गजल

छैनौ तिमी पास,छ याद बाँकी
गुञ्जिन्छ चारैतिर नाद बाँकी

गाँजे सधैँ व्यग्र र वेदनाले
बाँकी छ सम्पीड विषाद बाँकी

मीठो पुग्यो केवल सम्झनामा
भोग्दै छु सर्वत्र विस्वाद बाँकी

निल्दैछ रोजै अति शून्यताले
रित्तो भएँ छैन मुराद बाँकी

आफ्नो भयो देह विदीर्ण साह्रै
सम्पूर्णमा देख्छु प्रमाद बाँकी

खोस्यो सुखाशा सब दुर्दशाले
सम्वृद्धि भागे बरवाद बाँकी

के रिझ्दथ्यो दैव उपासनाले
बेकार भो फूल प्रसाद बाँकी

आघात भो ‘कोमल’ भावनामा
खोजेँ कतै छैन प्रणाद बाँकी

SSI SSI ISI SS
इन्द्रवज्रा छन्द
५ अक्षरमा विश्राम

ट्वीटर@KomalBhatta 

Add a Comment

Your email address will not be published. Required fields are marked *