्नुपर्ने हुन्छ । अर्को कुरा, जैन अनेकान्तवादी दर्शन भएकोले वस्तुका अनेक अर्थ र रूपलाई सम्बोधन गर्न “स्यात्” शब्दको प्रयोग गरिन्छ । स्यात्ले संदेह वा शायदको अर्थमा नभई अनेकतासँग जोडिएका धेरै दृष्टिकोण वा तीमध्ये कुनै एक दृष्टिकोणको सम्भाव्यतालाई व्यक्त गर्दछ । अर्को शब्दमा भन्दा अभिव्यक्तिमा अनेकतालाई जनाउन स्यात् प्रयोग गरिन्छ, तर यो संदेहवादी दर्शन भने होइन । जस्तो– आज वनभोज जाने हो ? भनी सोधिएको प्रश्नको उत्तरमा “शायद जान्छु” भन्यो भने यो संदेह वा शंका गरेको नभई सापेक्ष रूपमा अनुकूल परिस्थिति भएमा जान्छु वा परिस्थिति अनुकूल नभएमा जान सक्दिन भनिएको हो । यस भ्रमलाई चिर्दै काशी विश्वविद्यालय, दर्शनशास्त्र विभागका अध्यक्ष स्व.मणिभूषण अधिकारीले भनेका छन्, “….. जैन धर्मको स्यादवाद सिद्धान्त गलत बुझिएका कुनै पनि सिद्धान्तभन्दा बढी गलत बुझिएको छ ।”
स्यादवादको विषयमा नेपाली साहित्यका विशिष्ट साधक कृष्ण धरावासीले आफ्नो पुस्तक लीलाबोधमा उल्लेख गरेका छन्– कुनै पनि निश्चयात्मकताको अस्वीकृति नै स्यादवादको मूल दर्शन हो ।
वस्तुमा रहेका अनेक धर्मलाई वाणीले एकैपटक भन्न नसक्ने हुनाले स्यात्ले जुन धर्म वा गुणलाई भन्न खोजेको हो, त्यसलाई प्रमुख सापेक्षमा राखेर अरु गौण धर्मको अस्तित्वलाई पनि सापेक्ष रूपमै स्वीकार गर्दछ । जस्तो– स्यात् बाहिर घाम लागेकोले गर्मी छ । यसको अर्थ यस वाक्यले घामको मुख्य गुण गर्मीलाई बोके पनि बाहिर गर्मी नै छ भन्ने किटानी गर्न सक्दैन । त्यसो भए यस वाक्यको मुख्य अर्थ के हो त ? यस वाक्यको मुख्य आशय के हो भने– बाहिर घाम लागेको हुनाले जहाँसम्म मलाई लाग्छ बाहिर गर्मी छ । यस वाक्यले बाहिर घाम भए पनि सापेक्षित हिसाबमा गर्मी नै छ भन्ने कुराको जिद्दी गरेको छैन । यही नै स्यादवादको उदाहरण हो । चार दृष्टिविहीन व्यक्तिहरूले हात्तीको बारेमा राखेको धारणालाई स्यादवादको प्रयोगमा ढालेर हेरौं– हात्तीको खुट्टा छुने व्यक्तिले भन्यो– हात्ती खम्बा नै जस्तो हुन्छ । यो निश्चयात्मक उत्तर भयो । तसर्थ यो स्यादवादी दृष्टिकोण होइन । दोस्रो पुच्छर छुने व्यक्तिले भन्यो– हात्ती डोरी जस्तो हुन्छ । यो निश्चयात्मक उत्तर नभए पनि अनिश्चयात्मक पनि छैन । तसर्थ, यो पनि स्यादवादी दृष्टिकोणभित्र पर्दैन । तेस्रो शरीर छुने व्यक्तिले भन्यो– जहाँसम्म मलाई लाग्छ हात्ती कुनै भित्तो जस्तो हुन्छ । यो पछिल्लो उत्तरमा “जहाँसम्म” भन्ने वाक्यांशले व्यक्तिको सापेक्षता दर्शाएकोले यो उत्तर सबैभन्दा ठीक छ । हुनलाई हात्ती भित्ता जस्तो हुँदैन तर पनि त्यो उत्तर अरुभन्दा ठीक हुनाको कारण त्यसमा उत्तर दिने व्यक्तिको सापेक्षता अर्थात् स्यात् प्रयोग भएको हुनाले सबैभन्दा सही जवाफ मान्न सकिन्छ ।
