देश गलत नियत भएका मान्छेहरुको पोल्टामा परिसकेको छ : कल्याणप्रसाद कोइराला

नजिकको तिर्थ कति टाढा !
आगो ताप्नु मूढाको, कुरा सुन्नु बुढाको । यो भनाइमा दम छ जस्तो लाग्छ । तर आजकल कसले ताप्ने मूढाको आगो ? अत्याधुनिक हिटर जो घरमा भित्रिएको छ । अनि कसले सुन्ने बुढाबुढीका ‘आउटडेटेड’ कुराहरु ? जताततै वाइफाइको तरंग जो छेडिएको छ र यसले हरपल तरोताजा र जवान कुराहरुको रसायन उमाल्न उत्प्रेरकको काम गर्ने गर्छ ।

उता बुढापाकाहरु भने घरमा एक्लै झोक्राइरहेका वा अवशादग्रस्त पनि भेटिन्छन् । एकातिर बुढापाकाहरु तन्नेरीसँग आफ्ना अनुभवी गफ गर्न ताम्सिन्छन् । अर्कातिर तन्नेरीहरु भने नजिकका धरोहरहरु एकातिर पन्छाएर वाइफाइको फिँजभित्र ‘बबल्स’ उठाउन ब्यस्त । यत्रतत्र ‘जेनेरेसन ग्याप’ छ ।

संवादका प्रणालीहरु छिन्नभिन्न भएका छन् । मान्छे भिडमा एक्लो छ । र, एक्लैमा पनि कोलाहलग्रस्त छ उसको मन ।
केही बुढापाकाले पनि वाइफाइको तरंगमा छिरेर इन्टरनेटको फिँज त काढ्ने प्रयास गरे । तर सामाजिक सञ्जालहरुमा उट्पट्याङ्, उरन्ठेउला र सतही कुराहरु नै बढी । मानवहितका संवेदनशिल कुरा कम, बनावटी कुरा बढी । ज्ञानगुनका चर्चा कम, तडकभडक र देखासिखी बढी । यसप्रकार ज्येष्ठ नागरीकहरु आजकल आफ्नो चेतनाप्रणालीमा एउटा छन्नी स्थापित गर्छन् । अनि केवल बैकुण्ठगामी सूचना वा श्रव्यदृश्य सामग्रीको सुरम्य उर्जामा उनीहरु गोता खान्छन् ।

भनिन्छ पनि- नजिकको तिर्थ कमैलाई थाहा हुन्छ । एक दिउँसो यो संवाददाता ८६ वर्षिय कल्याणप्रसाद कोइरालालाई भेट्न झापाको गौरीगञ्जस्थित निवास पुग्दा उहाँ साँच्चै नै एक्लै बसिरहनु भएको थियो । छेउमा थिए, केही पुस्तक । भर्खरै ‘कम्प्युटर प्रिन्ट’ गरिएको करिब साढे चार हजार शब्दमा आफैँले लेखेको जीवनी पनि त्यहाँ थियो जुन यस संवाददाताले उहाँलाई भेट्न जानुपूर्व सर्सर्ती पढिसकेको थियो ।

तत्कालिन कोरोबारी र गौरीगञ्ज गाउँ पञ्चायतमा एक-एक पटक प्रधानपञ्च भएर दश वर्ष कार्य गर्नुभएका कोइरालाको जीवनी एक सिध्दिप्राप्त साधकको उकाली ओरालीका रोचक तथा प्रेरणादायी अनुभवहरू झैँ प्रतित भइरहेको थियो । उहाँले आफ्नो जीवनीलाई विश्व परिवेश र स्वदेशको इतिहाससँग पनि समानान्तर गरेर लेख्नुभएको छ । बरिष्ठ लेखक दौलतबिक्रम बिष्टका छिमेकी यी पूर्व प्रधानपञ्चसँगको भलाकुसारीले केही अर्थमा निकै चाख उमार्ने अनुमानले यस संवाददाताको चेतना आरपार गरिसकेको थियो ।

भोजपुरमा जन्मिएर घरैमा शिक्षारंभ, दिङ्ला संस्कृत विद्यालयमा अध्ययन, त्यसपछि बनारसमा उच्च अध्ययन र राजनीति, जिविकाको खोजीमा बंगाल अनि केहीपछि झापाको कोरोबारीमा बसोबास । उहाँकै परिभाषामा ‘जीवन नदी जस्तै बगिरह्यो । बगिरहेको छ । र, एकदिन यो सागरमा गइ मिल्नेछ ।’

