शिवपुरीको यात्रा
|

काठमाडौँ प्रवेश गरेदेखिको आँखासँग ठोकिने डाँडा हो शिवपुरी । विगत २०७९ असोज २८ मा अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार कार्यक्रम (सिमिट), ललितपुरमा कार्यरत रहँदा सहकर्मी साथीहरूसँग पानी मुहानदेखि डाँडा गाउँसम्मको यात्रा गरेको थिएँ । त्यसैले त्यतिखेरको रमझमको यात्राले नै पारिवारिक यात्रा गर्न पाए झनै कति आनन्दको शिखर चुम्न सकिन्थ्यो होला भनेर सोच मग्न थिएँ । त्यसैअनुरुप २०८१ पुष २७ गते वा पृथ्वीजयन्तिको दिन हामी (लक्ष्मी, ज्वलिता र म) काठमाडौँको उत्तरी क्षेत्रको शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित बुढानीलकण्ठ मन्दिर दर्शन गरी निकुञ्जको पानीमुहान (निकुञ्जद्वार) देखि सिख्रे चौबाटोहुँदै डाँडागाउँसम्मको यात्रागर्ने निधो ग¥यौँ ।
यात्राको दिन बिहानको नास्तापछि दिउँसो पेटपूजाको लागि खरखजाना बन्दोबस्त ग¥यौँ । त्यसपछि, करीब ९ः३० मा खानाखाएर १०ः१५ बजे यात्राको लागि चक्रपथ स्युचाटार प्रस्थान ग¥यौँ र करीब १०ः३० बजे साझाबस चढेर लाग्यौँ नारायणस्थानतिर । बसभित्र यात्रीहरू खचाखच थिए । लक्ष्मीले मुश्किलले बस्ने सिट पाइन् ।
बस फाल हान्दै अगाडि बढ्यो । केही समयपछि ज्वलिता र म पनि सिटमा बस्न पायौँ । हामी चक्रपथको बाफल, स्वयंभू, ठूलोभ¥याङ, सानोभ¥याङ, ढुङ्गेधारा, वनस्थली, बालाजुचोक, गोङ्गबूँ, सामाखुसी, नारायणगोपालचोक, बाँसबारी, हात्तीगौँडाहुँदै बिहानको करीब एक घण्टापछि नारायणस्थान चोक पुग्यौँ । बसभित्र पछाडितिर जोशिलायुवाजमातले आफ्नो साथीको जन्मदिनमनाउँदै थिए ती प्राकृतिक स्वर लहरी र पहाडमा लहराहरू नाचेझैँ नृत्य प्रदर्शन गरेर ।
हामी बसबाट झ¥यौँ । घण्टीको आवाज टिङ्टिङ्, टङ्ग्रटङ्ग्र गर्दै रिनिन्न रिनिन्न तरङ्ग आइरहेको हुन्थ्यो हाम्रो कानमा । मानिसहरूको आवतजावत त्यत्तिकै थियो । मौसम धुवाँ र धूलोले तुयाँलिए पनि सडकहरू सफा थिए । त्यहाँका घरहरूको आकार, प्रकार र बनोटले सम्पन्नताको पहिचान दिलाइरहेको थियो ।
त्यसपछि हामी उत्तरतर्फ दाहिने मोडिएर लिच्छवीकालीन पाँचौ शताब्दीको हिन्दु धर्मावलम्बीहरूको आराध्यदेव तथा ऐतिहासिक महत्त्व बोकेको छाना विहीन बुढानीलकण्ठ (नारायण) मन्दिर पुग्यौँ । सुरुमा म, लक्ष्मी र अमृत भण्डारी २४ वर्ष अगाडि पुगेकाथियौँ त्यहाँ । त्यतिखेर सडक, मन्दिर र मन्दिर परिसर साँघुरो, फोहर र व्यवस्थित थिएन । तर समयको अन्तरालमा मन्दिर त मन्दिर भन्नलायक भएछ । ढुङ्गा बिछ्याइएको आगन, रङ्गिचङ्गी तन्त्रमन्त्र लेखिएको ध्वजापतकाले सिङ्गारिएको थियो मन्दिर परिसर । धूप, फूल र कपासको बत्तीको बास्ना, परेवाहरूको उपस्थिति र भजनकीर्तनले रङ्मगिएको थियो मन्दिर परिसर । त्यसमा अझै नेपाली तथा प्रशस्त भारतीयमूलका भक्तजनहरूको भीडले त्यस मन्दिर परिसरको शोभा बढाएको थियो ।
हामी प्रवेश गरेको समयमा भक्तजनहरूले चढाएको दान, चन्दा र भेटी गन्ने पन्ध्रअसार परेको रहेछ । पैसा छुट्याउँदै गन्न घेरोमा बसेका मानिसहरूको भीड जन्तिभोज खान बसेको जस्तो देखिन्थ्यो । यो दृश्य मेरो लागि पहिलो, अनौठो र रमणीय भयो । त्यसमा अझ वरिपरि पैसा गनेको हेर्ने भक्तजनहरूको भीड पनि कम रोचकको थिएन । सबैले यो पैसा के गर्छन् होला भन्थे ?मलाई पनि पत्तो भएन कि त्यो पैसा राज्यको ढुकुटीमा जान्छ कि मन्दिरकै छुट्टै कोषमा ?तर जे होस् मन्दिरको दान, दक्षिणा र भेटी केही व्यक्तिहरूको आयस्रोतको दर्बिलो माध्यम बन्नुभन्दा पनि यसलाई पारदर्शी बनाई दुःखी, गरीब र पिल्सिएका जनताको हितमा खर्चिनुपर्दछ । जस्ले मन्दिरको महिमा पनि बढ्न जान्छ ।

एकैछिनमा हामी मुख्य मन्दिरको प्रवेशद्वारमा पुग्यौँ । लक्ष्मी र ज्वलिता जुत्ता र मोजाखोलेर पूजा गर्न भित्र छिरे । म भने जुत्ता कुरुवा र पूजापाठमा रम्नुभन्दा पनि त्यहाँ वरिपरिको परिवेस अध्ययनमा रमाउने व्यक्ति । वास्तवमा, मूर्ति पूजा गरेर सबै चिजपाइने भए मानिसहरूले किन यति धेरै सङ्घर्ष, मेहनत र दुःख गर्नुपथ्र्याे र जस्तो लाग्छ मलाई ? तर कसैको आस्थाप्रति अनादार पनि छैन मेरो ।
त्यहाँ विष्णुको कालो रङ्को आकर्षक ढुङ्गाको मूर्ति एक सुनौलो चौघेराभित्र पानीपोखरीको बिचमा सर्पको बिछ्यौनामा पूर्वतिर टाउको र पश्चिमतिर पाउ पारेर पहेँलो रङ्गको लुगा र सयपत्रीको मालाले सिङ्गारिएर सुतेको अवस्थामा देख्न सकिन्छ । यो मूर्ति तीन मिटर लामो छ । शरीरमा चार हातहरू छन् । मूर्तिको टाउको, घाँटी, हातपाखुरा, खुट्टहरू चाँदीका गरगहनाले सजिएका छन् । मूर्तिमाथि रातो रङ्को चँदुवा झुण्ड्याइएको छ । भक्तजनहरूमा त्यहाँ पूजा गरेपछि इच्छा पूरा हुन्छन् भन्ने विश्वासका साथ मूर्तिलाई सुम्सुम्याउन नपाए पनि पैतलातिर पूजागर्दै दर्शन गरेका हुन्थे ।
लक्ष्मी र ज्वलिता पूजा गरेर बाहिर आएपछि उनीहरूको मुहारमा सूर्यमुखी फूल फुल्दै गोदावरी फूलको बास्ना फैलिन थाल्यो । हामी मन्दिर परिसरमा केही फोटोहरू क्लिक गरेर बाहिरियौँ । मन्दिरमा जाने भक्तजनहरूले प्रवेश शुःल्क तिर्न नपरे तापनि शौचालयमा दिशा र पिसाब गरेबापत क्रमशः दश र पाँच रुपैयाँ तिर्नुपर्नेरहेछ ।
हामी करीब ११ः५० बजे बुढानीलकण्ठलाई छाड्दै घमाइलो बिहानीमा विस्तारै पानीमुहानतिर उकालो लाग्यौँ । बाटोमा एउटा सानो पुल रहेछ । पुलमुनी प्रत्येक घरमा पानी लैजाने पानीका छुट्टाछुट्टै सयौँ पाइपलाइनहरू जोगीबाबाको जटा बनेको थियो । आज पनि दुर्गन्धित देख्दा आश्चर्य लाग्यो, हासो लाग्यो, टिठ लाग्यो र दयाजागेर आयो । त्यहाँबाट एक ठूलो पाइपमा लगेर घर नजिकैबाट ती पाइपहरू जोड्दा अलि सफा र सहज हुन्थ्यो होला नि !
हामी जति उकालो उक्लँदै गयौँ त्यति हरियालीसँग हातेमालो गरेको गगनचुम्बी आलिसान आकर्षक र सुविधा सम्पन्न भवनले त्यो क्षेत्रको महिमा बढाएको देखिन्थ्यो । तर मलाई भने यिनीहरूको आयस्रोत के होला भनेर अलि खसखस लाग्यो । सायद नेपालका धनाढ्य तथा सम्पन्न‘ए’श्रेणीका व्यक्तिहरूमात्र बस्छन् होला जस्तो लाग्यो त्यहाँ ।
पानीमुहान पुग्न उकालोमा न्वारानदेखिकै बल लगाउनु पर्ने । लक्ष्मी उकालोदेखि आत्तिँदै अहिले नै नुनखाएको कुखुराझैँ झोक्राउन थालिन् । हामी पनि ओइलिएको साग बन्दै थियौँ । उनी कहिले खुइय्यखुइय्य गर्दै त कहिले स्वाँस्वाँ गर्दै सुसाउँथिन् भने कहिले सडक छेउमा थ्याच्चबस्न पुग्थिन् । उनको शरिरमा पसिना शिरदेखि कुनाकन्दरा, पहाड र खोल्साखोल्सी हुँदै बेसीसम्म खोलो बन्दै लुगाहरू लचप्पै भिजेको थियो ।
हामी विस्तारै सडकमार्ग हुँदै ज्यामिरे खोल्सा कट्दै उकालो चढ्दै गयौँ । दाहिनेतिर राणकालीन सानो घरमा मौरीहरू भुन्भुनाउँदै भित्रबाहिर गरिरहेका थिएभने बिरुवाको बुच्काभित्र चराहरू समुहमा गीत गुञ्जाइरहेका हुन्थे ।
पहाडको हरियालीले आँखा टपक्कै टिपेको हुन्थ्यो । बाटो आसपास पानीको सानो खोल्सो छङ्छङ् बगिरहेको थियो । कतिपयको घरआगनमा पानीको धारा अविरल बग्दै थियो । संसारका कतिपय देशहरू तथा ठाउँहरूमा प्रकृति कन्जुस र मक्खीचुस छन् । तर यहाँ त प्रकृति अति नै उदार र दानी छन् । पानीको अति सुविधा छ । सडक दायाँवायाँ केही तरकारी, फलफूल, बाँस, निगालो, गहुँ र अन्य बोट बिवाहरू घाम र हावासँग छिरल्लिँदै रङ्मङाइरहेका छन् ।
रायो साग, काउली, प्याज, लसुन, केराउ, बकुल्ला, मुला जस्ता हिउँदे तरकारीका बिरुवाहरूले मेरो मनमा काउकुती जगाएको हुन्थ्यो । वर्षे तरकारीका सुकेका लहराहरू पनि थाँक्रो र रूखमाथि जेलिएर लुगा फिँजारेर सुकाएजस्तो देखिन्थ्यो । केरा, बेलौती, सुन्तला, कागती, एभोकाडो ठिङ्ग उभिएर बसन्तको पर्खाइमा थिए आफ्नो बैँस फक्राउन ।
हामी करीब १२ः४५ बजेतिर पानीमुहान अथवा शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्यौँ । लक्ष्मी पेटीमा बसेर थकाई मेट्नि । म टिकट लिनलाइनमा बसेँ । ज्वलिता यात्री फारामभर्न लागिन् । फाराममा महिला र पुरुष यात्री सँख्या, साथमाभएका बस्तुहरू, खाजापानी र सम्पर्क फोन नम्बर जस्ता जानकारी भर्नुपर्ने रहेछ । प्रतिव्यक्ति एक सय रुपैयाँका दरले तीन सय बुझाएर टिकट लियौँ ।
मोटरसाइकलमायात्रा गर्नेले प्रतिमोटरसाइकलको लागि थप ३ सय रुपैयाँ तिर्नुपर्ने रहेछ । कोही साइकलमा जाने पनि रहेछन् ।
यात्राको लागि त्यहाँ निकुञ्जको बारेमा जानकारी भएको ब्रोसर मागेको दरिद्रीपन देखाइहाले । पाउन सकिएन । पहिलो पाइलामै ठेस लाग्यो । अनि धिक्कार छ मेरो देशको व्यवस्थापनभन्ने लाग्यो । यात्रीका लागि यस्ता बस्तुको व्यवस्था हुनुपर्ने हैन र ? सबैलाई यात्रा गर्ने स्थानको बारेमा जानकारी पनि त हुन्न नि !
हामीले एक बहिनीको सहयोगमा गेटको दृश्यसहित हामीलाई कैद ग¥यौँ । अनि, टिकट देखाएर यात्राको विधिवत शुभारम्भ ग¥यौँ । यात्रीहरू सबैजनाको शरिर देख्दा लाग्थ्यो कि उनीहरूका जोशिला, फुर्तिला, हृष्टपुष्ट र लोभ लाग्दा जवानीमा इन्द्रेणी रङ्को बहार आएको । हिँड्ने, घुम्नेफिर्ने उर्बरशील उमेर । विदाको दिनभएकोले कतिपय जोडीहरूको लागि त डेटिङको उपयुक्त समय पनि । पृथ्वीमा मानिसहरू तुषारो तथा हिउँले कठ्याङ्ग्रिए तापनि उनीहरूमा प्रेमको अमर बसन्तको बास्ना मङ्मगाएको पाइन्थ्यो । यसले यात्रालाई फूलझैँ रङ्गाइरहेको थियो, खुश्बू दिँदै । हाम्रा हृदयलाई पनि एक तमासले खिचिरहेको थियो ।
मुख्य प्रवेशद्वार छिरेपछिभित्र ड्युटीमा बसेका एक सैनिक भाइले “चुरोट, सलाई, खाजापानी केही बोक्नुभएको छ कि?”भनेर सोधे । लौ म त अल्कोहल (रक्सी), निकोटिन (चुरोट, तमाखु) र क्याफिन (चिया,कफी) अम्मलबाट टाढा बस्न मनपराउने ब्यक्तिभएकोले त्यस्ता बस्तुहरू छैन भाइ साथमा भनियो तर खाजापानी भने छ झोलामा । त्यसोभए लौ जानुस् भनेर विदा दिए ।
हामी सौन्दर्यको देश शिवपुरी जङ्गलको भित्रीभाग प्रवेशपछि मनमाशान्ति, सितलता, स्वतन्त्रता र उमङ्गताको वर्षा हुनथाल्यो । सहरको कङ्क्रिट जङ्गलबाट गएका हामी कङक्रिटे । त्यसभित्रको भरिपूर्ण प्राकृतिक वातावरणमा लोभिन थाल्यौँ । फोटो खिच्दै अगाडि बढ्यौँ । केहीमाथि देब्रेतिर कलात्मक गारोले सजिएको तीनधाराबाट पानी निरन्तर कलकल गर्दै बग्दै खेर गएको अवस्था देख्दाभने मनखत नै लाग्यो ।
हामी सैनिक इलाका पार गरेर दाहिने तर्पाएँ उकालो हान्नियौँ । भरखर थकाइ मरेकोले होला लक्ष्मी पनि बौरिछन् र त हिँडाइको वेग बढ्न थाल्यो उनको । केही समयपछि घना जङ्गलको कच्ची सडकको दायाँतिर एक स्तम्भ देखियो । त्यसमा त्यो जङ्गलको बृक्षारोपण गरिएको वर्ष वि.सं. २०४१ चैत्र २ लगायत अन्य थप जानकारी उल्लेख थियो ।
त्यसपछि हामी देब्रेतिर मोडिएर अलिअलिउकालो चढ्दै गयौ । फराकिलो सडक तर कच्चीभएकोले त्यहाँ हिँड्दा घस्याकघस्याकभएको थियो । “बालुवामा हिँड्दा अलि थाकिँदो रहेछ, योभन्दा त कडा सडकमा हिँड्नै सजिलो” भनिन् लक्ष्मीले ।
एकजना १० वर्ष जतिको बच्चा पनि सिधै उकालो आएको मानिस नै गौरवान्वित देखिन्थे । तर मुखबन्द थियो मोहोला (मास्क) ले । मैले भनेँ “मोहोला हटाउ बाबु, यहाँको हावा त शुद्ध र सफा छ । सहरको जस्तो प्रदूषित छैन भने ।” उस्ले खोल्न चाहेन ।
बाटोमा धुलो उडाउँदै मोटरसाइकल र साइकलमा यात्रा गर्नेहरूको ओहोरदोहोर थियो । वर्षादमाभने हिलो बजाउँदै हिँड्नुपर्ने अवस्थाको । त्यति बाटो कालोपत्रे गरिदिएको भएयात्रीहरूलाई कति सहज हुने थियो होला ?
