शून्यदेखि शून्य

बालक कालदेखिको
यौवनको सुन्दर मुहार हेरेर
फुरूङ्ग हुने मेरो मन
आफ्नै पौरखमा अहम् बोकेर
भूत ,वर्तमान बिताएँ
सबै मेरो भनि गुनिरहें
भ्रमको भ्रम भित्र भूलिरहें
सपनाभित्र सपनामा अल्मलिरहें
प्रेमिल युद्ध गरिरहें
हर क्षण हर पल ।
अहंकारी युद्धलाई पछ्याईरहें
मेरै लागि ईश्वर नाम जपिरहें
जीवनदेखि जीवनसम्म
अव्यक्त डरको कवच ओडेर
सुखद भविष्यको सोचमा दुई हात जोडें
कथा पुराण सुन्दै फूल प्रसाद भेटि चडाएँ
अदृष्य स्वार्थको घण्टी हर बिहान बजाईरहें ।
जब, गुरुबाट ‘म’ को अनुभूतिमा
अज्ञान छुटेर आत्म ज्ञानको बोधमा
मृत उर्जा जाग्रत भयो
अनौठो खालीपन महसुस भयो
अद्भूत शान्ति ऊर्जा चम्कियो
ज्ञानद्वार हृदयाकाशमा
बिम्व भित्र प्रतिबिम्वको
संकल्प विकल्प विलिन भयो ।
नयाँ चेतनाको ऊर्जामा
शून्यदेखि शून्यसम्म
आनन्दै … आनन्दको चैतन्यता
शून्यभित्र शून्य नै शून्य
झलमल्ल भैरह्यो ।