यी ‘अक्टोजेनेरियन’ बाले बडा आकर्षक तरिकाले सुनाउनुभयो, ‘नदीले आफूमा जे समाहित भए पनि त्यसैलाई लिएर बगिरहन्छ । ऊ कहिले सङ्लो, कहिले धमिलो । तर पनि आफ्नो लक्ष्यमा अनवरत बगिरहन्छ । बगि नै रहन्छ ।’
विक्रम संवत १९९० को महाभूकम्प भन्दा सात महिनाअघि यस धर्तीमा अवतरित कोइराला आफ्नो जीवनीमा लेख्नुहुन्छ, ‘त्यही भूकम्पमा परी कैयौं नेपालीले ज्यान समेत गुमाउन पुगेका थिए । मलाई सुताएको ठाउँमा पनि माटोले पुरेकोरहेछ तर संयोगवस मृत्युचाहिं भएनछ र आजसम्म यो संसार हेर्ने अवसर मिलेको छ ।’

जीवनी लेख्ने प्रयास र परिणाम
फेसबुक चलाउन थालेपछि देशविदेशका साथीहरुले जीवनका अनुभव लेख्न प्रेरित गरे पनि उमेरको दोषले खासै साथ दिइरहेको छैन । अलिकति लेख्नासाथ औँला बाउँडिएर गाह्रो हुन थाल्छ । आराम गरीगरी भए पनि उहाँले केही प्रयास गर्नुभएको रहेछ ।

उहाँले लेख्नुभएको छ, ‘हिजोआज मलाई धेरै परिचित इष्टमित्रहरुले लेख्ने काममा हात चलाउन आग्रह गर्नुहुन्छ । कोही विदेशमा बसेर फोनमा कुरागर्दा लेख्न भन्नु हुन्छ । गाउँघरमा भेट हुँदा यहींका साथी भाइबाट पनि त्यही कुरा दोहोरिन्छ । मलाई चाहिं लेखन कार्य र प्रचार प्रसार गरी आफूलाई परिचित गराउने काम साह्रै असजिलो र अप्ठ्यारो विषय बन्न जान्छ । पहिलो कुरा त हातले सक्दैन । अर्को कुरा आँखाले पनि साथ दिन छाडिसक्यो । गएको २०७२ साल चैत्र महिनादेखि मुटुको रोगले चापेर एनजीओप्लाष्ट गरेपछि नियमित औषधी सेवन गर्दा झन त्यसले शरीरलाई जीर्ण पारिसकेको अवस्था छ । दाहिने आँखा पनि चेन्नइको कार्डले छोपेको छ । त्यस आँखाले राम्ररी काम गर्न सकिरहेको छैन । यस्तो अवस्थामा मैले लेखनकार्य अगाडी बढाउन एकदमै कठिन छ । तैपनि शुभेच्छुक महानुभावको वचन शिरोधार्य गरी केही घटनाहरु टिप्पणीको रुपमा कोर्ने प्रयास गरेको छु ।’

पाँच वर्षको उमेरमा ‘ठूलो वर्णमाला’ पुस्तकबाट शिक्षा आरम्भ गर्नुभएका कोइरालाको पुरोहित्याइँ र पूजापाठ गर्ने घरमा जन्म भएका कारण धार्मिक कुराहरुप्रति झुकाव रहनु स्वभाविकै थियो । आफूभन्दा ठूलाले भनेको मान्नुपर्छ भन्ने संस्कारमा हुर्किदै जाँदा आठ वर्षको उमेरमा ब्रतवन्ध भयो । यतिबेलासम्म पूजाविधिहरु पञ्चोपचार, दशोपचार र षोडषोपचारको फरक विधिहरुको पनि ज्ञान प्राप्त भैसकेको थियो ।

(लिलाराज)

उहाँले घरैमा चण्डी, रुद्री जस्ता पुस्तकको अध्ययन गर्नु भएको थियो । भोजपुरकै टक्सारमा स्थापित भाषा पाठशालामा वेदको अध्ययन गर्नु भएको थियो । गुरु धुव्रलाल खतिवडासँग संस्कृत विषयको अध्ययन गर्ने मौका मिल्यो र संस्कृतको पनि अध्ययन शुरु भयो । पछि वहाँ सेवा निवृत्त भएपछि पनि भोजपुरकै पोखरेमा रहेबसेका कारण सिद्धकाली मन्दिरको पाटीमा कोइराला परिवारका छोराहरु र अन्य परिवारका छात्रहरुले संस्कृत अध्ययन गर्ने मौका पाए । उहाँ पनि चेलो बनी त्यहीँ अध्ययनरत रहनुभयो । उहाँ आफ्नो जीवनीमा कलम चलाउनुहुन्छ, ‘विद्यार्थी भेला भएपछि प्रत्येक दिन पढाइ शुरु गर्नु भन्दा अगाडि र पढाइको अन्त्य हुनुभन्दा पन्ध्र मिनेट पहिले गरी दुईपटक प्रार्थना गरिन्थ्यो । पहिले गुरुले जयतु संस्कृतंका श्लोकहरु आवृत्ति गरेपछि विद्यार्थीहरुबाट दोहोर्याइन्थ्यो । जयतु संस्कृतं देश भूतये, जयतु संस्कृतं राष्ट्र भूतये जस्ता बाक्यबाट प्रार्थना शुरु गरी अन्त्य गरिन्थ्यो । यसरी प्रत्येक दिनको अधययन आरम्भ र अन्त्य गरी आ–आफ्नो घरतर्फ आउने जाने क्रम चलिरहन्थ्यो ।’

बिसं २००५ सालमा दिङ्लाको षडानन्द संस्कृत विद्यालयमा प्रवेश गरेर थप अध्ययन शुरु भयो । पछि परीक्षा दिन भारतको वाराणसी प्रस्थान गर्नुभयो । त्यहाँ अध्ययन गर्दागर्दै कांग्रेस पार्टीको चर्चा परिचर्चा सुन्ने मौका मिल्यो । देश सेवाका लागि पढाइ छाडेर भएपनि अघि बढ्नुपर्ने आह्वान तत्कालीन नेपाली र भारतीय नेताबाट व्यक्त हुन थाले । नेताहरुको पछि लाग्दै उहाँ पनि कांग्रेस पार्टीको प्रचार प्रसारमा संलग्न हुनुभयो । घरमा रहँदाबस्दा पनि अतिरिक्त क्रियाकलापका रुपमा पार्टी वा राजनीतिकै चर्चा परिचर्चा हुने गर्दथ्यो ।

जीवनीका केही चाखलाग्दा अंश
‘२००७ सालको क्रान्तिपछि नेपाल फर्किने वातावरण सिर्जना भयो । वीरगञ्ज काण्डपछि क्रमशः आन्दोलन अगाडि बढ्दै गयो । मंसिर २४ गते भोजपुर सदरमुकाम कांग्रेसद्वारा कब्जा भएको थियो । सो कार्य सम्पन्न गर्न उहाँ पनि स्वयंसेवकको रुपमा खटिनु भएको थियो । राणाका फौजसँग भिड्न प्रत्येक घरबाट एक-एक जनाका दरले जानुपर्ने नियम लगाइएको थियो । त्यसैक्रममा पिखुवा खोलाको छेउमा निकै ठूलो भिडन्त भएको थियो । जसमा काँग्रेसले विजय प्राप्त गरेको थियो । अरुण र दुधकोशी नदीमा लाग्ने डुंगाहरु बन्द गर्ने र वारपार गर्न नपाइने उर्दी जारी भयो । वारपार गर्न बाध्यात्मक अवस्था भएमा काँगे्रसको पूर्जी लिएर मात्र आउने जाने व्यवस्था भएको थियो । त्यस वर्ष घाट नखुलेकाले गाउँमा फलेका सुन्तला ज्यादै सस्ता भएका थिए । फाल्गुन,चैत्र महिनासम्म नै बजारमा सुन्तलाको किनबेच भएको थियो ।’

केइराला बाले लेख्नु भएकोछ- यसरी २००७ सालको क्रान्तिको पूर्वी फ्रन्ट भोजपुर बनेको थियो । कांग्रेस अभियान सफल हुँदैजादा राजगद्दी छोडी भारतको दिल्ली गएका राजा त्रिभुवनसँगै कांग्रेसको निकटता बढ्दै गयो । पछि भारतकै सहयोगमा राणा र कांग्रेसको संयुक्त मन्त्रीमण्डल गठन भई राणाहरुको एकलौटी शासनको अन्त्य भएको थियो । यसै क्रममा २००७ साल फाल्गुन ७ गते राजा त्रिभुवन काठमाडौं फर्किएका थिए ।’