एकैछिनमा हाम्रो पछिपछि करीब ३५ वर्ष जतिका एक जोडी देखिए उनै बच्चाको साथ । उनीहरू केही नबोली अगाडि कटे र अब हामी उनीहरूको पछिपछि भयौँ । पुरुषले पछाडि कालो झोला बोकेको थियो भने महिलाले दाहिनेतिर सेतो झोला झुण्ड्याएकी थिइन् । उनीहरू हामीभन्दा २० मिटरजति अगाडि पुगिसकेका थिए ।
त्यत्तिकैमा ज्वलिताले भनिन् “यिनीहरू त मेडिकल डाक्टर हुनुपर्छ बुबा उनीहरूको झोलामा भएको लोगो हेर्दा ।” मलाई पनि ज्वलिताको कुराले कौतूहलता जगायो र यो बारेमा सुनिश्चितता गर्ने मनमा हुट्हुटी जाग्यो । अब मेरो फड्को अलि छिटोछिटो चल्यो । पुरुषभन्दा महिला अलि पछाडि भएकोले केही समयमै महिलासँग भेटभयो र सोधेँ “यहाँहरू मेडिकल क्षेत्रको डाक्टर हो कि जस्तो लाग्यो नि?” उनले “हो”भनिन् । उनी केही समय रोकिइन् । कुराकानी भयो । उनीहरू श्रीमान् श्रीमती रहेछन् । श्रीमान् मेडिसिटीमा डाक्टर रे ! उनीभने हरिसिद्धी क्यान्सर अस्पत्तालमा डाक्टर ।
परिचयको क्रममा मैले पनि आफ्नो परिचयदिएँ । म धेरै पहिला खुमलटामा रहेको नार्कमा काम गर्थे र पछि डेढ वर्ष अगाडिसम्म त्यहीँ भित्र सिमिटमा काम गर्थेँ भनेँ । उनले नास्ट ? भनेर सोधिन् । मैले हैन नेपाल कृषि अनुसन्धान परिषद (नार्क) भने । त्यस्तै गरेर, सिमिट भनेको के भनेर सोधिन् ? मैले टोपीको लोगो देखाउँदै सिमिट भनेको कृषिमा काम गर्ने एक अन्तर्राष्ट्रिय गहुँत था मकै सुधार केन्द्र भनेर कुरा बुझाएँ र पछिल्लो चरणमा म त्यहीँबाट निवृत्त भएको भने । मैले त त्यहीक्षेत्रतिर हिँडडुल गर्ने भएकोले छोटकरी रुपमा पनि बुझ्छिन् होलिन् भनेको तर के थाहा कृषिका यस्ता शब्दहरू मेडिकल क्षेत्रका डाक्टरलाई ?
त्यसपछि गफगर्दै अगाडि बढ्दै गयौँ । उनको श्रीमान र छोरासँग पनि भेट भयो । श्रीमानसँग कुराकानी गर्ने जमर्को गरेँ तर अलि रूखो, टर्रो र टसिलो स्वभावको । बोल्दा पनि पैसा, शक्ति तथा इज्जतै सकिएला जस्तो वा !
एकैछिनमा हामी त्रिबाटोमा पुग्यौँ । त्यहाँ विभिन्न ठाउँमा जानको लागि वाण चिन्ह (एरो) ले देखाईएको थियो । भित्तातिर एक ठूलो जानकारी बोर्डमा । हामी दाहिने नमोडिई सिधै अगाडि बढ्यौँ विष्णुद्वार, झरना र डाँडा गाउँतिर । केहीभने अर्कै गन्तव्यको लागि दाहिने मोडिएर गए । एकैछिनमा यात्रीहरू छिन्नभिन्न भइयो । हुलका हुल केटाकेटीहरू हामीभन्दा अगाडि बढिसकेका थिए ।
हामी पनि केही अगाडि बढेका थियौँ । खोल्साको सानो कल्वर्ट आयो । डाक्टरका परिवार थकाइले त्यहीँ कल्वर्टको पर्खालमा थचक्क बसे । हामी निरन्तर अगाडि बढ्दै गयौँ । हाम्रा हरेक कदम विचित्रको थियो, जस्ले हाम्रा मुहारमा परमानन्दको खुश्बूदार फूलहरू फुलाइरहेको थियो । जतिम पहाड, बोटबिरुवा, लहरा, हावासँग स्पर्श गर्दै अगाडि बढ्दै जान्थेँ त्यति नै आफू उचाइमा पुगिरहेको आभाष गर्थेँ आफूलाई । वास्तवमा जीवन र जगत बुझ्न यस्ता यात्रामा निस्कनु पनि पर्दोरहेछ ।
बाटोमा कोही केटाकेटीहरू गफिँदै, जिस्कँदै, जोसिँदै, उफ्रँदै हिँडेका हुन्थे भने कोही घोँडाझैँ बुर्कुसी मार्दै र रमाउँदै हिँडेकाहुन्थे । उनीहरू त पहाडलाई पैह्र्याउने गरी दङ्दङ् हिँड्थे गाँठे ! उमेरले कुरकुराएकाले कति चिल्ला, पोटिला, खाइलाग्दा, रसिलार रहर लाग्दा शरीर । सिङ्गो शिवपुरी नै चढिरहे जस्तो देखिन्थ्यो उनीहरूमा । त्यसैले त चरम आनन्द र रङ्गरसको इन्द्रेणीमा देखिन्थे उनीहरू । मलाई पनि आफ्नो जवानीको रौँ चिराको स्मरण आउन नसके पनि केही केस्राको याद आयो ।
