मुक्तिको कल्पित पठन

पहाडी क्षेत्रको सामान्य केटो । बाबुका आढ्यताले उसलाई दीन देखाएको पनि होइन । कृशकाय, निरीह वा क्षुद्र देखिए पनि ऊ विचरा थिएन । उसको मनको गति र आत्मविश्वास बारे बुझ्न सक्ने हुन्थे भने – शायद आमाबाबु नै हुँदा हुन् ।
उसको मति माथि आमाले भनिन् – ‘यो बालक अभाशी हुन्छ, हत्यारो बन्छ, आगो बालेर सत्यनास गर्छ ।’
बास सर्यो । आफूलाई उन्मुक्त, स्वतन्त्र अनुभव गर्यो । समसामयिक गतिविधिसँग परिचित हुँदै गयो र परिवेश बुझ्दै गयो । ऊ हँसिलो तर उत्तिकै दुर्मुख र निडर पनि । पत्याउने गरी हावा कुरा गर्ने र कुरा पनि ठूलै हुन्थे ।
अभिजात वर्गकाहरू ठान्थे– त्यो अनाथ, दीन, बिचरा । किन्तु दूरगामी लक्ष्य र अदम्य सहासलाई उसले अन्तरङ्ग मित्र बनायो । उसको चाल बुझ्ने कोही थिएन किनकि ऊ विज्ञापित रहेन । उसको पृष्ठभूमिले उसलाई फुर्तिलो बाघमा परिणत होला भन्ने संकेत दिदैनथ्यो । वस्तुतः यो कुरा उसका लागि रक्षाकवच नै भैदियो ।
सानो झिल्का वन नष्ट गर्ने ज्वाला भएर दन्कन सक्छ । सानो बीज विशाल वृक्षमा परिणत हुनसक्छ । अजिंगर पनि सानैबाट ठूलो भएको होला । अब ऊ कहिले गोहीको भावले अगि सर्दै गयो र कहिले बेरुवा सर्पको गतिले प्रकट हुँदै रह्यो । कारण ऊ नक्शालीहरूको पाठशालाबाट प्रशिक्षित भैसकेको थियो । फलस्वरूप ऊ ज्यान मुद्दाको सजायमा थुनामा पर्यो । ज्यान मारेको कसूरमा अदालतले उसलाई दण्डित गर्यो ।
केही वर्षपछि बाँकी कारावासमा माफी मिल्यो र ऊ राजनीतिमा पुनः सक्रिय हुँदै गयो । सामान्य सर्पबाट उठेर तक्षकको भावले राजनीतिक सोपान चढ्दै गयो। जनताका छोराले पाउने शक्तिशाली पद र असीमित अधिकारको प्रयोग, अतिप्रयोग र अवाञ्छित प्रयोग गर्दै गयो । एक समय यस्तो पनि आयो उसले गरेका र गर्न लगाएका तथा आफ्नो संरक्षणमा यस्ता–यस्ता कर्म गरायो त्यसको वयान गर्न न गणेशजी सक्लान् न शेषनाग । अपराध शिरोमणि दुर्जय !
कमिलाबाट उठ्तै सिंह हुनेको कथा त स्वाभाविक लाग्ला, तर जब यस्ता पराक्रमी वा यशस्वी सत्वको पतन हुन्छ तब के ढुंगाको मुटु नफुट्ला ! शोक र करुणाले न भिजाउला, भय र चिन्ताले आकुल नपार्ला ?
तिमी नै भन, यो कथा म कुन विधामा लेखौं ? उत्थानले त अवश्य सन्तोष देला, किन्तु अपराध कर्मको श्रृंखला र त्यसपछि आएको पतनले हामीलाई नछोला र ? यसको उपसंहार आनन्दकर होला कि पीडाकर । कथाको दुर्दशापूर्ण अन्त्यले जनता, पाठक, दर्शक के आनन्दित न होलान् । नायकको पतनमा धर्ती नरोला ? कि पापीको पतनमा माटो हाँस्ला !
अझै एक पटक सोध्छु – भन कुन विधामा पढ्न रुचाउँछौ महापुरुषको पतन ? तर यो कल्पित पठन हुनेछ ।
ए, नायकको नाम ? त्यो त हाम्रो लोक जीवनमा छाएको प्रसिद्ध नाम हो राम जस्तै – खद्योत प्रकाश नक्शाली।
त्यो माटोमा एउटा ३५ वर्षको तन्नेरी मुलुकको मीर भएर आयो । कम्निस्टहरू हच्के, प्रजातन्त्रका पक्षधरहरूले उसलाई सौताको भावले हेरे । मीर बालेन्दु बाल यस माटोमा यस्तै यशस्वी देखिँदै गयो । विरोधी शक्तिहरू हताश हुँदै गए । तर ऊ लोकप्रिय देखिएकोले विरोधीहरुको वाणी सारहीन हुँदै गयो । युवा जमातले पुरानाहरू समक्ष प्रस्ताव राख्योः
– हिजो तिमीले राम्रा काम गरेको भए ‘त्यसै गरौं’ भन, त्यसैको कार्य सूची देऊ |
– अपराध अनुसन्धान रोक, भ्रष्टाचारको उत्खनन नगर भन या
– मौन बस, मुलुकलाई प्रगति पथमा हिंड्न देऊ, जनता नभाँड ।
हाम्रो प्रस्ताव यही हो, तर भाँडभैली गर्न अब पाइँदैन । छूट छ तिमीलाई–विधान र नीतिभित्र रहेर संवाद, विवाद, माग र प्रदर्शन गर, राज्यले दमन गर्दैन, त्यो तिम्रो अधिकार हो । किन्तु सीमा नाघ्यो भने कानूनी उपचारमा राज्य पछि पर्ने छैन ।
तिमीले कतै कुनै किसिमको क्षति गर्यौ भने, गुनासो आयो भने त्यसको क्षतिपूर्ति भर्नुपर्ने छ । ध्वनि प्रदूषणको लागि क्षेत्र तोकिएको छ ।
स्मरण रहोस् तिम्रै कारणले मुलुकको प्रगति रोकिएको हो । अझ तिमीले राजा मास्ने र मुलुक छोड्ने वचन पनि दिएका थियौ अनि तिमी चाहिँ किनाराको साक्षी बनेका थियौ । त्यो इतिहास जनताले बिर्सेका छन् र ! ३५ वर्ष यो तिमीले मुलुक लुटेको र बोक्नै नसक्ने गरी ऋणको भारी बोकाएको । धन्न जनता आगो भएका छैनन् । सुरक्षित छु भन्ने ठान । यस्तै कुरामा महाकाव्य आउनु पर्छ ।
भन्नुपर्छ– एउटा पत्रकारले बाको विषयमा महाकाव्य लेखेछ । महाकाव्य लेख्न मुस्किल थिएन । प्रतिभा र चेतनाले उफार्न थालेपछि कविले आफूलाई निमन्त्रणमा राख्न सक्ने होला र ! महाकविको झाँक्री चढेपछि कसो महाकाव्य नजन्मेला ए !
‘संहिता ?’ त्यो छोडि दे । पुरानो बाटोमा हिँडेर प्रतिगामी देखिनु छैन । लेखन अलिक ठूलो देखिनु पर्छ, मुनामदन जस्तो होइन । सार नहोस्, सन्देश नहोस् तर चौताराको चरित्र जस्ताका तस्तै आउनु पर्छ – यथार्थ । ज्यान मारेको भए पनि जेल बसेको भए पनि, भ्रष्टाचार वा नीतिगत अपराध र भूमि विचलन गरेको भए पनि सत्य लेख्नु पर्छ ? सत्य नै जीवन हो । सत्य नै कवि कर्म हो । आखिर महाकाव्य आयो ठूलो कुरो थिएन ।
महाबलि खद्योत प्रकाश नक्शालीको चरित्रमा आधारित काव्य पढेर म दङ्ग परें । उसका प्रत्येक कर्मलाई एक–एक सर्ग दिएर २४ सर्गका काव्य तयार भएछ ।
यसको एउटा महत्वपूर्ण पक्ष हो – गाइने सर्ग, र वादी सर्ग । निर्लिङ्गीलाई त हिजो पनि महत्वसाथ, र सर्वोपरि स्थान दिएकै थियो । उत्खनन् नगरी सत्यको निकट पुग्न सकिएला र ! तर विरस, बेछन्दी, भग्न संगीत, लयविच्छेद, क्रमभङ्ग र संयुक्त वर्ण विकारलाई कविको जेहेन ठानेर पढे मुक्तिबोध गर्न नहुने होला र !
जुन रङ्गको मसीले यो काव्य लेखिएको छ यसले अन्यतम पुरस्कार जन्माउने छ । एकमात्र र पहिलो हुने युगमा यो कृति दोस्रो हुन्थ्यो किन ? बेस्वादको स्थितिमा स्वाद पाउनु सामान्य कुरा होला र ।
गोकर्णलेउनको अपराधकर्मी भाइ धुन्धुकारीलाई मुक्त गर्ने प्रयास गरेनन् र ! काव्यकारले पनि आफ्ना युगको धुन्धुकारी अमात्यलाई पनि मुक्ति दिन यत्न गरेको छ । यसैले व्यंग्य नठानेर आस्थाले पढ्नै पर्ने महाकाव्य हो– ‘मुक्ति ।’
अँ, कसले केबाट वा कोबाट मुक्ति पायो त्यो खोज्नै पर्छ । लेख्नेले लेख्यो, गाउनेले गायो, अभिनेताले नाटकको अभिनय गर्यो । दुनियाँ लोभिएकै छ । बेस्वादको स्थितिमा मुक्तिको स्वाद कम महत्वको होला र !
कतै बाको मुक्ति होइन ! अबालाई बा भन्नुको औचित्य कतै प्रबन्ध वक्रतामा गएर त टुंगिन्न ? यसको अर्थ वादीको मन्त्री हुनु पहिलो होइन भन्न खोजेको हो त ? स्कूल/टोली के भन्छ ? के बुझ्छ ! हामी पनि थाह गरौं न !
