बुद्ध:मानव इतिहासका महान् मानववादीचिन्तक

करिब २६०० वर्षअघि नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्ध मानव इतिहासका महान् नैतिक शिक्षक, दार्शनिक, तर्कशील अन्वेषक र प्रज्ञा-करुणामय मानववादी चिन्तक हुनुहुन्छ। बुद्ध कुनै धार्मिक सम्प्रदायका संस्थापक होइनन्; उहाँ मानव चेतनालाई अन्धविश्वास, कर्मकाण्ड, जन्माधारित जात-विभेद, भय र अज्ञानताको बन्धनबाट मुक्त गर्न उदाएका महान् मानवमुक्तिदाता हुन्। उहाँको महानता कुनै अलौकिक दाबी, चमत्कार, ईश्वरीय आदेश वा दैवीसक्तिमा होइन, बरु दुःखको यथार्थ पहिचान, कारणहरूको विवेचना, नैतिक जीवन, तर्कशील चिन्तन, करुणा, अहिंसा, आत्मजागरणर प्रज्ञामा आधारित छ।
बुद्ध प्रथम महान् मानववादी चिन्तक
मेरो दृष्टिमा बुद्ध संसारकै महान् मानववादी चिन्तक हुनुहुन्छ, किनभने उहाँले मानव जीवनको केन्द्रमा इश्वोर, देवता, जन्म, जात, कर्मकाण्ड वा पुरोहितीय अधिकारलाई होइन, मानव पीडा, मानव चेतना, करुणारविवेक (प्रज्ञा) लाई राख्नुभयो। उहाँले मानिसलाई डराएर होइन, चेतना जागृत भएर बाँच्न सिकाउनुभयो। उहाँले मुक्ति बाहिर खोज्नुभन्दा भित्र खोज्न सिकाउनुभयो। उहाँले मानिसलाई भन्नुभयो—तिमी आफैँ हेर्नू, आफैँ बुझ्नू, आफैँ माथिपरीक्षण गर्नू, र सत्यलाई आफ्नै अनुभवर विवेकबाट आत्मसात् गर्नू।
प्राचीन पुर्बियबौद्धिक इतिहासलाई हेर्दा बुद्धको उदय एउटा अत्यन्त महत्वपूर्ण ऐतिहासिक मोडमा भएको देखिन्छ। बुद्धभन्दा अघि उपनिषद् काललाई पुर्बियबैध्यिक सभ्यताको एक उज्यालो, जिज्ञासु र दार्शनिक कालका रूपमा चिनिन्छ। त्यो समयका ऋषिहरू केवल कर्मकाण्ड गर्ने पुरोहित मात्र थिएनन्; उनीहरू गहिरा चिन्तक, अन्वेषक, ध्यानयोगी र आफ्नो समयका वैज्ञानिक मनोवृत्ति भएका व्यक्ति थिए। उनीहरूले अस्तित्व, आत्मा, ब्रह्माण्ड, चेतना, जीवन, मृत्यु, ईश्वर, सत्य र परम सत्यका विषयमा साहसपूर्वक प्रश्न गर्दथे। उनीहरूले प्रश्न गर्न सक्ने बौद्धिक वातावरणको सिर्जना गरे। यही कारणले उपनिषद् काललाई पुर्बिय बैध्यिक चिन्तनको स्वर्णयुग भन्न सकिन्छ।
त्यस कालमा मानव शरीर, मन, प्रकृति र जीवनशैलीका विभिन्न आयामहरूमा महत्वपूर्ण चिन्तन भएको थियो। योग शरीर, श्वास, चेतना र मानसिक अनुशासनको अद्भुत विज्ञानका रूपमा विकसित भयो। आयुर्वेद स्वास्थ्य, शरीरविज्ञान र प्राकृतिक उपचारको व्यवस्थित ज्ञानका रूपमा आयो। जीवनका सौन्दर्य, प्रेम, यौनता र सामाजिक सम्बन्धबारे पनि शास्त्रीय चिन्तन विकसित भयो। यसरी हेर्दा प्राचीन पुर्बिय बैध्यिक सभ्यतामा एक समय गहिरो जिज्ञासा, खुलापन, चिन्तन र ज्ञानको खोजीकोसुरुवात थियो।
तर, उपनिषद् कालको त्यो मुक्त बौद्धिक चेतना विस्तारै कठोर कर्मकाण्ड, पुरोहितीय प्रभुत्व, जातीय विभाजन, सामाजिक असमानता र अन्धविश्वासको जालोमा अल्झँदै गयो। जहाँ प्रश्न थियो, त्यहाँ आज्ञापालन आयो। जहाँ सत्यको खोजी थियो, त्यहाँ कर्मकाण्डको बोझ बढ्यो। जहाँ मानव गरिमा थियो, त्यहाँ जन्माधारित उच्च–नीचको व्यवस्था बलियो बनाइयो। मानिसको मूल्य उसको आचरण, ज्ञान, करुणा र चरित्रबाट होइन, जन्म, जात, कुल र सामाजिक हैसियतबाट नापिन थालियो। यही विकृत सामाजिक चेतना पछि मनुस्मृतिजस्ता सामाजिक संहिताहरूमा संस्थागत हुन पुग्यो, जसले जातीय विभेद, स्त्री–पुरुष असमानता र अनेक किसिमका सामाजिक अन्यायलाई धार्मिक वैधता दियियो।
यही ऐतिहासिक पृष्ठभूमिमा बुद्धको उदय भयो। बुद्धले त्यस समयको जन्माधारित सामाजिक अन्याय, पुरोहितीय अधिकार, कठोर कर्मकाण्ड र अन्धविश्वासलाई चुनौती दिनुभयो। उहाँले भन्नुभयो—मानिस जन्मले महान् हुँदैन, कर्मले महान् हुन्छ।ब्राह्मण जन्मले होइन, सत्य, संयम, करुणा, ज्ञान र चरित्रले हुन्छ। उहाँले जातीय अहंकारलाई अस्वीकार गर्नुभयो। उहाँले सामाजिक हैसियतभन्दा नैतिक जीवनलाई ठूलो ठहर्याउनुभयो।उहाँले धार्मिक कर्मकाण्डभन्दा दुःखमुक्त जीवनलाई प्राथमिकता दिनुभयो। यही कारणले बुद्ध केवल आध्यात्मिक गुरु मात्र होइनन, एक सामाजिक क्रान्तिकारी पनि हुन।

बुद्धको विद्रोह क्रोधको विद्रोह थिएन; त्यो करुणार प्रज्ञाप्राप्तिकोविद्रोह थियो। त्यो विनाशको विद्रोह थिएन; त्यो प्रज्ञा जागरणको विद्रोह थियो। त्यो कुनै समुदायविरुद्धको विद्रोह थिएन; त्यो अज्ञानता, अन्याय, अन्धविश्वास र अमानवीय विभेदविरुद्धको विद्रोह थियो। बुद्धले मानिसलाई मुक्त गर्न चाहनुभयो—देवताबाट होइन, डरबाट; कर्मकाण्डबाट होइन, अज्ञानताबाट; जातबाट होइन, अहंकारबाट; पीडाबाट होइन, पीडाका कारणहरूबाट।
धर्मको अवधारणार प्रतीत्यसमुत्पाद
बुद्धका शिक्षाको केन्द्रमा धर्म को अवधारणा छ। तर बुद्धका लागि धर्म कुनै ईश्वरद्वारा दिइएको ज्ञान अथवा आज्ञा होइन। धर्म भनेको घटनातथावस्तुहरूको अस्तित्वको प्राकृतिक नियम हो।यो कार्य–कारण र परिणामबाट उत्त्पन्नसत्य हो। घटना-परिघटना र वस्तुहरू कसरी उत्पन्न हुन्छन्, कसरी परिवर्तन हुन्छन्, कसरी एकअर्कासँग सम्बन्धित हुन्छन्, र कसरी नाश हुन्छन् भन्ने यथार्थलाई बुद्धले धर्मका रूपमा बुझाउनुभयो। यस अर्थमा बुद्धको धर्मको अबधारणाले प्राकृतिकप्रकृया, नैतिक र मनोवैज्ञानिक आयामहरुसंग गहिरो सम्बन्ध राख्द छ।
बुद्धले संसारलाई कुनै स्थिर, अपरिवर्तनीय, अलग–अलग अस्तित्वहरूको संग्रहका रूपमा हेर्नुभएन। उहाँले सबै कुरा परस्पर सम्बन्धित, परस्पर निर्भर र निरन्तर परिवर्तनशील छन् भन्नुभयो। यही हो प्रतीत्यसमुत्पादको सिद्धान्त—सबै कुरा कार्य-कारण र अवस्थाहरूबाट उत्पन्न हुन्छन। कुनै पनि बस्तु वा केही पनि एक्लै, स्वतन्त्र र स्थायी रूपमा अस्तित्वमा छैन। मानव दुःख पनि कुनै भाग्य वादैवी श्रापबाट उत्पन्न हुने होइन; त्यो पनि कार्य-कारणहरूको परिणाम हो। अज्ञानता, तृष्णा, आसक्ति, अहंकार, द्वेष र भ्रमले दुःख जन्माउँछन्। यदियीकारणहरूलाई बुझ्न सके वा बुझिए र परिवर्तन गर्न सके वा गरिए भने, दुःख घटाउन सकिन्छ, र अन्ततः निर्मूल पनि गर्न सकिन्छ।
यो बुद्धको शिक्षाको वैज्ञानिक पक्ष हो।उहाँले दुःखलाई रहस्य बनाएर भगवान, भाग्य र अन्धविस्वासको भारीको भ्रममा छाड्नुभएन। उहाँले त्यसको विश्लेषण गर्नुभयो। उहाँले रोगको निदान गर्ने चिकित्सकजस्तै मानव दुःखको कारण पहिचान गर्नुभयो र उपचारको मार्ग देखाउनुभयो। चार आर्य सत्य यसैको महान् उदाहरण हुन्: दुःख छ; दुःखका कारण छन्; दुःखको निरोध सम्भव छ; र निरोधतर्फ लैजाने अष्टाङ्गिक मार्ग छ।यो कुनैरहस्यमयअन्धविश्वास होइन; यो गहिरो मनोवैज्ञानिक, नैतिक रप्राज्ञिक अस्तित्वगत विश्लेषण हो।बुद्धको धर्मको अबधारणाले केही आधारभूत सिद्धान्तहरू स्पष्ट पारेको छ।
पहिलो सिद्धान्त हो—मानव कर्मका परिणाम हुन्छन्। लोभ, हिंसा, घृणा, छल, अहंकार र स्वार्थबाट प्रेरित कर्मले अन्ततः दुःख जन्माउँछ। उदारता, करुणा, संयम, मैत्री र विवेकबाट प्रेरित कर्मले शान्ति र सुख जन्माउँछ। यो स्वर्ग–नर्कको भयबाट सञ्चालित नैतिकता होइन; यो कारण–परिणाममा आधारित नैतिक यथार्थ हो। मानिसले जे रोप्छ, त्यसैको फल प्राप्त गर्छ।
दोस्रो सिद्धान्त हो—मानिसलाई भाग्य रजन्मले होइन, ब्यबहार रआचरणले परिभाषित गर्छ। बुद्धका लागि ब्यबहार र चरित्र निर्माणशीलवा निर्माण गर्न सकिने कुरा हो। मानिस स्थिर वस्तु होइन; ऊ बन्ने प्रक्रियामा रहेको चेतनशील प्राणी हो। उसको सोच, व्यवहार, बानी, करुणा, विवेक र कर्मले उसको व्यक्तित्व निर्माण गर्छ। कुनै व्यक्ति उच्च जात-कुलमा जन्मिएर पनि नैतिक रूपमा दरिद्र हुन सक्छ, र कुनै साधारण परिवारमा जन्मिएको व्यक्ति पनि व्यवहार, करुणा, ज्ञान, र चरित्रद्वारा महान् बन्न सक्छ। बुद्धको यहि दर्शनले उनलाई माहान मानवबादीबनाउछ।
तेस्रो सिद्धान्त हो—मानव जीवन व्यक्तिगत मात्र होइन, सामाजिक र अन्तर-सम्बन्धात्मक छ। कुनै पनि मानिस एक्लै अस्तित्वमा हुदैन। ऊ परिवार, समाज, संस्कृति, प्रकृति र समग्र जीवन–जगत्को जालोमा जोडिएको हुन्छ। हाम्रो सुख अरूको सुखसँग जोडिएको छ। हाम्रो दुःख अरूको दुःखसँग जोडिएको छ। हामीले गर्ने हरेक कर्म केवल व्यक्तिगत परिणाममा सीमित रहँदैन; त्यसले समाज र प्रकृतिमा तरङ्गहरू सिर्जना गर्छ। त्यसैले बुद्धको करुणा-प्रज्ञाकेवलएउटा व्यक्तिको आत्म-मुक्तिको साधन मात्र होइन; सामाजिक सद्भाव र सामूहिक कल्याणर मुक्तिकोआधार पनि हो।माहायान बौद्ध दर्शनको आधारशिला पनि यहि हो।
चौथो सिद्धान्त हो—सबै जीवनप्रति मैत्रीभावरसम्मान। बुद्धले अहिंसा, करुणा र जीवनको पवित्रतालाई अत्यन्त उच्च स्थान दिनुभयो। उहाँको करुणा केवल मानिससम्म मात्र सीमित थिएन। उहाँको मैत्रीभाव सबै प्राणी, जिबात्माहरू र सम्पूर्ण प्रकृतितर्फ फैलिएको थियो।यस अर्थमा बुद्धदर्शनमा गहिरो पर्यावरण-पारिस्थितिक चेतना छ। प्रकृतिमा विकसित भएका सबै जीवहरूरपर्यावरणप्रणालीको आ–आफ्नो भूमिका छ। मानिस,आफ्नो चेतनाको उच्च क्षमताका कारण, अन्यजीवरपर्यावरणप्रणालीको शोषक मात्र होइन, संरक्षकपनि बन्नुपर्छ। मानव बुद्धि-बिबेक प्रकृतिको शोषण र प्रभुत्वका लागि होइन, सहअस्तित्वका लागि प्रयोग हुनुपर्छ।
बुद्ध दर्शनको सान्दर्भिकता
आजको युगमा बुद्धदर्शनझन् बढी सान्दर्भिक भयको छ। हामी विज्ञान, प्रविधि, सूचना, उत्पादनर उपभोक्ताबादमा अत्यन्त अगाडि बढेका छौँ, तर नैतिक चेतना, करुणा र आत्म-अनुशासनमा त्यति नै पछाडी पर्दै गयका छौँ। हामीले प्रकृतिलाई नियन्त्रण गर्न सिक्यौँ, तर प्रकृतिसँगकोसह-जिबनमा बस्न सिकेका छैनौँ। हामीले भौतिक सम्पत्ति उत्पादन गर्न सिक्यौँ, तर जीवनको अर्थ बुझ्न सकेका छैनौँ। हामीले प्रतिस्पर्धा सिक्यौँ, तर सहकार्य बिर्सियौँ। हामीले उपभोगता बढायौँ, तर संयम हरायौँ। हामीले शक्ति प्राप्त गर्यौँ, तर करुणा रप्रज्ञा गुमाउदै गयौ।
यही कारणले आधुनिक सभ्यता गहिरो संकटमा छ। पर्यावरण प्रणाली रजलवायु संकट, जैविक विविधताको विनाश, युद्ध, हिंसा, मानसिक तनाव, सामाजिक विभाजन, आर्थिक असमानता र आध्यात्मिक रिक्तता, सबै आधुनिक मानवसभ्यताताको असन्तुलित विकासका लक्षण हुन्।बुद्धशिक्षालेहामीलाई सम्झाउँछ: लोभले स्थायी सुख दिँदैन; घृणाले शान्ति ल्याउँदैन; हिंसाले सभ्यता निर्माण गर्दैन; अतृप्त इच्छाले मुक्ति दिँदैन; अन्धविश्वासले ज्ञान दिँदैन; अहंकारले मानवता बचाउँदैन।