हामी अगाडि बढ्दै थियौँ । हाम्रो दाहिनेतिर पहाडको घना जङ्गललाई चिरेर पहराबाट छङ्छङ् आवाजमा झरेको झरनाले सबैको मन एकटकले चुमेकै हुन्थ्यो । हाम्रो मन पनि तान्यो अनि लाग्यौँ झरनातिर । झरनाको आकृति हेर्दा मलाई मनाङ् जाँदा लमजुङको जगात र च्याम्चेको बिचबाट मस्र्याङ्दी पारीको एक भीमकाय पहाडबाट झरेको झरनाको याद दिलायो । अनि झरनाकै साथीबनी सँगै फोटो खिच्यौँ र लाग्यौँ अगाडि । आनन्दको के बयान गरुँ र ? स्वर्गीय आनन्द भनेको यही हो कि जस्तो लाग्यो । अनि हाम्रो हृदयनवीन चैतन्यको प्रभातमा मुस्कुराएर फुलेको फूलझैँ भर्भरायो ।
यात्रामा हामी जति अगाडि बढ्दै जान्थ्यौँ, त्यहाँको प्राकृतिक सुन्दरताले त्यति नै बढी खुश्बू छरिरहेको हुन्थ्यो र पो यात्रा जीवन्त बनेको थियो । हामी दङ्ग थियौँ त्यहाँका दृश्यावलोकनले । वास्तवमा प्राकृतिक तथा जैविक विविधताले सम्पन्न यो यात्राको क्रममा चिलाउने, गाउजो, उन्यु प्रजातिका बिरुवाहरू, लेउ, झ्याउ, भक्याम्लो, कम्मरी लहरा, बोके फूल, चाल्मा, अनगिन्ती लहराहरूजस्ता चिरपरिचित रूखबिरुवाका अनुहार देख्न पाउँदा आफ्नै जन्मथलो गोरखाको गाईखुर गाउँको याद दिलायो । न्याउली, कोइली, धोबेनी तथा अन्य चराहरूको सुमधुर स्वरलहरीले गाउँको जङ्गलमा गाई, भैँसी र बाख्रा चराउन जाँदाको याद दिलायो । त्यस्तै गरेर बाँदरको चुलबुले अवस्थाले पनि रोचक बनाएको थियो हाम्रो यात्रा । यसको अलावा त्यहाँका फल, लालीगुराँसलगायत अन्य अनगिन्तिप्रकारका बोट बिरुवाहरू, राताम्यै भएर फलेका आकर्षकबिरुवाहरू हेर्ने मौका मिल्यो । अनि लहरालाई पिङ् बनाई चहैचहै गर्दै पिङ् खेलिन लक्ष्मीले । वास्तवमा वनस्पति विज्ञान अध्ययन गर्ने विद्यार्थी तथा अनुसन्धानकर्ताको लागि काठमाडौँ नजिकैको यो स्थानअति नै महत्त्वपूर्ण लाग्यो ।
काठमाडौँको कङ्क्रिटे जङ्गलको धुवाँ, धूलो, प्रदुषित हावा, गाडीको हल्लाखल्ला र मानिसको भीडबाट निस्केर यो स्वच्छ, शान्त, सफा, सुन्दर र रमणीय प्राकृतिको तपोभूमि तथा रूखबिरुवाको सुरुङभित्र रम्न पाउँदा, हामी कार्य विशेषले सहरीयाबन्नपुगेका कङ्क्रिटेहरू,वास्तवमै विरेचितभई अति नै आल्हादितभयौँ ।आत्माशान्ति र शुद्धि भएको अनुभूतिहुँदैगरेको आभाषभयो हामीमा ।

त्यसपछि, जब हामी सुस्तरीसुस्तरी बनजङ्गल र प्रकृतिलाई गोड्दै र केलाउँदै अगाडि बढ्दै थियौँ, जम्काभेट भयो मानिसहरूका हुल सिख्रे चौबाटोमा । उनीहरूका गोडाहरू कलझैँ ओर्लिएको र हावाझैँ चढेको देखिन्थ्यो । तर हाम्रो पथ फरक परेकोले हामी लाग्यौँ अगाडि आ–आफ्नै पथ समाती विभिन्न दिशातिर । दक्षिणतिर पुछारमा पहेँलो सेतो रङ्गमा सजिएको बौद्ध चैत्य देख्न सकिन्थ्यो बाटोबाट । जस्ले यो सुन्दर र शान्त तपोभूमिबाट शान्तिका सन्देशहरू छरिरहेको आभाष हुन्थ्यो ।
एकैछिनमा हामी निकै कडा चट्ठानसँग पाँैठेजोरी खेल्दै झरेको अग्लो झरनासँग भेटभयो । त्यतिखेर झरनामा बैंस अलि सुस्ताएको थियो । सायद वर्षादमाभएको भए उ पनि मात्तिन्थ्यो होला बैँसले । अझै चटक देखाई चकित र आकर्षण गर्दथ्यो होला यात्रीहरूलाई ।
बाटोमा यात्रीहरू भोक र थकाइसँग मुकाविला गरिरहेका हुन्थे । उनीहरू उर्जा सकिँदै गएर लत्रिएका देखिन्थे । कतै त एक हुल मानिसहरू वरिपरि जम्माभएर तन्मयपूर्वक आ–आफ्नो भोक मेटाइरहेका थिए सुबास्ना फिँजाएर । यो बास्नाले छोयो हामीलाई पनि । हाम्रो पेट पनि भोकले सारङ्गी बन्दै ¥याइँ¥याई बज्न थालेको थियो । केही समयपछि हामी पनि बाटोको एक छेउमा रङ्ग फुस्रिँदै च्यातिएको प्राकृतिक गलैँचामाथि बसी थकाइमादैै दाप्यौँ मज्जाले चिउरा, चना तरकारी, सुन्तला, गुदपाक र तातो पानी । अनि उर्जावान भई अगाडि बढ्यौँ ।
एकैछिनमा हामी सडकको एक खुल्ला र पारिलो किनारमा पुग्यौँ । त्यहाँबाट काठमाडौँको चक्रपथसडक र बुढानीलकण्ठतिरको कङ्क्रिटे जङ्गल नीलो आकाशमुनी धुवाँ, धूलोको तुवाँलोभित्र निस्सासिएर धुमिल अवस्थामा बाँचिरहेको थियो । आज हामी त्यस्तै वातावरणबाट मुक्तभएर खुल्ला स्वच्छ हावामा स्वासफेर्दै अँध्यारो हृदयलाई उज्यालोतिर डो¥याएको दिन । मोहोला पनि थिएन हाम्रो मुखमा यतिखेर आज ।
