न्युयोर्कमा प्रधानमन्त्रीको सुरक्षाको प्रश्न कि प्रश्नबाट भाग्ने प्रवृति ?
|
भनाइ नै छ, तपाईंले जे रोप्नुभएको हो, त्यो बिरुवाले त्यही फल दिन्छ । तर, आजभोलि कतिपय व्यक्तिहरु ‘कागती रोपेर सुन्तला किन फलेन ?’ भन्दै रोइलो गरिरहेको सुनिन्छ । त्यसैको उदाहरण हो, विदेशमा बस्ने नेपालीहरुको बानी व्यहोरा।
विदेशमा बस्ने अधिकांश नेपालीहरु मातृभूमीबाट जहाज चढ्नअघि आ-आफू जुन-जुन राजनीतिक दलहरुप्रति प्रतिवद्द थिए, तिनले विदेश जाँदै गर्दा त्यो राजनीतिक आस्थालाई त्याग्न सकेनन् । त्यसैको परिणाम नेपालबाट सरकार प्रमुखहरू विदेशी भूमिमा आउँदा पनि अधिकांश परदेशिएका नेपालीका रोजाइमा पर्दैनन् । परदेशमा रहेकै भएपनि घरदेशको राजनितिक ‘ह्याङ्गओभर’ पछ्याउँदै यता आइपुगेका राजनीतिक दलका कार्यकर्ताहरूमात्र देशकै प्रतिनिधित्व गरेर विदेशमा आएका नेताहरू वा सरकार प्रमुखहरूको अघिपछि हुनपुग्छन् । न यता आउने अतिथिहरू नै समग्र प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्न सक्छन् न त प्रवासीहरूले नै अतिथीहरूको समय र भूगोलका आधारमा सम्मान गर्न प्रयास गरेको देखिन्छ ।
राजनीतिक दलभन्दा माथि सरकार हुनुपर्नेमा न सरकारले आफूलाई आम नागरिकको सरकारको अनुभूति गराउन सकेको छ नत परदेशमा आउँदा पनि त्यो व्यवहार देखिन्छ । पार्टीको सरकार, कार्यकर्ताको संरक्षण, अपारदर्शी आन्तरिक भेला-गुटबन्दी आदि यसका उदाहरण हुन् । पछिल्लो पटकको वा हालैको प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणको सेरोफेरोका दृश्य र परिणाम यसैका उदाहरण हुन् । राजदूतावासलाई रोज्न छाडेर आफ्ना पार्टीका समर्थक कार्यकर्ता को-को छन् भन्दै उनीहरुको सल्लाहामा राष्ट्रप्रमुखहरु दौडिएको देखिए । अनि तिनको सल्लाहा र सुझावमा हिडेपछि सरकार प्रमुख विदेशमा आएपछि पनि अपहेलित हुनु, राजनीतिक पार्टीको नेता वा कार्यकर्ताको रुपमा समर्थन वा बिरोध हुनु स्वभाविक भयो ।
त्यसैको परिणाम हो, न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेपाली समुदायबीच गरिने भनिएको अन्तर्क्रियाको कथा । नेपालमा जुन विषय वा विरुवा रोपेर प्रधानमन्त्री र परराष्ट्रमन्त्री अमेरिका आइपुग्नु भयो, त्यसैको छाँया र छाता न्युयोर्कमा पनि देखियो ।
अमेरिकामा नेपालका हरेक राजनीतिक दलपिच्छेका भातृसंगठनहरू सबैजसो राज्यहरूमा नै छ्याप्पछ्याप्ति छन् । अहिले नेपालका प्रमुख दुई दलको सरकार छ तिनै दुई दलका भातृसंगठनको प्रमुख आयोजनामा प्रम केपी शर्मा वली र परराष्ट्रमन्त्री आरजु राणाको जनस्तरबाट स्वागत कार्यक्रम राखिएको थियो तर त्यहीदिन उता नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेविरुद्द पक्राउ पूर्जीको हल्ला चल्यो ।
त्यसको प्रत्यक्ष असर नेपालमा रातारात लामिछानेले पार्टी कार्यालयमा आफ्ना कार्यकर्ताहरू भेला गरेर आफूलाई सरकारले जेल लैजान लागेको भन्दै आक्रोस व्यक्त गरे । त्यतिमात्र गरेनन् न्यूयोर्कमा रहेका प्रधानमन्त्रीलाई राती नै “न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनोस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियम भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी...” भन्दै सार्वजनिकरुपमै चुनौति दिन भ्याए । रवीका समर्थकहरु उता यता जुर्मुरिने नै भए । र, प्रधानमन्त्रीको न्युयोर्कको कार्यक्रममा पनि ‘कालो झण्डा र जुत्ताको माला लिएर आउन’ सार्वजनिक सूचना जारी गरे । यो दृष्टान्त यताको नभएर उतैका लेनदेनका गतिबिधि र व्यावहारको परिणाम थियो ।
त्यो थाहा पाएपछि न्यूयोर्कस्थित नेपाली नियोगले प्रधानमन्त्रीको कार्यक्रम सुरक्षा र व्यस्तताको कारण देखाउँदै रद्द गर्नुपर्यो । त्यो स्वभाविक नै थियो । यसको बीउ यिनै कांग्रेस कम्युनिस्टहरुले नै रोपेका हुन् । आफ्नो दलका प्रम आउँदा जयजयकार गर्ने अर्काका दलका प्रम आउँदा कालो झण्डा देखाउने गर्दै आएका नै हुन् । जसको परिणाम आज एमाले र कांग्रेसका कार्यकर्ताहरूले गरेको कार्यक्रमको विरोधमा रास्वपाका कार्यकर्ताहरूले बिरोधको स्वर उच्च पारेका हुन् । यो प्रेरणा वा परम्परा कार्यकर्ताको मात्र नभएर नेताहरूको ‘जुँगाको लडाईं’ वा ‘इगो’कोले रोपेको भुसको आगो पनि हो।
नेपालीहरूले गर्ने भनिएको कार्यक्रम साढे पाँच बजे शुरु गर्ने भनिएको थियो भने उता भारतीय प्रम मोदीसँगको भेटघाट ४ बजेदेखि करिब ४५ मिनेट थियो तर यता नेपालीहरूले खोजेको सभास्थलको ठाम न ठहर भएको र सुरक्षा व्यवस्था गर्न नसक्ने भनेपछि कार्यक्रम रद्द गरिएको थियो।
अमेरिकामा अहिले सयौंको संख्यामा नेपाल सरकारलाई नै सहृदय व्यापार, व्यवसाय, जलविद्युत, कम्प्युटर सफ्टवेयर लगायतमा लगानी गर्ने लगानीकर्ताहरू प्रशस्त छन् । तिनीहरूको पहिचान सम्बन्धित देशको राजदूतावासले गर्नुपर्ने हो तर त्यतातिर न दूतावासलाई ध्यान छ न नेपाल सरकारलाई नै । यदि त्यस्ता विज्ञ, व्यापारी र लगानीकर्ताहरूसँग बसेर अन्तर्क्रिया गर्न चाहेको भए न्यूयोर्कमा असुरक्षित हुनसक्ने सभाहल खोज्नु वा रोज्नुपर्ने थिएन । दूतावासका लागि मात्र नभएर नेताहरूका लागि पनि आलोचना,बिरोध वा प्रश्नबाट बच्न र भाग्नका लागि यो उपयुक्त बनेको हुनुपर्छ !
यहाँ दूतावासको सूचनाका सम्बन्धमा…….
नेपथ्यका कलाकार आउँदा ४० हजार डलरभन्दा बढ्तै भाडा र सुरक्षाकर्मीको व्यवस्थासहित सुबिधा सम्पन्न पाँचतारे होटलमा भव्य सभागृह लिन सक्ने नेपालीहरूले आफ्नो देशका प्रधानमन्त्रीलाई त्यसैगरी सुरक्षा सहितको पाँचतारे होटलमा कार्यक्रम गर्न नसक्ने भन्ने पक्कै पनि थिएनन् । आफू-आफूले पैसा उठाएर पनि त्यति कार्यक्रम राम्रोसँग गर्नसक्ने थिए । तर, सरकार स्वयम् पार्टीका कोटरीको वरपर बसेपछि त्यस्तो व्यवस्था कसले गरिदिओस् । त्यसैको परिणाम हो आफ्नै नेपालीहरूद्धारा आफ्नै सरकार प्रमुख अपहेलित हुनुपर्यो । पूर्व निर्धारित कार्यक्रम रध्द गर्नु पर्यो,यस्तो हुनुहुँदैन थियो ।
