मनको वास्तविक पहिचान र समाधान

मन के हो ?
मनः संस्कृत तत्सम संज्ञा शव्द हो । यसका शाव्दिक अर्थ धेरै हुन सक्छन् । आशय, इरादा, विचार, इच्छा, कामना, अभिलाषा, रुचि अथवा नाक, कान, आँखा आदिका माध्यमबाट थाहा भएका कुराले आफूलाई प्रभाव पार्ने आन्तरिक हृदय, अन्तःकरण, चित्त, दिल, अनुभव, इच्छा, बोध, विचार, संकल्प, विकल्प आदिलाई परिचालित तथा नियन्त्रित गर्ने अन्तःकरण वा त्यसको वृत्ति वा स्वभाव र
प्रकृति आदि ।
यी सबै शव्दहरुले र व्याख्याहरुले मनको वास्तविक पहिचान पाउन सकिन्छ त ? हामीलाई स्वाभाविक रुपमा यी तमाम शव्दले मनको रहस्य र अर्थ थाहा पाए जस्तो लाग्दैन ।

मन कहाँ बस्छ ?
आज मानिसहरु यही मन के हो भन्ने नबुझ्नाले यसको बास्तविक बासस्थान थाहा नपाउँनाले साह्रै निराश, दुःखी र आतुर देखिन्छ । पहिलो कुरा त संसारमा यत्रो विकास र प्रगति गरें भनेर घमण्डले फुल्ने मानिसले मन आफ्नै शरीरको कुन कुना अंग र स्थानमा बस्छ ? भन्ने कुरा पत्ता लगाउन सकिरहेको पाइदैन । मन कहाँ हुन्छ ? तपाईले थाहा पाउनु भएको छ र ? थाहा पाए पनि नियन्त्रणमा राख्न सक्नु भएको छ र ? अथवा नियन्त्रण गर्ने कुनै यन्त्र तपाईंसँग छ र ? तपाईंले वास्तवमै भन्नु हुनेछ । खै,मलाई त थाहा छैन । धेरैले भन्ने जवाफ यही हो । अलि चलाखले मेरो हृदयमा छ, वाहिरबाट देखिंदैन भन्नु होला । कसैले यो चित्तमा बस्छ भन्नु होला । कसैले मेरो दिमागमा छ भन्नु होला तरपनि तपाईहरु सबैको जवाफ एउटै आउने छैन । हैन, तपार्इं वैज्ञानिकहरुले सारा संसार पत्ता लगायौं संसार जित्यौं भन्नु भा होइन र ? खै तपाईले पत्ता लगाउनु भयो ? आफैं भित्र भएको मनको घर तपाईको शरीरभित्र कुन कुनामा रहेको छ ? तपाईंले पनि मैले जस्तै यतै यतै हृदय, दिमाग वा शरीरका कुनै छेउछाउतिर देखाउनु होला । तर तपाईंले भनिरहेको ठाउँमा यस्सो छामि हेर्नेु त के तपाईंको मन त्यहीं छ ? अहँ छैन । किन ? आफू भित्र रहेको छ भनेको मनलाई त ठाउँमा नियन्त्रण गरेर राख्न नसक्ने तपाई कति लाछी होइन र ?
मनको दौडः
तपाईको हृदय वा चित्तभित्र कुनामा छ भनेर विश्वास गरिरहेको मन त सधैं शरीरबाट बाहिर भाग्छ होइन र ? भागेर एकै छिनमा उ कहिले चन्द्रमा त कहिले सूर्य कहिले धु्रव लगायतका तारा मण्डल, सारा पृथ्वीको चक्कर लगाएर चार चौध भुवन र नक्षत्र व्रह्माण्ड घुमेर टुप्लुक्क तपाईंको शरीर भित्र राज गर्न र तपाईंलाई दुःखी बनाउन आइ हाल्छ र त्यो एकैछिन बस्छ फेरि झयाल ढोका विनाका ढोकाहरुबाट स्वाट्ट वाहिर निस्किएर फेरि भौतारिइरहेको हुन्छ । मन यति छिटो दौडिन्छ कि आजसम्म जतिसुकै जान्ने भन्ने वैज्ञानिकले यसको दौडाइको गति पत्ता लगाउन सकेको छैन । अहिलेसम्म बनेका मापन यन्त्रहरुले पनि यसको गति र स्थान पत्ता लगाउन सकेको पाइंदैन ।
मनको बासः
हाम्रा शरीरका विभिन्न अंगहरुले प्रायःजसो सुन्दर र मीठा बस्तुहरु खोजिरहेका हुन्छन् । आँखाले सुन्दर वस्तु मात्र हेर्न खोेज्छ, मुख, जिभ्रोले मीठो मात्र खाउँ भन्छ, कानले राम्रा शव्द मात्र सुनौं भन्छ तर मन यस्तो चिज हो, जो राम्रो नराम्रो जस्तोसुकै ठाउँमा झिंगो झैं टुसुक्क बसिदिन्छ । न राम्रो खोज्छ न सुन्दर खोज्छ न त यसको गति पत्ता लागेको छ न त यसको मति नै जान्ने सुन्नेहरुले पत्ता लाउन सकेका छन् । वैज्ञानिकहरुले अझै पनि यसको रहस्य पत्ता लगाएको पाइंदैन ।
मनको बास हाम्रो शरीरको कु्न् अंग र भागमा हुन्छ ? मन हो चाहिं के ? के मन खुट्टामा बस्ने भएकोले जथाभावी चाहार्छ ? के आँखामा बस्ने भएकोले आँखाको दृष्टिसँगै भौतारिन्छ ? अथवा मन कानमा बस्ने भएकोले उसको सुनाइसँगै पो दौडिन्छ कि ? मन हृदयको गहिराइमा पसेर बस्ने भएकोले हृदयको गतिसँगै संसार चहारि हिंडिरहेको हो कि ? बस्छ चाहिं कहाँ ? दिमागमा बसेकोले दिमागसँगै गोलचक्करमा फसेको हो कि ? कतिपयले मन हृदयमा बस्छ भनेको सुन्ने गर्छु के त्यो सत्य हो र ?
योगश्चित्तवृत्तिनिरोधः
पतञ्जलिले योगलाई चित्तको दौडाइलाई नियन्त्रण गर्ने विद्या त भने तर यो कहाँ बस्छ भनेर किटान गर्न सकेको पाइँदैन । उनले यतिमात्र पत्ता लगाए र भने चित्त वा मन बारम्बार दौडिरहने चिज हो त्यसलाई ठीक ठाउँमा ल्याउने साधन चाहि योग हो यो योगको साधना गर्नु पर्छसम्म भनें । तर मन बस्छ चाहिं कहाँ ?
मनको दौडाइ नै विश्व अशान्तिको द्योतकः
उनले भनेको चित्त नै वास्तवमा मन हो । हाम्रो शरीरमा मनको बास कहाँ छ ? ठ्या्कै भन्न सकिंदैन । कसै कसैले भनेको सुन्ने गरिन्छ । आज त्यसले मेरो चित्त दुखायो मन दुखायो अर्थात् आज मलाई अलि असज महशुस भएको छ । दिमाग घुमेको छ । मनमा अशान्ति छ । उ मनमा अशान्ति छ सम्म भन्न सक्छ तर शरीरको कुन क्षेत्र र भाग अशान्त भएको भन्न सक्दैन । मन दुख्नु भनेको खुट्टा दुख्नु पनि होइन । हात दुख्नु पनि होइन । टाउको दुखेको पनि होइन । घाँटी दुखेको पनि होइन । दिमाग दुखेको हो त त्यो पनि होइन । शरीरको कुनैपनि भागमा उसलाई दुखेको स्पष्ट ज्ञान छैन तर पनि उ भन्छ आज मेरो चित्त दुखेको छ ।
अव आउँ चित्त चाहिं कहाँ बस्छ र दुखेको हो यसको चित्त ? अलि अलि दिमाग तरंगित भएको हो त ? अलिअलि मष्तिष्क तरंगित भएको हो त ? त्यो पनि होइन उसको न त कहाँ कहाँ भुमिरहेकै हुन्छ । चिल घुम्नुभन्दा बढि वा कुमालेको चक्र घुमेभन्दा बढि संसारभरि घुमिरहेकै हुन्छ र यो त मनको स्वाभाविक प्रवृत्ति नै हो । त्यो घुमन्ते मन कहाँ दुख्यो त ?
वास्तवमै कहाँ बस्छ त मन ?
मेरो विचारमा मनका दुइवटा पाटा हुन्छन् । एउटा सफट्वेयर र अर्काे हार्डवेयर । मनको हार्डवेयर भनेको मष्तिष्कको भाग हो । यसले मनलाई नियन्त्रित गरिरहेको हुन्छ । मष्तिष्कका तन्तुहरु यति तंगित हु्न्छन् कि सानो सानो कुरा सुन्नासाथ झन्झनाहट गर्न थाल्दछन् । ती तरंगित तन्तुहरु साह्रै नै संवेदनशील हुन्छन् । त्यसैगरी मन कुनै भौतिक स्थानमा बस्ने नभएर यो वासनात्मक वा मानसिक जीवनमा बस्ने गर्दछ । शरीर मानसिक र भौतिक हुन्छ । मन एउटा शरीरमा आउने भित्री अनुभव मात्र हो । यसको हार्डवेयर भनेको दिमागको खोपडीमात्र हो यसले स्क्यान गर्न सक्दछ । कुनै सूचना भित्र वाहिर गर्न सक्तछ र यसले शरीरलाई नियन्त्रित गरिरहेको हुन्छ ।
मन भनेको चाहिं उसका विचार, सम्झना आदि हुन् जुन दिमागले भित्रबाट अनुभव गर्दछ । तर मन भनेको दिमाग र मष्तिष्कको पर्यायवाची शव्द भने पक्कै पनि होइन । दिमागले शरीरमा प्रतिकृया गर्ने मात्र हो । मन चाहिं ती शरीरमा उत्पन्न विचार, सोच र चेतना हुन् । जस्तो रिस, प्रेम, विचार, आदि मनबाटै उत्पन्न हुने गर्दछन् । त्यसैले मनलाई शान्त गर्न खोपडीको हार्डवेर होइन सफ्टवेयरमै शान्त सूचना पुर्याउनु पर्दछ त्यसले गर्दा मन स्थिर हुन्छ जुन ध्यानबाट गर्न सकिन्छ भनिन्छ । मनलाई द्रष्टाभावले हेर्नु, शान्त बनाउनु र नियन्त्रण गर्नुलाई योगीहरु ध्यान भन्ने गर्दछन् । यसले मनमा शान्ति मिल्छ संसारका मानिसका मनहरु शान्त भए भने विश्व पनि शान्त हुन्छ ।