केही अगाडि बढ्का के थियौँ वर्षादको समयमा पैह्रोले नमज्जासँग चिथोरिएर थलिएको सडक भेट्यौँ । मानिसहरू आवतजावतको लागि सडकको कुनातिर काठको सानो फल्याक ठोकेर बनाएको ज्यानमारा बाटो । त्यतिखेर मलाई मनाङ् जाँदा मस्र्याङ्दी नदीको भीर पहरामा फलामको कीला ठोकेर फल्याकबाट बनाइएको ४० वर्ष अगाडिको योभन्दापनि सयौँ गुणा खतरनाक पैदल यात्राको याद आयो । वास्तवमा यात्रामा दुःख–सुख, सजिलो–अप्ठ्यारो, उकाली–ओरालीको अनुभूति गरिन्छ र त जीवन्त र आकर्षक बन्दछ यात्रा । म पनि यस्तै मन पराउने एक यात्री ।
मानिसहरूले अलिकति पनि सावधानी अपनाउन सकेनन् भने बल्ड्याङ् खाएर इहलीला समाप्तहुन सक्ने ठाउँ । यात्रीहरू बाटोमा जति चुमचुम गर्दै, जुर्मुराउँदै, उफ्रँदै, हल्लँदै, रमाउँदै हिँडे पनि त्यतिखेर निकै सतर्क देखिन्थे त्यो कष्टकर बाटो पारगर्दा । त्यतिखेर मानिसहरूको संवेदनशिलता सहजै मापन गर्न सकिन्थ्यो । सायद सधैँ नै सबै मानिसहरू यस्तै संवेदनशीलभइदिएको भए किन यो उच निच, ठूलो सानो, धनी गरीब भन्दै तँछाड मछाडको रडाको मच्चाउनुपथ्र्यो होला र !
त्यसपछि, हामी घनघोर जङ्गल र भीर पहरा, अँध्यारो र उज्यालोसँग लुकामारी तथा लाप्पा खेल्दै, रमाउँदै र सुुसेल्दै हाम्रो स्वागतको लागिझरेको एक सुन्दर झरनासँग चुम्बन गर्नपुग्यौँ । यो झरनासँग मेरो निकै नै मायापिरती झाङ्गिसकेको थियो गतपटकको यात्रामै । त्यसैले औधी खुसीभए पुनःउसको मुहार सुम्सुम्याउँदै, मुसार्दै चुम्बन गर्न पाउँदा । हामीले झरनासँगै फोटोहरू क्लिक गरी वाइवाई झरना भन्दै अगाडि बढ्नु सिवाय केहीथिएन अब । अनि बढ्यौँ अगाडि ।
एकैछिनपछि हामी फैरी एक त्रिबाटोमा पुग्यौँ, जहाँबाट सिधै गएमा डाँडा गाउँ पुगिने र ढुङ्गाको नाकै ठोसिने उकालो चढेर गएमा विष्णुद्वार र ठूलो झरना पुगिने । हाम्रो आजको तालिकामा सिधै डाँडा गाउँजाने भएतापनिमाथि डाँडाभरी मानिसको हल्लाखल्ली गर्दै उकाली र ओराली गरेको दृश्यले हामीपनि बदलियौँ । फेरि कहिले आइएला र यो ठाउँभन्दै होस्टेमा हैँसे गर्दै लाग्यौँ उकालो स्याँस्याँ र फ्याँफ्याँगर्दै ।
हाम्री उकालोमा आत्मीयसाहस बटुल्दै सुस्त सुस्त गतिमा थियाँै । जङ्गलमा सल्लाका रूखहरूको बाहुल्यताथियो । पातझरेर काम्लो बनेको थियो कतिपय बाटो । पातमाथि टेक्दा चिप्लिेएर लडिने डर । यसले मनाङ्मा ४० वर्ष अगाडि सल्लाघारीमा रमेको याद दिलायो ।
लक्ष्मीको लागि यो उकालो भालुको कञ्चट बनेको थियो । उनले सम्झदै थिइन् ताप्लेजुङ्को पाथीभरा मन्दिर जाने नाकै ठोकिने र मुटु फुटाउने उकालो । जीन्दगीमा योभन्दा कति उकालो ओरालो गरिन् तर घर्कँदो उमेरको कारण यो उकालो हिँड्दा लक्ष्मीलाई अलि सकस भएको कुरा उनको गुलाबी गालाले व्यक्त गरेको थियो । ज्वलिता र मलाई पनि एकछिन त सिथिल बनायो यो उकालोले । लक्ष्मीले शरीर र लुगापसिनाको वर्षाले निथ्रुक्क भिजिसक्यो भन्न थालिन् । तर इच्छाशक्ति बलियो भएमा सहज बनिदिँदो रहेछ असहज परिस्थिति पनि । हाम्रो लागि पनि त्यस्तै बन्दै गयो उकालो । किनकि, तन थाके पनि मन थाकेको थिएन हाम्रो । त्यसैले त स्वच्छ पवनमा चाहार्दै थिए हाम्रा नजरहरू पहाड, जङ्गल, भीर, पहरा, बाटो र खोलाहरूसँग आत्मीयता बढ्दै र झाङ्गिदै ।
हामी तीनै जना अपरिचित भीरको जङ्गल खोतल्दै विष्णुद्वार र झरनाको खोजीमा थियाँै । अध्याँरो र कोल्टो ठाउँदेखि डराएर घामले पनि लुकीलुकी हेरेको थियो । घाम छायाँको विचित्रको मेल थियो त्यहाँ । उकालो सकियो । बाटो कताजाने थाहाभएन । हल्लाखल्लारघण्टी बज्दै थियो दायाँतिर । हामी पनि तेर्सियौँ दायाँतिरको भीरको सानो गोरेटो समाती । जोगिएर हिँड्न सक्नुपर्दछ सहज बन्छ कठिन यात्रापनि । त्यस्तै थियो हाम्रो यात्रापनि ।अनिदेखियो मान्छे, भेटियो मान्छे । सोध्यौँ झरना र विष्णुद्वार । हामीभन्दा धेरै तल रहेछ विष्णुद्वार ।लक्ष्मीले त आँकलन गरेकीथिइनमन्दिर त तलतिरै हुनुपर्छ भनेर घण्टीको आवजबाट ।