यही बेला सरकार प्रमुख र सुरक्षा प्रमुख पनि देश बाहिर जाने देशमा यति नै बेला रवी लामिछानेका विरुद्द सरकार किन उत्रियो ? यसको जिम्मेवारी कसले लिने ? अर्कोतिर अमेरिकामा नेपालीहरूबीच भेटघाट गर्न असुरक्षा र व्यस्तताको कारण देखाउँदै रोक्ने यो कस्तो चरित्र हो ?। अमेरिकामा आफ्ना राष्ट्रप्रमुखलाई सुरक्षा नभएको भन्दै विज्ञप्ति निकाल्ने तर ३-४ दिनको संयुक्त राष्ट्रसंघको महासभाको औपचारिक कार्यक्रमका लागि आएका प्रधानमन्त्री हप्ता दिनभन्दा धेरै लखरलखर कुदिरहने कस्तो द्धैध चरित्र हो ? यस्तो अवस्थामा यताको सुरक्षा खतरा र उताको राजनीतिक विकासक्रम, त्यसको प्राथमिकता र निकासका लागि अनौपचारिक कार्यक्रम कटौती गर्न पर्ने होइन र ? यसमा दूतावासले सार्वजनिक गरेको सूचनाको विषय अमेरिकी सरकारको ‘नोटिस’मा र कूटनीतिक सम्बन्धको सीमा र मर्यादा अनुकुल छ कि छैन भन्ने प्रश्न पनि अनुतरित छ ।
नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्री अमेरिकामा कहाँ के कति कारणले र कसरी वा कोबाट किन असुरक्षित भए ? यो विषय अमेरिकी सरकार वा संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइयो वा गराइएन ? यसैमा अर्को प्रश्न छ, समस्या सुरक्षाको हो कि व्यस्तताको ? जब व्यस्तता नै थियो भने सुरक्षा कसरी एकैसाथ जोडियो ? दूतावासले यहाँ पूर्णत अपजस अरुलाई थोपरेर सरकार प्रमुखलाई प्रश्नबाट पन्छिनका लागि ‘आँफै धामी-आँफै बोक्सी’को काम गरेको छ । सुरक्षा र व्यस्तताको सम्बन्ध के हो ?
यदि अमेरिकामा आफ्ना राष्ट्रप्रमुखको सुरक्षा छैन भने जुन कामका लागि प्रधानमन्त्री आएका हुन् त्यो काम सकेर नेपाल फर्कनुपर्ने हैन त ? यतिका दिनसम्म आफ्ना कोटरीका कार्यकर्ताहरूसँग एकएक गरेर भेट्दै,राजतन्त्र पुनर्स्थापना ( फर्काउने) समूहहरूको ज्ञापन पत्र बटुल्दै बस्ने र जीवनभर कहिले कतै कुनै काममा नआउने देशका प्रधानमन्त्री र राष्ट्रप्रमुखहरूलाई भेटेका तस्वीर सार्वजनिक गरेर बस्नुको औचित्य के हो ? आफू वरिपरिकाहरूको सुमेरु परिक्रमामा मख्ख पर्दै र तिनका मुखका स्वाद फेर्नका लागि महङ्गा पर्यटक बनेर टहलिने काम हो र देशको प्रधानमन्त्रीको ? पार्टीका समर्थकहरूको लहैलहैमा सरकार प्रमुख जबसम्म काँध काँध मिलाउँदै हिड्छन् र अपारदर्शी गुट-उपगटहरूमा नटुक्रिकन समग्र नेपालीको भावनालाई समेट्न र सम्बोधन गर्न सक्दैनन् तबसम्म प्रवासी नेपालीमा पनि त्यसकै छाँया र छाता हट्न गाह्रो हुन्छ ।
प्रश्न अर्को पनि छ, सुरक्षाका कारणले रध्द गरिएको कार्यक्रमस्थलमा पूर्णतः ताला लाग्छ कि त्यहाँ गएर आयोजकहरूले अरु रमिता र रमाइलो पनि गर्न सकिन्छ ? रध्द गरिएको कार्यक्रम र सुरक्षा खतरा छ भनिएको सभाहलमा गएर तमासा गरेको वा समर्थन र बिरोधमा नारा लगाइएको, व्यानर मुनी बसेर सेल्फी खिचेको विषयमा दूतावास बेखबर कसरि भयो ?
अमेरिकामा हुँदै नभएका कुराहरूलाई सामाजिक संजाल नामका व्यक्तिगत ‘टाइम लाइन’हरूमा मात्र होइन सरकारको वा सरकार प्रमुखको पार्टीका समर्थनमा चलेका केही समाचार पत्रकारहरूले त प्रधानमन्त्री केपी ओलीका विरुद्दका उडन्ते समाचारलाई भाइरल बनाउन भ्याए । यी सबै घटना र उदाहरण प्रश्नबाट भाग्ने,आलोचना सुन्न नचाहने,दोष अरुलाई थोपर्ने प्रवृती हो । यी प्रवृती हुनुहन्न थियो र दोहोरिनु त झनै हुन्न ।