कथा : “अदृष्य पाटो”

असोजको महिना मौसम सफा छ । आकाश खुलेको छ । खुलेको आकाशमा रंगीचंगी चंगाहरू उडिरहेछन् । वर्षायाम भर्खरै सकिएकोले धर्ती पनि उघारो र ओभानो छ । घाम पारिलो छ । दिन घमाईलो छ । मध्यान्हको बेला कौशीमा अलि सियाँल पारेर बेतको आरामदायी कुर्सीमा म बसिरहेछु ।

केही महिना मात्र भयो कृषी बिकास बैंकबाट अवकाश लिएको । छोरा, बुहारी र नाती-नातिना अमेरिकातिर छन् । उता उनीहरूको बन्दोबस्त राम्रै छ । यो दशैं मा उनीहरू आउन नपाउने भनेर हिजो मात्र फोन गरेका थिए । मलाई उतै आउन भनेर निकै करकर गरिरहन्छन । तर म त्यता एकदमै निसास्सिन्छु । सबै थोक भएर पनि खल्लो लाग्छ। बेरसीलो लाग्छ मलाई अमेरिकाको जीवन र दैनिकी । त्यहाँको दैनिकी टुलुटुलु हेर्दा यस्तो लाग्छ, मान्छेहरू वस काम गर्नकै लागि निर्मित कुनै यान्त्रिक उपकरण हुन् ।

छोरी ज्वाँई अष्ट्रेलियातिर छन् । उनीहरूको पनि राम्रै छ । श्रीमान पहिलेदेखि नै बिज्ञान प्रविधिमा रूची राख्ने मान्छे । जागिरबाट अवकाश पछी पनि यत्तिकै बस्न छट्पटीनुभयो । अनि, केही खोज अनुसन्धान गरेर किताब लेख्छु भनेर जापान हानिनुभएको पनि महिना दिन बितिसकेछ । घरमा काम सघाउने शकुन्तला छ । अहिले त उ पनि बिद्यालय गएकी छ। मुख बोल्ने मान्छेसम्म कोही छैन यतिबेला । सोच्न र सम्झन जाँगर चलेको खण्डमा यतिखेर मसँग प्रसस्त समय छ ।

केही दिनदेखी कौसिको टेवलभरी असरल्ल परेका पत्रिकामा लेखिएका ठूला ठूला अक्षरहरू सबैमा आँखा जान्छ । सबै पत्रिकामा महिनौदेखि फरक-फरक शीर्षकमा उही समाचार लगातार दोहोरिरहेछ ।
– “१३ वर्षिय किशोरीको सामुहिक बलात्कार पछी हत्या” ।
– छिमेकीद्वारा नौ महिने बालिकाको बलात्कार पछी हत्या”।
– “सार्वजनिक यातायात भित्रै अठार वर्षिय युवतीको बलात्कार” ।
– “प्रेम प्रस्ताव अस्विकारपछी आफ्नै प्रेमीद्वारा प्रेमिका माथी एसीड प्रहार”।
– “एक्काईस वर्षकी किशोरीमाथी राजधानीमै सामुहिक बलात्कार” ।
– “निर्मला पन्त हत्या प्रकरण: कञ्चनपुरमा हवाई फाएर” ।
– निर्मला पन्त हत्या प्रकरण: प्रमाणहरु प्रहरी संरक्षण मै नष्ट “।
– “निर्मला पन्त हत्या प्रकरण: डिएनए रिपोर्ट मिलेन”।
– “पूर्वी नवलपरासीमा एउटी महिलामाथी आफ्नै छिमेकीद्वारा एसीड र चक्कु प्रहार”।
– ” दश वर्षकी बालिका छिमेकीद्वारा बलात्कृत” ।
साँच्चै अचेल अखवारका पानाहरूमा समाचार छैन। त्यहाँ त बिद्यालय हिडेकी किशोरी, साथीको घरमा हिंडेकी बालिका, पसल जाँदै गरेकी महिला , ओछ्यान मा सुतिरहेकी बालिका, अफिसबाट फर्किंदै गरेकी युवती, साँझमा घरमा धुमधुम्ती एक्लै बसेकी बुढी आमाको चित्कार मात्र छ ।

म ति अखबारका पानाहरू फेरी पालैपालो पल्टाँउछु । अहँ त्यहाँ कतै पनि यति लगानीमा यो ठाउँमा पुल बन्दैछ भनेर लेखिएको छैन । फलानो ठाउँ मा नयाँ बाटो बनाइँदै छ भनेर लेखिएको छैन । फलानो ठाउँ मा नयाँ कम्पनी स्थापनाको लागि उद्घाटन भनेर पनि लेखिएको छैन । यस वर्ष हाम्रो देशको उत्पादित पदार्थ यति यति र यसरी यसरी निर्यात गरियो भन्ने कुरा छैन । मुलुकको आर्थिक बृद्धिदर सम्बन्ध मा भएको कुनै गतिलो बहस र योजनाको समाचार छैन ।