अगाडि खोला देख्यौँ । अनि बढ्यौँ खोलातिर झरनाको खोजीमा । म भने भीरमाभए पनि फोटो खिच्न व्यस्त । उनीहरूलाई म कता भीरबाट तल मुन्टिने हो कि भन्ने डर । तर म भने ठिङ्ग उभिएर आफूलाई सम्हाल्दै खिच्थेँ फोटो । किनकी, मेरो जन्मथलो गोरखाको गाईखुरको काफ्ले भीर पनि यस्तै थियो । गाउँमा घाँस काट्न जाँदा होस् वा गोठाला जाँदा बल्ड्याङ् खाने डर । हिमाली तथा पहाडी क्षेत्रतिर कति हिँडियो कति योभन्दा पनि खतरनाक भीर पाखा । त्यसैले ममा यस्ता समस्याहरूबाट कसरी जोगिनुपर्छ भन्ने अनुभवको राम्रै हेक्का छ ।
हामी पनि जोगिँदै हिँड्दै झरना पुग्यौँ । झरनाबाट कोही फर्कँदै थिए । कोही मानिसहरूभने खोलाखोलै झरनातिर उकालो लाग्दै थिए । वास्तवमा उनीहरू मन्दिरबाट उकालो लागेका रहेछन् । झरनाले सानो पोखरी पनि बनाएको रहेछ । केही कलिला केटाहरू पौडी खेल्दै त्यो अनकण्टार अँध्यारो ठाउँमा पुरुषार्थ देखाउँदै थिए हामीलाई । कहिले बाँदरझैँ मुढामा तुन्द्रुङ्ग झुण्डिन्थे भने कहिले झरनासँग अङ्कमाल गर्दै चुम्नपुग्दथे ।कहिले पानीमा चुर्लुम्म डुब्थे । घामले हामीहरूलाई जङ्गली झ्यालका प्वालहरूबाट चियाउँदै थियो । यो झरना, खोला र जङ्गलको एकान्त ठाउँमा बसी ध्यान मग्न हुनपाए कति आनन्द हुन्थियो होलाजस्तो लाग्यो ।

एकैछिनमा हामीले ती केटाहरूसँग उनीहरूको घर सोध्यौँ । उनीहरू त करीब एकघण्टाको दूरी डाँडा गाउँबाट आएका रहेछन् त्यहाँ । उनीहरू दैनिक जस्तै आउने रहेछन् स्कूल विदाका दिन । अनि उनीहरूसँगै सोध्यौँ विष्णुद्वार जाने बाटो । खोलाखोलै तल जाने रहेछ ।
हामीले केही फोटो खिच्यौँ झरनालाई साथी बनाउँदै । अन्य मानिसहरू पनि थपिए । हामी त्यहाँ रूखका सुकेका हाङ्गाहरू बटुली सबैको लागि लठ्ठी बनायौँ खोलाको गल्ड्याङ्ग्रे बाटोमा सम्हालिँदै हिँड्न । बडो कष्टदायी खोलाको बाटो हिँड्यौँ । मन्दिरको नजिकपुगेपछि म अलि अगाडि गएँ । त्यहाँ अन्य मानिसहरूपनि भरखर पूजा गरेर निस्केका थिए । एक अधबैँसे जोडी केटाकेटी भने सिँढीमा बस्दै अङ्गालोमा बाँधिएर एकाकारभएका थिए । उनीहरूमा यौन चाहनाले कुत्कुत्याएको सजिलै आँकलन गर्न सकिन्थ्यो उनीहरूको अनुहार र हाउभाउ पढ्दा ।
उता माथिबाट लक्ष्मी र ज्वलिता ओरालो झर्दै थिए बाटोमा लक्ष्मीले टेकेको लठ्ठीको स्वास गएर लक्ष्मीको साथ छाडेपछि उनी पनि बाटोमा लडेर घिस्रिँदै पुठो ठोक्न पुगिछन् । धन्न भीरबाट खोलातिर खुर्मुरिएन छिन् । घाइते बनेर खोच्याउन थालिछिन् । तर केही समयपछि अलि आरामभएर यात्रालाई निरन्तरता दिई पुगिन मन्दिर परिसर ।
कडा पत्थरको गुफा नै एक मन्दिर बनेको थियो । मन्दिरमा न त कुनै गजुर थियो न त पुजारी नै । यात्रीहरू नै पुजारी र भक्त । आशिर्वाद दिने पनि आफैं आशिर्वाद लिने पनि आफैं । गजब छ ! मन्दिरको छेउमै एक सानो खोला अजङ्गका ढुङ्गाहरूलाई छिचोल्दै आफ्ना स्वरलहरीहरू छङ्छङाएर बगेकी थिइन् । मन्दिरको तलमाथि, वारिपारि भीरमा आकाश चुम्दै पहरेदार बनेर भीड लागिरहेको थियो रूखहरू । अनि चराहरूको गुञ्जयमान सुमधुर स्वरहरूले मुसार्दै थियो हामीलाई । त्यतिखेरै, घामले चियाएर हेरेको थियो हामीलाई रूखको बिचबिचबाट ।
लक्ष्मी र ज्वलिता गुफाभित्रको मन्दिर पुगे । दुबै जनाले सँगसँगै पूजा गरे मोबाइलको बत्ती बालेर । मन्दिरभित्र शिवलिङ्ग र माथि पहरालाई चिरेर निस्केको पानीलाई धारा बनाई शिवलिङ्गमाथि स्वच्छ जलझारिएको रहेछ, ज्वलिताले देखाइन् हामीलाई । गुफाभित्र हिन्दु देवदेवताका विभिन्न मूर्तिहरू, बुद्धका विभिन्न साइजका मूर्तिहरूको साथै घण्टाहरू, ढुङ्गाका असङ्ख्य अन्य आकृतिहरू । पानी गुफाभित्रबाटै भित्रभित्रै बगेर तल निस्कने रहेछ, एक विचित्रको दृश्य । पूजापाठपछि फोटो खिच्यौँ । फेरि एकपटक हे¥यौँ, नियाल्यौँ त्यो खोला किनारको निकै नै अप्ठयारो पहराको गुफामा अवस्थित मन्दिर क्षेत्र ।
