अघोरीको काव्य – प्रलाप

कति चढाउनु शोकाञ्जलि
कति खसाउनु आँसु
कति भर्नु भावाञ्जलि
कति गलाउनु मासु
पटक पटक मर्नेमाथि
खै, कति झार्नु आँसु ।

तैपनि,
थोरै आँसुको अञ्जलि
तिम्रै नाउँमा
फुटेका भाकाहरूको समवेदना
तिम्रै नाउँमा
रुद्ध कण्ठ र थर्थराएको वाणी
तिम्रै नाउँमा
मुरी–मुरी करुणा र शोकभाव
तिम्रै नाउँमा

अवशेष जीवनको अर्पण–तर्पण
तिम्रै नाउँमा ।
तर किन कोक्याउँछु
आत्महत्या गर्न परेन
प्रकृतिको विप्लवी मुद्राले खायो हामीलाई
कसैमाथि दोष गएन

बस्, मृत्युवरण ढिला भयो,
र यही गुनासो थियो
तैपनि व्यर्थ भएन,
भन्दैछु
यो आरोप पनि होइन
र अत्युक्ति पनि ।

यो जाति त्यसैवेला मर्यो
जब रणबहादुरले नामको उल्टो काम गर्यो
जब यसले आफ्ना सन्तान जिउँदै बगाएर
हुकुम मान्यो
भन, यो बाँच्यो कसरी ?
जब विक्रमको क्रम लादिएर बोक्यो,
मर्यो
त्यसवेला पनि मर्यो
जब हतियारसम्म नउठाई
सत्ता समर्पण गर्यो यसले
मनको धनुष कमजोर बनाएर
किरात साम्राज्यलाई कातर करार दिएर ।

हो,
कतिपटक मर्नु
पर्व र काण्डहरूमा
बाँचेकै कहाँ थियो र यो जाति
अनि भुइँचालोमा मर्न ?
मृत्यु त स्वाभिमानको हुनुपर्छ
देश र जातिको लागि
होइन र ?
शहीदहरू फुल्न थालेपछि
लुकुनी, घुमराडी र घ्याम्पाहरूमा
चोटा, छिडी र इनारहरूमा
अरहरका जंगलहरूमा
लुकेको थियो यो जाति
साडी चोली र चुरीमा
अलंकृत थियो यो जाति
नौटङ्की नायकको प्रतीक्षा गरेर
सरमशील देखिएर
अनि भन्नु कसरी
बाँचेको थियो भनेर
एकपटक हो र ?
त्यसदिन पनि मर्यो
अर्काले बनाएको सरकार बोकेर
जुन दिन स्वदेश फर्क्यो ।

प्रश्न छ,
किन मरेन समवेत मृत्युवरण गरेर तत्काल ?
परिवर्तनको छल र धोका देखेर तत्काल ?
किन ?
किन पर्खन पर्थ्यो भूकम्प ?
र बाँच्न किन पर्थ्यो यसका लागि ?
आखिर,
प्रजातन्त्र थुनिँदा पनि
मरेकै थियो
गर्दैन, प्रमाणित गर्दैन बाँचेको
मेरो इतिहासले
कति भन्नु
सुगौली र दार्जिलिङ क्षेत्रमा पनि मरेकै हो,
गाउँ गाउँ, जिल्ला जिल्ला र दुर्लभ भूमि
विदेशको संविधानभित्र पस्ता पनि मरेकै हो
कहाँ बाँचेको थियो र नेपाली
भूकम्पका लागि ?

हो,
प्रत्येकपटक मरेको छ :
हस्ताक्षर र सम्झौतामा
सन्धि र समझदारीमा
नाका, भाका र धोकामा
प्रलोभन र आशामा ।
अनि मरेको छ
दबाब र हेपाइमा
सेनाका बदनामीमा
वेश्याका कोठीमा
बहादुर–दरवानको ‘डिप्टीमा’
अनन्वयमा भनौँ
कि अर्थान्तरमा
अराजनीतिक अपात्रको प्रत्येक निर्णयमा
पटक पटक परेको छ यो जाति

पटक पटक ।
अस्ति राजाले मारे
हिजो राणाले मारे
आज तिनकै अवतारले मारे
माओ र गान्धीका वनसेनाले मारे ।

हो,
यो त्यो जाति हो
जसले अर्काको इसारामा
आफ्नो जाति मार्यो

यो त्यही जाति हो
जसलाई अर्काले
मुसोबाट हात्ती बनायो
बिरालोबाट बाघ बनायो
सडकबाट टिपेर शक्ति दियो
र फेरि झारेर खाते बनायो,

अनि,
असंगत कुराको गर्जना र प्रलाप गर्न सिकायो
मात्र कठपुतली
यसलाई बाँचेको भन्नु कसरी ?
अर्काको स्वार्थ पूरा गरिदिन
आफ्नै घरमा हमला बोल्न यो
खेताला हो अर्काको
फगत ज्यालादार
हो,

बम, धराप र गोलीबाट
चिराइ, पुराइ र गिँडाइबाट
कति नै जोगिएका थिए र !
आतङ्कको लक्ष्य
फेल कहाँ थियो र बाँच्नका लागि
हो, कति नै बाँकी थिए र भुइँचालोका लागि !

हो,
आफ्ना घरको सत्व मास्न
अर्कालाई बोलाउनु वीरता हो र !
किन नभन्नु
एकताको प्रतीकसँगै
मर्यो नेपाली भनेर
मात्र भौतिक स्वरूप मरेको हो
भैंचालोमा
मर्न त अगि नै मरिसकेको हो
नेपाली आत्मा
प्रमाण र साक्षी ‘द्यौ’ छन् ।

तैपनि,
सबै दस्यु हुँदैनन्
सबै साधु हुँदैनन्
यिनीहरूको समवेत मृत्युमा
अलिकति शोकाञ्जलि
अलिकति अश्रुतर्पण

कैयौँ समूह
कैयौँ घटना
कैयौँ सन्दर्भ र
कैयौँ व्यक्तिबाट
पटक पटक मारिएको नेपाली
बाँकी कहाँ थियो र मर्नलाई
र भूकम्पले मारोस् उसलाई
शंकै लाग्छ ।

तैपनि,
यो शब्द–तर्पण
यो भाव अर्पण
देख–अदेख सबैलाई ।
किन्तु आहान छ
साँच्चै बाँच्नका लागि
जातीय स्वाभिमान र
ऐतिहासिक गौरव
थाम्नुपर्छ–चल्माउनुपर्छ ।

टेकेको भूमि
हल्लिन थालेको छ
फुस्किन सक्छ
यसको रक्षाको लागि
युद्ध अब थालिनुपर्छ ।

किनभने,
अबको मृत्यु वरणीय होस्
त्यसैले वीरतापूर्ण हुनुपर्छ
मृत्यु स्मरणीय बनोस्
त्यो गौरवपूर्ण हुनुपर्छ
अबको मृत्यु
एकपटक हुनुपर्छ र अन्तिमपटक
र त्यो,
जातीय स्वाभिमानमा दरिनुपर्छ
अमर पृष्ठहरूमा साँचिनुपर्छ ।।

०००

(नोट: विनाशकारी भूकम्पका सन्दर्भमा लेखिएको यो कविता हालै रसुवा जिल्लाको भोटेकोशी र यसका अन्य शाखा नदी र तटीय क्षेत्रमा गएको बाढी प्रभावित र ज्यान गुमाउनेहरूका सन्दर्भमा पनि सान्दर्भिक छ । वक्रोक्ति शैलीको यो कविताले नेपाली जाति मरिसकेको/मारिइसकेको छ पहिले नै त्यसैले भूकम्प वा भल-बाढ़िमा पनि मर्नलाई बाँकि थियो र भन्ने प्रश्न गरेको छ ।)

Add a Comment

Your email address will not be published. Required fields are marked *