जब तेस्रो ध्रुव भत्किन थाल्छ

नेपालमा आएको हिममण्डलीय महाविपत्ति मानवताका लागि चेतावनी हो
भोटेकोशी-त्रिशूली नदी प्रणालीमा घटेको अकल्पनीय हिममण्डलीय अस्थिरता र विघटनबाट उत्पन्न महाविपत्ति नेपालमा आएको अर्को एउटा बाढी मात्र होइन। यो गम्भीर वातावरणीय त्रासदी, मानवीय आपत्काल र तीव्र गतिमा परिवर्तन भइरहेको हिमाली हिममण्डल (Cryosphere) ले चट्टान विघटनसँग मिलेर असाधारण परिमाणका विपत्ति निम्त्याउन सक्छ भन्ने सम्भवतः सबैभन्दा स्पष्ट चेतावनीहरूमध्ये एक हो।
नेपाल-चीन सीमासँग जोडिएको नेपालको उच्च हिमाली क्षेत्रबाट तल झरेको यो अकल्पनीय बाढी सामान्य मनसुनी बाढी थिएन। प्रारम्भिक वैज्ञानिक मूल्याङ्कनहरूले हिमनदीको बरफ, हिउँ र चट्टानसहितको विशाल हिममण्डलीय विघटनले अत्यन्त शक्तिशाली हिमपहिरो तथा भग्नावशेष प्रवाहको शृङ्खला प्रारम्भ गरेको संकेत गर्छ। तीव्र वेगमा तल झरेको उक्त विशाल द्रव्यमानले चट्टान, अवसाद, पानी र विभिन्न भग्नावशेषलाई आफूसँग मिसाउँदै लग्यो र अन्ततः तल्लो भूभागमा विनाशकारी बाढीको रूप लियो।
बस्ती, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य पूर्वाधार केही मिनेटमै बगाइए वा भग्नावशेषमुनि पुरिए। अमेरिकी भूगर्भ सर्वेक्षण (U.S. Geological Survey) ले अगस्ट २६ को घटनालाई सम्भवतः हिममण्डलीय पतनबाट उत्प्रेरित विनाशकारी भग्नावशेष प्रवाह तथा बाढीका रूपमा वर्णन गरेको छ, जसको प्रभाव भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै झन्डै १०० किलोमिटर तलसम्म फैलिएको बताइएको छ। हाल यस घटनालाई ‘हिममण्डलीय चट्टान पहिरो’ भन्नु बढी उपयुक्त हुन्छ भन्ने वैज्ञानिक मान्यता विकसित हुँदै गएको देखिन्छ।
महाविपद् क्षेत्रबाट आएका दृश्यहरू प्रायः अकल्पनीय र कल्पनातीत छन्। घरहरू कागजका नाजुक संरचनाजस्तै विलाए। वर्षौं लगाएर निर्माण गरिएका सडक र पुल केही सेकेन्डमै हराए। परिवारहरू कुनै पूर्वसूचनाबिनै एक-अर्काबाट छुट्टिए। सयौँ मानिसले ज्यान गुमाएका छन्, धेरै अझै बेपत्ता छन् र प्रभावित हिमाली उपत्यकाका समुदायहरूले यस्तो शोक भोगिरहेका छन्, जसको वास्तविक गहिराइ बुझ्न अझ लामो समय लाग्न सक्छ।
अहिलेको पहिलो प्राथमिकता-मानवीय राहत
त्यसैले हाम्रो पहिलो दायित्व मानवीय राहत हो। खोज, उद्धार र राहत सबैभन्दा माथि हुनुपर्छ। आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइते, विस्थापित, परिवारका सदस्य हराएका वा उनीहरूको अवस्थाबारे सूचना पर्खिरहेका सबैप्रति ऐक्यबद्धता प्रकट गर्दछु।
दिनरात खटिरहेका नेपालका सुरक्षा निकाय, विपद् व्यवस्थापन संस्था, स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा स्वयंसेवकहरू गहिरो प्रशंसाका पात्र छन्। तर यस परिमाणको विपत्तिले सम्पूर्ण राष्ट्रको परिचालन माग गर्दछ। संघीय, प्रादेशिक र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज संगठन, मानवीय सहायता संस्था, प्राविधिक विज्ञ, युवासंगठन तथा स्थानीय समुदायले एकीकृत राष्ट्रिय शक्तिका रूपमा काम गर्नुपर्छ।
यो राष्ट्रिय एकता र मानवसेवाको समय हो।
‘तेस्रो ध्रुव’को अस्थिरता
उद्धारकार्य जारी रहँदै गर्दा पनि हामीले एउटा ठूलो प्रश्नको सामना गर्नैपर्छ-हिन्दूकुश हिमाली हिममण्डलबाट यस प्रकृतिका महाविपत्तिहरू किन उदाइरहेका छन्?
हिन्दूकुश हिमालय (HKH) लाई प्रायः ‘तेस्रो ध्रुव’ भनिन्छ, किनकि आर्कटिक र अन्टार्कटिक क्षेत्रबाहिर संसारकै सबैभन्दा ठूलो हिउँ र बरफको भण्डार यही क्षेत्रमा रहेको छ। यसलाई ‘एसियाको जलभण्डार’ पनि भनिन्छ, किनकि यसले हिमाली भूभागका करोडौँ मानिस र तल्लो बहाव क्षेत्रमा बसोबास गर्ने झन्डै दुई अर्ब मानिस निर्भर रहेका विशाल नदी प्रणालीहरूलाई पोषण गर्दछ।
तेस्रो ध्रुवका हिममण्डलीय संरचना भत्किँदै र अस्थिर हुँदैछन्
यससम्बन्धी वैज्ञानिक प्रमाण अब अत्यन्त प्रबल छन्। मैले यस विषयमा सन् २०२३ मा Springer Nature द्वारा प्रकाशित मेरो पुस्तकको ‘मानवप्रभाव युग (Anthropocene) मा जलवायु परिवर्तनले मानवतामाथि ल्याउने संकट’ अध्यायअन्तर्गत ‘नेपालको हिन्दूकुश हिमालय (HKH) मा तीव्र हिमनदी क्षय’ उप-अध्यायमा विस्तृत चर्चा गरेको छु।
मार्च २०२६ मा ICIMOD ले हिन्दूकुश हिमालयभर हिमनदीको बरफ क्षय सन् २००० यता लगभग दोब्बर भएको र अनुगमन गरिएका केही क्षेत्रमा सन् १९७५ यता हिममण्डलको मोटाइ २७ मिटरसम्म घटेको प्रतिवेदन सार्वजनिक गरेको छ। यसअघि भएका क्षेत्रीय मूल्याङ्कनहरूले पनि सन् २०११-२०२० को अवधिमा हिमनदीहरू अघिल्लो दशकको तुलनामा लगभग ६५ प्रतिशतले तीव्र गतिमा क्षय भएको देखाएका थिए।
विश्व मौसम विज्ञान संगठन (WMO) ले पनि एसियाका उच्च हिमाली पर्वतीय हिमनदीहरूमा निरन्तर द्रव्यमान ह्रास भइरहेको जनाएको छ र तापक्रम वृद्धिले हिमनदी विघटन, हिमताल निर्माण, हिमताल विस्फोटजन्य बाढी (GLOF) तथा अन्य पर्वतीय जोखिमहरू बढाइरहेको चेतावनी दिएको छ।
यद्यपि, यस विशाल हिमनदीय द्रव्यमानको पतन कसरी भयो र यस विपत्तिको तत्कालीन उत्प्रेरकमा विश्व तापवृद्धि तथा जलवायु परिवर्तनको योगदान कति थियो भन्ने निर्धारण गर्न वैज्ञानिक अनुसन्धान अझै जारी छ।
विश्व तापवृद्धि र हिममण्डलमा प्रणालीगत परिवर्तन
बढ्दो तापक्रमले हिमनदी पातलिने र पछाडि धकेलिने प्रक्रिया तीव्र बनाउँछ। हिउँले ढाकिएको हिममण्डलमा परिवर्तन आउँछ र स्थायी तुषारभूमि अर्थात् Permafrost पग्लन्छ। चिसोले जमेको चट्टानी संरचनाले पहाडी ढलानका चिरा र टुक्राहरूलाई बाँधेर राख्ने बरफको केही अंश गुमाउँछ।
हिमतालहरू निर्माण हुन्छन्, विस्तार हुन्छन् र विस्फोट हुन सक्छन्। जलनिकास प्रणालीहरू बदलिन्छन्। पहिले स्थिर देखिएका ढलानहरू अस्थिर बन्दै जान्छन्।
अत्यन्त ठाडो हिमाली भूभागमा बरफ, चट्टान, पानी र भग्नावशेषबीचको अन्तरक्रियाका कारण एउटाको विफलताले अर्काको विफलतालाई तीव्र बनाउन सक्छ। हिममण्डलको विघटन वा पतन बरफ-चट्टान हिमपहिरोमा रूपान्तरित हुन सक्छ; यसले ठूलो परिमाणमा भग्नावशेष बटुल्न सक्छ, नदीलाई अस्थायी रूपमा अवरुद्ध गर्न सक्छ र त्यस अवरोधको आकस्मिक विस्फोटनले अत्यन्त विनाशकारी बाढी निम्त्याउन सक्छ।
मैले यस प्रक्रियालाई ‘हिममण्डलीय अस्थिरीकरण शृङ्खला’ (Cryosphere Destabilization Cascade) भनेको छु। अर्थात् हिमनदी, हिउँ, स्थायी हिमतुषार माटो, पर्वतीय ढलान, नदी र अवसादमा भइरहेका परिवर्तनहरू परस्पर प्रतिपुष्टि (Reinforcing Feedback) मार्फत एक-अर्कासँग जोडिँदै जाँदा अन्ततः क्षेत्रीय महाविपत्तिमा रूपान्तरित हुने परस्परसम्बद्ध विफलताहरूको शृङ्खला।
नेपाललाई चाहिन्छ नयाँ हिममण्डल निगरानी प्रणाली
यसकारण भोटेकोशी-त्रिशूलीको विनाशकारी विपत्तिले नेपाल तथा यस क्षेत्रका अन्य मुलुकले विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणबारे सोच्ने तरिकामै मौलिक परिवर्तन ल्याउनुपर्छ।
नेपालले उपग्रह अवलोकन, हिमनदी तथा हिमताल अनुगमन, भूकम्पीय सेन्सर, स्वचालित मौसम केन्द्र, नदी जलमापन यन्त्र, कृत्रिम बुद्धिमत्ता, दूरसंवेदी प्रविधि र वास्तविक समय सञ्चारलाई एकीकृत गर्ने स्थायी राष्ट्रिय हिममण्डल अनुगमन तथा पूर्वचेतावनी प्रणाली विकास गर्न नितान्त आवश्यक छ।
उच्च जोखिमयुक्त हिमाली उपत्यकाहरूमा जोखिम क्षेत्र निर्धारण, सुरक्षित निकास मार्ग, सामुदायिक अभ्यास तथा जलवायु-समायोजित पूर्वाधार मापदण्ड लागू गरिनुपर्छ।
हिमाली हिमनदीहरू राजनीतिक सीमाभन्दा पर फैलिएका छन्। त्यसैले नेपाल, चीन र भारतले वास्तविक समयमै हिममण्डलीय तथा जलवैज्ञानिक सूचना आदानप्रदान गर्ने सीमापार प्रणाली स्थापना गर्नुपर्छ। एउटा देशमा उत्पन्न विपद् केही मिनेट वा घण्टामै अर्को देशमा महाविपत्ति बन्न सक्छ।
जलवायु न्याय
नेपालजस्ता देशहरूले विश्व तापवृद्धि गराउने हरितगृह ग्यासहरूको उत्सर्जनमा नगण्य योगदान गरेका छन्। तर हिमाली देश र समाजहरू त्यसका केही सबैभन्दा गम्भीर परिणामहरूको भार बढ्दो रूपमा वहन गरिरहेका छन्—तीव्र हिमनदी पग्लन, स्थायी हिममाटो पग्लन, हिममण्डलीय अस्थिरता, अतिवृष्टि, बाढी, पहिरो, जैविक विविधताको ह्रास, पूर्वाधार विनाश, विस्थापन र अभूतपूर्व मानवीय क्षतिसहित।
नेपाल र उच्च कार्बन उत्सर्जन गर्ने देशबीचको असमानता
सन् २०२४ को तथ्याङ्कले यो असमानतालाई परिमाणात्मक रूपमा स्पष्ट पार्छ।
| देश | प्रतिव्यक्ति CO₂ उत्सर्जन (टन/व्यक्ति/वर्ष) | नेपालको तुलनामा |
|---|---|---|
| अष्ट्रेलिया | 14.48 | 23.0 गुणा |
| संयुक्त राज्य अमेरिका | 14.20 | 22.5 गुणा |
| क्यानडा | 13.42 | 21.3 गुणा |
| रुस | 12.29 | 19.5 गुणा |
| दक्षिण कोरिया | 11.29 | 17.9 गुणा |
| चीन | 8.66 | 13.7 गुणा |
| जापान | 7.77 | 12.3 गुणा |
| जर्मनी | 6.77 | 10.7 गुणा |
| बेलायत | 4.53 | 7.2 गुणा |
| भारत | 2.20 | 3.5 गुणा |
| नेपाल | 0.63 | 1.0 |
तालिका: चयनित देशहरूको सन् २०२४ को प्रतिव्यक्ति जीवाश्म इन्धन तथा औद्योगिक CO₂ उत्सर्जन। स्रोत: Global Carbon Budget (2025), Our World in Data.
सन् २०२४ मा नेपालको प्रतिव्यक्ति जीवाश्म इन्धन तथा औद्योगिक CO₂ उत्सर्जन केवल ०.६३ टन थियो, जबकि संयुक्त राज्य अमेरिकामा १४.२० टन, अष्ट्रेलियामा १४.४८ टन, क्यानडामा १३.४२ टन र रुसमा १२.२९ टन थियो। यस आधारमा नेपालको प्रतिव्यक्ति उत्सर्जन अमेरिकी स्तरको करिब १/२३ मात्र हो।
नेपालको कुल वार्षिक CO₂ उत्सर्जन करिब १८.८ मिलियन टन थियो, जुन सन् २०२४ को करिब ३७.४ अर्ब टन विश्वव्यापी जीवाश्म CO₂ उत्सर्जनको लगभग ०.०५ प्रतिशत मात्र हो।
यी तथ्याङ्कले कुनै एक विशेष विपत्तिको कानुनी दायित्व स्वतः निर्धारण गर्दैनन्। तर जलवायु न्यायको केन्द्रमा रहेको वितरणात्मक असमानता भने अत्यन्त स्पष्ट बनाउँछन्—विश्वव्यापी वायुमण्डलीय कार्बन भारमा नेपालको योगदान अत्यन्त सानो छ, जबकि जलवायु परिवर्तनले तीव्र बनाउने हिममण्डलीय विघटनबाट उत्पन्न जोखिमप्रति नेपालको संवेदनशीलता अत्यन्त उच्च छ।
त्यसैले प्रश्न केवल ‘नेपालले कार्बन घटायो कि घटाएन ?’ भन्ने होइन। जलवायु न्यायले ऐतिहासिक जिम्मेवारी, वायुमण्डलीय साझा स्रोतको असमान उपयोग, आर्थिक क्षमता र ‘हानि तथा क्षति’ (Loss and Damage) को प्रश्नलाई समेत समेट्छ।
न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने हिमाली देशले आफ्नो सीमाबाहिरका उत्सर्जनबाट विश्वव्यापी तापवृद्धिको प्रक्रियासँग जोडिएका बढ्दो जलवायु लागत एक्लै वहन गर्नुपर्ने कुरा न्यायोचित हुन सक्दैन।
हिमालय र पृथ्वी प्रणाली
हिमालय नेपालभित्र सीमित एउटा पर्वतश्रेणी मात्र होइन। यो पृथ्वी प्रणालीको एक अत्यन्त महत्त्वपूर्ण अवयव र एसियाका विशाल भूभागहरूको स्वच्छ जल आधार हो। हिमाली हिममण्डलको स्थिरताका प्रभाव राष्ट्रिय सीमाभन्दा धेरै टाढासम्म फैलिन्छन्।
सुक्दै गइरहेका हिमनदी, हराउँदै गएको हिमआवरण, पग्लँदो स्थायी हिममाटो, अस्थिर बन्दै गएका चट्टान र विनाशकारी बाढीमार्फत हिमाली पर्वतहरूले स्पष्ट चेतावनी दिइरहेका छन्। विश्वले अब यो चेतावनी सुन्नैपर्छ।
विश्व तापवृद्धिमा न्यूनतम योगदान गरेको र अझै पनि महत्त्वपूर्ण पारिस्थितिक सेवा तथा कार्बन अवशोषण सेवा प्रदान गरिरहेको नेपालले बढ्दो जलवायुजन्य हानि आफ्नै सीमित घरेलु स्रोत वा थप ऋणबाट व्यहोर्नुपर्छ भन्ने अपेक्षा न्यायोचित हुँदैन।
जलवायु-संवेदनशील देशहरूलाई आफूले सिर्जना गर्न नगण्य भूमिका खेलेको विश्वव्यापी जलवायु सङ्कटबाट असमान रूपमा उत्पन्न विनाशको पुनर्निर्माण गर्न ऋण लिन बाध्य पारिनु हुँदैन।
यो आधारभूत सिद्धान्त सरल छ र नैतिक रूपमा शक्तिशाली पनि: जलवायु सङ्कट सिर्जना गर्न सबैभन्दा कम योगदान गर्ने देशले त्यसको सबैभन्दा ठूलो मानवीय, पारिस्थितिक र आर्थिक मूल्य एक्लै चुकाउनु न्यायोचित हुन सक्दैन।
जलवायु कूटनीति र COP31
अगस्ट २०२६ को हिमाली महाविपत्ति आगामी नोभेम्बर टर्कीमा हुने COP31 को विश्वका सरकार प्रमुखहरूको छलफलमा नेपालको जलवायु कूटनीतिको एउटा निर्णायक दृष्टान्त बन्नुपर्छ।
नेपालले यस विपत्तिको औपचारिक अभिलेखन गर्दै हिन्दूकुश हिमालय तथा व्यापक विश्वव्यापी हिममण्डलको संवेदनशीलतालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको अग्रभागमा ल्याउनुपर्छ।
नेपालको सन्देश स्पष्ट हुनुपर्छ-जलवायु न्याय सिद्धान्त र भाषणबाट उत्तरदायित्व र कार्यान्वयनतर्फ रूपान्तरित हुनैपर्छ।
COP31 मा नेपालले पर्वतीय तथा हिममण्डलीय जोखिमका लागि समर्पित वित्तीय व्यवस्था, सुदृढ अनुकूलन वित्त, प्रविधि हस्तान्तरण, हिमनदी, स्थायी हिममाटो र हिमताल अनुगमनको विस्तार तथा सीमापार पूर्वचेतावनी प्रणालीको विकासमा ऐतिहासिक रूपमा उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने अर्थतन्त्रहरूको बढी वित्तीय जिम्मेवारीको माग गर्नुपर्छ।
COP31 का वार्ताकारहरूसमक्ष उत्सर्जनको असमानता स्पष्ट तथ्यका रूपमा प्रस्तुत गरिनुपर्छ। प्रतिव्यक्ति केवल ०.६३ टन CO₂ उत्सर्जन गर्ने, अमेरिकी स्तरको करिब १/२३ र विश्वव्यापी जीवाश्म CO₂ उत्सर्जनमा कुल करिब ०.०५ प्रतिशत मात्र योगदान गर्ने देशलाई ऐतिहासिक रूपमा उच्च उत्सर्जन गर्ने अर्थतन्त्रहरूसँग समान जलवायु भार र दायित्व भएको जस्तो व्यवहार गर्न सकिँदैन।
नेपालले यी तथ्याङ्कलाई आफ्नो न्यूनीकरण दायित्वबाट पन्छिने आधारका रूपमा होइन, ‘साझा तर विभेदित जिम्मेवारी’, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र जोखिम तथा ऐतिहासिक योगदानअनुरूपको जलवायु वित्तको मागलाई वैज्ञानिक आधार दिन प्रयोग गर्नुपर्छ।
विश्वव्यापी जलवायु वित्तले पर्वतीय मुलुकहरूको असाधारण संवेदनशीलतालाई स्पष्ट रूपमा मान्यता दिनुपर्छ। स्वच्छ जल, जैविक विविधता, पारिस्थितिक तन्त्र, जीविकोपार्जन र क्षेत्रीय जलवायु प्रणाली नियमनमा पर्वतहरूको अपरिहार्य भूमिका हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय जलवायु वार्तामा तिनीहरूको भूमिका न्यून पारिएको छ।
हिन्दूकुश हिमालय, तेस्रो ध्रुव र एसियाको जलमीनारले आफ्नो ग्रहीय महत्त्वअनुरूप अन्तर्राष्ट्रिय ध्यान पाउनैपर्छ।
भोटेकोशी–त्रिशूलीको महाविपत्ति केवल वर्तमानको विपद् मात्र होइन। यो विश्वको तेस्रो ध्रुवबाट मानवताका लागि आएको भविष्यको चेतावनी हो।
यदि अन्तर्राष्ट्रिय समुदाय पृथ्वीको जलवायु प्रणालीको तीव्र अस्थिरीकरणको सामना गर्न असफल भयो भने हाम्रो साझा भविष्य कस्तो हुन सक्छ भन्ने चेतावनीका रूपमा यस घटनालाई बुझ्न आवश्यक छ।
त्यसैले COP31 को बैठकमा नेपालको सन्देश स्पष्ट हुनुपर्छ:
जलवायु न्याय दान वा परोपकार होइन। यो ऐतिहासिक उत्तरदायित्व, अन्तर्राष्ट्रिय समता र मानवता निर्भर रहेको ग्रहीय प्रणालीहरूको संरक्षण गर्ने हाम्रो साझा दायित्वको विषय हो।
चयनित स्रोतहरू
- Upreti, Gopi (2023). Climate Change and Its Threat to Humanity in the Anthropocene (Rapid Deglaciation in Nepal Hindu Kush Himalaya (HKH)) in Eco sociocentrism: The Earth First Paradigm for Sustainable Living. Springer Nature Switzerland AG.
- U.S. Geological Survey. 2026 Nepal Debris Avalanche and Flash Flood.
- International Centre for Integrated Mountain Development (ICIMOD). Hindu Kush Himalaya Glacier Loss Assessment.
- World Meteorological Organization (WMO). Extreme heat and rainfall, glacier loss, and record ocean heat impact Asia.
- Global Carbon Project (2025). Global Carbon Budget 2025 / 2024 Country Emissions Data.
- Our World in Data (2026). CO₂ Emissions per Capita, 2024. Data adapted from Global Carbon Project, Global Carbon Budget v15.
