नेपाली लोकजीवनमा रामायणको प्रभाव

नेपाली समाज भनेको खस र किरातको समन्वित रूप हो। वास्तवमा नेपाली वा गोर्खा जातिलाई महाजाति मान्नु पर्छ। हाम्रो समाजमा मूलरूपमा हिन्दू र बौद्ध संस्कार पाइन्छ भने भारतमा ब्रिटिस शासन शुरू भएदेखि भने इसाई धर्म पनि मान्न थालेका हुन्। नेपाली लोकजीवनमा रामायणको प्रभाव प्रत्यक्ष- परोक्ष रूपमा नै देखिन्छ। नेपाली समाजमा हिन्दू धर्मावलम्वीहरूको संख्या सर्वाधिक देखिन्छ। नेपाली वा गोर्खा समाजमा रामायणको ठुलो स्थान र प्रभाव रहेको छ। हाम्रो लोकसंस्कृति, धर्म संस्कार, लोकबोली, लोककथा, लोकगाथा, लोकगीतादिमा राम प्रभावशाली रूपमा पाइन्छ। आजभन्दा कति वर्ष अघिसम्म नेपाली समाज शिक्षित थिएन। त्यतिबेला समाजका अक्षर चिनेका व्यक्तिले लय हाली रामायण पढ्थे र रामकथा सुनेर अशिक्षित मानिसहरूले पनि रामायण वाँच्न पाए हुन्थ्यो भन्ने विचारले वर्णमाला सिक्थे भनिन्छ।
१. नाम संस्कार- नेपाली जनजीवनमा नामसंस्कारमा रामको स्थान महत्वपूर्ण छ। नाम अर्थवान होस् औ कसैको नाम लिँदा ईश्वरको पनि नामोच्चारित होस् भन्ने मनोविज्ञानको कारणले हामी आफ्नो बाल-बालिकाको नाममा भगवानको नाम प्रत्यक्ष-परोक्ष रूपमा जोड्छौँ। धेरै पुरूषको नाम राम राखिएका हुन्छन्। त्यही राम नामलाई विभिन्न भावअनुसार रामु, रामे पनि भनिन्छ। यसबाहेक धेरैजनाको नामसित राम शब्द जोड्ने गरिन्छ। जस्तै- पदादिमा राम राखेर बनिएका नामहरू रामबहादुर, राममान, रामसिंह, रामलाल, रामनारायण, रामचन्द्र, रामप्रसाद, रामकृष्ण, रामकुमार, रामभद्र, रामशंकर, रामसुन्दर, रामदेव, रामनाथ, रामशरण, रामानुज, रामेश्वर आदि। नामको पदान्तमा राम भएका नामहरू मोतीराम, बलराम, नलराम, देवीराम, सीताराम, परशुराम, टिकाराम, शान्तिराम, अनन्तराम, तुलसीराम, तुलाराम, राजाराम आदि हुन्। स्त्रीवाची नाममा पनि रामकुमारी, राममाया, रामप्यारी आदि फेला पर्छन्। रामकै पर्यायवाची नामहरू जस्तै पुरूषोत्तम, रघुनाथ, राघव, आदि पाइन्छन्। यसैगरी रामायणका अन्य केही पात्र-पात्राको नामअनुसार नाम राखिन्छन्। जस्तै रघु, दशरथ, लक्ष्मण, जनक, इन्द्र, भरत, कुबेर, सीता, उर्मिला, अञ्जना, कौशिल्या, कौशिला, सुमित्रा, इन्दुमति, अङ्गद्, सनत्कुमार, जानकी आदि। उत्तर भारतका अन्य हिन्दू समुदायमा राम जोडिएका हाम्रा माथिका नामभन्दा केही भिन्नै किसिमका नाम पाइन्छन्। जस्तै रामअवध, रामधन, रामनरेश, रामवरण, रामावतार, रामकृपाल, रामकृपा, रामकिंकर, रामाशीष, रामदयाल, रामरतन, रामधारी, रामविलास, सियाराम, रामवृक्ष, रामजनम, रामेश्वर, रामदर्शन आदि। यद्यपि हाम्रो समाजमा यस्ता नामहरू हत्तपत्त पाइदैनन्। हाम्रो समाजमा कसैको जम्ल्याहा छोरा जन्मे उनीहरूको नाम ‘राम- लक्ष्मण’ राख्ने चलन छ।
