कथा : प्रुफ मिस्टेक

युद्ध जारी थियो । मान्छेसँग मान्छेको युद्ध । मेशिनसँग मान्छेको युद्ध । अनि अहिले त मान्छेसँग मेशिनको युद्ध । यहाँ मान्छेहरु पहिल्यै भ्रष्ट थिए । मान्छेको सङ्गतले पछि मेशिनहरु पनि भटाभट भ्रष्ट हुन पुगेका थिए । ‘सर्भाइभल अफ दि फिटेस्ट’ भन्ने सिद्धान्तले मान्छेको जिन्दगीलाई चारैतिरबाट परास्त गरिदिएको थियो । अब त्यो सिद्धान्त मेशिनका हकमा समेत लागू भइसकेको थियो । यहाँ मान्छे र मेशिनहरु एउटा यस्तो होडको पराकाष्ठा भोगिरहेका थिए कि लाग्थ्यो त्यो होडको गन्तव्य दुई टक्काको मृत्यु शिवाय अर्थोक केही पनि होइन । हो त ?
जताततै डढेलो । चारैतिर धुँवा र धुलो । उकुसमुकुसले सास नै ठप्प भएजस्तो । जता गए पनि अक्सिजन नपुगेजस्तो । जे खाए पनि उल्टी होला जस्तो । ठिकसँग नपचेको । जताततै रोग, शोक, मादक द्रव्यको दबदबाका साथै मादक द्रव्यको असरले उत्सव वा उदासी अनि बीचबीचमा अकाल र दर्दनाक मृत्युको सन्नाटा – यस्तो लाग्थ्यो; यहाँ शान्तिको एक मुठी सास फेर्न अब कुनै प्राकृत स्थान बाँकी थिएन । हरेक दिनको सूर्योदयसँगै छापिने जिन्दगीका पानाहरुमा कतै न कतै, कुनै न कुनै प्रुफ मिस्टेकहरु भेटिने गर्दथे । र, नित्य जिन्दगीको गाँस चबाउँदा यहाँ लाग्ने गर्दथे, केवल ढुङ्गा ! यस प्रसङ्गको निष्कर्ष: यहाँ सग्लो कोही थिएन ।
त्यसो त सबै खोटा सिक्का मात्रै पनि थिएनन् । तर सग्ला सिक्काहरु पनि यहाँ आजकल खोटा सिक्काकै भाउमा चल्ने गर्दथे र अलिक बढी विरक्त लाग्नु स्वाभाविकै थियो ।
उदाहरणार्थ हेरौँ, प्रेस रिपोर्टर राजेश थापाको जिन्दगीमा अज्ञातबाट आमन्त्रित केही नियमित आकस्मिकता । अथवा तपाईंले यसलाई यसै अराजक दुनियाँको दैनिकीको एउटा सामान्य उदाहरण मात्रै पनि ठान्न सक्नुहुनेछ । सुनेको छु, यहाँ व्यर्थ त केही पनि छैन !)

स्थान: नयाँ बानेश्वर ।
समय : साँझ पाँच बजे ।
कारण : आजीविका, भोक ।
एउटा प्राइभेट मिडिया हाउसमा काम गर्ने चारजना सम्वाददाताहरु आफ्नो कार्यालय छेऊको क्याफेमा खाजा खाइरहेका । काठमाण्डौ शहरको खाजा भन्नाले, मांशाहार र मदिरा नै मुख्य हुन् भन्दा अतिशयोक्ति नहोला । सुनौं, उनीहरुका हाइभोल्टेज बातहरु:
‘जब हामीले गर्ने काममा संक्रामक तवरले भुस्याहा कुकुरहरुले हात हालिसके भने, हामी बाघहरुले के गर्ने ?’ राजेश थापाले रक्सी लाग्दै गएपछि अलिक आवेशमा आएर भन्यो ।

‘बाघको अगाडि भुस्याहा कुकुरको केही लाग्दैन साथी, किन चिन्ता लिन्छौ ?’ एउटाले प्याला चुम्दै भन्यो ।
राजेशले चित्त नबुझेको हिसाबमा भन्यो, ‘तर साथी, आजकल बाघहरु मासिँदै गइरहेका छन् र भुस्याहा कुकुरहरुको सङ्ख्या दिनानुदिन अचाक्ली बढिरहेको छ …।’

‘अरे, छाड् रे भाइ, समग्र कुरा के हो भने, अब लेखेर मात्रै खाने जमाना गए । अब भजाएर पनि खाने जमाना आए । मैले जानेको यत्ति हो ।’ अघिदेखि सितन चबाएर अरुको कुरा सुनिरहेको अर्को साथीले मुख खोल्यो ।
‘तर म त लेखेरै खाने मान्छे हुँ । तिमीहरु सबैलाई थाहा छ, म भजाएर खान सक्दिनँ ।’ राजेशले सपाट भन्यो ।
‘त्यसो भए, गाउँ जा र हलो जोत्न थाल् ।’ तेस्रो साथीले भन्यो ।
राजेश बाहेक सबै गलल हाँसे ।

राजेशले बर्बराएको भावमा शब्द ओकल्यो, ‘तर मैले त अंशमा पाएको गाउँको आफ्नो जग्गा बेचेर यहाँ खाल्डोमा भर्खरै एउटा छाप्रो भए पनि हालेरै छाडेको छु । अब कता गाउँमा हलो जोत्न जाऊँ ?’
साथीहरु पुनः उसै गरी हाँसे । जँड्याहाहरुलाई हाँस्न केही बहाना चाहिँदो होला र ?
राजेश राति अबेला मात्रै घर पुग्यो । ऊ मातेर भिल्लु भएको थियो ।

त्यसो त पत्रकारिता पेशा अपनाएको राजेश राति अबेर मात्रै घर पुग्नु सामान्य थियो । तर चाहेको भए आज ऊ तीन घण्टा चाँडै घर पुग्न पनि सक्थ्यो, किनभनें दसैंको बेला थियो र कार्यालयमा खासै कामको चाप पनि थिएन । तर आज उसले काम सकेर सधैँ जसो एकलट खाजा खाएर मात्रै घर जाने साथीहरुको ग्यांग जोइन गर्ने निधो गरेको थियो । त्यसो त यस्तो ऊ यदाकदा मात्रै गर्ने गर्थ्यो ।

उसले मूलढोकामा ढकढक गरेपछि श्रीमती शशीले ढोका खोलिन् । श्रीमानको मुखबाट ह्वाँस्स…।
‘कति बोतल मारियो, आज ?’ शशीले ठाडै सोधिन् ।
‘केको बोतल मार्नु नि ? जम्मा दुई पेग !’ राजेशले सोह्रै आना झूठ बोल्यो । उसले डेढ क्वार्टर मारेको थियो ।
‘होइन होला ? तिम्रा खुट्टा त ठिक ठाउँमा छैनन् नि ?’
‘खुट्टाले खाएको हो र रक्सी ? मुखले पो खाएको त ! मुख ठिक भए भइगो नि । मैले तिमीलाई मुख छाड्या छु र ?’
‘मैले अस्ति नै भनेकी होइन, रक्सी खाएर घर नआउनु भनेर ?’
‘अनि कहाँ जानु त ?’
‘जहाँ सुकै जाऊ । रक्सी खाएर घर किन आउनु पर्यो ?’
‘नेपालमा आजकल रक्सी भनेको कल्चर भइसक्यो । छ्यापछ्याप्ती पाइन्छ, बजाराँ । अनि किन नखाने त ?’ राजेशले मुख अलिक बाङ्गो पार्दै भन्यो र जुत्ता लगाइलगाइ बेडमा गएर पसारियो ।

श्रीमतीको गनगन सकिएकै थिएन, ऊ फुस्सै निदायो ।
केही वर्षअघि एउटा व्यापारीको प्रकाशन गृहमा सम्वाददाताको हैसियतमा काम गर्न थालेपछि उसले शशीलाई बिहे गरेको थियो । शशीको पुतलीसडकमा एउटा बुटिक थियो ।
राजेशले बेंगलोरको एउटा प्रतिष्ठित विश्वविद्यालयबाट आम सञ्चारमा स्नातक गरेको थियो । तर भित्रभित्रै ऊ आफ्नो काममा सन्तुष्ट थिएन । टिक्नका लागि वा अगाडि बढ्नका लागि यस पेशामा कलम घिस्ने भन्दा पनि अनेक तिकडम रच्नु पर्ने बाध्यताहरु थिए, जो उसलाई मन परिरहेको थिएन ।

व्यक्तिका कतिपय नैसर्गिक स्वाभाव हुने गर्दछन् जसलाई बदल्न प्रायः हम्मेहम्मे पर्दछ । यस्तै केही स्वाभाव राजेशमा पनि व्याप्त थिए । जस्तो, ऊ चाकडी र चाप्लुसी गर्न जान्दैन थियो । ऊ ठगेर वा भजाएर खान पनि जान्दैन थियो । ऊ कुनै लप्पनछप्पन पनि जान्दैन थियो । ऊ इमान र स्वाभिमानको भाषा जान्दथ्यो । ऊ काम गरेर नै खानुपर्छ भन्ने मान्यता राख्थ्यो । तर नेपाली समाज त्यतिबेलासम्म इमानजमान भन्दा पनि ठगठाग र चोरीचकारीतर्फ उन्मुख भइसकेको थियो । मान्छेहरुले पैसाका लागि आफ्नो नैतिकता जलाइसकेका थिए ।
फलस्वरुप पुरै मुलुक भ्रष्टाचार र अराजकताको आगोमा हुर्हुरी दन्किरहेको प्रतीत हुन्थ्यो । यहाँ लेखेर केही भइरहेको थिएन ।

पत्रकारिता थालेको पाँच वर्ष बित्दा नबित्दै राजेश नराम्रोसँग फ्रस्टेट भइसकेको थियो । जताततै मान्छेका इमानजमानहरु गायव हुन थालेका थिए । पैसाका लागि मान्छेहरु एकअर्काको वा मुलुकको कलेजो समेत लुछालुछ गर्न पछि पर्दैनथिए ।
राजेशको डिप्रेशन र शशीको मेनिया एकसाथ शुरु भएको थियो । कार्यालयमा राजेशको कलममा खिया लाग्न थालेको थियो भने घरमा हृदय छियाछिया भइसकेको थियो । श्रीमतीसँग रातदिनको कलहले ऊ दुब्लाउँदै पनि गएको थियो । आजकल त ऊ दाँत माझ्ने, नुहाउने, दाह्री काट्ने जस्ता अति जरुरी क्रियाकलापहरुबाट पनि उदासीन रहन थालेको थियो ।

हरेक पटक कुनै अखबार पढ्दा वा पढिसक्दा राजेश मुर्मुरिन्थ्यो । विकृत्ति, विसङ्गति र अराजकताका खबरहरु टुटेफुटे भाषामा प्रकाशित भएका हुन्थे । अखबार पढ्दा आजकल मजा होइन किरकिरा मात्रै हुन थालेको थियो । तर पनि एउटा सञ्चारकर्मीका हैसियतले अखबार पढेर अपडेट रहनु उसको दिनचर्या नै थियो ।

यस्तैमा, साप्ताहिक विदाको एक दिन राजेश बिहानैदेखि रक्सी खाएर बसेको
थियो । घरमा सासू आएकी थिइन् । उता राजेशको हातमा रक्सीको गिलास देख्नासाथ शशी आगो भइन् । उनले अबिलम्ब राजेशको हातबाट त्यो गिलास खोसिन् । गिलासमा अझै रक्सी बाँकी थियो । शशीले त्यसरी खोस्दा त्यो हुत्तियो र भुँइमा छचल्कियो । गिलासचाहिँ अलिक पर चकनाचुर भएर फुट्यो ।
राजेशले बजाएर एक झापड श्रीमतीको गालामा कस्यो । शशीले पनि उसलाई छातीमा धक्का दिएर भित्तामा बजारिदिइन् । एकछिन् घम्साघम्सी भयो । परबाट सासूआमै वृक्ष झैं ठिङ्ग उभिएर हेरिरहेकी थिइन् ।

अलिकति रक्सी पोखिँदा र पच्चिस रुपियाँको गिलास फुट्दा राजेशले श्रीमतीको कानको जाली फुट्ने गरी झापड नहानेको भए हुने । तर यहाँ सामानको दामभन्दा पनि अहंकारले काम गरिरहेको थियो । मान्छेको अहंकारमाथिको चोट र त्यसको परिणाम निकै डरलाग्दो हुने गर्दछ ।
घम्साघम्सी र गालीगलोज बिस्तारै मत्थर भयो । आजकल जोईपोइको संभोग गायव थियो र यस्तो झडपले अचानक घरमा शैतानले झैं डेरा जमाएको थियो ।

‘निस्किहाल्, मेरो घरबाट ।’ शशीले थर्काइन् ।
‘यो मेरो घर हो । तँचाहिँ निस्केर जा न ।’ राजेशको स्वामी जवाफ ।
‘एक हप्तामा यो घर मेरो नाममा गरेर देखाइदिन्छु ।’ शशीको स्त्री अहंकार ।
‘खुल्क्यो ।’ राजेशको ओठ लेब्र्याई ।
यत्तिकैमा सासू कड्किइन्, ‘बन्द गर, तिमीहरुको यो महाभारत ! एकदिनको मात्रै होइन, रातदिनको । के हो यो ?’

भोलिपल्ट,
शशीले सिडिओ कार्यालयमा गएर उजुरी दिएपछि फटाफट सुनुवाइ भयो । घरेलु हिंसाको आरोपमा राजेशलाई नियन्त्रणमा लिइयो ।
हेर्दाहेर्दै राजेशले अंशमा पाएको गाउँको पुख्र्यौली सम्पत्ति बेचेर किनेको राजधानीको एउटा कुनाको घर र केही जग्गा शशीको नाममा नामसारी भयो ।
तिन महिना कैद सजायँ काटेर राजेश सिधै बेंगलोर गयो । त्यहाँ उसले स्नातक गर्दाताका पुरै चार वर्ष बिताएको थियो ।

रेलबाट ओर्लिएर आकाशे पुल चढ्नै आँट्दा एउटा पाकेटमारले राजेशको पर्स मार्यो । थाहा पाएपछि राजेशले त्यसलाई लखेट्यो । त्यो पाकेटमारले रेलको लिक नाघेर भाग्न खोज्यो ।
तर विपरीत दिशाबाट तिब्र गतिमा आइरहेको एउटा एउटा रेल त्यस पाकेटमारलाई छिन्नभिन्न तुल्याएर त्यहाँबाट गुज्रियो । कस्तो खराब टाइमिंग ! भाग्ने चक्करमा पाकेटमारले तिब्र गतिमा ऊतर्फ आइरहेको रेल देखेन र त्यो भयानक दुर्घटना हुन पुग्यो । राजेशलाई एक किसिमले पछूतो पनि भयो । उसले नखेदेको भए, सायद त्यो पाकेटमार छिन्नभिन्न हुँदैन थियो कि ?
मान्छेहरु झर्यापझुरुप जम्मा भए । अधिकारीहरुले चेकजाँच गरे । पाकेटमारको शरीर टुक्राटुक्रा भएको थियो । टाउको कच्याककुचुक भएर शरीरबाट अलग भएको थियो । कम्मर मुनिको भाग काटिएर उछिटिएको थियो । अधिकारीहरुले उसको पाइन्टको खल्तिमा एउटा पर्स फेला पारे । त्यहाँ एउटा परिचय पत्र पनि भेटियो । विवरण यस्तो थियो :

प्रेस पास, सूचना विभाग ।
नाम : राजेश थापा
ठेगाना : बसुन्धरा, काठमाण्डौ, नेपाल ।
अलिक परैबाट यो सब नियालेर हेरिरहेको राजेशका आँखाहरु चम्किला भइरहेका थिए । साथै, उसको मुहारमा एउटा कुटिल मुस्कान पनि नाचिरहेको थियो ।
अधिकारीहरुले अनुसन्धान अघि बढाए । नयाँ दिल्लीको बाह्रखम्बा रोडको नेपाली दुतावासमा सम्पर्क गरियो ।
तिन दिनपछि,
नेपालका अखबारमा समाचार आयो- रेलले किचेर पत्रकार राजेश थापाको भारतको बेंगलोरमा मृत्यु ।
त्यसपछि राजेशले तामिलनाडुका विभिन्न स्थानमा यात्रा गरेर आफ्ना केही पुराना साथीलाई भेट्यो । उनीहरुसँग टन्न रक्सी खायो र उसले आफ्नै मृत्युको घनघोर उत्सव पनि मनायो ।

राजेशको एउटा साथी हातहतियार तस्करी गर्ने गथ्र्यो । उसले बिस्तारै त्यही साथीसँग काम गर्न थाल्यो । केही वर्ष बित्दा नबित्दै राजेशको सम्पर्क भयङ्कर अपराधीहरुसँग हुन थाल्यो । सङ्गत गुनाको फल भनेजस्तै भारत छिरेको पाँच वर्षमा नै राजेश थापा बिक्रम आदित्य नामले कुख्यात हुन पुग्यो । कैयन जघन्य अपराधका मुद्दाहरुमा ऊ वान्टेड थियो ।
पछिल्लो पटक भारतमा असुरक्षित महसुस गरेपछि ऊ नेपाल घुसेको थियो । नेपाल घुस्दाघुस्दै उसलाई शशीको यादले अत्यधिक सताएको पनि थियो ।
मातृभूमिमा भने उसलाई चिन्नेहरुले उसको मृत्युको शोक मनाइसकेका थिए । ऊ बहालवाला संवाददाता भएका कारण विभिन्न अखबारमा अलिक बढी नै समवेदनाहरु छापिएका थिए ।
………………
माघको महिना । काठमाण्डौ शहर ।
कालो ओभरकोट लगाएको एउटा रहस्यमय मान्छेले सुन्धारामा केही अखबार किन्यो । दुबै हातमा उसले कालै पञ्जा लगाएको थियो । त्यसो त उसको पाइन्ट, जुत्ता र यहाँसम्म कि टाउकाको ह्याटको रङ्ग पनि कालै थियो । यस्तो लाग्थ्यो, यो मान्छेलाई कालो रङ्गप्रति अपार लगाव थियो ।
उसले एउटा ट्याक्सी रोक्यो । ओहो, यो मान्छेले आँखामा गगल्स पनि कालै रंगको भिरेको रहेछ । उता, धुलोबाट जोगिन उसले खल्तिबाट निकालेर नाक थुनेको रुमाल पनि कालै थियो ।
ट्याक्सीमा बसेर ऊ अखबारमा घोत्लिन थाल्यो । आधा दर्जन अखबारमा उसले एउटै घटनाबारे छापिएको समाचार मात्रै पढ्यो । त्यो समाचारको सार यस्तो थियो-