बरू दशैंको मुखमा बजारमा चिनीको अभाव भनिएको छ । दशैं तिहारको लागि भनेर यति उती खाद्यपदार्थ फलानो फलानो देशबाट आयात गरियो भनेर लेखिएको छ । मुलुकको व्यापार घाटाको फेहरिस्त छ । काठ तस्करी, सुन तस्करी का ब्याख्या र बयानहरू छन् । ग्याँस र तेलको अभाव भनिएको छ । यातायातमा बढेको भाडादरको सुची पनि छेवैमा छ ।
म ति सबै समाचारलाई सकभर वेवास्ता गर्न खोज्छु । फेरी कसो कसो आँखा त्यसै महँगीको लामो सुचीमा पुग्छ। र,अडीन खोज्छ । म एउटीले वास्ता गरेर पनि के हुने हो र जस्तो पनि लाग्छ । ” राज्य सञ्चालन का ठेकेदारहरू नै कानमा तेल हालेर बसेपछी कस्को के लाग्छ “? एक्लै भुत्भुत्याउँछु । जनताले मात्र चाहेर केही पनि गर्न नसकिने रहेछ भन्ने कुराको उदाहरण आफ्नै जिवनकालमा धेरै देखिसकेकी र अनुभव गरिसकेकी छु ।
°°°

फोनमा घण्टी बज्छ । उठाउन खोज्छु । अघि नै काटिएछ । कुन्नी को हो । नाम पनि सेभ रैनछ । जोसुकै होस ! कल व्याक गर्न पनि जाँगर चलेन । काम नै परेको हो भने त फेरी पनि गरिहाल्ल्छन होला नि भन्ठान्दै एकलट ट्विटर पस्छु ।

ट्विटरमा जस्टिस फर निर्मला भन्ने ह्यासट्याग राखेर सबैले कविता र ट्विटहरू आज पनि लेखिरहेका थिए । कञ्चनपुरकी निर्मलाको बलात्कारपछी हत्या भएको दुई महिना भन्दा पनि बढी बितिसक्यो । अहँ ! अझै अपराधी पत्ता लागिसकेको छैन ।
यस बिचमा निर्मलाको न्यायको निम्ती देशका धेरै ठाउँबाट धेरै जुलुस निस्किसके। धेरैले जस्टिस फर निर्मला नामको ब्यानर बोकेर आ-आफ्ना शहरमा भेला गरिसके। धेरैले चित्र बनाईसके। धेरैले कथा, कविता र समाचारहरू पनि लेखिसके । सरकारलाई झक्झक्याउन कसैले कुनै कसर बाँकी राखेको छैन । फेरी पनि सरकारकै संरक्षण मा हत्यारालाई उन्मुक्ति मिलिरहेको आभाष आम नागरिकलाई भइरहेछ ।

त्यस एउटी निर्दोष बालिकाको बलात्कार भयो । हत्या पनि भयो । सम्पूर्ण प्रमाणहरू नष्ट पनि गरिए । तिनै प्रहरी प्रशासनले कुनै कुनै अभियुक्त चौविस घण्टा पनि नबितीकन पनि समातेका छन्। अनि फेरी निर्मलाकै हत्यारा चैं कसै गर्दा पनि अझै पत्ता नलाग्ने । हाय ! देश, नियम, कानुन, राजनिती सबै सम्झेर दिक्क लाग्छ।