बुद्धले देखाएको अष्टाङ्गिक मार्ग सरल छ तर यो मार्गमा हिड्न त्यति नै कठिन पनि छ—सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि। यो अष्टाङ्गिक मार्ग केवल धार्मिक साधनना होइन; यो नैतिक, मनोवैज्ञानिक र सामाजिक जीवनको पूर्ण मार्गदर्शन हो।
बुद्धको मानववाद करुणार प्रज्ञामा आधारित छ, तर त्यो अन्ध भावुकता होइन। त्यो विवेकद्वारा निर्देशित करुणा हो। बुद्धको तर्कवाद बौद्धिक अहंकार होइन; त्यो अनुभव, निरीक्षण र आत्मपरीक्षणमा आधारित ज्ञान हो।उहाँको आध्यात्मिकता अलौकिक रहस्यवाद होइन; त्यो जागृत प्रज्ञा–चेतनाको उच्चतमअवस्थाहो।उहाँको मुक्ति संसारबाट भाग्नु होइन; दुःखका कारणहरूबुझेर जीवनलाई रूपान्तरण गरि सार्थक बनाउनुहो।
बुद्धले मानिसलाई प्रश्न गर्न सिकाउनुभयो। उहाँले अन्धविश्वास र श्रद्धालाई अस्वीकार गर्नुभयो। उहाँले आफ्ना भिक्छुहरुलाई भन्नुभयो—केवल परम्परादेखि चलेको भनेर नमान, केवल ग्रन्थमा लेखिएकोछ भनेरनमान, केवल गुरु वा आचार्यले भनेकोछ भनेर नमान; जब तिमी आफैँ बुझ्छौ कि कुनै कुरा कल्याणकारी छ, करुणामय छ, बुद्धिसंगत छ र सबैको हितमा छ, तब त्यसलाई स्वीकार गर। यस्तो दृष्टि विश्व मानववादको आधारभूत सिद्दान्तसँग मेल खान्छ। यही कारणले बुद्धको शिक्षा अध्यात्मप्रेमी मानिसहरूका लागि मात्र होइन, धर्मनिरपेक्ष मानववादी, तर्कवादी, वैज्ञानिक, समाजसुधारक, पर्यावरणविद् र न्यायप्रेमी सबैका लागि प्रेरणाको स्रोत हो।बुद्धले मानव जीवनलाई भयको आधारमा होइन, जिम्मेवारीको आधारमा बुझाउनुभयो। उहाँले मानिसलाई पापको डरले होइन, करुणा-प्रज्ञाको प्रकाशले मार्गदर्शन गर्नुभयो। उहाँले दण्डको भय होइन, कर्मको परिणाम बुझाउनुभयो। उहाँले मुक्ति कुनै बाह्य उद्धारकले दिने वस्तु होइन, आत्मजागरण, नैतिक जीवन र प्रज्ञाको परिणाम हो भन्नुभयो।
बुद्धको शिक्षा संक्षेपमा यसरी बुझ्न सकिन्छ—मानिसको जीवन उसले रोपेको बीउको फल हो। यदि हामी लोभ रोप्छौँ भने दुःख फल्छ। यदि हामी घृणा रोप्छौँ भने हिंसा फल्छ। यदि हामी अज्ञानता रोप्छौँ भने भ्रम फल्छ। तर यदि हामी करुणा रोप्छौँ भने शान्ति फल्छ। यदि हामी मैत्री रोप्छौँ भने मानवता फल्छ। यदि हामी प्रज्ञा रोप्छौँ भने मुक्ति फल्छ।
राइस ड्याभिड (Rhys Davids) बाट उद्धृत गरिएको यो भाव बुद्धको शिक्षाको सारसँग अत्यन्त नजिक छ:
जस्तो बीउ तिमीले रोप्छौ,
त्यस्तै फल तिमीले पाउँछौ।
राम्रो कर्म गर्नेले राम्रो फल पाउँछ,
नराम्रो कर्म गर्नेले नराम्रो फल भोग्छ।
बीउ रोपिसकिएको छ,
त्यसको फल तिमीले अवश्य चाख्नेछौ।
यो सरल पंक्तिमा गहिरो जीवनदर्शन छ। जीवन संयोग मात्र होइन; जीवन कारण र परिणामको निरन्तर प्रवाह हो। हामी हाम्रा विचार, वाणी, कर्म र चरित्रका निर्माता पनि हौँ र तिनका परिणाम भोग्ने प्राणी पनि हौँ।
त्यसैले बुद्धप्रतिश्रद्धा-सुमनअभिव्यक्त गर्ने सर्वोत्तम उपाय उहाँको मूर्तिमा फूल चढाउनु होइन; उहाँको शिक्षालाई जीवनमा उतार्नु हो। बुद्धलाई सम्मान गर्नु भनेको अन्धविश्वास त्याग्नु हो। जातीय अन्यायको विरोध गर्नु हो। सबै जीवनप्रति करुणा राख्नु हो। लोभ र घृणाको संस्कृतिबाट माथि उठ्नु हो। सत्यको खोजी गर्नु हो। विवेक र प्रज्ञाको अभ्यास गर्नु हो। शोषित–पीडित, बहिष्कृत र अपमानित मानिसहरूको पक्षमा उभिनु हो।प्रकृतिसँगशान्तिपूर्ण सहअस्तित्वमा बाँच्नु हो।
बुद्धको साँचो स्मारक ढुंगा, धातु, सुन वा विशाल स्तूपमा मात्र देखिनु हुन्न। बुद्धको साँचो स्मारक चेतना-जागृत मानव मष्तिक र हृदयमा देखिनु पर्छ। त्यो बिबेकी, न्यायपूर्ण सामाजिक व्यवस्थार अहिंसात्मक संस्कृतिमा हुन्छ। त्यो मानव र प्रकृतिबीचको सन्तुलित सम्बन्धमाहुन्छ। त्यो विवेक, करुणा र प्रज्ञाद्वारा निर्देशित सभ्यतामा हुन्छ।आज मानवता गम्भीर मोडमा उभिएको छ। एकातिर विज्ञान र प्रविधिले अद्भुत सम्भावनाको ढोका खोलेको छ; अर्कोतिर लोभ, हिंसा, उपभोगतावाद र पर्यावरण-पारिस्थितिक विनाशले हाम्रो भविष्यलाई संकटमा पारेका छन्। यस्तो समयमा बुद्धको मानववादी शिकछ्या र सन्देश झन् अनिवार्य भएको छ। उहाँले देखाएको मार्ग केवल विगतको आध्यात्मिक विरासत होइन; त्यो भविष्यको सभ्यताका लागि पनि मार्गदर्शक प्रकाश हो।
अन्ततः, बुद्धप्रति सच्चा सम्मान रश्रद्धाञ्जली यही होकि—हामी उहाँको नाम मात्र होइन, उहाँको शिक्षारसन्देशलाई पनि जीवित राखौँ। हामी बुद्धलाई पूजा मात्र नगरौँ, बुद्धलाई बुझौँ। हामी बुद्धको मूर्तिमा दीप मात्र नबालौँ, आफ्नै चेतनामा प्रज्ञाको दीप बालौँ। हामी बुद्धका वचनहरू दोहोर्याउने मात्र होइन, तिनलाई समाज, राजनीति, शिक्षा, प्रकृती–पर्यावरण, अर्थव्यवस्था र दैनिक जीवनमा रूपान्तरण गर्ने प्रयास गरौ।मानिस आफ्नो दुःखको कारण बुझेर जीवनलाई रूपान्तरण गर्न सक्छर मानिसले अहिंसा, प्रज्ञा र मैत्रीको आधारमा एक न्यायपूर्ण, शान्तिपूर्ण र जीवनमैत्री संसार निर्माण गर्न सक्छ।यही बुद्धप्रतिको साँचो श्रद्धाञ्जली हो।
बुद्धो भवतु जगतो हिताय!
बुद्धो भवतु प्रकृति हिताय!
