पर्यटकीय गन्तव्य बन्दै धनकुटा
|नेपालको पूर्वी पहाडको मध्य भागमा रहेको प्राचीनकालीन धनकुटा गौडा नपत्याउँदो ढंगले नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । झट्ट हेर्दा केही छैन जस्तो तर नेपालका विभिन्न भागका तथा भारतीय पर्यटकहरुका लािग धनकुटा साँच्चै नै मनमोहक बनेको छ ।
धनकुटाका व्यक्ति तथा संस्थाहरुको पहलले, राजधानीका लागि यहाँ भइरहेका कार्यालयहरु हटाइनाले सून्य जस्तो देखिन लागेको, धनकुटा अहिले पुनः जुर्मुराएको छ । धनकुटाले विभिन्न क्षेत्रमा पर्यटकहरुका लागि आकर्षणका केन्द्रहरु निर्माण गर्दै रहेको छ ।
धनकुटामा मुख्य रुपमा वच्चा वच्ची समेत लिएर आउनेहरुका लागि चुलिवन क्षेत्रमा बनेका थुप्रै संरचनाहरुले उनीहरुलाई भरपूर मनोरञ्जन दिन सक्दछन् । त्यहाँ बनेको किराँतहरुको आफ्नै शैलीको उनीहरुकै पहलकदमीमा बनेको मन्दिर तथा वगैचाले किराँत पर्यटकहरुका लागि पौराणिक महत्व राख्दछ । त्यसैगरी चुलिबनको शिखरमा नै निमार्ण सम्पन्न हुनै लागेको दृश्यावलोकन चुचुरीले तमोर, धनकुटा बजार, अन्नपूर्ण तथा कन्चनजंगाको दृश्यावलोकन गर्न पाउँदा पर्यटकहरु पुलकित हुँदैनन् भन्न सकिन्न । चुलिवनको शिखर तर्फ लम्किंदै गर्दा अहिले पनि थुप्रै पर्यटकहरु काठमाण्डौको स्वयम्भू तथा गुह्येवरी पशुपतिकोे सम्झनालाई ताजा बनाइरहेको पाइन्छ ।
त्यस क्षेत्रमा हरिण,मृग, घोरल जस्ता वन्य जन्तु र विभिन्न प्रकारका चराचरुङ्गीहरुको उपयुक्त बासस्थान र खानपीनको व्यवस्थापन गर्न सके चुलिवन क्षेत्र प्राकृतिक चिडियाघर पक्कै पनि बन्ने संभावना छ ।
त्यसो त शहीद भीमनारायण पुत्र मनोजनारायणद्वारा संकलित पुराना घरायसी सरसामानलाई नै संरक्षण गरेर सामुदायिक संग्रहालयको रुप दिन सकियो र क्षेत्रीय संग्राहलयको महत्वलाई प्रचार मात्र गर्न सकियो भने पनि धनकुटा बजारमा आन्तरिक पर्यटकले खचाखच भरिन्छ । मनोजनारायणको र सरोज श्रेष्ठको संकलन मात्र पनि धनकुटामा पर्यटक तान्ने महत्वपूर्ण औजार हुन सक्दछ ।
यहाँका साहित्यकार खगेन्द्र प्रधानाङ्ग, हेमचन्द्र पोखरेल, तुलसी दिवस, दयाराम श्रेष्ठ, अशेष मल्ल, शहीदहरु भीमनारायण श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र समाजसेवी रामनारायण श्रेष्ठका घरहरु तथा नेपालका पहिलो आँखा चिकित्सक रामप्रसाद पोख्रेलहरुका घरहरुलाई पनि सजाएर राख्न सके तीनका घरहरु हेर्नैका लागि पनि केही न केही पर्यटक धनकुटामा निरन्तर यात्रा गर्दथे होला भन्नु अतिशयोक्ति नहोला ।
हुन त ताप्लेजुङमा पाथिभरा दर्शन गरेर मनोकामना पुग्छ भनेर त्यहाँ धार्मिक पर्यटकहरुको लस्कर लाग्दछ । ताप्लेजुङकी पाथभीरा र गोरखाकी मनोकामना जस्तै सिद्ध छिन् धनकुटाकी छिन्ताङ देवी, एकपटक छिन्ताङदेवीको दर्शन गर्नासाथ मानिसका सम्पूर्ण मनोकामना पुग्छन् भन्ने जनविश्वास छ । तर प्रचारको अभावले त्यहाँ पर्यटकहरु त्यति जाँदैनन् । हिलेको बक्रकुण्ड महादेव स्थानको भरखरै मात्र प्रचार हँुदैछ भने यहींको मधुगंगाको धार्मिक महत्व कम छैन तर व्यवस्थापनको अस्तव्यस्तताले नामै सुन्दैनन् पर्यटकहरु । हिलेबाट देख्न सकिने मकालु शृंखला र एभरेष्ट पिक पनि त कहाँ ज्ञात छ र पर्यटकलाई ।
नमस्ते झरनाले गर्मीमा तराईका मानिसमात्र होइन भारत तर्फबाट समेत मानिसहरुको ओइरो लाग्दछ । मुक्तिदात्री, वृ्द्ध वा आमाहरुको वासस्थान रहेको विश्रान्ति परिसरले हेपिएका तथा हेलामा पारिएका बा-आमालाई राहत त दिएकै छ तर पनि किन हो देवघाटको रौनक ल्याउन सकिरहेका छैन । यसलाई संस्कृत वाङमयको उद्गम तथा कर्मकाण्ड प्रशिक्षण केन्द्रका रुपमा विकास गर्न सके नयाँ पुस्ता सो क्षेत्रमा आएर वस्दा धनकुटालाई लाभ नै हुने थियो । धनकुटा बहुमुखी क्याम्पसमा रोपिएका रुद्राक्षहरु यथार्थमा पिण्डेश्वर र दिङ्लाको रुद्राक्षरण्य भन्दा कम छैन तर त्यसको उचित संरक्षण र सदुपयोग हुन सकेको छैन । बजारका वरपर हुर्किएका एभोकाडोले पनि पर्यटक आकर्षित नगरी कहाँ छोड्लान् र ? यहाँ एउटा भरपर्दो औषधालयको खाँचो छ र सरकारले छिन्ताङ, मधुगंगा र चुलिवन जोड्ने एउटा केवुलकारमा लगानी गर्नै पर्छ ।
त्यसैगरी वाख्रेखोलाको धर्मगंगामा केही संरचना त बनेका छन् त त्यसको पौराणिक महत्व के हो ? भन्ने प्रष्ट हुन नसक्दा जुन महत्वका साथ पर्यटकको आगमन हुन्थो त्यो हुन सकेको छैन तर गुराँसको राजधानी तिनजुरे तथा पाथीभारा तर्फ हिडेका यात्रुहरुलाई एक दिन मात्र पनि धनकुटा राख्न सकियो भने धनकुटा नेपालकै महत्वपूर्ण गन्तव्य पक्कै बन्छ ।