कुख्यात भारतीय ग्यांग्स्टर बिक्रम आदित्य काठमाण्डौमा लुकेर बसेको खुलासा । उनीमाथि कैयन हत्या, अपहरण, पैसा असुलीका मुद्दाहरु दर्ज छन् । भारतीय खुफिया एजेन्सीले हाल नेपालमा निगरानी बढाएको छ । नेपालमा अहिले इन्टरपोल पनि सक्रिय भएको छ ।
होटेल पुगेर त्यो मान्छेले खाजा अर्डर गर्यो । अनि लिफ्ट चढेर फटाफट आफ्नो कोठामा पुग्यो । चिसै पानीले नुहायो । माघको महिनामा काठमाण्डौ शहरमा चिसो पानीले नुहाउनु हिम्मतिलो काम थियो । चिसो पानीको आक्रमणले उसको टाउको नै झर्ला जस्तो हुन पुगेको थियो । ठिहिर्याइको यो हद उसलाई कताकता मन पनि पर्यो ।

खाजा आएपछि उसले टेबुलमा अघि किनेका अखबारहरु फिँजायो । ‘भारतीय ग्यांग्स्टर बिक्रम आदित्य नेपालमा’ भन्ने समाचारमा ऊ रातो लेख्ने कलम छुरा जसरी चलाउन थाल्यो । प्रत्येक अखबारमा छापिएको एउटा खास् समाचारमा ऊ प्रुफरिडिंग गरिरहेको थियो । प्रायः सबै अखबारको प्रुफ कमजोर लाग्थ्यो । ती अखबारमा छापिएका बिक्रम आदित्य बारेका सबै समाचारमा हेर्दाहेर्दै उसले निकै केरमेट गरिभ्यायो ।

आफ्ना बारेमा अन्टसन्ट खबर छापिएको पाएर ऊ निकै नै तिल्मिलाएको थियो । अखबारवालाहरुलाई एउटा भद्दा गाली दिएर ऊ बुदबुदायो, ‘थोडा तहकिकात करने का फुर्सद भी नही है यहाँ के मिडियावालों को ? साला, यहाँ सब किचड में मछली पकड्ते हैं !’

एक हप्ताअघि मात्रै ऊ काठमाण्डौ घुसेको थियो । ऊ एक्लै थिएन । वरिपरिका अन्य केही लज र होटेलहरुमा नजानिँदो पारामा उसका केटाहरु पनि बसिरहेका थिए । उनीहरुसँग अत्याधुनिक हतियारहरु थिए । सबैले कमाण्डो तालिम पनि लिएका थिए । उनीहरु एक्लाएक्लै हिँड्थे र कोडमा बात मार्ने गर्थे ।
केही अखबारमा रातो मसीले कसाइले झैं केरमेट गरेपछि बिक्रम आदित्यले आफ्ना सबै केटाहरुलाई एउटा मेसेज पठायो । त्यो मेसेज अचानक त्यस दिन साँझ अन्जाम दिनु पर्ने एउटा छुट्टै र विशेष मिशनको बारेमा थियो ।

रातको एघार बज्दै थियो ।
केटाहरुले बिक्रमको आदेश बमोजिम काम तमाम गरिसकेका थिए । उनीहरुले भर्खरै पाँचवटा प्रमुख मिडिया हाउसका प्रकाशक र सम्पादकलाई रातारात अपहरण गरिसकेका थिए । अपहरितहरुलाई बागबजारको एउटा सामान्य होटेलमा राखिएको थियो । गोजीमा शक्तिशाली हतियार र अलिकति दिमाग हुनेबित्तिकै मान्छेले अप्ठ्यारा कामहरु पनि सजिलै तमाम गर्न सक्दोरहेछ ।
त्यस होटेलमा पहिल्यै सबै सेटिंग मिलाइएको हुँदा कुनै झैझमेला हुन पाएन । बन्दुकको नोकमा सबै काम चुपचाप र फटाफट भएको थियो । एउटा कन्फेरेन्स हलमा सबैलाई राखिएको थियो ।

‘हामीलाई किन यहाँ ल्याउनु भयो, हजुर ?’ एउटा अपहरितले लुगलुग काम्दै सोध्ने हिम्मत गर्यो ।
बिक्रम आदित्यले ओभरकोटको खल्तिबाट अखबारको मुठो झिक्यो, हिन्दी बोल्ने कि नेपाली भनेर पलभर सोच्यो । अनि भन्यो, ‘तपाईंहरु बालुवा मिसिएको हलुवा किन बेच्नु हुन्छ ?’
‘मतलब ?’ रास्ता दैनिकको सम्पादकले प्वाक्क सोधिहाल्यो ।
‘तपाईंहरुले रोज निकाल्ने अखबारमा यति धेरै प्रुफ मिस्टेक किन ?’ बिक्रमले प्रतिप्रश्न गर्यो ।
‘प्रुफ मिस्टेक रे ? प्राविधिक काम हो, अलिअलि मुद्रा राक्षस त भइहाल्छ नि ।’ प्रकाशक जस्तो लाग्ने एउटा कालोकालो मान्छेले भन्यो । तर यो भनाइ उसलाई निकै भारी हुन पुग्यो ।
बिक्रमले एउटा धारिलो चक्कु निकाल्यो र ल्वाम्मै त्यो कालेको कुममा रोप्दै भन्यो, ‘अखबार निकाल्नु मजाक हो ? यति हल्कै ? तेरो एक मिस्टेकले हुने क्षतिबारे सोचेको छस् ?’
अनि उसले झट्कामा चक्कू वापस तान्यो । त्यो काले हुरुक्कै भयो । उसको कुमबाट रगतको भल बग्न थाल्यो । ऊ थुचुक्कै बसेको थियो । अन्य अपहरितको सातोपुत्लो उड्यो ।
बिक्रमले आवाजको गियर बदल्यो, ‘अहिले भर्खरैको मेरो प्रहारमा एक मिस्टेक भएको भए के हुन्थ्यो ?’