२. लोकबोलीमा राम- हाम्रो लोकबोलीमा रामको उच्चारण धेरै प्रकारले गरिन्छ। सर्वप्रथम ‘राम्रो’ शब्द हाम्रो मौलिक शब्द हो औ यसमा राम शब्द छ। ‘राम्ररी’, ‘रामरी’, ‘राम्री’, ‘राम्रा’, ‘राम्रे’, ‘राम्रै’ आदि यही ‘राम्रो’ शब्दको अन्य रूप पनि देखिन्छन्। गाउँबस्तीतिर विशेषगरी धान भर्दा एक पाथी, दुई पाथी गर्दै गन्दै लाँदा एकलाई राम गनिन्छ। जस्तै – राम, दुई, तीन चार आदि। आश्चर्य र शोक प्रकट गर्दा पनि स्वतः ‘राम! राम!’ उच्चारित हुन्छ। कतै थेगोको रूपमा राम!, हे राम!, हाय राम! इत्यादि सुनिन्छ। आफ्नो घरलाई हामी कहिलेकाँही ‘रामझोपडी’ भन्छौं। कुनै घटनालाई लामोसँगले सुनाउनुपरे ‘रामकहानी सुनाउनु’ भन्छौं। हामी मनोरञ्जन गर्न रूचाउने हुनाले ‘रामरौस’ बढी नैं गर्छौं। कसैमाथि पूर्णतया भर पर्नुपरे ‘रामभरोसा’ छ भन्छौं। हिन्दीबाट टिपेर चलेका शब्द रामभरोसे, रामजाने आदि शब्द पनि चलनमा देखिन्छ। कोही बदमास, चोर, फटाहालाई कुट्नु परे रामधुलाइ भन्छौं। आराम, हराम शब्द हामी चलाए तापनि यी शब्द भने रामायणबाट नभएर फारसीबाट आएका हुन्। हाम्रो समाजमा चलेका राम र रामायणका अन्य पात्रसित जोडिएका केही यस्ता शब्दहरू छन्। रामायणका त्यस्ता केही पात्र-पात्राहरू पनि हाम्रो समाजमा विभिन्न रूपले र विभिन्न अर्थमा उच्चारित हुन्छन्। यस्ता केही शब्दहरूको चर्चा गरिन्छ।
क) रामराज्य- आदर्श राज्यव्यवस्था, राज्यमा जनतालाई हरप्रकारको सुख-सुविधा र सम्पन्न भएको रामराज्यको उल्लेख गरिन्छ। भगवान राम मनुष्यको अवतार भएर रावण बध गरेपछि अयोध्याको राजशासन चलाएका थिए। उनको शासन प्रणाली अत्यन्त आदर्श, प्रजातान्त्रिक थियो भन्ने उल्लेख पाइन्छ। यसैगरि समाजमा कोही व्यक्ति आफैं आफुखुशी आनन्दले बस्ने गरेका अरूले त्यसलाई ‘उसको रामाराज्ये छ’ भनी कुरा गर्छन्।
ख) मैमत्ता रावन्ने- रामायणमा रावण अत्यन्त अन्यायी, अत्याचारी, अरू कसैको सल्लाह, सुझाव नमान्ने, स्वेच्छाचारी थियो भन्ने उल्लेख पाइन्छ। यद्यपि उसको समयमा लङ्का अत्यन्त समृद्धशाली, उन्नतशील थियो भनी भानुभक्त र अन्य रामकथा लेखकहरूले उल्लेख गरेका छन्। कोही शासक र समाजका ठुलाठालु व्यक्ति यदि निरङ्कुश, अत्याचारी, स्वेच्छाचारी, घमण्डी छ भने उसलाई ‘मैमत्ता रावन्ने’ को संज्ञा दिइन्छ।
ग) घरभेदी विभीषण- रावणको कान्छो भाइ विभीषण चाँहि आफ्नै दाजुले सीता हरी ल्याएकामा बेखुशी थियो। उसले रावणलाई कति सम्झाउँदा उल्टा रावणले उसलाई शत्रुको पक्ष लिने भनी गलहत्याएर खेद्यो। विभीषण गएर रामको शरण लियो र रावणलाई मार्ने जुक्ति, रावणका केही गोप्य कुराहरू रामलाई सिकायो। त्यसैगरि घरका दाजु-भाइमा झगडा भई घरको भेद शत्रुलाई सुनाए वा शत्रु पक्ष लागे त्यस्तालाई घरभेदी विभीषणको संज्ञा दिइन्छ।
