तिम्रो शहर

तिम्रो शहर
सभ्यता गुमाएर
खण्डहर जस्तै बाँचेको छ ।
तिमी आदिम शहरको मान्छे हौ
तिमीसंग संवेदना छैन
तिमीलाई लाश मन पर्छ
तिमी लाशको खेती गर्छौ ।
तिमी जीवनलाई खेलौना संझी
पुतलीजस्तै नचाएर
रमितेहरु जम्मा गरी
इतिहासको भग्नावशेष लत्याई
जीवनभित्रको जीवन विपरीत
निर्लज्ज हाँस्छौ ।
समय मुर्छित हुन्छ
तिम्रो अमानवीय तमाशा हेरेपछि
तिमी टुटेको मुटु लिएर
सडकमा एक्लै हिड्छौ
तिम्रो छायाँ देखेर
ल्याम्पपोष्ट समाएर बसेको पागल
डराएको अभिनय गर्छ
तिमी पागल देखेर आफै सडकमै ढल्छौ ।
कोलाहल बोकेर तिम्रो शहर
मौनताको जुलुस निकाल्छ
आमा बा गुमाएका अनाथहरु
एका बिहानै डम्पिङ्ग साइटमा भेटिन्छन्
छोरा बुहारीले वेवस्ता गरेपछि
वृद्धाश्रममा देखिन्छन् वृद्ध वृद्धा
अपाङ्गहरु रोइरहेछन्
सारङ्गीको अप्रिय धुनमा
रेड जोनमा प्रतीक्षारत छन्
सपना गुमाएका चेलीहरु
तिमी बाजले झै झम्टन्छौ
तिम्रो यौनतुष्टि पूरा गर्न ।
तिम्रो शहर
विकासको खाका भट्टिमा बनाउँछ
भट्टिमय मान्छेहरु अर्ध वेहोशी मै
देशलाई सिङ्गापुर बनाउने भनी
जोडले भाषण गर्छन्
र लठैतहरु ताली बजाउँछन्
निमुखाहरुको आखाँमा छारो हाली
तिम्रो नेता घुम्ने कुर्सीमा विराजमान हुन्छ
कुल्चन्छ शहीदको सपना
देख्दैन आमाको मलिन अनुहार
तिमी दास बन्छौ
नेताको गुलामी गर्दै ।
मलाई चाहिएको छैन तिम्रो शहर
जहाँ मृत्युको शङ्ख बजाएर
ताण्डव नाच्ने गरिन्छ
एक जोडा नवयौवना
पशुपति धाउँछन्
श्री प्राप्तिका निमित्त
पशुपति बोल्दैनन्
ढोंगीछन् भक्तजनहरु
अनेकन पाप बोकेर
मोक्षप्राप्तिको अर्चना गर्छन्
पशुपतिको पाउमा लम्पसार परेर ।

Add a Comment

Your email address will not be published. Required fields are marked *