नेपाली पुस्तकहरू उपलब्ध हुन थाले

भर्जिनिया राज्यको प्रिन्सविलियम काउन्टी अन्तरगत हे मार्केट गेन्सनभिल पब्लिक लाइब्रेरीमा नेपाली भाषाका पुस्तकहरू पाठकहरूका लागि उपलब्ध हुन थालेको छ ।
पुस्तकालयलाई स्थानिय नेपालीहरूको तर्फबाट गत फेब्रुवरीमा १ सय ८० वटा नेपाली पुस्तक प्रदान (डोनेशन) गरिएको थियो । गत महिनादेखि ती पुस्तकहरू पुस्तकालयले विश्व भाषा (वर्ल्ड ल्याङ्वेज) सेक्सन मार्फत् पाठकहरूलाई उपलब्ध गराउन थालेको हो ।
ती पुस्तकहरू ग्रेटर वाशिङ्टन डीसी मेट्रो क्षेत्र आसपासका नेपालीहरूले यस काउन्टी अन्तरगतका १२ वटा लाइब्रेरी मार्फत् प्राप्त गर्न सक्नेछन् । नेपालीहरूका तर्फबाट उक्त पुस्तकालय (लाइब्रेरी) प्रदान गरिएका पुस्तकहरूमा नेपाली शब्दकोष, अङ्ग्रेजी–नेपाली शब्दकोष, धार्मिक–ग्रन्थ, सांस्कृतिक एवं ऐतिहासिक पुस्तक, उपन्यास, कथा, कविता, निबन्ध, आत्मकथा,यात्रा–संस्मरण आदि विधाका छन् ।