घ) सुतुवा कुम्भकर्ण- रामायणको कथाअनुसार कुम्भकर्ण अत्यन्त वीर, पराक्रमी, बुद्धिमान, विशालकायको भए पनि छमहिना सुत्ने गर्थ्यो। त्यसैकारण हाम्रो समाजमा यदि कोही बढी सुत्ने गरेमा, अल्छे भएमा त्यस्तालाई कुम्भकर्णको उपाधि दिइन्छ।
ङ) सुरसाले मुख बाउनु- रामायणमा हनुमान उडेर लङ्का जाँदा गर्दा उसको वल र बुद्धि जाँच्न इन्द्रले सुरसा नाम गरेकी ठुलो मुख बाउने राक्षसनीलाई पठाउँछन्। सुरसाले आई हुनमानलाई खाने कुरा गर्दा हनुमानले ‘लु मलाई खा’ भनी ठुलो रूप बनाउँछन्। सुरसा पनि अझै ठुलो मुख बाउँछे। दुईजनाले शरीर र मुख ठुलो देखाउँदै गर्दा हनुमानले एक्कासी सानो आकारको भई मुखभित्र पसी उम्केर बाहिर निस्कन्छ। यदि कसैलाई एकपछि अर्को समस्याले घेर्दै लगे वा बढी भोक लाग्दा समयमा भोजन उपलब्ध नभए, वा कुनै विपद् आए सुरसाले मुख बाएको भनिन्छ। यस्तो प्रयोग विशेष गरी कविहरूले कवितामा अभिव्यक्त गर्छन्।
च) रामवाण- भगवान रामको धनुबाट वाण यति शक्तिशाली थियो कि उनले कसैलाई ताकेर प्रहार गरेपछि कसैगरि चुक्तैन थियो। हाम्रो समाजमा कुनै औषधीले कुनै रोग छिट्टै निको भयो भने, कुनै अर्ती उपदेश वा गालीले कसैलाई राम्रो प्रभाव पार्यो भने रामवाण लाग्यो भनिन्छ।
छ) अगस्ती खानु- रामायणमा वर्णित अगस्त्य ऋषिले धेरै खाएको कुरासित जोडिएर बनिएको हाम्रो लोककथ्य हो अगस्ती खानु। यदि कसैले धेरै खाना खाए यसो भनिन्छ।
ज) मुखमा सरस्वती बस्नु- रावण दाजु-भाइले ठुलो तपस्या गरेपछि खुशी भई शिवजीले एकेकजनालाई वर माग माग भनी अह्राए। रावण र विभीषणले आफुले मागेझैं वर पाए तर कुम्भकर्ण अति वलशाली, देवहरूलाई सताउने र ठुलो वर पाए देवताहरूलाई खतरा भन्ने बुझी देवताहरूले सरस्वतीलाई पठाए। कुम्भकर्णले वर माग्नै लाग्दा सरस्वती उसको जिब्रामा गई बसिन् र ‘मलाई वर्षमा छ महिना सुत्न पाउँ’ भन्न लगाइन्। त्यही वाणीको कारणले उ सुतुवा भएको थियो। रामायणकै अर्को एउटा कथामा रावणको उपद्रो बढेर देवताहरूलाई खपिनसक्नु भयो। अब चाँहि रामलाई कुनै बहानाले वनवास पठाई रावणबध गर्न लाउनु पर्छ। त्यसका लागि मन्थरा र रानी कैकेयीको जिब्रामा सरस्वती बसाई रामलाई वनबास पठाउने युक्ति गर्छन्। उनीहरूको जिब्रामा सरस्वती बसेर रामलाई चौध वर्ष वनबास र भरतलाई राजा बनाइदिनु भनी राजा दशरथलाई माग गरिन्छ। धेरै वर्षअघि राजा दशरथले कैकेयी रानीलाई खुशी भएर दुईवटा वर दिने जो कबूल गरेका थिए त्यो सम्झाइन्छ। त्यसैकारण हाम्रो समाजमा पनि कसैले कुनै राम्रो परिणाम हुने सम्भावनाको कुरो गरे ‘तपाईंको जिब्रामा सरस्वतीको बास होस्’ भन्ने भनाइ रहेको छ।
