पुराना र नयाँ दुवै पुस्ता बिचका अब्बल सङ्गीतकारः मणिकमल क्षेत्री

विषय प्रवेशः
नेपाली साहित्य होस् या सङ्गीत, यी दुवै क्षेत्रमा हामीभित्र किनाराकृतअवस्थामा परेका वा विस्मृतिको धूलोले पुरिएर ओझेलमा परेका कतिपय हिरा- मोतीहरू छन्, जसको महत्त्वलाई बुझेर योगदानको सही मूल्याङ्कन भएकै छैन। हाम्रो समाज यस्तै छ। जिन्दगीभरि नेपाली सङ्गीतलाई माथि उठाउनमा महान योगदान पुऱ्याउने गीतकार, सङ्गीतकार र गायक/गायिकाहरू चाहिँ धेरैजसो ओझेमा परेका छन्। यस्तै एक सशक्त तथा अब्बल दर्जाका गायक तथा सङ्गीतकार हुन मणिकमल क्षेत्री। साँचो अर्थमा उनी नेपाली गीत-सङ्गीत क्षेत्रको मणि नै हुन्, बुझ्ने र खुट्याउन सक्नेहरूका लागि। छक्का पञ्जा गर्न नजान्ने र मँपाई भएर आफ्नो प्रचारको डम्फू ठटाउँदै हिँड़ने प्रवृत्ति उनमा नभएकाले होला उनी ओझेलमा परेका।नेपाली गीत-सङ्गीतको ६०-७० दशकको स्वर्णकालका प्रबुद्ध कलाकारहरूसित संसर्ग गरेर आएका, अझ भन्नुपर्दा शरण प्रधान र अरूणा लामासित सहकार्य गरेर आएका साथै अहिले नयाँ पिढ़ीसम्मलाई सङ्गीत सिकाएर आउने उनी जस्ता उम्दा सङ्गीत अभियन्ताबारे आफ्नै जन्मथलो र कर्मथलोबाट केही लेखिएको देखिँदैन। उनलाई उज्यालोमा ल्याउने कामै भएको छैन भन्दा हुन्छ। उनका कार्यहरूको मूल्याङ्कन भएको देखिँदैन। समयमा नै उनीबारे लेखिनु पर्ने थियो। तब पो नेपाली सङ्गीतमा उनको योगदानबारे लेख्नेहरूका लागि सामग्री प्राप्त हुने थियो। अहिले उनी लामो समयदेखि बिरामी अवस्थमा छन्। विगतका आफ्नै सङ्गीतिक करियरभित्रकागतिविधिबारे बताउनु पनि नसक्ने अवस्थामा छन्। उनको शरीरको शिथिलताले गर्दा अब एक हिसाबले ती सबै कुराहरू उनको स्मृतिपटलमा छैनन्।
बरू दार्जीलिङ्गका कलाकारहरूलाई नेपालका सङ्गीतप्रेमीहरूले धेरै चिनेका र बुझेका हुन्छन्। मणिमकल क्षेत्रीमा पनि यही कुरा चरितार्थ हुन आउँछ। उनी यदाकदा नेपालगएका बेला, सोही मौका छोपीउनको मूल्य बुझ्नेहरूमध्ये एकदुई सङ्गीत अन्वेषक तथा मर्मज्ञहरूले उनीबारे लेखेका छन्। एक-दुईले अन्तर्वार्ता लिएका छन्। त्यति नै मात्र हो। यता उनकै जन्म र कर्मथलो दार्जीलिङ्गले भने आँखा नै पुऱ्याएको छैन। यसो त उनलाई कतिपय पुरस्कार र सम्मानहरू प्राप्त भइसकेका छन्। खरसाङबाट पहिलो ‘कमल पुरस्कार’, नेपालबाट ‘छिन्नलता पुरस्कार’, सन्त राफेल इन्सटिट्यूट अनि हरिभक्त कटुवाल गुठी दार्जीलिङबाट ‘सङ्गीत सहचर’ उपाधि, सन् २०२१ मा नै जी.टी.ए. सूचना तथा संस्कृति विभागबाटअरूणा लामा स्मृति पुस्कार, सन् २०२२ मा स्व. रूद्रकुमार प्रधान स्मृति पुरस्कार, गो.दु.नि.स.द्वारा २५ सेप्टेम्बर २०२२ मा प्रदान गरिएको सम्मान आदि उनलाई प्राप्त भइसकेकाछन्।यस्ता पुरस्कार र सम्मानअतिरिक्त सन् 2024 मा दार्जीलिङ्गका धेरैजना प्रतिष्ठित कलाकारहरूले उनको घरमा नै गएर सम्मान जनाएका पनि हुन्।यी सबै हेर्दा उनको योगदानको कदर नभएको त निश्चय नै होईन। तर तालीको गड्गड़ाहट र पुरस्कारले मात्र कलाकारकोकर्म, महत्त्व र अस्तित्वलाई जीवन्त राख्न सक्दैन।खोजमूलक लेख-प्रलेखहरूद्वारा कलाकारहरू र उनीहरूका योगदानका मूल्याङ्कनलाई उजागर गरिएको हुनपर्छ, लिपीवद्ध गरिएको हुन पर्छ। छापा माध्यम मात्र होईन तर डिजिटलाइज रूपमा प्रकाशित हुने माध्यमहरूमा पनि उनीहरूबारे खोज गरि लेखिएका सामग्रीहरू प्रकाशित गरिएको हुनपर्छ। तब पो भावी पिढ़ीले पनि उनीहरूबारे जान्न र बुझ्न सक्छन्।हाम्रो दार्जीलिङ्गमा उनी जस्ता सङ्गीत अभियन्तालाई जनमानसमाझ चिनाउने गरि, उनको समुचित मूल्याङ्कन हुने गरि भनेजस्तो केही लेखिएको छैन। यताबाट केही वर्षअघि प्रतिष्ठित साहित्यकार कालूसिहँ रनपहेली महोदयले उनीबारे लेख्नुभएको लेख अतिरिक्त मैंले अन्य कतै केही देखिनँ। उलेख्य योगदान पुऱ्याएर आउने साहित्यकार, गीतकार, सङ्गीतकार, गायक/गायिकाहरू तथा कुनै पनि कलाकारबारे लेखिनुपर्छ, त्यो लिपीवद्ध रहन्छ अनि पो पछिका पिढ़ीले पनि उनलाई चिन्छन् र जान्दछन्। तर यसो नभइदिँदासही मूल्याङ्कनदेखि उनीहरू वञ्चित हुन्छन्। आज स्थिति यस्तो छ की उनलाई नै अन्तरवार्ता लिएर उनीबारे धेरै जान्ने प्रयत्न गर्न पनि नसकिने अवस्था छ। अझ मलाई अर्को दु-ख के लाग्यो भने, नेपाली गीत-सङ्गीतलाई यति थेरै गुण लगाएका व्यक्ति यसरी कैयौंदिनदेखि बिरामी एकलै-एकलै, मात्र आप्नो श्रीमतीको रेखदेखमा जीवन काटिरहनु भएको छ। कसैलाई थाहा होला कसैलाई नहोला पनि। सामान्य मानिससम्मकोअभिनन्दन ग्रन्थ निकाल्दै प्रत्येक साता यस्ता कुनै न कुनै अभिनन्दन ग्रन्थको पुलिन्दा बिमोचन हुने हाम्रो वर्तमानको अमिल्दो गतिविधिले हामीलाई नै गिज्याए जस्तो लाग्यो मलाई।
नेपाली सङ्गीत क्षेत्रलाई सबल बनाउन आफ्नो सम्पूर्ण उमेर न्यौछावर गर्ने यस्ता विभूतिहरूका अभिनन्दन ग्रन्थ प्रकाशित गरि मूल्याङ्कन गरिनुपर्ने र भावी पिढ़ीको लागि उनीहरूबारे जान्ने र बुझ्ने एक माध्यम तयार गरिदिनु पर्ने हो। नेपाली सङ्गीतको इतिहास लेख्नु हो भने यस्ता अब्बल स्रष्टाहरूका योगदानबारे नलेखे कसरी इतिहास बन्न सक्छ। अहिले उनी अस्वास्थ्य रहेका परिस्थितिमा उनीसितै बसेर सम्पूर्ण तथ्यहरू जानेरसबै कुराहरू समावेश गरि लेख्न नसकिए तापनिअघि-अघि उनीसित भएका टेलिफोनिक संवाद, उनीबारे जान्ने कलाकारहरूसित गरिएका सोधखोजर अन्य स्रोतहरूबाट थाहा लागेका कुराहरूका आधारमा म उनीबारे लेख्न बसेको छु।
सन् साठीदेखि सत्तरसम्मको दशक नेपाली सङ्गीतको स्वर्णकाल थियो। डाँड़ा-काँड़ा घन्किने र सबै उमेर समूहका मानिसहरूलाई रसिलो लाग्ने गीतहरू निर्माण भएको समय हो त्यो। शब्द रचना, सङ्गीत र गायन सबै दृष्टिले उत्कृष्ट गीतहरू जन्मिए त्यस समय। त्यस समय सृजित गीत-सङ्गीतलाई आजको सृजनाले टक्कर दिन नसकेको हामी स्वंयलाई प्रतिपल अनुभूत भइरहेको हुन्छ।
मूल्याङ्कनः
मणिकमल क्षेत्रीको साङ्गीतिक व्यापकतालाई कतिसम्म फैलाएर हामी केलाउन सक्छौं, त्यो मूल कुरा हो। उनको विशेषताको सानो प्रसङ्ग म यहाँ निकाल्न चाहान्छु। सन् १९७८ को कुरा हो। मैंले त्यसताक चर्चित गीतकार मनबहादुर गुरूङ(जो लोक मनोरञ्जन शाखामा नै कार्यरत हुनु हुन्थ्यो) को शब्द रचना रहेको एउटा गीत गो.दु.नी.स हलमा नै कुनै कार्यक्रममात्यसै समय अति प्रख्यात बनिसक्नु भएको एकवरिष्ठ गायक तथा सङ्गीतकारले गाउनु भएको सुनेका थिएँ। गीतको बोल थियो- ‘माया जोड़ुँ जोड़ुँ भन्छु, शत्रु मोड़ुँ मोड़ुँ भन्छु, यो हातै बैगुनी…”।त्यसै वर्ष गो.दु.नि.स.ले आयोजन गरेको जिल्लाव्यापी सङ्गीत प्रतियोगीतामा सोही गीत अर्कैताल र भाकामा कुनै प्रतियोगीले गाइरहेका थिए।पहिले स्थापित गायक तथा सङ्गीतकारले ट्यून भरेर गाएको सोही गीतको लयभन्दा भिन्न र अति मिठो लयमा सो नयाँ कलाकारले गाइरहेका थिएतर अहिले ट्यून अति राम्रो लाग्यो। कुरा के रहेछ भने, अहिले त्यही गीतमा ट्यून भरेरमणिकमल क्षेत्रीले कुनै नयाँ कलाकारलाई सिकाएका रहेछन्, सङ्गीत रचना पनि उनकै रहेछ। त्यसबेला त्यही गीतको यो नयाँ ट्यून मलाई खुबै मन पऱ्यो। ‘माया जोड़ुँ जोड़ुँ भन्छु, शत्रु मोड़ुँ मोड़ुँ भन्छु, यो हातै बैगुनी…”। उनको कम्पोजिशन क्षमतासित म त्यसैबेला यसरी परिचित भएको थिएँ।
मणिकमल क्षेत्री गायकबाट नेपाली सुगम संगीतका सिद्धहस्त संगीतकारमा रूपान्तरितभएका हुन्।गीत रेकर्डको हिसाबले हेर्दा चाहिँ उनको उदय ठीक त्यति बेलाभएको देखिन्छ जब पहिलो पटक प्रसिद्ध गीतकार तथा सङ्गीतकार शरण प्रधानले आफ्नै श्रीमती अरूणा लामासित उनलाई युगल गीत गाउने अवसर दिनुभयो। साठीको दशकमा आर्ट एकाडेमी स्थापित गरेर अम्बर गुरूङ्गले आफ्नो साङ्गीतिक गतिविधि पनि अघि बढ़ाएउँदैराम्रा-राम्रा गायक/गायिकाहरूलाई पनि एकाडेमीमा शामेल गरि सिकाउन थाल्नु भएको थियो। त्यसै क्रममा बेञ्जो र मेन्डोलियनमा पारखी बनिसकेका शरण प्रधानले पनि एकाडेमीमा शामेल भइ उहाँबाट औपचारिक सङ्गीत सिक्न थाल्नु भएको थियो। शरण-अरूणाको संसर्गमा आउनुभन्दा पहिले मणिकमल उति चर्चामा थिएनन् तर पनि उनी असल गायक र बाँसुरीवादक थिए। आर्ट एकाडेमीमा संलग्न रहँदा रहँदै केहीपछिबाट आफ्नो प्रतिभाको बलमाशरणले गीतकार र सङ्गीतकारको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन थालेपछि अनि अरूणासित विवाह भएपछिदुई होनहार पति पत्नीबाट हाम्रो मौलीक भाकाका नयॉँ नयाँ गीतहरू एकपछि अर्को निस्कनु थालेको थियो। त्यही समयमा नेपाली सङ्गीतिक क्षेत्रमागायकको रूपमा मणिकमल क्षेत्रीको पदार्पण भएको देखिन्छ।उनको स्वर प्रतिभासित परिचित भएपछि शरण प्रधानले सबैभन्दा पहिले उनलाई गायनको क्षेत्रमा उतार्दैआफ्नो पत्नीसित युगल गीत सिकाएर रेकर्ड गराउन कलकत्ता पुऱ्याए अनि अरुणा-मणिकमलको एउटा उत्कृष्ट गीत नेपाली साङ्गीतिक जगतले पायो। गीत थियो- “आँखाहरूले कसलाई कसलाई खोजेझैं लाग्छ।”त्यही बेला रेकर्ड भएको अर्को गीत थियो “यो जोवनलाई घरको माया छ कि छैन, जस्तो लाग्छ मायालुलाई सम्झेर”।शरण प्रधानको घर थियो दार्जीलिङ्ग रेलवे स्टेशनकै छेउमा अनि मणिकमल क्षेत्रीको घर थियो केही तल राजबाड़ीमा। मणिकमल क्षेत्री भिट्कोरिया फल्सको बाटो भएर अलि माथि आएपछि धिरधाम भएर रेलवे स्टेशनको बाटो आइपुगे होला, त्यहाँ उनको शरण प्रधानसित भेट भएछ। कुरा रहेछ सन् १९६४/६५ को। भेट्नसाथ शरणले भन्नुभएछ, “भाइ घरमा आउनुपर्छ है! तपाईं यसपालि रेकर्डिङमा जानुपर्छ।” शरणले त्यसबेलासम्ममा मणिकमलभित्रको प्रतिभा थाहा पाइसक्नु भएको रहेछ भन्ने प्रमाण यसैबाट पाइन्छ। तर त्यसबेलासम्म मणिकमललाई भने रेकर्डिङको ज्ञान थिएन। घरमा बोलाएर शरणले गीत सिकाउनु भयो। सबै तयार भएपछि शरण, अरूणा र मणिकमल रेकर्डिङको लागि कलकत्ता हिँड़े। कलकत्ताको त्यही यात्रामा अरूणा लामाको स्वरमा ‘यो जोवनलाई घरको माया छ कि छैन’बोलको गीत पनि रेकर्ड भयो, साथै मणिकमल र अरूणा लामाको स्वरमा ‘आखाहरूले कसलाई कसलाई खोजे झैं लाग्छ’ रेकर्ड भयो। यस अतिरिक्त मणिकमलको स्वरमा एउटा सोलो गीत ‘गुणको नाममा केही रहेन अवगुणैले दियो साथ, मलाई साथी सम्झिनेलाई मेरो धेरै धन्यवाद’बोलको गीत पनि रेकर्ड भयो। अर्कोपटक कतकत्ता यात्रामा चाहिँ ‘जोवनमा जोगिएर बस है छोरी बिग्रे माइतीको नाक जाला’ बोलको गीत रेकर्ड भएको रहेछ। त्यसपछि पनि अरू कैयौं पटक मणिकमललाई शरण र अरूणासित कलकत्ता गइ रेकर्डिङ गर्ने अवसर प्राप्त भयो। यो हिसबाले हेर्दा गायकको रूपमा त उनी शरण प्रधानकै संसर्ग र सहयोगमा जनमानसमाझ परिचित हुन पुगेको देखिन्छ।
शरणको शब्दरचना, सङ्गीत अनि अरूणा-मणिकमलको स्वरमा ग्रामोफोन रेकर्डमा निस्केकायी गीतहरूले त्यो समय झ्याली त पिटेकै थियो तर आज पनि यस्ता गीतहरूलाई टक्कर दिनसक्ने गीत विरलै देखिन्छ। आज पनि ती गीतहरूसुन्न कुनै पनि सङ्गीत प्रेमीको मन लालयित हुन्छ।“आँखाहरूले कसलाई कसलाई खोजेझैं लाग्छ”बोलको गीतआधुनिक गीत भए तापनि यो गीतको मुटुमा लोकलय नै बसेको हुनाले यो उत्कृष्ट श्रेणीको हुन पुगेको छ। एवं रीतले गायिका अरुणा लामासँग तीन दशक बढी समयसम्मसहकार्य गरेका उनका दर्जनौं गीतहरू सबै सबैनै कर्णप्रिय छन्।
मणिकमल क्षेत्रीका सङ्गीतकार व्यक्तित्वको कुरा गर्नु हो भनेपहिले गायककै रूपमा स्थापित बनिसकेपछि हऱिभक्त कटुवालका गीत ‘हाँगाहाँगा वनभरि चैत फुलेछ’ मा सङ्गीत भरेपछि उनलाई सङ्गीतकारको रूपमा मानिसहरूले प्रत्यक्षरूपमा चिन्न थालेका हुन्।उनको सङ्गीत र अरूणा लामाको स्वरमा यो गीत रेकर्ड भएर निस्केपछि मणिकमल अझ अधिक चर्चामा आए। सुरूमा शरण र अरूणाकै समूहमा गीत गाएर आउने मणिकमल अब अरूणाले गाएकी गीतमा सङ्गीतकारको रूपमा देखा परे।मणिकमल क्षेत्री स्वयंले नै बताएअनुसार उनी भुटानमा रहेका बेला नै कुनै एक पत्रिकामा हरिभक्त कटुवाल रचित यो गीत देखेका र पढ़ेका थिए अनि अति नै मन परेपछि उनले उसै समय यो गीत कम्पोज गरेका थिए। पछिअस्सीको दशकमा उनको कम्पोजिशनको यो गीतअरूणा लामाको स्वरमा रत्न रेकर्डिङ संस्थानबाट रेकर्ड भएको हो। रेकर्ड हुने दिनमा गोपाल योञ्जनको पनि तीन गीतको साथमा यो गीत पनि रेकर्ड भएको रहेछ। मणिकमल बताउँछन्-“त्यो दिन गोपाल योञ्जन जस्ता महान सङ्गीतकारको तीन गीतहरूका साथमा मेरो गीत रेकर्ड हुँदा डर पनि लागेको थियोतर रेकर्ड भएर निस्केपछि यो गीत सबै श्रोताहरूले मन पराइदिए। यही गीतले मलाई सङ्गीतकार तथा कम्पोजरको रूपमा जनमानसमा मान्यता दिलाउन सक्यो।”
दार्जीलिङ्गमा नेपाली गीत-सङ्गीतलाई विशेष परिस्थितिमा टेवा दिएर हुर्काउनुमा मणिकमल क्षेत्रीको योगदानलाई बिर्सेर नेपाली गीत सङ्गीतको इतिहास लेख्न सकिँदैन। जुन समय अम्बर गुरूङ, गोपाल योञ्जन, रञ्जित गजमेरले दार्जीलिङग छाडिसकेका थिए, शरण प्रधानको मृत्यु भइ सकेको थियो अनि शान्ति ठटाल पनि सिक्किमतर्फ लागिसक्नु भएको थियो। त्यो बेला गीत गायनको क्षेत्रमा लागेका नयाँ-नयाँ कलाकारहरूका लागि गीत कम्पोज गरिदिने सङ्गीतकारको ठूलो अभाव थियो। त्यही अभावलाई पूरा गरिदिए मणिकमल क्षेत्रीले। राम्रा-राम्रा स्वर भएका गायक/गायिकाहरू जन्मँदै गएका थिए तर गीत कम्पोज गरिदिने सङ्गीतकारको अभाव थियो, त्यससमय सङ्गीतकारकर्म योञ्जन र मणिकमल क्षेत्रीले नै दार्जीलिङ्ग थामेर बसे। उनीहरूबाटै सिकेर नयाँ-नयाँ कलाकारहरूले नयाँ गीतहरू पाउँदै गए। यो कुरालाई कहिल्यै भुल्न हुँदैन।
