वंशज वा मातृभूमि कर : प्रवासी नेपालीहरूको योगदान र देशको विकास !

कर भनेको कुनै पनि सरकारद्वारा आफ्ना नागरिक, व्यवसाय वा संस्थाहरूबाट विभिन्न प्रयोजनका लागि अनिवार्य रूपमा उठाइने आर्थिक शुल्क हो । कर राज्य सञ्चालन, विकास परियोजना, सार्वजनिक सेवा (स्वास्थ्य, शिक्षा, सुरक्षा, आदि) र समाजको समग्र उन्नति गर्नका लागि मुख्य स्रोत हो । सरकारले विभिन्न प्रकारको कर लगाउने गर्छ । कर तिर्नु नागरिकको जिम्मेवारी हो, जसबाट राज्यले समाजको समृद्धि र विकासका लागि विभिन्न सेवा प्रदान गर्दछ । कर, नागरिकले किन तिर्छन् ? नागरिकले राज्यलाई नियम-कानुन बनाउने र कार्यान्वयन गर्ने आधिकार किन दिन्छन ? यसको सिधा उतर हुन्छ- राज्यले नागरिकको सुरक्षा गर्छ भन्ने सैध्दान्तिक मान्यता र विश्वासले नै हो |

वंशज करको अर्थ कुनै व्यक्तिको मृत्यु पश्चात्, उनको सम्पत्ति उसको उत्तराधिकारी (वंशज) मा हस्तान्तरण हुँदा लागू हुने करलाई भन्न सकिन्छ । नेपालको वर्तमान कर प्रणालीमा वंशज करको व्यवस्था खासै देखिँदैन तर सम्पत्ति हस्तान्तरण ( नामसारी आदि) मा लाग्ने कर, जस्तै घरजग्गा रजिष्ट्रेशन शुल्क अप्रत्यक्ष रूपमा वंशज करको भूमिकामा छ ।

यहाँ वंशज करको सन्दर्भ देशभित्र बस्नेलाई होइन, विदेशमा बस्ने नागरिकका लागि हो । नेपाली नागरिकता भएका नागरिक जसले विदेशमा नोकरी, व्यापार वा अन्य काम गर्छन् जसबाट उसले आम्दानी गर्छ । उनीहरूबाट कर, दान, सहयोग वा अनुदान भनेर केही रकम देशको विकासको लागि देशमा आउँछ भने देश विकासमा सहयोग पुग्ने छ । सामान्यतः स्वैच्छाले परिवारका लागि वा परोपकारि भावनाले गरिने सहयोग एउटा पक्ष हो | तर त्यो हुँदा वा नहुँदा पनि नेपालमा आफ्ना नागरिकबाट तिनको आम्दानीका आधारमा अनिवार्य कर लिनसक्ने कानुन र त्यसप्रकारको निगरानी राख्ने संयन्त्र (मेकानिजम) राज्यसँग छैन |

यस सन्दर्भमा प्रवासीहरूले आफ्नो मूल देश अर्थात् नागरिकता प्राप्त गरेको देशका लागि गर्ने आर्थिक योगदानलाई व्यवस्थित गर्न र त्यसलाई विकासमा लगानी गर्न लागू हुने करलाई ‘वंशज कर’ वा नागरिक कर भन्न सकिन्छ । यो करले विशेष गरी विदेशी भूमिमा बसोबास गर्ने आफ्ना नागरिकहरूलाई आफ्नो मातृभूमिसँग आर्थिक तथा भावनात्मकरूपमा पनि जोड्ने र राष्ट्रको प्रगतिमा सहभागी गराउने लक्ष्यमा सहयोग गर्न सक्छ ।

यसलाई यसरी पनि बुझन् सकिन्छ- विदेशी भूमिमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नागरिकहरूले आफ्नो मूल देशको भन्नाले जन्मभूमिको सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासका लागि तिर्ने कर । यसलाई प्रवासी कर ( migration Tax) वा विदेशमा बसोबास गर्ने नागरिक कर (Overseas Citizen Tax) पनि भन्न वा मान्न सकिन्छ । तर यो नियम र नियमन गर्नका लागि राज्य र नागरिकका बिचको सम्बन्धको निरन्तरता,सम्पर्क र नियमन-निगरानीको मजव‍बुत संयन्त्र हुनु आवश्यक छ, जुन कार्यान्वयन गर्न पनि सकियोस् | यस्तो व्यवस्था त्यस्ता केही देशमा छ, जस्ले व्यक्ति जहाँ रहे बसे पनि त्यो देशको नागरिकताको निरन्तरता र त्यो व्यक्तिप्रति राज्यको दायित्व पनि कायम नै रहेको हुन्छ, त्यो हो सम्बन्धित व्यक्तिले राज्यलाई आफ्नो आर्जनको हरहिसाब तोकिएको समयसिमामा राज्यलाई बुझाउने-देखाउने | राज्यलाई अन्य नागरिक सरह नै विशेष व्यवस्थाले दिएको सुबिधाको हकमा बाहेक कर बुझाउने | गैर आवासिय नेपाली संघ ( एन.आर.एन.) को ‘एक पटकको नेपाली सँधैको नेपाली’ लाई मुर्तरुप दिनका लागि पनि करको यो अवधारणा लागू गरिनु वान्छनिय हुन्छ ।

प्रवासीहरूले आफ्नो मूल देशको विकासका लागि तिर्ने यो अनिवार्रय कर वा स्वैच्छिक योगदानको बदलामा सरकारले विभिन्न प्रकारका सुविधा र सुरक्षाहरू प्रदान गर्न सक्ने व्यवस्था गर्न सक्नुपर्छ । यसले प्रवासी वा विदेशमा काम गर्नेहरूलाई आर्थिक र सामाजिक रूपमा सुरक्षित बनाउनुका साथै मातृभूमिसँगको सम्बन्ध अझ बलियो बनाउन सहयोग गर्दछ ।

यो वंशज कर तिरे वापत प्राप्त पाउने सुविधा र सुरक्षाहरू यी हुनक्छन् जस्तै-
१) प्रवासी बीमा ( migration Insurance)
२) आपतकालीन राहत सहायता (Emergency Relief Assistance)
३) स्वास्थ्य उपचार सुविधा
४) सामाजिक सुरक्षा कोष (Social Security Fund)
५) पुनःस्थापना कार्यक्रम (Reintegration Program)
६) परिवारका लागि सामाजिक सुरक्षाको विभिन्न सुविधा
७) विशेष सुविधा र प्रोत्साहन लगानीमा कर छुट, घरजग्गा खरिदमा सहुलियत, द्वैध नागरिकता (Dual Citizenship) का केही सुविधा आदि

प्रवासीहरूले तिरेको कर वा स्वैच्छिक योगदानको बदलामा यस्ता सुविधा र सुरक्षाहरू प्रदान गर्दा उनीहरूमा विश्वास र मातृभूमिप्रति समर्पण बढ्छ । प्रवासीहरूको योगदानले मूल देशको विकास मात्र होइन, उनीहरूकै जीवनलाई सुरक्षित र सम्मानजनक बनाउँछ । प्रवासीहरूको लगानीले राष्ट्र विकास र प्रवासी सुरक्षाबीचको सन्तुलन कायम राख्न आवश्यक छ।

वंशज कर वा प्रवासी करले मातृभूमि र विदेशमा बस्ने नागरिकबीचको सम्बन्ध बलियो बनाउन सक्छ । पारदर्शी, न्यायसंगत र स्वैच्छिक योगदान प्रणाली लागू गरेमा यो राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि एक महत्त्वपूर्ण आधार बन्न सक्छ ।

