गणराज्यका नवराजाहरूका पक्षमा
|गणतन्त्र नेपालका बाहालवाला प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई दिन पहिले जुन ठाउँमा उभिएर मरेको बाघको जुँगा उखेल्ने भनेजस्तै भन्नुभयो- जनताले सम्मानपूर्वक नारायणहिटीबाट निकालेर सुरक्षाका साथ राखिएका महाराजाहरूबाट अशोभनिय अभिव्यक्ति र गतिविधि नहोस् । र, दुई दिनपछि तिनै पूर्व राजाहरूकै शैलीमा आफ्नो दशैं कार्यक्रम सार्वजनिक गर्दै मन्त्री,नेतादेखि सर्वसाधारणसम्मलाई आफ्नो दरवारमा फूल प्रसाद र आशिर्वाद ग्रहण गर्न उर्दी जारी गर्नुभयो ।
जुनदिन पूर्व महाराजाहरूको शक्तिको प्रतिक मानिने श्रीपेच सङ्ग्राहलयको कुनै एक कुनामा थन्काउन त्यहाँका कर्मचारीहरूले तयारी गरिरहेका थिए, त्यो समयमा प्रधानमन्त्रीले जनताले नै दाह्रा नङ्ग्रा भाँचेर किनारमा थन्काइसकेको पूर्व महाराजाहरूको श्रीपेच अगाडी उभिएर तस्बिर खिचाउँदै त्यस प्रकारको धम्की दिनुको कुनै अर्थ थिएन । यध्यपी प्रधानमन्त्रीको रहर हो, कर्मचारीहरूलाई उहाँको त्यो रहर पुर्याइदिन कुनै गाह्रो पनि थिएन, उहाँको त्यो रहर पुर्याउदिए । गाह्रो त ती दिनमा थियो, जुन दिनमा खुलामञ्चमा मदन भण्डारीहरूले ‘महाराज आँखा नझिम्काइबक्स्योस्, राजनिती नै गर्ने हो भने श्रीपेच खोलेर आइबक्स्योस अनि चुनाबको मैदानमा बसेर बात मारौंला’ भनेर औंला नारायणहिटी दरवारतर्फ देखाउँदा थियो ।
समाचारहरूमा त प्रधानमन्त्रीले महाराजाहरूको श्रीपेजको अगाडी उभिएर तस्बिर मात्र खिचाएर श्रीपेच भने सङ्ग्राहलयमा नै छोड्नु भएको देखाइएको थियो। तर प्रधानमन्त्रीले श्रीपेच सङ्ग्राहलयमा नै छोडे पनि उहाँको आत्मामा भने पूर्व महाराजहरूको प्रेतात्मा पो सबार भएछ । समाचार माध्यमहरूले पनि नदेखेको र सर्वसाधारण कसैले अनुमान नगरेको प्रधानमन्त्री ओलीमा पूर्वमहाराजहरूको श्रीपेचको प्रेतात्मा सबार भएको सन्देश दुई दिनपछि प्रधानमन्त्रीकै सचिवालयले सार्वजनिक गर्यो । सचिबालयको सूचनाका बारेमा अनलाइन खबरले लेखेको छ –
वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई कार्तिक ३ गतेदेखि ६ गतेसम्म टिका लगाइदिने भएका छन् । योभन्दा पहिले राष्ट्रपति र पूर्वराजाले मात्र यसरी टीका लगाइदिन्थे । यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट र दिउँसो राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्नेछन् भने २ बजेपछि मन्त्री,सांसद नेता तथा सरकारी कर्मचारी,कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् ।
पहिलो पक्ष नेपाल सम्बिधानत: धर्म निरपेक्ष राज्य हो । दशैं नेपालीहरूले वा विशेषत:हिन्दुहरूले मनाउँदै आएको लोक संस्कृति हो । यसमा परिवार वा समुदायमा आफन्त र मान्यजनको हातबाट टिका जमरा लगाएर आशिर्वाद लिने परम्परा बाहेक यसको राजकीय वा राजनीतिक कुनै सम्बन्ध छैन र थियो भने हिजो राजतन्त्रको अस्तित्व छउन्जेल मात्र । हिजो पनि राजाको दरवारका होचा ढोकामा शिर झुकाएर होस वा गाउँका मुखियाको आँगनमा तिनबाट अनुग्रहित हुन/शासित देखिन वा तिनको कृपा पात्रकारूपमा छु भनेर देखाउन र देखिन बाहेक राजाहरू वा मुखियाहरूबाट दशैंको टिका लगाउनुको कुनै महत्वपूर्ण अर्थ थिएन । तर आज पनि हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीहरू त्यही परम्परा दोहोर्याउने रहर किन गरिरहनु भएको छ ? रास्ट्रपति सुरक्षाको लस्कर लगाएर मठ मन्दिर वा शक्तिपीठ किन धाइरहनु भएको छ ? के यसैका लागि गणराज्यका नवराजाहरूको पक्षमा नेपाली जनताले बलिदान गरेर गणतन्त्रको स्थापना गरेका हुन् र ?
हाम्रो समाज बहुसंस्कृति प्रधान छ। हरेक समाजका आ-आफ्ना र अलग अलग संस्कृतिहरू छन् । तिनका फरक फरक पृष्ठभूमिहरू र महत्व पनि छन् । तिनको समय र मौलिकताको आ-आफ्नै महत्व पनि हुन्छ । राज्यका वा जनताका जनप्रतिनिधिहरूले फरक फरक समुदायका संस्कृतिलाई फरक बुझ्न र समान व्यावहार गर्न सक्नुपर्छ । समान व्यावहारका नाममा गुन्द्रुक खाँदेजस्तै एउटै खाडलमा एकै पटक राखेर अचार बनाउन पनि मिल्दैन । तर प्रम ओलीको नाममा दशैंका अबसरमा सार्वजनिक शुभकामना सन्देशले कतिपय भिन्न समुदायका साँस्कृतिक पर्वहरूलाई पनि दशैंसँगै गुन्द्रुक बनाएको छ । तिनको पहिचान र मौलिक अस्तित्वलाई छायाँमा पारिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीहरू एउटा व्यक्ति मात्र होइन । यो सार्वभौमसता सम्पन्न राज्यको अस्तित्व र पहिचानको स्थायी संरचना पनि हो । यस्लाई बहुमत प्राप्त राजनितिक दलको प्रतिनिधि वा सर्वसम्मत व्यक्तिले नेतृत्व गरेको हुन्छ । तसर्थ राष्ट्रपति र प्रधानमन्त्रीहरू नै मात्र सर्वेसर्वा वा सर्वज्ञ छन्/हुन्छन् र तिनले जे मन लाग्यो गर्न सक्छन भन्ने हुँदैन । राज्यको स्थायी संरचनाको सम्बैधानिक व्यवस्था र जनमतका आधारमा राष्ट्रपति र प्रधानमन्त्रीहरूका व्यबहारहरू नियन्त्रत तथा निर्देशित पनि हुनुपर्छ । किन यसो हुन सकिरहेको छैन ? किनकी हाम्रा नेताहरुमा नवराजाहरूको चरित्र हाबी हुन् थालेको छ ।
राज्य संचालनमा राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई सजिलो होस भनेर नै तिनको नीजि र सरकारी सचिवालय राज्यले नै व्यवस्था गरेको हुन्छ । कठोर वा निरंकुश मानिएका कुनै राणा प्रधानमन्त्रीलाई तिनको कुनै भारदारले भनेछ- “महाराज मेरो गर्धन चिलाएको हो कि महराजको आँखा फुटेको ?!” राजकीय सताको दुरुपयोग नेतृत्वबाट नहोस भनेर तिनका कारिन्दा, भारदार वा सल्लाहकारहरूले ज्यानकै बाजि मारेर सल्लाह दिन्छन वा सही सल्लाह दिनुपर्छ भन्ने दृष्टान्त हो यो ।
यसै सन्दर्भमा नेपाली समाज र राजनितिका बारेमा राम्रो विश्लेषण गर्नु हुने उतमबाबु श्रेष्ठले आफ्नो फ़ेसबुकमा गाउँ गाउँमा नारायणहिटी शीर्षकमा लेख्नु भएको टिप्पणिले पनि हाम्रो नेतृत्व वा शासकीय चरित्र संकेत गर्दछ । उतम जीको टिप्पणीको अंश यसप्रकार छ –
“हामीमा कसरी ‘राजसी’ ठाँटबाँठ हुर्कन्छ ? वा मौका पर्नसाथ त्यो देखा पर्छ ? प्रत्येक शासितभित्र शासक हुने चाहना लुकेको हुन्छ भन्ने पढेको थिएँ,त्यसले पो हो कि ? सायद बच्चा बेलादेखिको हुर्काइले पनि त्यसलाई असर गर्छ कि ? त्यस्तै राजसी परम्परा मध्ये थियो, राजाले सर्वसाधरणलाई टिका लगाइदिने । राजा जसलाई भगवानको रूपमा मानिन्थ्यो उनले प्रजालाई टिका लगाइदिनु अनौठो कुरा भएन । राजा गए गणतन्त्र आएपछि जनता समानका राष्ट्रपतिले पनि आफूलाई केहि माथि देखाउन खोजे । त्यसैले दुर्भाग्यवस पहिलो राष्ट्रपति रामवरण यादवले त्यसलाई निरन्तरता दिए । अहिले त्यो चलन स्थापित भएको छ । त्यसमा थप वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि सर्वसाधरणलाई टिका लगाइदिने भएका रहेछन् ।
प्रमसँग टिका लगाएका फोटाहरू सामाजिक सन्जालमा हाल्न पाउनु पनि चानचुने कुरा होइन । त्यसको बजार माग नहुने कुरै भएन । यतिखेर केन्द्रको सिको प्रदेशले गरिरहेका छन् विलासी गाडीदेखि सुविधा थप्न होड छ । त्यसले अब आगामी बर्ष प्रदेश प्रमुखले पनि त्यसरी नै टिका लगाइदिने चलन शुरू गरे भने अनौठो हुने छैन । त्यसपछि नगरप्रमुख र गामपालिका प्रमुखले शुरू गर्लान्। अनि त शितल निवास हुँदै बालुवाटार पुगेको नारायणहिटी गाँउगाँउमा । विदेशतिर राजाहरू राजसी ठाँटबाँट छोडेर साधरण हुँदै गइरहेकाछन् । सार्वजनिक छवी राम्रो बनाइरहेका छन्, हामी भने नयाँ राजा बन्न होड गरिरहेका छौं हैसियत अनुसारको । संघिय गणतन्त्र नेपालका नयाँ राजाहरूको जय होस् ।”
यसमा यो पङ्क्तिकारको टिप्पणी यतिमात्र – विज्ञेषू किमाधिकम् ।
विजया दशमीको शुभकामना ।
(प्रमको तस्वीर: कान्तिपुरबाट साभार)
जब नेताहरु राजनिति, त्यसकाे बृहत् अायाम, अायतन, समाजसँगकाे ससम्बन्ध जस्ता गहन बिषयहरु बुझ्दैनन्, तब अाफुले जे जति राजनितिलाइ ठान्छन त्यसैलाइ अाम मानिसकाे मत हाे भन्ने भ्रमपुर्ण बिश्वास पाल्दछन् । यसपछि उनिहरु जे गर्छन त्याे सबैले एकमुष्ट गलत नतिजा निकाल्छ । साे गलत नतिजा ढाकछाेप गर्नका लागि अर्काे गल्ति गर्छन, गल्तिकाे नतिजा गल्ति नै हुने छ । नेपालमा यहि भइरहेछ ।
लेखनाथ जि, तपाइकाे लेखले सारभुत प्रश्नहरु उठाएकाे छ, अाजकाे सत्ता राजनितिले त यी प्रश्नकाे जवाफ अवस्य दिदैन तर नेपाली समाज र वास्तविक राजनितिले यी प्रश्नकाे जवाफ खाेज्नेछ । भलै त्यसका लागि समय लाग्ला ।
श्रवण जी , धन्यवाद तपाईंको प्रतिक्रिया ‘लेखले सारभुत प्रश्नहरु उठाएकाे छ’को लागि । भविष्यप्रतिको तपाईंको विश्वास सकारात्मक सोच र हाम्रो उदेश्य पनि हो । तर भालुलाई पुराण सुनाउनु भने जस्तो नागरिक सर्बोच्चता र स्वाभिमानका विरुध्द जुन दृश्यहरू मन्चन भए त्यसबाट हामीले विश्वाश गर्न सक्ने सम्भावनाहरु कमजोर हुँदै गएको देखिन्छ । यसबारे थप एउटा चर्चा कुनै अर्को सन्दर्भमा गर्नेछु ।
श्रवण जी, धन्यवाद तपाईंको प्रतिक्रिया ‘लेखले सारभुत प्रश्नहरु उठाएकाे छ’को लागि । भविष्यप्रतिको तपाईंको विश्वास सकारात्मक सोच र हाम्रो उदेश्य पनि हो । तर भालुलाई पुराण सुनाउनु भने जस्तो नागरिक सर्बोच्चता र स्वाभिमानका विरुध्द जुन दृश्यहरू मन्चन भए त्यसबाट हामीले विश्वाश गर्न सक्ने सम्भावनाहरु कमजोर हुँदै गएको देखिन्छ । यसबारे थप एउटा चर्चा कुनै अर्को सन्दर्भमा गर्नेछु ।