संसारको लागि प्रकाश स्तम्भ बुद्ध
|नेपाल संसारले जति नै प्रगति गरेपनि, संसारको मूल इकाइ मनुष्य अझै पनि दुःखी नै छ । बुद्धले जुन दुःखलाई अनुभव गर्नु भयो, त्यो दुःख प्रत्येक मनुष्यको भित्री अस्तित्वमा छ, चाहे हामीले त्यो अनुभव गरौं वा नगरौं । हाम्रो अवस्था त यस्तो छ कि हामीलाई दुःखको अनुभूति गर्ने सामर्थ्य पनि हराइसकेको छ । आज हामी कष्टमै बाँचिरहेका छौं ।
बुद्ध भन्नुहुन्छ कि दुःख हटाउने उपाय हामी स्वयं हौं । यसको अर्थ, दुःख हुनुको कारण पनि हामी नै हौं । यदि दुःख अरूको कारणले हुने भए, दुःख कहिल्यै पनि हट्न सक्दैन । दुःखको मुक्ति हाम्रो आफ्नै मनोवृत्तिमा निर्भर छ, र जब हामी आफैँलाई रूपान्तरण गर्छौं, तबमात्र सच्चा सुख प्राप्त हुनसक्छ । जसलाइ वहाँले आनन्द भन्नु हुन्छ ।
मनुष्य एउटा विमारी हो, यही विमारी हाम्रो सौभाग्य हो भने यही विमारी हाम्रो दुर्भाग्य पनि । यही विमारीको कारण मनुष्य शान्त हुन सक्दैन र त्यही शान्तिको खोजमा संसार प्रगति गर्दै गइरहेको छ । यही विमारीको कारण मनुष्य स्वयंलाई यति विकशित गरेको हो भने यसैको कारण दिन-दिनै नयाँ खोज र अनुसन्धान भइरहेको छ । यो विमारी दिन प्रति दिन बढदै गइरहेको छ ।
बुद्ध आफूलाई वैद्य भन्नु हुन्छ । वैद्य भए पछि कुनै रोगको उपचार पनि गर्नु भएको होला । आखिर त्यो कुन रोग होला । त्यो रोग भनेको आध्यत्मिक रोग हो । यो रोगसम्म अहिलेको विज्ञान पुगेको छैन् । कोही-कोही वैज्ञानिकहरूले सोच्न थालेका छन् ।
आधुनिक विचारधारा भएका व्यक्तिसँग २-३ सय वर्ष पहिला मानसिक रोगको बारेमा धारण पनि थिएन | तर त्योभन्दा माथि आध्यात्मिक रोगको सम्बन्धमा बुद्धले अनुभव गर्नु भएको थियो । धर्मले चर्चा नै मन, आत्मा, सपना जस्ता विषयमा गर्छ । त्यही भएर प्राय हामीलाई धर्मको कुरा सम्झन कठिन हुन्छ । अब त विज्ञानले पनि योग, ध्यान गर्ने सम्बन्धमा सहमति दिदैंछ ।
कहिले-काहीं यस्तो घटना हुन्छ । ल्याबको रिपोर्टमा सबै कुरा ठिक हुन्छ, मान्छे पनि भौतिकरूपमा स्वास्थ्य हुन्छ तापनि ऊ आफू विमारी भएको भन्छ । कहिले ल्याबको रिपोर्टबाट मान्छे विरामी भएको देखिन्छ तर उसलाई देखेर लाग्दैन उ विरामी छ । मनुष्य भौतिक र अभौतिकको जोड हो ।
अहिले विज्ञानको युग चलिरहेको छ । तर्क र प्रमाणको कुरा बुझाउन सजिलो छ, दुःख र कष्ट त सबैले भोगेका छन् | त्यहीभएर बुद्धको कुरा फैलाउन सजिलो हुन्छ । विज्ञानको विकास मनुष्यको आवश्यक्ता लागि थियो | तर अहिले विज्ञानको विकाशमा मनुष्यको स्थान बहुत सानो भइसकेको छ । विज्ञानको उपकरण वा विकाश गलत काममा उपयोग भयो भने मनुष्यको अस्तित्व नै शुन्य हुने सम्भावन पनि छ । यसको सम्भावन त्यत्तिवेला झन् बढनेछ, जब त्यो उपकरण चलाउने अधिकार राजनीतिकसँग हुन्छ । त्यही भएर बुद्ध शान्तिको कुरा गर्नुहुन्छ । त्यो युद्ध जसबाट मनुष्यको पतन सम्भव छ, त्यसको अनुभवको कारण बुद्धले शान्तिको कुरा गर्नु भएको छ ।
गौतम बुद्धका शिक्षाले संसारलाई शान्तिको मार्गको साथै नेपाललाई आर्थिक उन्नतिको नयाँ क्षितिजमा पुर्याउन सक्ने सम्भावना पनि उत्तिकै छ । योग, ध्यान र आध्यात्मिक खोजको केन्द्रका रूपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्न सके, यसले शान्तिको सन्देश मात्र होइन, नेपालको आर्थिक पक्षलाई पनि नयाँ उचाइमा पुर्याउनेछ । ‘बुद्धका लागि संसार, संसारका लागि नेपाल’ भन्ने नारालाई साकार पार्न अब नेपालले ठोस योजना र पहल शुरु गर्नुपर्ने बेला आएको छ ।
बुद्धका विचार र शिक्षाको महत्व संसारभरि बढाउँदै लैजानु पर्नेहुन्छ । आजका दिनमा युद्ध, द्वन्द्व र अन्यायले ग्रसित विश्वलाई बुद्धका शान्ति र करुणाका सन्देशहरूले मार्गदर्शन गर्ने सम्भावन धेरै छ । ‘संसारको लागि बुद्ध’ भनेको मानव सभ्यताको भविष्यका लागि एक प्रकाश स्तम्भ बनाउने काम हामीले गर्नु पर्ने हुन्छ ।