लघु कथा – खुइय….
|
बैदेशिक रोजगारीका सिलसिलामा, ऊ खाडीमा थियो । तापक्रम ५२ डिग्री सेल्सियस थियो । रातोदिनको कठिन परिश्रमले होला ऊ थकित देखिन्थ्या । उसले ऊँटको सह्यार चाकर गर्ने काम पाएको थियो । एउटा ऊँटले तीनदिन अघि लात्तीले हानेको हुँदा घुँडो दुखेर ऊ राम्रोसित हिंड्न पनि सक्दैनथियो ।
उसले आफ्ना छोरालाई सम्झियो, उसले आफ्नी पत्नीलाई पनि सम्झियो ।
त्यही बेला उसको खल्तीभित्र मोवाइल बज्यो । उसले खल्तीबाट मोवाइल झिक्यो। नेपालबाट उसकी स्विट हर्टले गरेकाी रहिछ । उसले निदारबाट चुहिरहेका पसिना पुछ्दै फोन उठायो ।
`हेलो !´
`होइन तीज मनाउन जाबो २५ हजार पठाइदिएका ! एक लाख नभई तीज खर्च पुग्दैन है मैले भन्देकी छु ।´ उताबाट कर्कस ध्वनि सुनियो ।
` अलि व्ययभार घटाउ न ! घाँटी हेरेर पो हाड निल्नु पर्छ त । ´ नम्रतासाथ उसले सल्लाह दियो।
` ए म खर्चालु , मेरा दिदी बहिनीले तीजमा कति खर्च गर्छन् थाहा छ तसिमीलाई ? आज म बढी खर्च गर्ने ठान्यौ। तिमीले मलाई एक सुका पठाउन पर्दैन , अरूलाई नै पोस ! ल भैगो , गुड बाई !´ धम्की दिंदै स्विट हर्टले मोवाइलमा काटी ।
उसले मोवाइलमा एकटकले हेर्यो । उसलाई भनभनी रिंगटा लाग्यो । उसले आफ्नो क्लान्त शरीरलाई शान्त जमिनमा बिसाउँदै लामो सुस्केरानिकाल्यो ` खुइय ! ´
(कथाकार गुरागाईं मधुपर्क मासिकका पूर्व सम्पादक हुनुहुन्छ )