ठिक यसै बेला टाईमलाईनमा झण्डै मेरै उमेरकी जस्ती देखिने एउटी बिदेशी महिलाको फोटो देख्छु । उनको फोटोसहित उनको बारे लेखिएका समाचारहरू टाईमलाईनमा छरपस्ट थिए । थाहा पाएँ । ति महिला अमेरिकन रहेछिन । उनीले आफु आजभन्दा लगभग पैतिस वर्ष पहिले यौन हिंसामा परेको कुरोबारे भर्खरै मुख खोलेकी रहेछिन । उनको साहसको प्रसंसा गरेर धेरैले ट्विट लेखिरहेका थिए ।
झण्डै झण्डै मेरै उमेरको हाराहारीकी महिला । अमेरिका जस्तो देश । पैंतिस वर्ष पहिले आफु यौन हिंसामा पर्नु ! अनि फेरी आज आएर आत्र आफु पनि यौन हिंसामा परेकी थिएँ भनेर भन्न सक्नु । ओह्हो ! मनभरी एउटा बिचित्र खालको भाव सिर्जना हुन्छ । फोन टेवलतर्फ सार्छु । अनि त्यसै कुर्सिमा आँखा चिम्लेर थोरै ढल्कन खोज्छु । त्यसैबेला चिम्लिएका आँखाभरी आफ्ना बालस्मृतीहरू छरपस्ट हुन थाल्छन ।
°°
घरमा अलि सानी केट्केटी म नै थिएँ । सबैको माया नै मायामा पुल्पुलिएर हुर्किएँ ।
अलि सानै हुँदा त म छुट्टी को दिन आमा, फुपु,हजुरवा लगायतका घरका ठूला मान्छेहरूसँग गोठालो जाने गर्थें । अलि ठूलि भएपछी भने कैलेकाँही एक्लै जान थालेँ । कैलेकैले चैं दुई घर मास्तिरका आफ्नै बडाको छोरा आषिश दाइसँग पनि जान्थेँ । घरमा सबै व्यस्त हुने भएकोले घरका सबैको आदेश अनुसार मैले बिद्यालय आउने जाने पनि उनै दाइसँग गर्नुपर्थ्यो ।

गोठाला जाँदा हामी अरू-अरू सबै गाउँलेहरूसँग मिलेर कैले बिहेको खेल खेल्थ्यौं । कैले गट्टा खेल्थ्यौ । हामीभन्दा अलि ठूलाहरू चैं कपड्डी खेल्थे। आशिष दाइ चैं उनीहरूसँग मिलेर कैलेकैले कपड्डी पनि खेल्थे ।
°°°°
त्यतिबेला म त्यस्तै नौ दश वर्षकी थिएँ होला । आषिश दाइ पनि चौध पन्ध्र वर्षका जति हुँदा हुन् ।
एकदिन म र आषिश दाइ सँगै गोठाला गएका थियौं । हामी दुबैले गाई बाख्रा अलि धेरै घाँस भएको ठाउँ मा छोड्यौं । अनि, छेउमै बसेर गट्टा खेल्न थाल्यौँ ।
एकछिन गट्टा खेलिसकेपछी आशिष दाइले मसँग बिहेको खेल पनि खेलौं न भनेर प्रस्ताव राखे । अनि मैले अचम्म मान्दै सोधेँ “दुईजना मात्र कसरी बिहेको खेल खेल्ने”? “बिहेको खेल खेल्नको लागि मान्छे पुग्छन् र” ? उनले भने ” यहाँ कहाँ हामी मात्र छौं र” ? यहाँका ढुङ्गा, लठ्ठी, गाई ,बाख्रा सबै गन्नुपर्छ ,अनि त पुगिहालिन्छ नि” । त्यसपछी मैले अनौठो मान्दै मान्दै भएपनि मौन सहमति दिएँ ।
मानेका ठुला ठुला डाँठ र धुर्सुलको पात बटुल्यौं । दुईटा घर बनायौँ । त्यस घरभित्र आफु पनि अट्न सक्ने ठाउँ बनायौँ । यसरी आफु पनि मजाले अट्न सक्ने घर आफैंले बनाउन सक्दा हामी दुबै मनमनै खुसीले दंग परेका थियौं । मलाई भने त्यो घर अझै धेरै मन परेको थियो । त्यसैले दाइसँग भनेँ ” दाइ यो घर नभत्काउँ है । घाम हुँदा भोलि भोलि पनि बस्न मिल्छ । पानी पर्दा ओत लाग्न पनि मिल्छ” । आशीष दाइले सहमतीमा “हुन्छ” भने।

त्यसपछी हामी दाजुबैनीले बिहेको खेल खेल्यौं । दाइ बेहुला र म बेहुली बनेका थियौं । बिहेको भतेर,जन्त जस्ता सबै कुरा ढुङ्गा, माटो, लठ्ठी गाईवस्तु सँग गर्यौ । अन्तिममा बेहुली भित्र्याईसकेपछी दुलहीले दुलाहाको घरमा गर्नुपर्ने संस्कार र परम्पराका कुराहरू पनि हामीले देखेर सिकेका आधारमा सम्झना भएसम्म र जानेसम्म का सबैथोक गरेजस्तो गर्यौं ।

बेलुका भयो । सुतेजस्तो गर्यौँ । यसो गर्दा एउटै खाटमा सुत्नपर्ने नियम हुने भन्ने कुरा आषिश दाइले बताएका थिए । हामी दुईतर्फ फर्केर घाँसे भुईलाई खाट मानेर भुईँमै सुत्यौं ।

त्यसको केहीबेरपछी आशिष दाइ मेरो छेवैमा आए । एकैछिन मेरो अनुहारमा हेरे । अनि मलाई आफ्नो शरिरको तल्लो भागका लुगाहरू एकैछिनको लागि मात्र खोलिदिन आग्रह गरे । सुरुमा त म उनको त्यस्तो कुराले अचम्ममा परेँ । दाइ मसँग जिस्किँदै छन् की जस्तो पनि लाग्यो । तर, अलिक बेरसम्म पनि जिद्दी गरिरहेपछी भने म भित्र भित्रै डराएँ ।

म डराएको देखेर होला दाइले सम्झाउँदै भने ,” यो खेल पनि एउटा सामान्य खेल हो , अरू-अरू खेलहरूजस्तै । बिहे खेलेपछी यो खेल खेल्नु त अनिवार्य नै हुन्छ । यसबेगर त बिहेको खेल पुरा नै हुँदैन नि लाटी ” । त्यसपछी मैले आफुले पहिले पहिले कहिल्यै पनि बिहेको खेल खेल्दा यस्तो खाले खेल नखेलेको र अब पनि नखेल्ने भनेर अड्डी लिएँ ।

उनी अझै नजिक आए । आफ्ना दुबै हात मेरा दुई गालामा राखे । केही बेर मुसारे । अनि फेरी भन्न थाले । “तिमीले मलाइ आज यस खेलमा साथ दियौ भने म भोलि तिमीलाई बजार लग्छु । मिठामिठा खानेकुराहरू र धेरै थरिका तिमीले रोजेकै जस्ता खेलौनाहरू पनि किनिदिन्छु”। म अझै मानिनँ । त्यतिबेलै मैले मनमनै अब आईन्दा यी दाइसँग बिहेको खेल कहिल्यै पनि नखेल्ने भनेर प्रतिज्ञा गरिरहेकी थिएँ ।

केहीबेर पछी उनले मलाइ एकछिन मात्र आँखा चिम्लन अनुरोध गरे । मैले आँखा चिम्लिदिएँ । त्यसपछी उनले झटपट मेरो फ्रक थोरै तल सारे। तत्काल मलाई मेरो गोप्य अंगमा कसैको स्पर्शको अनुभव भयो । झस्केर आँखा खोलेँ । उनको पनि जाँघे आधा खुलेको थियो । उनी घुँडा टेकेर मेरो समिपमा बसेका थिए । यतिबेला उनी आफ्नो गोप्य अंग मेरो गोप्य अँगमाथी राखेर खेलाईरहेका थिए ।
आत्तिएर सोधें “दाइ यस्तो के गरेको “? उनले यस्तो केही पनि होईन । एउटा सामान्य खेल मात्र भएको कुरो बताए । मलाई थाहा थिएन के गर्दै छन भन्ने । उनले यस्तो केहीबेरसम्म गरीरहे ।
अनि अब घर जाने बेला भैसकेको थियो । उनले आफ्नो जाँघे ताने । मेरो फ्रक पनि तानीदिदै भने ,” नानी जंगलमा यस्तो खेलेको कुरा कसैलाइ नभनेस है”। मैले सोधेँ “किन”? उनले थपे ” बिहेको खेल खेलेको भन्नु तर बिहेपछाडीका सबै खेल भनिराख्न पर्दैन के । बिहेपछाडीको त्यस्तो खेल बारे सबैलाई पहिले नै थाहा हुन्छ ” । म अचम्ममा परेँ किनभने बिहेपछी सबैले यस्तो फोहोरो खेल खेल्नैपर्छ भन्ने कठोर नियमबारे मलाई यसभन्दा पहिले कहिल्यै पनि र केही पनि थाहा थिएन । त्यति बेला मैले मेरी आमा, हजुरआमा, फुपुहरू सबैलाई सम्झेँ । बुवा, काकाहरूलाई पनि सम्झेँ । अनि एकाएक मलाई विवाह भन्ने शव्द सम्झेर नै दिक्क लाग्यो ।

धेरै दिनसम्म त त्यो कुरा मैले कसैलाई भनिनँ ।त्यसपछी एकदिन आमालाई सोधें ” आमा किन बिहे खेलेपछी आशिष दाइले त्यस्तो खेल पनि खेल्नैपर्ने भनेर मसँग जिद्दी गरे “? अबदेखि आशिष दाइलाई मसँग त्यस्तो खेल नखेल्न भन्दिनुस न । बिहेपछी सबैले खेल्नैपर्ने त्यस्तो खेल तपाईंहरू पनि खेल्नुन्छ र”? सुरूमा त आमा मेरो प्रश्नले झस्किनुभयो । अनि सोध्नुभयो “साँच्ची हो त नानी”? मैले हो को मुन्टो हल्लाएँ । त्यसपछी आमा आत्तिनुभएको थियो ।

°°°
केही महिना पछी एकदिन आशिष दाइ र म सँगै बिद्यालयबाट फर्किंदै थियौं । साथमा गाउँकै एउटी अर्की दिदी र दाइ पनि थिए । बिद्यालयमा अन्तिम घण्टी पढाई नभएको कारण त्यस दिन घर छिट्टै जान पाईएको थियो । त्यो साउन भदौको महिना थियो, सायद । बिद्यालय देखी निकै तल पुगेपछी ति दाइ र साथमा भएका अरू दुई दाइ दिदीले आज बिद्यालय छिटै छुट्टी भएकोले आफुहरू केही न केही खेल खेलेर मात्र घर गए हुने भन्ने कुरा गर्न थाले ।
मैले भने आफुलाई कुनै पनि खेलमा चासो नभएको र छिटै घर जान मन लागेको कुरा बताएँ । उनीहरूले मलाई पनि एकछिन मात्र बस्न र केहीबेरमै सबैजना सँगै जाने भनेर त्यहीँ रोके ।अनि म एकछिन बस्नलाई चैं बसिदिएँ ।
त्यस साउनको कुईरो लागेको झोर दिनमा उनीहरू फेरी पनि बिहेको खेल खेल्न थाले । मलाई डर लाग्यो । अनि म तत्काल उठेर हिड्न खोजेँ । त्यतिबेला उनीहरूले मलाई यस्तो बेला खेत बारीमा पहिले पहिले पनि धेरै पल्ट आईसकेको चितुवाको कथा सुनाए । त्यसपछी म एक्लै घर जान डराएँ ।
यो पल्ट बिहे खेलमा ति दिदी र आषिश दाइ बेहुला बेहुली भए । मैले म बेहुली नबनेर बेहुलाको बैनी मात्र बन्न चाहेको कुरा बताएँ । । उनीहरूले मेरो कुरा सुन्दै सुनेनन् । र ,मैले त्यसपल्ट पनि बेहुली बन्नै पर्ने भयो । त्यति बेला मेरो बेहुला भने त्यसै गाउँको अर्को मान्छे,आशिष दाइकै साथी बनेका थिए ।
त्यस दिन पनि बिहे खेलपछी खेलको अन्तमा हामी दिदीबैनीलाई त्यस मकै घारीमा आफ्नो आफ्नो किताबको सिरानी लगाएर सँगै सुत्न लगाईयो । त्यसपछी पहिलेजस्तै हामीलाई आफ्ना आफ्ना फ्रक खोल्न भनियो । ति दिदीले खोलिन । तर यस पल्ट मैले उनीहरूका कुरा मानिनँ ।
त्यसबिचमा उनीहरू आपसमा मैले यस्तो खेलको बारे पहिले नै आफ्नी आमालाई भनीसकेको र मेरी आमाबाट आशिष दाइले गाली खाईसकेको कुरा गरिरहेका थिए । र यो पल्ट कसैलाई नभन्न भनेर मलाई धम्क्याईरहेका थिए । उनीहरूले मलाई निकै बेरसम्म फकाए पनि । कसम खान पनि लगाए । तर मैले उनीहरूको कुरा सुनिनँ ।
एकैछिनमा त्यहाँ नजिकै माान्छेहरूको गुनगुन सुनियो । तिनीहरू डराए । अनि झटपट त्यहाँबाट जान भनेर हिंडे । बाटोमा उनीहरू सबैले मलाई यस्तो खेल खेलेको कुरा कसैलाई भन्न नहुने । तर, बिहेको खेल खेलिसकेपछी यस्तो खेल खेल्नु अनिवार्य जस्तै भएको कुरा बताईरहे ।

घरमा पुगेर मैले सबै कुरा फेरी पनि आमालाई भनिदिएँ । फुपुलाई भनिदिएँ । हजुरआमा लाई पनि भनिदिएँ । तर, कसैले पनि मेरो कुरा पत्याएनन् । दाइलाई के भन्छे यो भनेर उल्टो मलाई नै झपारे ।
त्यसपछी पनि आषिश दाइ हमेशा मसँग नै हुन्थे । त्यस बिचमा उनले मलाई कैले गोठमा, कैले मकैवारिमा, कैले खेतमा, कैले परालको कुन्युमा, त कहिले जंगलको एकान्तमा धेरैपल्ट त्यसैगरी मेरो फ्रक खोल्न लगाए । कतै कतै त म भागेर बाँच्थें । तर धेरैजसो ठाउँमा चुपचाप उसले भनेको मान्नुको मसँग दोस्रो बिकल्प हुन्थेन ।

घरका सबैहरू खेतवारी र खेतिपातीमै व्यस्त हुने भएकोले
मलाई सँधैजसो तिनै दाइको छत्रछायाँमा छोडिन्थ्यो । तर, मलाई भने उनीसँग बस्न, हिड्न, बोल्न पर्दा डरले शरिरभरी काँडा उम्रन्थ्यो । किनकिन मलाई उनको हाँसो, बोली, हाउभाउ सबै एकदमै राक्षसी लाग्न थालेको थियो ।
एकान्तको मौका छोपी आफ्नै दाजुद्वारा त्यसरी आफ्नो फ्रक खोलिनु र आफ्नो गोप्य अंग सुम्सुम्याईनु राम्रो थियो या थिएन भन्ने कुरा पनि म त्यतिबेला जान्दिनथें ।
मलाई मनमा भित्र भित्रै एकदमै डर मात्र लागिरहन्थ्यो । आफ्ना कुराहरू नसुनेर जतिबेलै आफुलाई तिनै दाइको भरोषा मा छोडेकोमा मलाई घरका सबैहरूसँग धेरै रिस उठ्थ्यो । यो विशाल संसारमा आफु एक्लै रहेको र आफ्ना कुराहरू सुन्ने यहाँ आफ्ना कोही पनि नभएको कुरा सम्झेर एकदमै धेरै अत्यास लाग्थ्यो ।
केही समय पछी उनीहरूको परिवार र हाम्रो परिवार गाउँदेखि शहरतिर बसाँई सर्यो । भेटघाटहरू पातलिए । मैले बिस्तारै ति दाइदेखी छुटकारा पाएँ ।
°°°
कक्षा नौ दशमा पढ्ने हुँदा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूबाट बलात्कार र यौन हिंसा सम्बन्धी धेरै कुराहरू थाहा पाएँ । र, त्यसैबेला म आफु पनि सानै हुँदा आफ्नै ठूलोबाको छोराबाट यौन हिंसामा परेकी रहेछु भन्ने कुराको ज्ञान भयो । सुरूमा त यस्तो थाहा पाँउदा मलाई झुन्डेर मर्न मन लाग्यो । खोलामा हामफालेर मर्न मन लाग्यो । बिष पिएर मरौं जस्तो पनि लाग्थ्यो । भित्र भित्रै एकदमै विक्षिप्त जस्तै भएकी थिएँ । ति सबै कुराहरू अरूलाई भन्ने आँट पनि म मा अब बाँकी थिएन । एक्लै घोरिने, सोच्ने र ति सबैलाई अरूको अगाडी सकभर लुकाउने गरेर दिनहरू बिताउँदै थिएँ ।
°°°
बाग्मतीमा पानी धेरै बगिसकेको थियो । अब म हुर्कीसकेकी थिएँ । र, आषिश दाइ पनि । आशीष दाइको बिहेको खवर सबै आफन्तमाझ फैलियो ।
सबै आफन्त नातेदारहरू उनको बिहेको बारे कुराहरू गरिरहेका हुन्थे । तर मलाई त्यस विवाहमा जान किनकिन मनै लागेन । उनी आफैँले आएर मलाई विवाहमा उपस्थित हुन भनेर निकै आग्रह गरेका भए पनि मैले उनको विवाहको दिन आफ्नो टाउको असाध्यै दुखेको बहाना गरेर घरमै बसें । निकै धुमधामसँग सहरकै सानदार होटलमा आषिश दाइको भव्य बिवाह सम्पन्न भयो ।

सबै आफन्तहरू आशिष दाइको गुणगानको निकै चर्चा परिचर्चा गर्ने गर्थे । हाम्रै घरमा पनि उनको निकै सम्मान र प्रशंसा हुन्थ्यो । उनको पढाई र, उच्च हैसियतको कारण समाज र आफन्त माझ उनको प्रशंसा,मान र ईज्जत नै बेग्लै थियो । मलाई भने “आषिश” भन्ने नामसँग पनि चर्को घृणा थियो । न म कहिल्यै उनीहरूको घर गएँ । न त उनी मेरो घरमा आउँदा खुलेर बोल्न बोलाउन मन लाग्यो ।
केही वर्ष पछी आशिष दाइकी श्रीमती अर्थात नाताले मेरी भाउजु गर्भवती भएको कुरो पनि सबै आफन्त परिवारमा फैलियो । घर परिवारमा सबैले उनको धेरै चासो राख्थे । उनलाई खान मन लागेका कुराहरू सबैले बोलाई बोलाई ख्वाउथें । सबैले उनीहरूको राम्रा राम्रा कुराहरू गरिरहेका हुन्थे ।

ठिक त्यसै बेला, एकदिन हाम्रो घर परिवार र आफन्त माझ एऊटा दुखद खवर पनि आयो । खवर थियो ” शहरको कुनै एउटा भूमिगत सशस्त्र समुहद्धारा आशिष दाइको अपहरण भयो । अपहरण पछी चन्दा मागियो । र, केही दिन पछी हत्या पनि भयो। त्यति बेला त्यस खवरले रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमा पनि निकै ठाउँ पायो । घर ,परिवार, आफन्त, साथीभाईहरू सबैतिर रूवाबासी चल्यो ।

उनको अपहरण र हत्यापछीको उनको लास हेर्न घरका सबैहरू गए । तर, म उनको लास हेर्न पनि गईन । मैले त्यतिबेला आफ्नो क्याम्पसमा परिक्षा चल्दै गरेको भनेर ढाँटे ।
जानेहरूले त भन्थे” बिचरा ! उस्को त मरण पनि कति नराम्रो र’छ । कान पनि काटिएको । नाक पनि काटिएको आँखा पनि झिकिएको । ” त्यसो सुनेर पनि मेरो मन अलिकति पनि दुखी भएन । बरु, एकाएक “स्वर्ग र नरक देख्न मर्नुपर्दैन । सबै यसै लोकमा बिस्तारै देखिन्छ” भनेर पहिलेपहिले हजुरीले भन्ने गरेको कुरो सम्झिएँ ।

मैले म माथी भएको अन्याय बारे खुलेर आवाज निकाल्न नसकेकी भएपनि । आफुमाथि घटिरहेका घटना आफ्नाहरूलाई सुनाउँदा उनीहरूबाट बेवास्ता मिलेको भएपनि । कसैले आफुप्रति विश्वास नगरेको भएपनि । कम्तिमा भगवानले आफ्नो आत्माको गहिरो चित्कार सुनेका रहेछन् भनेर एकाएक ममा खुसीको सञ्चार भयो । उनको त्यस्तो किसिमको दर्दनाक मृत्युको खवरले मलाई एक चिम्टी पनि दु:ख लागेन । बरू मनमनै भगवानलाई कोटीकोटी धन्यवाद भनेँ ।

म जति जति ठूली हुँदै गएँ । मेरो दिमागमा आफ्नो बालापन उती नै बढी घुमिरहन थाल्यो । आफुले सानैमा घरमा सबैलाई सुनाउन पटकपटक कोशिस गरे पनि आफुप्रति कसैले चासो नदिएको कुराले दिनदिनै मेरो आत्मा पोलिरहन्थ्यो । घरका सबैले आफुलाई विश्वास नगरेपछी पछी पछी त मैले ति सबै कुरा सुनाउन छोडेकी थिएँ । यसैले हुन सक्छ घरका सबैहरूसँग मेरो छुट्टै खालको दुरी थियो । आफ्ना सबैजसो कुराहरूमा परिवारको साथ र माया पाउने गरेको भए पनि म आफुलाई भने आफु सँधै एक्लै भएको आभास हुन्थ्यो ।
°°°°
अलि पछी क्याम्पस पढ्दा पढ्दै आफैंसँग पढ्दै गरेको एउटा पुरुषसँग म प्रेममा परेँ । हामी एक अर्काको प्रेममा हराउन थालेका थियौँ । जब हाम्रो प्रेम गहिरिदै गयो, म अझ धेरै डराउन थालें । म दिनदिनै दुविधा नै दुविधा र सन्देह नै सन्देहमा हुन्थें । कैलेकाँही आफुसँग भएको त्यस कहालीलाग्दो अतित आफ्नो प्रेमीसँग निसंकोच भनिदिउँ जस्तो पनि लाग्थ्यो । अनि फेरी कैले आफ्नो कुरा सुनेपछी उसले आफुलाई त्याग्ने पो हो कि भन्ने डर पनि लाग्थ्यो । कैले ति सबै कुरालाई एउटा नराम्रो सपना सम्झेर बिर्सिदिउँ जस्तो पनि लाग्थ्यो ।

यसै कुरालाई लिएर म धेरै लामो समय सम्म गहिरो सोचमा डुबे । त्यसपछी एउटा अनिदो रातको भोलिपल्ट मैले तत्काल डा • प्रद्युम्न सँग बिहे गर्ने निधो गरेँ ।र, बिहे पनि गरें । उनी मेरो प्रेमी र मेरो श्रीमान दुबै भएपनि मैले उनीलाई मेरो अतितको त्यो कालो रातसँग कहिल्यै परिचय गराईन । त्यसबेगर पनि जिन्दगी बगिरह्यो ।

उमेरको यो उत्तरार्द्धमा आईपुग्दा आज घटिरहेका तमाम घटनाहरू सम्झेर म पुनः आहात भएकी छु । आज भन्दा पैंतालिस वर्ष पहिले र आज पनि यौन हिंसा उस्तै छ । हिजो त्यसरी मारीहाल्ने आँट गर्दैनथे । तर आज मार्ने आँट गर्छन । फरक त्यति नै देखिरहेकी छु । फरक के पनि देखेँ भने हिजो त्यस्ता घटनाबारे कसैले सुन्दैनथें । सुन्नै चाहदैनथे। सुने पनि पत्याउदैनथे या नपत्याएको अभिनय गर्थे । सबैले लुकाएर आफ्नो पुरै जिन्दगी मैले जस्तै गरी बिताईदिन्थे । तर, आज कम्तिमा सुनिदिने मान्छेहरू थोरै भएपनि बढेका छन । केहीहरूले आफ्ना काला दिनहरूबारे मुख खोल्ने साहस गर्न थालेका छन ।
त्यसै बेला टेवलको अर्को कुनातिर अर्को एउटा पत्रिका यसै पल्टेको थियो । त्यहाँ यसपालीको नोवल पुरस्कार बिजेताहरूको नाम र फोटो संगै थियो । पुरस्कृत व्यक्तित्वमध्ये एक जना चिकित्सक र अर्को बलात्कार पीडित युवती रहेछन् । उनीहरू दुबैले महिलामाथी हुने यौन हिंसासम्बन्धी महत्वपूर्ण योगदान दिएका भनिएको थियो ।

समाचारमा भनिएको थियो ,”नोवेल पुरस्कार बिजेता २५ वर्षीया मुराद भने याजिदी समुदायकी बलात्कार पीडित महिला हुन् । सन २०१४ अगस्टमा उत्तरी इराकबाट अपहृत मुरादलाई लडाकूहरुले इराककै मोसुल सहर लगेका थिए, र त्यहाँ उनीमाथि महिनौं सम्म सामूहिक बलात्कार, यातना र कुटपिट गरिएको थियो “।

तत्काल म सोही पत्रिका हातैमा बोकेर आफु बसिरहेको कुर्सीबाट जुरुक्क उठेँ । त्यही कौसीमा घरी यता घरी उता गरेर केही बेर चक्कर लगाएँ ।

अनि फेरी त्यही थचक्क बसें । डाक्टर फोर्ड र नोवेल पुरस्कार बिजेता मुराद कति शक्तिशाली । आफुलाई आफु उनीहरूको तुलनामा एकदमै धेरै कमजोर लाग्छ ।
यतिका वर्ष ईतिहासको गर्भमा लुकाएको मेरो अवस्था आज बुढेसकालमा आएर सार्वजनिक गरिदिउँ त ?
अनि फेरी तत्काल लाग्छ, म माथी यौन हिंसा गर्ने व्यक्ति स्वयं पनि मरिसकेको अवस्थामा मैले आफ्नो अवस्था सार्वजनिक गरेर पनि केही जित्न सक्ने छैन । समाज र आफन्त हरूले फेरी पनि मेरो कुरा पत्याउने छैनन् । बरू म सबैका नजरमा पागल या बिरामी कहलिने छु ।
एकाएक हात पाउ गल्छन ।
त्यसैबेला जोडले आँखा चिम्लेर यथार्थलाई सकभर बिर्सने कोशिस गर्छु । जति जोडले आँखा चिम्लन्छु उति नै जोडले आफ्ना सबै आफन्तहरूका आँखाबाट लुकेको मेरो आफ्नै जिवनको त्यस अदृष्य पाटो अझ बढी टड्कारो देख्न थाल्छु । अनि एकाएक आफु बसेको कुर्सीदेखि उठेर एउटा निर्णय गर्छु ।
दुनियाँको आँखादेखि अदृष्य आफ्नो जीवनको त्यस पाटोलाई अस्पृष्य नै राखेर भएपनि म आजैदेखि महिला तथा बालबालिकामाथि हुने यौन हिंसा बारे जनचेतनाको कार्यक्रमहरू बनाउन र प्रचार-प्रसारमा लाग्ने छु । कलिला नानीहरू माथिको यो वर्वरतालाई अनदेखा गरेर हिँड्न सक्ने साहस अब म मा बाँकी छैन ।

यस्तैमा अलि अघि नै आएर बिचमै काटिएको नम्बरबाट फेरी पनि फोन आउँछ । म हतार हतार फोन उठाउँछु । उताबाट एउटा पुरूष आवाज बोलिरहेको थियो, “शकुन्तला बलात्कृत भईन् । टिचीङ अस्पतालको आकस्मिक कक्षमा छिन् । हजुर तुरून्त अस्पतालमा आईपुग्नुहोला “।

Add a Comment

Your email address will not be published. Required fields are marked *