बोल्दाबोल्दै ऊ टक्क अडियो । हलमा मूर्दाघरको सन्नाटाले आक्रमण गरे जस्तो भयो । उसले सबैतर्फ एकपटक गहन दृष्टि फिरायो । अपहरितहरुको अनुहार कैयन दिनको बासी अखबारको हुलिया जस्तै हुन पुगेको थियो ।
चिसो मौनता चिर्दै बिक्रमले अगाडि भन्यो, ‘कुमको सट्टा देब्रे छातिमै छेडिएको भए के हुन्थ्यो ? गरीब जनतासँग मजाक गर्छस्, घामडहरु हो ? धमिलो पानीमा माछा मार्छस् ? हलुवा ठिकसँग पकाउन आउँदैन भने, हलुवाइ किन बन्छस् ? कसाइ
बन् । रण्डीको दलाल बन् । अरु थुप्रै आजीविकाका साधनहरु छन् । छैनन् र ? जसरी भए पनि पैसा चाहिएको होइन तँहरुलाई ?’
चुप । सबको मुखमा बुझो लागेजस्तो भयो । कोही केही बोलेन ।

चक्कु खाएको प्रकाशकलाई ब्यान्डेजको व्यवस्था गरेर बिक्रमले सन्नाटा तोड्यो, ‘मेरो तिमीहरुसँग कुनै जिहाद छैन । म व्यक्तिगत कामले नेपाल आएको हुँ । तर आफ्नो बारेमा तिमीहरुको अखबारमा अन्टसन्ट पढ्नु पर्दा म बिच्किएँ । के तिमीहरु आफ्नो धन्दा ठिकसँग गर्न सक्दैनौ त ?’
‘हामी प्रयास गर्ने छौं ।’ गोरेटो राष्ट्रिय दैनिकको सम्पादकले झिनो स्वरमा बोल्ने हिम्मत गर्यो ।
‘प्रयासको के कुरा भयो र, आशुतोष दाजु ? यहाँ कि गर् कि मर् भन्ने स्थिती टप्किएको छ ।’ बिक्रमको वजनदार आवाज निस्कियो ।
आशुतोष दाजु ? यो नाम लिने आवाज त मैले कताकता परिचित झैं महसुस गरें ।’ सम्पादकले बिक्रमलाई अलिक नियालेर हेर्यो । अनि सवालको लवजमा सुस्तरी भन्यो, ‘राजेश थापा ?’
सबै अपहरितले मुखामुख गरे । अनि नियालेर आफ्नो अपहरणकारीलाई हेर्न थाले ।

बिक्रम बोल्यो, ‘राजेश थापा नाम गरेको एउटा रिपोर्टर विभिन्न परिस्थितीहरुका कारण एउटा क्रिमिनल बन्न बाध्य भयो वा पारियो, यो नितान्त बेग्लै कुरा हो । तर अहिलेलाई म यहाँ केही हत्या गर्न चाहन्छु । दश जनामध्ये, पाँच जनालाई टप्काउने मैले संकल्प लिएको छु । के गरौं ? गोलाप्रथा …?’
अपहरितहरुको चेहराको प्रकाश हठात् गायव भएजस्तो भयो । त्यस कक्षमा कुनै कठोर सन्नाटाको बरफ जमेजस्तो पनि लाग्यो ।
बिक्रमले सन्नाटाको बरफ पगाल्न खोज्यो, ‘कसैलाई पनि मार्ने मेरो कुनै योजना थिएन । तर मेरो टाउकोभित्र अहिले भर्खर केही प्रुफ मिस्टेक भएका छन् र मेरो रोग सल्बलाउन पुगेको छ । मान्छे मार्नु मेरो रोग हो ।’
अनि उसले आफ्ना केटाहरुलाई केही आदेश दियो र बाहिरियो ।
गोरेटो पत्रिकाको सम्पादक याचनाको भावमा करायो, ‘राजेश भाइ, हामीलाई नमार्नुहोस्, प्लिज ।’
अन्य केही अपहरितले पनि उसलाई साथ दिए भने केहीको बोली नै निस्किन सकेन ।

बिक्रम आदित्यले राजेश थापाको निर्मम हत्या गरेको अहिले पाँच पुरा भएर छ वर्ष लागे,’ बिक्रमले लगभग एकै सासमा भन्यो र कक्षबाट ओझेल भयो ।
प्रकाशक र सम्पादकको जत्था हेरेको हेर्यै भयो ।
बिक्रमको सहायकले सबै अपहरितलाई भन्यो, ‘अब आप लोग अपने अपने दुनियाँ में जा सकते हो । अभी के लीए आप सब को बरी करने का आदेश है । टप्काने के लिए हम आप लोगों से बाद में मिलेंगे । अपने खानाका बील सेटल करके जाना । गुड लक !’
अपहरितहरुले मुखामुख गरे । अपहरणबाट रिहा हुँदैगर्दा पनि उनीहरुमा घनीभूत त्रास कायमै थियो ।
अनि बिक्रमका सबै केटाहरु पनि त्यहाँबाट फटाफट बाहिरिए ।
…………….
बाहिरिएको तीन घण्टापछि बिक्रम आदित्यले बसुन्धरास्थित एउटा घरको कलबेल बजायो । एकैछिनमा ढोका खुल्यो र त्यहाँ शशी देखा परिन् ।
ढोका खोलिसकेपछि, आगन्तुकको चेहरा देखेर शशीको मुखबाट आश्चर्यको पर्रा छुट्यो, ‘अरे तपाईं ?’
‘हो, म ।’ बिक्रमले शशीका आँखाहरुमा नियालेर हेर्दै भन्यो, ‘भूत होइन, ज्यूँदो मान्छे नै हुँ, म । छामेर हेर्दा हुन्छ ।’
उसलाई देखेर शशी चिच्याउन मुख खोल्दै थिइन् । तर बिजुलीको रफ्तारमा बिक्रमले उनको मुख थुन्यो र लगभग घिसार्दै भित्र लग्यो । ड्याम्म ढोका लगायो । अनि चुकुल पनि ।
शशीले थरथर काम्दै भनिन्, ‘हामीले त तपाईंको काजकिरियासमेत गरिसक्यौँ । तर तपाईं त …?’
‘मृत्यु त्यसलाई आउँछ जो पहिल्यै मरिसकेको हुन्छ । जो ज्यूँदो छ उसलाई के को मृत्यु ? बिक्रम आदित्य हुँ म, खतरनाक ग्यांग्स्टर !’
‘मैले अर्को बिहे गरिसकेकी छु । प्लिज, तपाईं जानुहोस् ।’
‘घर मैले बनाइदिएकै थिएँ । एउटा नाठो हुलिस् होला । कुन ठूलो कुरो भयो र ?’
बिक्रमको यो कुरा सुनेर शशीको अनुहारमा घृणाका तरङ्गहरु नाच्न थाले ।

ठिक त्यसै बेला कलबेल बज्यो ।
बिक्रमले खल्तीबाट पेस्तोल निकाल्यो । शशीको सातोपुत्लो उड्यो ।
राजेश उर्फ बिक्रम आदित्यको चेहरामा तनावको सानो रेखा पनि देखा परेन । ऊसँग सोह्र राउण्डको अत्याधुनिक पेस्तोल मौजुद थियो । ऊ सतर्क भयो । अनि सुस्तरी ढोका खोल्यो ।
‘तिमी को हौ ?’ बाहिर टप्किएको एउटा अधवैँसेले बिक्रमलाई सोध्यो ।
‘यो घर मेरो हो । तँ चाहिँ को होस् ?’ बिक्रमले सवालको आक्रमण गर्यो । अनि दिमाग लगायो, आगन्तुक पक्कै पनि शशीको दोस्रो लोग्ने हुनुपर्छ । अनि बिक्रमले उसलाई भित्र आउन दियो ।
आगन्तुकले भित्र आएर शशीलाई सोध्यो, ‘यो मान्छे को हो, शशी ?’
शशीले कम्पनयुक्त स्वरमा भनिन्, ‘ऊ राजेश हो । मेरो एक्स हज्बेन्ड ।’
‘अनि के खोज्छ त यो, यहाँ ? तिमीहरुको डिभोर्स भइसकेको होइन र ?’ उसले रुखो स्वरमा प्रश्न गर्यो ।
बिक्रमलाई उसको प्रश्न गर्ने स्टाइल बन्दै मन परेन । अनि पेस्तोल झिक्यो । त्यहाँ आतंकको डरलाग्दो सन्नाटा छायो । बिना कुनै बिलम्ब बिक्रमले आगन्तुकको छातीमा ताकेर ट्रिगर दबाइदियो । एकछिन छटपटाएर ऊ लम्पसार भयो ।
गोली चलेको धमाका भएन । पेस्तोलमा साइलेन्सर जडित थियो । तर शशीको चिच्याहटले भने कोठा नराम्रोसँग रन्थनिन पुग्यो ।
‘चिच्याउने होइन । आऊ मसँग ।’ बिक्रमले लगभग घिसार्दै शशीलाई त्यहाँबाट आफू बसिरहेको होटल लग्यो ।

‘धेरै प्रयास गरेपनि मैले तिमीलाई भुल्न सकिनँ,’ त्रासको चपेटाबाट अझै बाहिर आउन नसकिरहेकी शशीलाई अँगालोमा लिँदै बिक्रमले भन्यो, ‘म तिमीलाई नै लिन आएको । अब हामी भोलि नै बेंगलोर जाने है ?’
शशी सुँक्क-सुँक्क गरिरहेकी थिइन् । उनी एकोहोरिएकी समेत थिइन् । उनी केही पनि बोलिनन् । विष्फारित नेत्रले उनी केवल भुइँतिर टोल्हाइरहिन् ।
दुई पेग रम चढाएर बिक्रमले शशीका सबै लुगा फुकालिदियो । शशी नाइँनास्ति गरेर थाकेकी थिइन् । उनी लाश जस्तो लडिरहिन् । बिक्रम आदित्य उर्फ राजेश थापाले उनलाई रातभर भोग्यो ।

बिहानीपख उसका आँखा लागे । ऊ गहिरो निद्रामा परेपछि शशी बिस्तारै उठिन् । अबेर नगरी उनले बिक्रमको ज्याकेटको भित्री गोजीबाट पेस्तोल निकालिन् । उनी निकै डराएकी थिइन् । चिट्चिट् पसिना आइरहेको थियो ।
पेस्तोल बोकेका उनका दुबै हातहरु लुगलुग कामिरहेका थिए । उनले पेस्तोलमा आफ्ना औँलाहरुको कसाव बढाइन् र मनमा एउटा दृढ् निश्चय लिइन् ।
ठिक त्यसैबेला बिक्रमका आँखा खुले । शशी उसैलाई पेस्तोल ताकेर केही पर खडा थिइन् । ऊ अत्तालियो । पहिलोपटक खल्खली भएको थियो, बिक्रम
तर उसले केही भन्न नपाउँदै, शशीले पेस्तोलको नोक आफ्नो टाउकोतर्फ घुमाइन् र ट्रिगर दबाइन् । अनि उनी भ्वाक्क भुइँमा ढलिन् ।
‘नो नो, शशी नो,’ बिक्रम चिच्यायो र लगभग दगुर्दै गएर शशीको नाडी छाम्यो ।
शशीको प्राणपखेरु उडिसकेको थियो ।

बिक्रम किंकर्तव्यविमूढ खडा थियो ।
अरु दुई पेग रम खाएपछि उसको खोपडी खुल्यो । केटाहरुलाई खबर गरेर ऊ त्यसै दिन भारत फर्कियो ।
बोर्डर क्रस गर्दैगर्दा केटाहरुले उसलाई सोधे, ‘उन मिडियावालों को तो हम ने नहीं टप्काया, क्या हो गया भाइ, आप को ?’
‘सारा दुनियाँको टप्काने का ठेका हम ने ले रक्खा है, क्या ?’ बिक्रमले हल्कै भन्यो । सबै गलल हाँसे । बिक्रम भने हाँसेन । ऊ गम्भीर देखिन्थ्यो ।
नेपाल छाड्दै गर्दा बिक्रमले सेता लुगा लगाएको थियो । शशीलाई अनपेक्षित गुमाउनु पर्दा ऊ आहत त भएको थियो । तर आफ्नो दर्दलाई ऊ हत्तपत्ति ओठहरुमा प्रकट हुन दिइरहेको पनि थिएन ।
रेल चढेपछि उसले आफ्नो वरिपरि बसिरहेका केटाहरुलाई मन्द आवाजमा भन्यो, ‘एक बात तो पक्का हो गया कि जो अपना नहीं है, वह देर सबेर छूट ही जाता है । पर जो अपना है, वह कितना ही दूर रह के भी अपना ही होगा । तकलिफ तो तब बढता है, मेरे भाइयों, जब यह तय करना मुश्किल हो जाए कि यहाँ कौन अपना है और कौन पराया !’

बिक्रमले अगाडि भन्यो, ‘वैसे तो जिन्दगी आमतौर से प्रुफ मिस्टेक नहीं है । लेकिन जिन्दगी में यह हो जाता है, न चाहते हुवे भी ।’
केटाहरु केही बोलेनन् । उनीहरुले केवल सकारात्मक मुन्टो हल्लाए ।
अनि बिक्रम फुस्सै निदायो । केटाहरु पनि उँघ्न थाले । तिखो साइरन बजाउँदै रेलले रफ्तार चुमिसकेको थियो ।

– इलसस्ट्रेसन : लेखक स्वयम्

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *