बालागुरू षडानन्द १८४ औं जयन्तीमा पुरस्कार र ग्रन्थ लोकार्पण
|यही नोभेम्बर १२ का दिन वरिष्ठ अध्यात्म चिन्तक प्रा शिव गोपाल रिसालको प्रमुख आतिथ्य एवं वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङको विशेष आतिथ्यमा आबाल ब्रह्मचारी षडानन्दको १८४ औ जन्म जयन्ती कार्यक्रम सम्पन्न भयो।
सो समारोहमा प्रमुख अतिथि एवं विशेष अतिथिबाट षडानन्दका नाममा स्थापना गरिएका २०७५ सालका राष्ट्रिय, क्षेत्रीय र जिल्ला स्तरीय पुरस्कारहरु प्रदान र बालागुरू सम्बन्धी ग्रन्थहरू पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानबाट स्थापित रु.५० हजारको षडानन्द रष्ट्रिय पुरस्कार सुदूर पश्चिम नेपालको भाषा, इतिहास, संस्कृति र गीता दर्शनका अध्येता आरडी प्रभास चटौतलाई प्रदान गरियो। त्यसै गरी पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरी निरञ्जन चापागाईं र गायत्री कुमार चापागाईद्वारा आफ्ना स्वर्गीय पितामाताुडण्डपाणि युवा कुमारीुका स्मृतिमा स्थापित रु.२५ हजार षडानन्द पुरस्कार नेपाली साहित्यका विविध विधामा कलम चलाई विशेष गरेर समालोचना विधा र त्यसमा पनि आधुनिक नेपाली कथाको समालोचना विधाका विज्ञ प्राध्यापक प्राडा दयाराम श्रेष्ठ सम्भवलाई प्रदान गरियो।
यसै अबसरमा भोजपुर जिल्लाका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले साबिक चौकीडाँडा, भोजपुरका स्वर्गीय मदन बहादुर अधिकारीको स्मृतिमा उहाँकी श्रीमती उमादेवी अधिकारी र परिवारद्वारा स्थापित रु.१५ हजारको षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार श्री वीरेन्द्र माध्यमिक विद्यालय, कुलुङ, भोजपुरलाई प्रदान गरियो। यो विद्यालय २०७४ सालको एस ई ई परीक्षाको नतिजाका आधारमा पुरष्कृत भएको हो।
बालागुरू षडानन्द सम्बन्धी ग्रन्थ लोकार्पण
सो जन्म जयन्ती समारोहमा हेमराज अधिकारीद्वारा लिखित आबाल ब्रह्मचारी षडानन्द अधिकारीको जीवन कथा दधिराज सुवेदीद्वारा सम्पादित आबाल ब्रह्मचारी षडानन्द अधिकारी स्मृति ग्रन्थ र विभिन्न कालखण्डमा विभिन्न लेखकहरुका पुस्तक पुस्तिकाका अंश र विभिन्न पत्र पत्रिकामा प्रकाशित फुटकर लेखहरुको सङ्कलन गद्य रचनामा षडानन्द पनि सार्बजनिक गरिएको थियो । यी ग्रन्थहरूको परिचय परिचय प्राडा बद्री विशाल भट्टराईले प्रस्तुत गर्नु भएको थियो ।
बालागुरू षडानन्दको योगदानबारे मन्तव्य
कार्यक्रममा पुरस्कृत विद्यालयका प्रधानाध्यापक परशुराम बिष्टले मन्तव्यका क्रममा दोहोर्याएर पाएको यस पुरस्कारले हामीलाई शैक्षिक गुणस्तर वृद्धि गर्दै भोजपुरका अन्य विद्यालयहरुसँग सहयोग, अन्तर्क्रिया र प्रतिस्पर्धाका माध्यमबाट जिल्लाभरका सम्पूर्ण विद्यालयहरुको शैक्षिक उन्नयन गर्दै अगाडि बढ्ने दायित्व थपिएको महसुस गरेको चर्चा गर्नुभयो ।
मन्तव्यका दिने क्रममा प्रतिष्ठानका सल्लाहकार एवम् पूर्व मन्त्री कृपासुर शेर्पाले भन्नुभयो- मानिसहरु सय वर्ष बाँच्छन् तर मांसपिण्डका रूपमा मात्र। उनीहरुको समाज र राष्ट्रप्रति केही योदान हुँदैन तर कोही मानिस चाँडै मर्छन् तर उनीहरुले जीवनमा गरेको सत्कर्मका कारण समाज र राष्ट्रले सम्झिइ रहन्छ, जसरी हामी षडानन्द गुरुलाई सम्झि रहेका छौँ।
सो अबसरमा पुरस्कृत व्यक्तित्वहरू प्राडा दयाराम श्रेष्ठ सम्भव, आरडी प्रभास चटौत प्रमुख अतिथि वरिष्ठ अध्यात्म चिन्तक प्रा शिव गोपाल रिसाल,विशेष अतिथि वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले पनि बालामुरू षडानन्दको योगदानबारे चर्चा गर्नु भएको थियो ।
दाताको सम्मान र पुरस्कृत हुनेगरूको परिचय
कार्यक्रममा प्रतिष्ठानका दाता इन्द्र मैयाँ श्रेष्ठलाई सम्मान र १८३ षडानन्द जयन्तीपछि सदस्य बनेका ६ जनालाई आजीवन सदस्यताको प्रमाण पत्र पनि प्रदान गरिएको थियो।पुरस्कृत व्यक्तित्वहरू चटौतको परिचय प्राज्ञ यज्ञराज उपाध्याय,सम्भवको परिचय प्रा महेश्वर न्यौपाने र विधालयको परिचय निर्मला पोखरेलले दिनु भएको थियो।
प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसमको अध्यक्षतामा सम्पन्न सो सभा षडानन्दको तस्विरमा माल्यार्पण र दीप प्रज्वलन गरी प्रारम्भ भएको थियो। प्रतिष्ठानका सचिव प्रा लालानाथ सुवेदीले स्वागत र सहसचिव निर्मला पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको तथा कोषाध्यक्ष आत्मेश्वर चापागाईंले अतिथिहरुलाई मालाहरु लगाएर सम्मान गरिएको सो सभामा कार्य समिति सदस्य श्री पुष्प बस्नेतले उद्घोषण गर्नु भएको थियो। कार्यक्रमका लागि प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँको सभाकक्षमा विशेष समारोहको आयोजना गरिएको थियो ।