झ) सुनको लङ्का- भानुभक्तको रामायणमा वर्णन गरिएअनुसार कुबेर र रावणको शासनकालमा लङ्का अत्यन्त समृद्धशाली थियो। लङ्का शहर सुनैसुनले सुसज्जित थियो। त्यही मिथकको प्रभावले अझै पनि हाम्रो समाजमा कसैले अर्को मान्छेलाई धन मागेमा अथवा सित्थैमा धनको दावी गरे ‘मेरामा सुनको लङ्का छ कि क्या हो’? भनी प्रतिवाद गरिने चलन छ।
ञ) सुनको मिर्ग- रामायणमा वर्णित प्रसङ्गअनुसार रावणले सीता हर्ने बेलामा आफ्नो मन्त्री मारीचलाई सुनको मिर्ग बन्न लगाई सीता र रामको अघिअघि क्रीडा-कौतुक गर्न लगायो। त्यो देखेर सीताको मनमा त्यो सुनको मिर्ग पाउने लोभ जाग्यो र उनले रामलाई जिउँदै उक्त मिर्ग ल्याउन लगाइन्। त्यही मिर्गलाई पाउन राम कुद्ने हुँदा रावण आई सीतालाई हरेर लान्छ। यसैकारण अहिले पनि समाजमा कुनै अप्राप्य वस्तु पाउने लोभ वा लालसा जागे सुनको मिर्गको संज्ञा दिइन्छ।
ट) सौतेली रहस्य- राजा दशरथले रामलाई बनवास पठाउनु पर्ने मुख्य कारण सौतेली आमा कैकेयीको डाह थियो। यसकारण सौता र सौताका सन्तानबारे राखिने धारणालाई सौतेली रहस्य बुझिन्छ।
३. नेपाली लोकसाहित्यमा राम- नेपाली लोकसाहित्यमा रामायणका विभिन्न घटना, प्रसङ्ग, कथा, उपकथाहरूले स्थान पाएका छन्। नेपाली लोकगीतमा पनि राम शब्द कतै रहनी (गीतको थेगोलाई रहनी भनिन्छ) को रूपमा देखा पर्दछ। मगरहरूको कौरा भाकाको नृत्यको गीतमा ‘रामसाइँली’, ‘रामसाइँला’ रहनी पाइन्छ। विशेषगरी नेपालीको बाहुन-छेत्रीको समाजमा प्रचलित खैंजडीभजनमा ‘हे राम! राम!’ भनेर सर्वप्रथम मंगल कामना गरी शुरू हुन्छ। खैंजडीभजन, बालुन आदिमा मुख्य गरी रामको वनगमन, सीताहरण, रावणवध र उनका अन्य विभिन्न पुरूषार्थका कथा सुनाइन्छ। यसबाहेक रामनवमीको अवसरमा पनि रामलीलाको आयोजना गरी विभिन्न पौराणिक कथालाई नाट्यरूपमा प्रस्तुत गरिन्छ। देवसी खेल्दा भट्याउनेले रामलीलाको कथा भन्छ। यस्ता पर्वहरूमा भनिएको रामको कथाका भिन्नाभिन्नै रूप पाइन्छन्। नेपाली लोकगाथाका सीताको चैत, नेपाली लोकरामयणका केही पाठमा भिन्नाभिन्नै रूपमा सीताजन्म, राजा जनकको धनु रामले भाँचेका प्रसङ्गका आदि कथा छन्। नेपालका लोकसाहित्यका अनुसन्धाता कुसुमाकर न्यौपानेले नेपाली समाजमा प्रचलित लोकरामायणलाई सङ्कलन गरी प्रकाशित गरेका छन्। अझै पनि विभिन्न ठाउँमा प्रचलित नेपाली लोककथा, पौराणिककथा, लोकगाथा आदिमा राम र रामायणका धेरै कुरा र कथाहरूको संकलन र अनुसन्धान गर्न बाँकी नै छ।
४. नेपाली उखान-तुक्कामा राम- नेपालीमा प्रचलित धेरै उखान-तुक्कामा रामको स्थान देखिन्छ। यस्ता उखानमा रामको भिन्नै अर्थ, सन्दर्भ बोध हुन्छ। रामबाहेक रामायणका अरू पात्र-पात्रा पनि नेपाली उखानमा प्रयोग हुन्छन्। यस्ता केही उखानहरूमा-
क)- मुखमा राम राम, बगलीमा छुरा- बाहिरी मुखले मात्र चिप्लो धसेर भित्री रूपमा कुटिल चाल चल्ने वा पाखण्डी व्यक्तिका प्रसङ्गमा यो उखान प्रयोग गरिन्छ।
ख) गर्ने भन्ने हनुमान, पगरी गुथ्ने ढेंडु- यदि एउटा व्यक्तिले राम्रो काम गरे तापनि त्यस कामको श्रेयचाँहि अर्काले लिए यो उखान प्रयोग गरिन्छ।
ग) बाह्र वर्ष रामायण पढ्यो, सीता कसकी जोइ?- यदि अयोग्य व्यक्तिलाई कुनै राम्रो पाठ सिकाए अनर्थ हुन्छ भन्ने भाव बुझिन्छ।
घ) भीरमा जाने गोरूलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न- कुनै व्यक्तिले मूर्खतापूर्ण र अनर्थ काम गर्न खोजे उसलाई सम्झाउने मात्र सकिन्छ तर पूरै छेकावार वा गर्न नलाउन सकिन्न भन्ने सङ्केत गरिएको छ।
ङ) शंकाले लंका जलाउँछ- शंका शब्दको सादृश्यमा लंका शब्द आए पनि यो लंका शब्दमा हनुमानले रावणको लंका डढाएको, रामले लंकाको राक्षस कुलको संहार गरेको आदि कुराको अर्थ नै तानिन्छ।
५. चीजबीजमा रामको नाम जोडिएका- हाम्रो समाजमा केही चीजबीजको नाममा समेत रामको नाम जोडिएको पाइन्छ। जस्तै- रामभेंडा (गोलभेंडालाई दार्जीलिङमा रामभेंड़ा भनिन्छ), रामतोरियाँ- नेपालको तराई भागको मान्छेहरूले दार्जिलिङतिर भनिने सब्जी भिन्दी (भेन्डी) लाई रामतोरियाँ भन्छन्। विश्वेश्वरप्रसाद कोइरालाले पवित्रा कथामा यो शब्दको प्रयोग गरेका छन्।
६. मृत्यु संस्कारमा रामको नाम- हाम्रो नेपाली जातिका हिन्दू धर्मावलम्बीहरूले मान्छे मरेपछि राम नाम सत्य है… भन्दै लास बोकेर घाट पुर्याइन्छ।
७. स्थाननाममा राम- नेपाली समाज बसेको केही ठाउँका नाम पनि रामको नाम जोडिएको देखिन्छ। जस्तै रामनगर, रामपुर, रामवाग, जयरामपुर, रामेछाप इत्यादि देखिन्छन्। यता दार्जीलिङ जिल्लामा पनि रामपूरे (कसैले रामपुरिया पनि भन्छन्), दिलाराम, महल्दीराम, सिक्किममा मणिराम जस्ता नाम भएका ठाँउ छन्। जनकपुर, सीतापाइला, लक्ष्मणपुर, भरतपुर आदि ठाउँका नाम पछाडि पनि रामायणकै पृष्ठभूमि छ।
यसरी हेर्दा नेपाली समाजमा राम र रामायणले ठुलो प्रभाव र छाप छोडेको देखिन्छ। हाम्रा निम्ति राम भगवान हुन्, मर्यादा पुरूषोत्तम हुन्, आदर्श पुरूष हुन्, वीर-पराक्रमी योद्धा हुन्, रामराज्यका असल राजा पनि हुन्। उनको प्रत्येक कार्य हाम्रा निम्ति आदर्श हुन्। रावण र अन्य दानव, दुष्ट र संहारकारीहरूले भरिएको द्वापर युगमा राम आएर देव, कल्याणकारी, सज्जन, साधुहरूलाई बचाउने महान कार्य गरेका थिए। देव र दानव दुवै थरीका मानिसले भरिएको वर्तमान कलियुगमा पनि यस्ता रामहरूको आवश्यकता छ।
