गज़ल
|न त रहे खुसी,न त मनोहरा
विलय भैसके मृदुल आसरा
अमन चैनका क्षण कथा भए
अति उदास छिन् प्रिय वसुन्धरा
रहर,चाहना मृत भए अब
मगन मैलियो बह छ निक्खरा
विरहिणी बने मुजुर,कोइली
वन उजाड भो विचल कन्दरा
गति ढिला भयो अधिक घातले
पद अशक्त छन् निफर निम्छरा
पवन रोकियो सुरभि रोकिए
बहन बिर्सिए सकल निर्झरा
हृदय टुक्रियो शर प्रहारले
समय भैदिए प्रखर बन्चरा
नसुनिने भयो ललित गायन
विरस झैँ भए लय र अन्तरा
मधुर वागका कुसुम फाँडिए
तरु उखेलिए सब जरा जरा
विषम छन् यहाँ हर परिस्थिति
प्रकृति भैदिईन् कुटिल मन्थरा
नियतिले गर्यो छल निरन्तर
सुख र शान्तिले बिनु छ दायरा
भलभली भए नयन आँसुले
कति निसासियो मन कठैबरा
किन फजूल भो अटुट पूजन ?
किन बटारियौ भन ॠतम्भरा ?
छन्द :- प्रभावली
६ मा विश्राम