धर्मको यात्रा कहाँबाट ?
|
हामीसँग विभिन्न प्रकारका धर्महरू (सम्प्रदाय) छन् । यो हाम्रो सौभाग्य हो कि हामीसँग विभिन्न प्रकारका धर्महरू छन् । एउटा मात्र धर्म भएको भए धर्मको इतिहास पनि (Black and White) हुन्थ्यो । प्रत्येक मनुष्य एक अर्का भन्दा शारीरिक र मानसिक रूपमा भिन्न छ | यो कुरामा विज्ञान पनि सहमत हुदै गइरहेको छ । प्रत्येक धर्मको आ-आफ्नो विधि, प्रकृया, परिभाषा, व्याख्या हेर्ने दृष्टिकोणहरू छन् तर अन्तिम पुग्ने ठाउँ वा अन्तिम लक्ष्य सबैको एउटै छ । जसरी प्रत्येक देशको नियम कानून, कार्यविधिहरू फरक भए तापनि आफ्नो देशलाई सुन्दर, शान्त, विशाल, प्रगतिशील जस्ता लक्ष्यहरू सवैको एउटै हुन्छ ।
मनुष्य प्रकृतिभन्दा माथि उठेको छ । मनुष्यमा चेतनाको विकास प्रकृतिभन्दा माथि उठेको छ र चेतनाको विकास हुँदै गइरहेको तर हामीसँग यस्ता मनुष्यहरू पनि छन् जसको तुलनामा हाम्रो चेतना प्रकृतिको स्तरमा नै छ । यदि हामी आफूलाई मनुष्य भन्छौं भने हामीभन्दा बढी चेतनाको विकास भएकालाई के भन्ने यसै अर्थमा हामी गुरू, सतगुरू, माता, पिता, भगवान, अवतारजस्ता शब्दहरू खोज्नु पर्यो ।
प्रत्येक मनुष्यलाई कुनै न कुनै दिन धर्मको यात्रा गर्नै पर्छ यो अनिवार्य शर्त हो । अझै भन्ने हो भने हामी सबै धर्मको यात्रा मै छौं । समय-समयमा आफ्नो होसलाई कुनै वस्तु वा पदार्थको सहायताबाट हामी आफूलाई प्रकृतिको स्तरमा लिएर जान्छौं जसबाट हामीलाई सुख प्राप्त भएको आभास हुन्छ । त्यो वस्तु वा पदार्थको असर कम भएपछि वा बुद्ध, महावीर, कृष्ण, मोहम्मद, जिससजस्ता मनुष्यको ख्याल वा प्रतिभाले फेरि हामीलाई वहाँहरूसँग बिताएको क्षणको आभास हुन्छ र प्रकृतिभन्दा माथि उठ्न सकिन्छ भन्ने ख्याल आउँछ ।
प्रत्येक मनुष्य स्त्री र पुरूषको जोड हो । स्त्रीको स्वभाव समर्पणको हुन्छ भने पुरूषको स्वभाव संकल्पको हुन्छ । कुनै महिला पुरूष स्वभावको पनि हुनसक्छ र कुनै पुरूष स्त्री स्वभावको पनि हुनसक्छ । धर्मको यात्रालाई समर्पण र संकल्प गरी दुई भागमा विभाजन गर्न सकिन्छ । समर्पणमा प्रेम, भक्तिभाव, पुजा पाठ, कृतन-भजनजस्ता कुरामा जोड हुन्छ, यहाँ भगवानको जन्म हुन्छ भने संकल्पको मार्गमा ध्यान, तर्क, साधना, योग जस्ता कुरामा जोड दिएको हुन्छ | यहाँ भगवानलाई इन्कार (अस्वीकार) गरिन्छ । दुवै मार्ग पूर्ण रूपमा भिन्न छन् तर पुग्ने ठाउँ दुवैको एउटै हो । आफ्नो स्वभाव अनुसार हामी मार्ग चुन्ने हो । दुवै मार्ग उत्तिकै सजिलो र कठिन छन् ।
प्रायः हामी दुवै मार्गमा हिड्ने प्रयास गर्छौं वा कुनै मार्गमा पनि हिड्दैनौं त्यसैले कहीं कतै पुगिन्न । आफूलाई अनुकुल पर्ने कुरा हामी दुवै मार्गबाट लिन्छौं यही सबैभन्दा ठूलो गल्ती वा भूल हो । दुवै मार्ग आफैंमा पूर्ण छन् । एउटा मार्ग रोजेपछि अर्को मार्गको सवै कुरा छोडनु पर्छ ।
समर्पणको मार्गमा संकल्पको विधि उपयोग हुँदैन र संकल्पको मार्गमा समर्पणको बिधि उपयोग हुँदैन तर हामीभित्र भएको समर्पण र संकल्प दुवैको उपयोग गर्दै जाने हो । यदि हामी समर्पणको मार्गमा जाने हो भने आफूभित्र भएको संकल्पलाई समर्पणको सहयोगी बनाउने हो । त्यसलाई वेवास्ता गर्ने हो भने यात्रा पुरा हुँदैन ।