त्यसपछि हामी केहीछिन उकालो उक्लेर फेरि ओरालो लाग्यौँ, जहाँबाट हामी उकालो लाग्न सुरु गरेका थियौँ । ओरालोमा सल्लाको पातमाथि टेकेर हिँड्ने कार्य निकै नै सकसपूर्ण थियो । चिप्लिएर बल्ड्याङ्खाने उत्तिकै सम्भावना । तै लठ्ठीको सहाराले सुरक्षित रह्यौँ हामी । ओरालोको कारण हामी सबैको घुँडा र पैतलाका औँलाहरूले निकै दुःखपाए । लक्ष्मीलाई झनै गाह्रो घुँडाको दीर्घकालीन समस्याले गर्दा । करीब ४ः३० बजे पुगियो त्रिबाटो सडक र लाग्यौँ डाँडा गाउँतिर तेर्सै र तर्पाएँ तर्पाएँ ओरालो झर्दै ।
करीब ५ः०० बजे पुगियो डाँडा गाउँको सिरानमा । पश्चिम क्षितिज राताम्य र पहेँलपुर बन्दै थियो । डाँडाको छेउबाट उत्तर पश्चिमतिर निकै नै रमाइलो । उत्तरतिर जाने बाटो त रहेछ तर प्रवेश निषेध भनेर बोर्ड टाँसेर राखेका सेनाले । यात्राखुल्ला नै भए पनि जाने विचारमा थिएनौँ ।
त्यहाँ गाडी पार्कमा दोहोरो लस्कर थियो फुच्चा गाडीहरूको । त्यहाँ सडक छेउमा उभिएका एक पालो पहरा दिइरहेका व्यक्तिलाई नारायणस्थान जाने गाडीको बारेमा सोधेको नपाइने रहेछ । ट्याक्सी बोलाउन त सकिने रहेछ तर सुनिश्चितता नभएको । कहिले आइ पनिहाल्ने र कहिले नआउने पनि । उनले भने कि “करिव आधा घण्टामा त पैदलैपनि पुगिहालिन्छ” । सिङ्गो बाख्रा त खाइयो कानको निम्ति जस्तो लाग्यो । त्यसपछि हामी ठाडै झरेर पैदले जाने हिम्मतग¥यौँ । करीब आधा घण्टा त हिँडिसक्यौँ तर भरखर सेनाको एक कार्यालय र गेटमा पुग्यौँ । ड्युटिमा रहेका एक सेनाले भने कि “निकै थाक्नुभए जस्तो छ, कसैसँग लिफ्ट माग्नुभएको भएहुने नि । यहाँबाट त अझै आधाघण्टाभन्दा बढी लाग्छ ।” गाडीहरू त निकै नै आवतजावत गरिरहेका हुन्थे । हामीले कसैलाई पनि सोध्ने प्रयास गरेनौँ । निरन्तर झर्दैगयौँ । सबै थाक्दै गयौँ । लक्ष्मीलाई झनै गाह्रो भयो ।
एकछिन साना गाडीहरू र मोटरसाइकलहरू झरिरहेका थिए ओरालो । त्यसपछि पनि आधाघण्टा जति त सेनाद्वारा संरक्षित जङ्गलभित्र हिँडिसकेका थियौँ हामी । रिमरिम साँझ पर्दै गयो । बाटो पनि अँध्यारो हुँदै गयो । अब त कसैको गाडी आएमा लिफ्ट माग्ने सोचमापुग्यौँ र गुड्दै गरेकोएक गाडी रोक्यौँ । उनीहरूलाई लिफ्ट दिनसक्नुहुन्छ ? भनी सोध्यौँ । दुईजनाको सिट खाली रहेछ । लिफ्ट दिए । हामी पनि गाडी चढेर लाग्यौँ नारायणस्थानतिर र बेलुकीको ६ बजे झ¥यौँ पुलवारी गाडीवालालाई धन्यवाद दिँदै । लक्ष्मीलाई हेरेको पुलपारी साझा बस रोकेको नजिकै पर्खेर बसेकी रहिछिन् । बसलाई एकछिन रोक्न भनेकीले हामीजाने बित्तिकै बस चढ्यौँ अनि अगाडि बढ्यो । सिटहरूखाली नै थिए तर नारायणस्थान चोक पुगेपछि भरिभराउभयो बस ।
हामी करीब एकघण्टाको यात्रापछि पुग्यौँ स्युचाटार चोक र लाग्यौँ उकालो बाटो घरतिर । त्यतिखेर तल सहरतिर हेरेको रातीमा कङ्क्रिटे जङ्गल त धकप्कै जुर्मुराएको थियोज्वज्वल्यमान बनेर, हेरिरहुँ जस्तो लाग्ने अतिसुन्दर ।

भोक र थकाइले झोलुङ्गो बनेको थियो शरीर । पाइला चाल्न पनि असहज । अब घर गएर खानापकाएर खानुभन्दा पनि बाहिरै होटलमा खाएर जाने निर्णय ग¥यौँ र स्युचाटारको डाँडामा रहेको दील क्याफेमा खानाखाएर लाग्यौँ घरतिर । करीब साँझ ८:१५ मा घर पुग्यौँ र बिट मारियो आजको यात्रालाई ।
काठमाडोँ सहर जनिकैको धार्मिक, प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको यात्राले आत्मा शुद्धि गर्दै शान्ति दिलायो । मन मस्तिष्क पूरै आल्हादितभएको एक विशेष अविस्मरणीय अनुभूति भयो ।