स्यादवादले वस्तुको किटानी हुन नसक्ने अविकसित गुणको अस्तित्वलाई पनि स्वीकार गरेको हुन्छ । यसैले स्यात् शब्दले घामको चर्को गर्मीको मुख्य धर्म वर्णन गरी चर्को गर्मी नहुन सक्ने सम्भावित घामको गौण गुणलाई पनि स्वीकार गरेको छ । “स्यात् कलम लामो छ” भनियो भने कलमको लम्बाइ अर्थात् प्रमुख धर्म लामो मात्र बुझ्नुहुँदैन; यसका अन्य गुणहरू जस्तो कलम गोलो, कालो, हरियो, च्याप्टो आदि पनि हुन सक्छ भन्ने गौण गुणलाई पनि सकारेको बुझ्नुपर्छ । त्यसैले यहाँ स्यात्ले कलमको मुख्य धर्म लामोलाई बताएर कलमको अन्य धर्मलाई पनि संरक्षण गरेको छ । छोटकरीमा स्यात्को अर्थ हो– वस्तुको विकसित कुनै एक गुण वा धर्मलाई मात्र पूर्ण वस्तु मानिनु गलत हुन्छ, त्यसका अन्य अविकसित र गौण गुणहरू पनि हुन्छन्, हुनसक्छन् ।
स्यात् शब्दले उजागर गर्न खोजेको कुरा के हो भने कुनै पनि शब्दको स्वभाव अवधारणात्मक हुन्छ जसले हुन सक्ने अन्य विभिन्न अर्थलाई निषेध गर्न दिँदैन । जस्तो– “स्यात् फल मिठो हुन्छ” भन्दा मिठोले फलको गुण स्वयम् बताएको छ तर स्यात्ले फलको मिठो हुने गुणका साथै फलका अन्य लुकेका गुण जस्तो फल नमिठो हुन सक्ने, तीतो हुन सक्ने, टर्रो हुन सक्ने, अमिलो हुन सक्ने आदि गुणमाथि निषेध गर्न सक्तैन । यसैले, स्यात् वस्तुका मुख्य गुण देखाएर पनि गुप्त रहेका अनेकान्त गुण र अर्थको प्रतिपादक बनिरहेको हुन्छ ।
स्यात्वादको प्रारम्भिक मार्ग हो, यसलाई सन्देहको रूपमा नभई सापेक्षतामा हेर्नुपर्ने हुन्छ । जस्तो– कुनै क भन्ने ठाउँमा ३८ डिग्री तापक्रम छ । अब ४५ डिग्रीभन्दा बढी तापक्रम हुने ठाउँबाट कुनै मानिस आयो भने क भन्ने ठाउँमा त्योभन्दा बढी गर्मी हुने ठाउँको सापेक्षमा एकदमै आनन्दको मौसम हुनेछ । त्यस्तै, अब ३८ डिग्रीभन्दा धेरै कम तापक्रम भएको हिमाली ठाउँबाट कुनै मानिस आयो भने क भन्ने ठाउँमा त्योभन्दा कम तापक्रम हुने ठाउँको सापेक्षमा एकदमै बढी गर्मी छ । त्यसैले हरेक मानिसले आफ्नो सापेक्षतामा वस्तुको तापक्रमलाई आफ्नै सापेक्षमा बुझ्दछन् । यसरी सापेक्षताको मापदण्डभित्र रहेर जीवनजगत्लाई हेर्नु र बुझ्नु नै स्यादवादी दर्शन हो ।
सुरुमा भनिएको जस्तो स्यात्वादलाई संदेहवादी, सम्भावनावादी, शायदवादी, कदाचित्वादी वा अज्ञेयवादी भनेर गलत बुझिए पनि निचोड के हो भने स्यात्वाद यी मध्ये कुनै पनि होइन । यो सापेक्षवादी दर्शन हो । स्यात्वादी दर्शन आइन्स्टाइनले भनेको सापेक्षतावादको सिद्धान्तसँग मिल्न जान्छ ।
सन्देहवाद
सन्देहको अर्थ चाहिँ कुनै एक तथ्यको सत्यतामाथि नै “हो वा होइन” भनेर शंकाको दृष्टिकोणले हेर्नु हो । जस्तो साँझसाँझको बेला वा मिमिरे बिहान जहाँ प्रकश यथेष्ट मात्रामा छैन, कुनै डोरीलाई सर्प वा सर्पलाई डोरी जस्तो देखिन्छ । त्यतिबेला मानिसको इन्द्रियले बुझेको वस्तु यहीँ हो भनी ठोस रूपमा भन्न सकिँदैन । त्यहाँ सन्देह पैदा हुन्छ । यसको कारण के हो ? मानिस मष्तिष्क द्विविधायुक्त छ, निश्चयरहित छ । यस्तो द्विविधायुक्त अवस्था नै सन्देहात्मक अवस्था हो । यहाँ भनिएको जस्तै प्रकाश पर्याप्त नहुँदा सामान्य वस्तुको पहिचान नभए जस्तै वरिपरिको वातावरणबारे यकिन गर्न सकिँदैन, त्यसमा सन्देह पैदा हुन्छ ।
कुनै पनि वस्तुको ज्ञानलाई तर्क र बुद्धिले निश्चय गर्न सकिँदैन । यसको कारण मानिसका इन्द्रियले अनुभव गर्न नसक्ने वस्तुको व्याख्या कसरी गर्ने ? यसको मतलव, वस्तुहरू ज्ञानको तहमा अनिश्चित र विकल्पयुक्त हुन्छन् भन्ने सिद्धान्त सन्देहवादी दर्शन हो । तसर्थ, दार्शनिक रूपमा सन्देहवादले सामान्य दृष्टिमा निश्चित देखिएका दावीहरूलाई अस्वीकार गर्दछ ।
अज्ञेयवाद
त्यस्तै, सन्देहवादभन्दा अगाडि बढेर अज्ञेयवादले कुनै पनि वस्तुको अन्तिम सत्ता वा सत्यता जान्न सम्भव छैन, जतिसुकै कोसिस गरे पनि त्यो अधुरै रहन्छ भन्ने मान्यता राखेको छ । कुनै पनि वस्तुलाई निश्चयका साथ यही हो भन्न मिल्दैन । यसको कारण के हो भने सम्पूर्ण सत्य बुझ्न मानिसको ज्ञान सीमित भएकोले त्यो सम्भव नभएको हो । यसो भन्नुको अर्थ– कति विषयवस्तुहरू मानिसको इन्द्रिय क्षमताभन्दा बाहिरका छन् र तिनीहरूलाई जान्न सम्भव छैन । यसको सुरुआतकर्ता जर्मन दार्शनिक कान्ट हुन् । कान्टका अनुसार वस्तुमाथि मानिसले बनाउने धारणा मानिससापेक्ष धारणा मात्र हुन् तर त्यस वस्तुको वस्तुता भने कसैले पनि भन्न सक्दैन । मानिसको सीमित ज्ञानका लागि वस्तुको वस्तुता अज्ञेय हुन्छ । अज्ञेयवादी दर्शन के हो भने जान्न खोजिएको वस्तु जान्न वा सम्झन सक्ने मानवसापेक्ष गुणभन्दा पर छ, दुर्बोध छ । बिरालो, आकाश, पहाड, आगो आदि मानिसले सामान्य दृष्टिले देखेको, तर्क र बुद्धिले व्याख्या गरेको अवस्थाभन्दा पर छन् । निष्कर्षमा भन्दा तिनीहरू यथार्थ र सन्देहात्मक अवस्थाभन्दा पर छन्, अज्ञेय छन् ।
dr. vikas divyakirti को youtube video #Jain philosophy को content संग धेरै कुरा मिले जस्तो छ। बाँकी राम्रो छ । जानकारी मुलक ।