नेपाली जनबोलि पनि छ – ‘डुल्नु घुम्नु किला दाम्लो नछोड्नु ।’ हो पनि, ‘जहाँ जरा छन्, त्यहीँको माटो उर्वर’ बनाउन प्रवासीहरूको योगदान अनिवार्य छ । आफूसँग भएको पैसाको लगानी, घर फर्कने चाहना र मानसिक असन्तुष्टिका कारण लाखौं मानिसहरू आफ्नो मूल देश फर्कने सोचमा छन् । यसलाई विभिन्न सामाजिक, आर्थिक र मानसिक पक्षबाट बुझ्न सकिन्छ । भविष्यमा यी तत्वहरूको कारण यो स्पष्ट हुन्छ कि यस्ता प्रवृत्तिहरू मुलुकहरूका लागि चुनौती र अवसर दुवै हुनेछन् ।

देश फर्कने भावना केवल सामाजिक या पारिवारिक कारण मात्र नभई आध्यात्मिक र राष्ट्रिय पहिचानसँग पनि जोडिएको छ । राष्ट्रिय पहिचानसँग जोडिएर आउने धेरै पक्ष र कारणहरू हुन्छन् | धेरै प्रवासीहरू आफ्नो मुलुकसँगको भावनात्मक लगाव ‘कनेक्शन’लाई अत्यधिक महत्त्व दिन्छन् । विश्वभरिका प्रवासीहरूले आफ्नै मूलुकमा नवीनतम व्यवसायका अवसरहरू सिर्जना गर्ने सोच राख्न सक्छन् । यस्ता सोचहरू विज्ञान-प्रविधि, बैंकिंग, पर्यटन र सामाजिक उद्धारका अवसरमा आधारित हुनसक्छ । देशभित्र बस्दा हामीले अक्सर त्यसको महत्व र सुन्दरता नबुझेका हुन्छौं, किनकि हामीलाई त्यो सबै सामान्य लाग्छ । तर जब हामी देश बाहिर जान्छौं भने, हाम्रो गहिरो लगाव र प्रेम उब्जन्छ, र हामीलाई हाम्रो देशको महत्व र विशेषता महसुस हुन्छ ।

यसलाई माछाको उदाहरणसँग जोड्दा, माछा पानीमा सुरक्षित र स्वतन्त्र महसुस गर्छ, तर जब त्यसलाई पानीबाट बाहिर निकालिन्छ, तब त्यसले पुनः पानीमा जानको लागि छटपटी गर्छ । यस्तै हामी पनि जब हाम्रो घर, देश, वा परिचित वातावरणबाट टाढा पुग्छौं, तब हामीलाई ती स्थान र कुराहरुको महत्त्व बढी अनुभूत हुन्छ । यसले यो पनि देखाउँछ कि हामी प्रायः त्यतिखेर नै केहि कुरा गर्न थाल्छौं जब हामी त्यसबाट टाढा पुग्छौं, र तब हामीलाई त्यसको गहिरो महत्व र चाहना बढ्छ । भनिन्छ नै ‘ नजिकको तिर्थ हेला !’ यस्तो भइरहेको हुन पनि सक्छ हामी देश भित्र बसिरहेकाहरूलाई ।

प्रवासी र स्थानीय नागरिकहरूको बीचमा मनमुटाव घटाउने पनि यस प्रकारको करले सहयोग गर्ने छ । प्रवासीहरूले आफ्नो मातृभूमिको आर्थिक समृद्धिमा योगदान गर्दै देशका विकास कार्यमा सहयोग पुर्याउँदा, स्थानीय नागरिकहरूले यसको मूल्य र महत्त्व बुझ्न र त्यसमा भाग लिन उत्साहित हुनेछन् । यसले समाजमा एकता र सहयोगको भावना सृजना गर्छ र मनमुटावको मुद्दालाई धेरै हदसम्म घटाउन मद्दत पुर्याउँछ । देश भित्र वा बाहिर बसेपनि आ-आफ्नो आर्जनका आधारमा मातृभुमि- राज्यलाई योगदान गरिरहने व्यवस्था हुनु नागरिकका लागि अवसर र दायित्व पनि हो | यसले कस्ले देशभित्र बसेर दुःख गर्यो र कस्ले बाहिर गएर कस्ले ‘अवसर छोप्यो’ भन्ने विवादको पनि अन्त्य गर्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *