धनकुटामा उपन्यास अहल्या विमोचन

साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको अक्टोबर १३ तारिख शनिबार विहान सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो ।

धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान नेपालको वास्तविकतालाई समेत व्यङ्य गर्दै साहित्यका क्षेत्रमा नयाँ प्रयोग गर्ने प्रयाश गरेको कुरा विमोचन समारोहमा उपन्यासकार बरालले प्रष्ट्याउनु भयो ।

प्रकाशक तथा धनकुटा साप्ताहिकका प्रधान सम्पादक राजेश्वरबहादुर श्रेष्ठको सभापतित्वमा सञ्चालित सो विमोचन समारोहको प्रमुख अतिथि सहिद पत्नी लक्ष्मीदेवी श्रेष्ठ र अन्य सहिद परिवारका सदश्य समेत उपस्थित थियो । सो समारोहमा उपस्थित वक्ताहरु घनश्याम बराल, गङ्गा ढुंगाना, यज्ञप्रसाद गुरागाईं, विगेन्द्र याखा, होमबहादुर वस्नेत, मनोजनारायण श्रेष्ठले उपन्यासले धनकुटाको साहित्य क्षेत्रमा थप मद्धत पुग्ने आशा व्यक्त गरेका थिए ।

धनकुटामा बसेर लेखन तथा प्रकासन भएका खगेन्द्र प्रधानाङ्गको हारी, उपेन्द्र पोख्रेलको मिमि जस्ता उपन्यास पछि यो तेस्रो उपन्यासका रुपमा उपस्थित भएको छ ।

बिगतमा धनकुटामा नै बसी कविता, काव्य, कथा, नाटक, उपन्यास सिर्जना गर्ने परम्परा केही वर्षदेखि हराउँदै गएकोमा यो उपन्यासले मोफसलमा नै बसेर पनि काव्य रचना गर्न सकिने रहेछ भन्ने प्रमाणित गरेको छ । यो कार्यले धनकुटेली युवा साहित्यकारलाई प्रोत्साहित पनि गरेको छ ।

एकताका धनकुटामा यहाँका लेखक तथा नाटककारहरुले आफैं नाटक लेखी नाटक मञ्चन गर्ने र सो नाटक प्रदर्शनबाट उठेको रकमबाट यहाँका कलेज तथा विद्यालयहरु समेत सञ्चालन गर्ने गर्दथे । विगत केही वर्षदेखि धनकुटामा सून्यता र निरासता छाएको अवस्थामा धनकुटामा नै बसेर अहल्याको प्रकासनले धनकुटाको साहित्यिक फाँट उत्साहित भएको छ ।

पुस्तकको मूल्य रु एक हजार रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *