जिन्दगीको गीत

यस्तो कविता लेख्न सकुँ
मानिसहरु जुर्मुराएर उठन सकुन
निराशाका बादल पन्छाउँदै
आशाका किरण बाल्न सकुन
म आशावादी छु
दुःख कष्ट-पर्वाह नगरी
मानिसहरु पहाड चढ्न सकुन
धेरै सास्ती बेहोरेर
जिन्दगीलाई घिसार्नेहरु
दुःखकाआँसु पिएरै
अभिशप्त बाँच्नेहरु
भोको पेट पटुकी कस्दै-कस्दै
यात्रामा निरन्तर लम्कि हिड्नेहरु
बुढी आमा, जहान, छोरा-छोरी के गर्दै होलान ?
तिम्रा यादले सताउँछ जब
फर्कने बाटो हेरी
मूलबाटो कुर्दै
आँगनको डिलमा बस्दा होलान्
चौतारिमा कोही नदेखे पछि
जब साँझ पर्छ
आशाहरु मारेर
अर्को दिनको प्रतीक्षा गर्दा हुन तिनीहरु ।
दुःखजति हाम्रो भागमा मात्रै परेपछि
जीवन जिउनै गाह्रो होला
सुख किन खोसि लग्यौ ?
सुख प्राप्तिका निम्ति
मानिसहरु एक गठ हुन सकुन
कति रुने ?
रोएर जिन्दगी चल्दैन त
जिन्दगी चलाउन मान्छेहरु
शैतानसँग लड्न सकुन
यस्तो ज्वालामुखी विष्फोट होस्
पापीहरु डढेर भस्म हुन सकुन
म चहान्छु
मान्छेहरु मान्छे भएर बाँच्न सकुन्।
म एउटा युद्धको आह्वान गर्छु
उठ, गरिब असहाय निमुखाहरु
सामन्तसँग युद्ध लडौं
हरेस खाई किन भाग्ने ?
बलिदानी संघर्षले
पक्कै युद्द जितिन्छ नै
विजयको माला पहिरिएर
जिन्दगीको गीत गाइ बसौं।
