काठमाडौंबाट फोन आएको छ


दुई दशक पहिले,
काठमाडौंबाट फोन आएको थियो-
परदेशीको लागि
स्वदेशीको चिन्ता
दुई पैसा सस्तो
तलाईं न्यानो कपडा
छोरीका लागि एक जोर जुत्ता
दुई प्याकेट पुष्टकारी
भाउजुलाई पनि चुरा-पोते
सारी चोलो के-के चाहिन्छ ?
काठमाडौंबाट फोन आएको छ
भन तेरो लागि के-के पठाई दिनु पर्छ ?
भाइ !
सस्ता सामानको डम्पिङ्ग बनेर
रोइरहेको मेरो देशको राजधानी
काठमाडौंबाट
मलाई यतिबेला
कुनै सस्ता सामान नपठाई दिए नि’ हुन्छ
आतंक र अविश्वाशमा रुमल्लिएका
मेरा साथीहरुको मुस्कान
आफन्तहरुको चिन्तामुक्त अनुहार
हुम्ला,जुम्ला र कालिकोट
रुकुम,रोल्पा र सल्यान
कहीं कतै पनि
दोहोरो भिडन्त र मुठभेड नभएका
समाचार पठाइ दिए पुग्छ |
नाकाबन्दी र हड्तालमा
प्रसव पीडामा आमाहरुले
ज्यान गुमाउन छाडेको
काममा गएका तन्नेरी छोराछोरी
साँझमा सकुशल घर नफर्कलान् भनेर
पिंडिमा बसेर झोक्राइरहेका
बृध्द आमा बुबाहरुको आशिर्वाद
पठाई दिए पुग्छ ।
स्कुल जान हिंडेका नानी-बाबुहरु
मध्यरातको निद्रामा निदाइरहेका
निर्दोष खातुनाहरु
एम्बुसमा पर्न छाडेको
स्वयम्भूका मौन बुध्द उठेर
यदुवंशी युध्दमा फसेका
मेरा दाजुभाइलाई काखमा राखेर
अंकमाल गरेको खबर
पठाई दिए पुग्छ ।
मुखियाहरुको गध्दारी लेखिएको इतिहास
निर्दोषहरुको रगत पोतिएको कालो आतंक
इतिहासका तिनै ठेली पल्टाएर
भावी सन्ततीले लेख्न नपरोस्
दासता र यातनाका कहाली लाग्दा कथा |
नाम र नम्बर फेरेर
मेरो देशको इतिहासमा
गध्दारी गर्ने
मान्छेजस्ता देवता
देवाताजस्ता मान्छेको
मेटिनु पर्छ अब
बन्द पर्खाल भित्रको
षडयन्त्र
उखेलिनु पर्छ तिनका जरा
भाँचिनु पर्छ अब तिनका
विषालु दाह्रा नंग्रा
र लेखिनु पर्छ
मान्छेको
नयाँ इतिहास ।
बन्द खाममा
मेरो दशको माटोको सुगन्ध
मठ,मन्दिर,गुम्बा र मस्जिद
चर्च र गिर्जाघरका कर्णप्रिय प्रार्थना
बेली चमेली
सयपत्री र गोदावरीको
एउटै डोरीमा उनिएको माला
मेची,काली र कर्णालीको पुकारा
कालीकोट र हुम्लाको पीडा
न्याय,शान्ति र समानताको उद्घोष
त्यही सन्देश मात्र भइदिए पुग्छ ।
धमिलो पानीमा माछा मार्ने षडयन्त्र
एउटै कोखका सन्तानको रक्तपात
कति दिन चल्ने हो यो यदुवंशी युद्ध
यही युध्द
अन्त्यको खबर आइदिए पुग्छ ।
अबोध बाल सखाहरुको
निर्धक्क लुकामारी
डण्डी बियो र कपर्दीको कुरा
दौंतरीहरु उमेरमा
मेलापात र हटियामा जुटेको खबर
अकालमा ज्यान गुमाएका
मेरा आफन्तहरुको
उमेरको हिसाब किताब
अनाथ बालबालिकाहरुको उज्ज्वल भविश्य
निर्दोष खातुनहरु
जिउँदै नजलाइने बाचा
शेरबहादुर र वीरमानहरु
कुलप्रसाद र रत्नमायाहरु
पाता फर्काएर घाँटी नरेटिने कसम
मान्छेले मान्छेलाई
माया गरेको समाचार
कति निरिह
कति निर्दोष छ परदेशीको याचना
कठै त्यही नै लाख लाख हुनेछ ।
जिउन पाउने अधिकारको
भिख मागेर
तातिँदो निसासिँदो भट्टी बनेको
मेरो देशको राजधानी काठमाडौं
दोहोरो चपेटामा परेर
जुलुस र अनसनमा तड्पिएका
स्वदेशी शरणार्थी
गाउँ फर्केर
खेतबारी र मेलापातमा
गोठालो र घाँस दाउरामा
दोहोरी र देउडा गाएको
खबर पठाई दिए पुग्छ ।
उजाडिएका बस्तीमा
नानीहरु खेल्न थालुन्
बाँझो छाडिएको पाखोबारी
लटरम्म झुलुन्
फेवामा च्याइरहेको माछापुछ्रे
सप्तकोशीमा रसाइरहेको सगरमाथा
रोइरहेका यी हिमशिखर
नाँच्न र हाँस्न थालेको
सुन्न पाउँ अब ।
परदेशीको पीडा
खुकुरीको चोट
अचानोले कहाँ बुझ्छ र ?
कोख रित्तिएको
सिन्दुर पुछिएको
अनाथ टुहुरा बढेको
जिउँदै जलाइएको
पाता फर्काएर घाँटी सेरिएको
मुठभेड र दोहोरो भिडन्त
शाहदत र वीरगती
बेपता र यातनाको खबर
अब अखबारहरुमा
पढ्न नपरे हुन्छ ।
भाइ,
यतीखेर मलाई
मेरो देशको राजधानी
काठमाडौंबाट
शान्तिको बिगुल बजेको
सुनाईदिए पुग्छ ।
आज,
फेस टाइम लाइभ हेर्दैछु –
राजतन्त्रको पतन
महाभूकम्पको विनाश
गणतन्त्रका दुई दशक
नवराजाहरूको अवसान
जेन्जी आन्दोलनको रक्तपात
सुकुमबासी बस्तिका डोजर
र,
संसद बैठकको प्रत्यक्ष प्रसारण
हाम्रो गन्तव्यले के खोजिरहेछ ?
हाम्रो कथा
कसले लेखिरहेछ ?!
(स्पष्टिकरणः सन् २००५ मा लेखिएको कवितामा शुरुका २ लाइन र अन्तिमको एक अनुच्छेद थपिएको हो | लेखकका तस्वीर शुरुको कविता लेख्दा र परिमार्जन गर्दाको समयका हुन् |)