शरण प्रधान बितेर गएपछि अरूणा लामा मर्माहत र बिचलित बनेकी थिइन्, अब गाउँदै गाउँदिन भन्ने ढिप्पिमा थिइन्, त्यस समय पनि कर्म योञ्जन र मणिकमलले नै उनलाई फेरि सङ्गीतको मार्गमा फर्काएर ल्याएका हुन्। यति मात्र होईन, दुवैले माइतीको रूपमा जीवन प्रयन्त उनलाई सङ्गीतको क्षेत्रमा साथ दिए।
मणिकमलले गोपाल योञ्जनसित पनि सहकार्य गरे। गोपाल योञ्जन दार्जीलिङ्गमा नै रहेको बेला उनका शब्द र सङ्गीतका धेरै उत्कृष्ट गीतहरू मणिकमललेविभिन्न कार्यक्रमहरूमा गाएका थिए। पछिबाट गोपालको शब्द, सङ्गीतमा नारायण गोपालको स्वरमा रेकर्ड भएका कतिपय गीतहरू त्यो भन्दा पहिले नै विभिन्न मञ्चहरूमा मणिकमलले गाइसकेका थिए। उदहरणको लागि “तिम्रो जस्तो मुटु मेरो पनि”र“गल्ति हजार हुन्छ”बोलको गीतलाई लिन सकिन्छ।
सङ्गीततर्फ आफूलाई कसरी कसको प्रभाव पऱ्यो भन्ने प्रसङ्ग निकाल्दै सुरूमा अल इण्डिया रेडियोबाट गोर्खाली समाचार पछि बज्ने मित्रसेन थापाका गीतहरू र पछिबाट रेडियो नेपालबाट बज्ने बुच्चु कैलाश, प्रेमध्वज प्रधान र नारायण गोपालका गीतहरू सुनेर त्यसबाट आफू प्रभावित भएको बताउँछन्। यस्तै कलाकारहरूका गीत सुनेर त्यो भाकालाई टिपेर गुनगुनाउँदै उनले सातौं श्रेणीको छात्र रहँदादेखि स्कूलका विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन थालेका रहेछन्। त्यसपछि आफ्नै सुमधुर स्वरको कारणले परिचित हुँदै गएर, गाउँघरमा हुने सांस्कृतिक कार्यक्रहरूमा भाग लिन थालेपछि केही चर्चित हुन पुगे अनि पछिबाट शरण-अरुणाको संसर्गमा आउने अवसर प्राप्त भएकोर उहाँहरूकै साथमा कतिपय गीतहरू रेकर्ड पाएपछि त ह्वात्तै जनमानसमाझ चर्चित पुगेका हुन् मणिकमल क्षेत्री।
सानैदेखि स्वर राम्रो भएकोले उनलाई जितेन्द्र बरदेवाले ‘अहिले त मेरो जोबन, सानो छ सानै कोपिला…’ भन्ने गीतमा पहिलो पटक मञ्चमा निकालेका हुन्। कर्म योञ्जनलाई उनी उत्कृष्ट सङ्गीतकार मान्छन्। उनका कैयौं गीतहरू आफूले गाएको उनी बताउँछन्। अगमसिंह गिरीका शब्द र कर्म योञ्जन दाइको सङ्गीतमा रहेको प्रसिद्ध गीत ‘माटोको माया बिर्सेर यहाँ बाँचेर केको सार, पहाड़की रानी दार्जीलिङलाई माया छ बारम्बार…।’यो गीत पछिबाट कुमार सुब्बाको आवाजमा आकाशवाणी खर्सानबाट बज्न थालेपनि सबैभन्दा पहिले मञ्चतिर मणिकमलले नै गाएका हुन्। कर्म योञ्जनका सङ्गीतमा उनले गाएका गीतहरूमा — ‘कसैलाई सम्झिदिन्छु फूलदेखि वनभरि …’, ‘मदिराले होइन मत बैंशले मातिएँ…’ आदि हुन्। ‘मदिराले होइन मत….’ भन्ने गीत गोपाल योञ्जन दाइको बिहेमा गाउँदा प्रसिद्ध गायक नारायण गोपालज्यूले मणिकमललाई तीनपल्ट गाउन लाउनुभएको रहेछ। त्यो घटना आफ्नो जीवनको स्मरणीयठान्दो रहेछन्, मणिकमल।
सङ्गीतकारको रूपमा हरिभक्त कटुवाल रचित गीत कम्पोज गरि रेकर्ड भएपछि उनी यस गीतको माध्यमले एक असल सङ्गीतकारको रूपमा पनि प्रतिस्थापित हुन पुगे भनि अघिनै भनियो। अरुणा लामा जस्तो उत्कृष्ट गायिकाको स्वरमा रेकर्ड भएको यो गीतले उनलाई अचानक चर्चामा ल्यायो। दार्जीलिङ्गमा अति चर्चित नाटकहरूका गीतहरूमा पनि उनले सङ्गीत दिएका छन्। यस्ता गीतहरूमध्ये पी. अर्जूनद्वारा लिखित तथा निर्देशित नाटक‘पहाडकी रानी’-कोगीत‘बाँ’च्न जानिनँ कि बचाउन जानिनँ, मैले यो पहाडकी रानी’ बोलको गीत र मनबहादुर मुखिया रचित गीतहरूमा पनि उनले सङ्गीत भरेका छन्।उदाहरणको रूपमा लिनपर्दा–
पारिपट्टि सहनाई बज्छ वारिपट्टि शङ्ख बज्छ
प्रियतमको लाश लाँदा प्रेमिकाचाहिँ डोली चढ्छ
आफूले धून भरेको पी. अर्जूनद्वारा रचित ‘पहाडकी रानी’ नाटकको ‘बाँच्न जानिनँ’ बोलको गीत आफैलाई अति उत्कृष्ट लागेको उनी बताउँछन्। उनको भनाइमा यो गीतको शब्दहरू अति नै सबल छन्। गीतमा एक ठाउँ “गुराँस झरेर रग्ताम्मे भएछ, मेरो यो पहाडकी रानी”जस्ता शब्दहरूले पनि गीत अति उत्कष्ट हुन पुकेको उनको ठहर छ।
नेपाली सङ्गीतको क्षेत्रमा पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सङ्गम हुन् मणिकमल क्षेत्री। हिँजआजका चर्चित गायक रामकृष्ण ढकालले उनकै सङ्गीतमा ‘हिउँचुलीमा हिउँ पर्यो’बोलको गीतगाएका छन्। यो गीतपछि त नयाँ पुस्ताको सङ्गीतकारको रूपमा पनि उनी चर्चित बन्न पुगे।नयाँपुस्ताका गायक जगदिश समाललगायतका गीतमा पनि उनले सङ्गीत भरेका छन्। यस्तै एक गीत हो–‘तिमीले दिएको प्रेमको गलफन जुनिभर बाँध्नेछु।उनी स्वयं भन्छन्- ‘अहिले म गायक कम, संगीतकार बढी भएको छु।’
कलाकार जति नै चर्चित किन नहुन्, जीवनमा कतिपय तिता परिस्थिति पनि भोगेका हुन्छन्। उनले पनि कुनै समय रेडियो नेपालमा स्वर परिक्षा दिन काठमाडौं जाँदा ‘पारिको’ भनेर परीक्षामा सामेल हुनदेखि ब़ञ्चित हुन परेको रहेछ।
मणिकमल क्षेत्रीको जन्म माता रत्नमाया छेत्री अनि पिता नरसिंह छेत्रीको सन्तानको रूपमा ७ मार्च १९४९-को दिन दार्जीलिङको राजबाड़ीमा भएको हो। उनले प्राथमिक शिक्षा गाउँकै अमर पाठशालाबाट प्राप्त गरेका हुन्। त्यसपछि सरकारी उच्च विद्यालयमा पढ़ेर उच्चत्तर माध्यमिक गरे अनित्यसपछि दार्जीलिङ सरकारी महाविद्यालयबाट स्नातक गरेका हुन्। सङ्गीतको क्षेत्रमा भने प्रयागबाट सङ्गीत विशारद गरेका हुन्। पढ़िसकेपछि नोकरीको सिलसिलामा सन् १९७० देखि १९७८ सम्म साम्ची भूटानमा सङ्गीत विषयका शिक्षकको रूपमा कार्य गरे। त्यहाँबाट फर्केर आएपछि सन् १९८० मा पश्चिम बङ्गाल सरकारको संस्कृति विभागको मातहतमा दार्जीलिङ्को पहाडमा सञ्चालितलोक मनोरञ्चन शाखा (Song and Drama Unit) मा सङ्गीतकारको रूपमा नियुक्त भइ काम गरे अनि २००९ मा अवकाश ग्रहण गरेका हुन्।
गायक-सङ्गीतकार मणिकमल छेत्रीज्यूले सङ्गीत क्षेत्रमा अरू विशेष कामहरू पनि गरेका छन्। सङ्गीतकार शान्ति ठटाल दिदीसित क्यान्टाटा गरेका रहेछन्।ईश्वर बल्लभ रचित‘एउटा निलो सूर्यास्त‘ मा शान्ति ठटाल दिदीले ‘प्ले ब्याक म्युजिक’ दिनु भएको हो अनि यही गीति नाटकले दिदीलाई सङ्गीतकारको रूपमा पहिचान दिएको कुरा दिदी स्वयंले पनि स्वीकार गर्नु हुन्छ।सायद यही गीति नाटकमा मणिकमल क्षेत्रीज्यूलेशान्ति दिदीसित सहकार्य गरेका हुन्।
सङ्गीतकारको रूपमा उनलेमनबहादुर मुखियाका नाटकहरूमा पनि भूमिका निर्वाह गरेका छन् साथै नाटककार-निर्देशक किरण ठकुरीको नाटकमा पनि सङ्गीत दिएका छन्। प्रताप सुब्बाको निर्देशनमा प्रकाश कोविदको ‘देवता’ फिल्ममा पनि सङ्गीत निर्देशनको काम गरेका छन्। कतिपय भिडियो फिल्महरूमा पनि सङ्गीत दिएका छन्।
उनले पछिल्लो दिनहरूमा केही समयसम्म नेपालको झापास्थित नागरिक संगीत विद्यालयमा सङ्गीत निर्देशक बनेर धेरै विद्यार्थीहरूलाई सङ्गीत पनि सिकाएका हुन्।
मणिकमल क्षेत्री भनेपछि नेपाली गीत-सङ्गीतको स्वर्णकालकै जाँदो मोड़देखि यात्रा सुरू गर्दै आएका उत्कृष्ट गायक र पछिबाट सङ्गीतकार बनेका हाम्रो धरोहर र लिजेण्ड हुन्। उनी सङ्गीत अभियन्ता मात्र होइनन् तर सङ्गीतको गहन अध्ययन भएको व्यक्ति हुन्। कतिपय कार्यकक्रममा उनले बोलेका मैंले सुनेको छु, जसबाट हाम्रो लोक सङ्गीत, लोक भाकाहरूका महत्त्व र यसको जगेर्ना सम्बन्धमा उनको अति गहन अध्ययन रहेछ भन्ने कुराको म स्वयं साक्षी रहेको छु।
सन्दर्भ
1. Music Myth & Melody: A Brief History of Nepali Music Kindle Edition, by Dhrubesh Regmi.
2. प्रकाश सायमी, (खबरहब, जेठ 20, 2080)
3. नेपाली सङ्गीत संसारका मणि… मणिकमल छेत्री (कालुसिहँ रणपहेली, दि रिपब्लिक इण्डियन, 19 नोभेम्बर, 2022)
4. बिर्सनै नसकिने हाम्रा गीत-सङ्गीतका पदछापहरू (जे.के.बराईली)
5. बैंस फुलेछ, भीम घिमिरे. कान्तिपुर, 14 बैसाख, 2069
6. गुन्द्री बजारबाट उठेर, बुलु मुकारूङ, नागरिक, भाद्र 2, 2075