यसपछिका राजनीतिक घटनाक्रमहरुसँग तालमेल मिलाउँदै बडो रोचक पारामा उहाँले आफ्नो जीवनीलाई तयार पार्नुभएको छ । तर जीवनीले समग्र जीवन यात्रालाई भन्दा पनि केही प्रमुख केही अंशलाई मात्र समेटेको बझ्न गाह्रो पर्दैन । यो उहाँको जीवन यात्राको एक चौथाइ पनि छैन । यसलाई पूर्णता दिन उहाँलाई अझै प्रोत्साहन र सहयोग हुनसके सुनमा सुगन्ध हुनसक्छ ।

भोजपुरमा केही शैक्षिक क्रान्ति गरेपछि बिक्रम संवत २०१८ मा उहाँ मधेश झर्नुभयो र भारतको पश्चिम बंगालमा पाँच वर्ष कठिन संघर्ष गरेर पुनः स्वदेश फर्किनुभयो । पश्चिम बंगालमा उहाँले लकडीको कारोवार गर्नु भयो र उहाँको भाषामा त्यो अनेक कोणबाट निकै नै कठिन संघर्ष थियो ।

कोरोबारीमा जमिन किनेर बसोबास गरेसँगै उहाँ समाजसेवा र राजनीतिमा लाग्नुभयो । विभिन्न विद्यालयहरु खोल्ने कार्यमा उहाँले प्रत्यक्ष सहकार्य गर्नुभयो । कोरोबीरी गाउँ पञ्चायत वडा नम्बर ८ को सदस्य हुँदै २०२९ सालमा उहाँ प्रधानपञ्च पदमा निर्विरोध निर्वाचित हुनुभयो । पछि कोरोवारीलगायतका केही गाउँलाई गाभेर गौरीगञ्ज गाउँ पञ्चायत बन्यो र उहाँ पुनः प्रधानपञ्च निर्वाचित हुनुभयो ।

आफ्नो कार्यकालमा उहाँ धेरैजसो विद्यालय खोल्ने, गाउँमा सचेतना फैल्याउने कार्य गरेको रुपमा चिनिनुहुन्छ । यस हिशाबले हेर्दा उहाँलाई राजनीतिको स्तंभमा उभिएर शैक्षिक क्रान्ति गर्ने नायकका रुपमा चित्रण गर्न सकिन्छ ।

वर्तमानप्रतिको मूल्यांकन र दैनिकी
यता मुलुकको पछिल्लो राजनीतिक परिवर्तनसँग उहाँ किञ्चित सन्तुष्ट देखिनु हुन्न । उपनिषदहरु पढेर समयलाई सम्बोधन गरिहनुभएका उहाँ भन्नुहुन्छ, ‘पहिलेपहिले निष्ठा र देशसेवाको राजनीति हुन्थ्यो । तर अहिले पेशा र अराजकताको राजनीति हाबी भएको छ । यहाँ राजनीति कमाइखाने कुख्यात धन्दा भएको छ ।’

उहाँ सनातन हिन्दु धर्ममा चारैतर्फबाट आक्रमण भइरहेको बास्तविकता औँल्याउँदै अगाडि भन्नुहुन्छ, ‘नेताहरु विदेशीका दलाल हुनपुगे । उता एनजीओ र आइएनजीओहरुले पहिल्यैदेखि हाम्रा संस्कृति र धरोहरहरुमाथि धावा बोलिसकेका थिए । अहिले त मुलुकको स्वाधीनता र संप्रभुतामाथि नै चौतर्फि आक्रमण भइरहेको छ । मुलुकको सरकार नै क्रिश्चियनले चलाइरहेको हो कि जस्तो पनि लाग्न थालेको छ । सनातन हिन्दु धर्मलाई तारो बनाएर यहाँ वषौँदेखि संस्कृति, संस्कार र अन्य मूल्यवान धरोहरहरुमाथि चौतर्फि आक्रमण सुनियोजित रुपमा भइरहेको छ । अस्ति भर्खर मिडियामा पूर्व प्रधानमन्त्री माधव नेपालले भने, नेपालमा क्रिश्चियन धर्म नमान्नेहरुको नाश हुन्छ । त्यसकारणले अब त यहाँ मुलुकै रहला कि नरहला भन्ने स्थिती टप्किएको छ ।’

हरेक दिन रेडियो तथा टेलिभिजनमा समाचारहरु सुनेर उहाँ अपडेट रहनुहुन्छ । फेसबुक वा इन्टरनेट पनि चलाउनुहुन्छ । तर आजकल जताततै बिकृत्ति, अराजकता र वैमनस्यताका खबरहरुले केवल नैराश्यताको ग्राफ बडाइरहेको छ । जगतबाट सुकुन नामक चीज एकाएक गायव भएको छ । इमानजमानहरु गायव छन् । जताततै जिन्दगीको हुर्मत काढिएको छ । यहाँ दिउँसै अन्धकार ब्याप्त हुनपुगेको छ ।

 उहाँ हालत बयान गर्नुहुन्छ, ‘नेताहरुले जनता ठगिरहेका छन् । राज्यकोषबाट सेवासुविधाको नाममा रकम झिकेर हालिमुहाली गरिरहेका छन् । जनताका लागि उनीहरुले केही पनि गरिरहेका छैनन् । अहिले यहाँ जीविकोपार्जन गर्न समेत गाह्रो छ । समावेशीको नाराले भेदभाव बढाएको छ । यहाँ अहिले जातिय विभेद चुलिएको छ । नागरिकहरुको एकअर्काको इज्जतमा धज्जी उडेको छ । बजारमा ठगी छ । उजुरवाजुर लाग्दैन । यहाँ जताततै दलाल र बिचौलियाहरुकै हालीमुहाली छ ।’

पहिले र अहिलेको राजनीति
वीरेन्द्र राजाको शाषनकालमा दश वर्ष प्रधानपञ्च निर्वाचित कोइरालालाई सोधियो, ‘पहिलेको राजनीति र अहिलेको राजनीतिमा भएको तात्विक भिन्नता के हो ?’

‘मानिसलाई केही न केहीको डर हुनुपर्ने रहेछ । राज्यको लगाम छाडा छाड्ने होइन, यो कसैको कडा नियन्त्रणमा हुनुपर्ने रहेछ । राज्य परिवार जस्तै हो । यसलाई छाडा छोड्दा अनर्थ नै हुन्छ वा भएको छ । अहिले नागरिकहरु कुकुर मरेजस्तो मरिरहेका छन् । अहिले यहाँ जीवन अवमूल्यन हुनपुगेको छ । जिन्दगीहरु केही लाख रुपैयाँको क्षतिपूर्तिसँग वा कौडिको भाउमा साटिन थालेका छन् । यहाँ नागरिकहरुको सुरक्षा छैन । एकअर्काको इज्जत छँदै छैन । यहाँ अपराधीहरुले कानून आफ्नो हातमा लिइसकेका छन् । मुलुक गलत नीयत भएका मान्छेहरुको पोल्टामा परिसकेको छ ।’

उहाँ वर्तमान नेताहरुको नाडी छाम्दै भन्नुहन्छ, ‘हाम्रा नेताहरुलाई पनि क्रिश्चियन धर्मप्रति नै बढी लगाव भएको देखियो । खोज्ने हो भने, यसका पछाडि निकै लामो र दुरुह कारण छुपेको होला ।’

उहाँ विषयको गहिराइमा पुग्ने प्रयास गर्नुहुन्छ, ‘मुलुक एकै झट्कामा धर्म निरपेक्ष भएको होइन । यसलाई धीरेधीरे निकै समय लगाएर त्यसो बनाइएको हो । र, यो गणतन्त्रसमेत केवल एक सुनियोजित षडयन्त्र हो ।’

अगाडि भन्नुहुन्छ, ‘हाम्रो वास्तविक धर्म भनेको सनातन वैदिक धर्म नै हो र यसैको परिवेशमा हाम्रो जीवन घुमेको थियो । घुमेको छ । तर आज यसको अस्तित्व नै मेटाउन भनेर किन लागिपरेका छन् त यहाँ क्रिश्चियन र उनका नियुक्त कार्यकर्ताहरु ? हाम्रो सनातन वैदिक धर्मसँग उनीहरुको के शत्रुता छ ? यहाँका चौरासी प्रतिशत बासिन्दा हिन्दु धर्ममा आस्था राख्छन् ।’

एउटा कुशल राजनीतिज्ञले झैँ मुलुकको वर्तमान अवस्थालाई मिहिन तवरले निगरानी गरिरहनुभएका कोइराला बाको थप कथन छ, ‘मुलुकमा नयाँ संविधान त बनेको छ । तर त्यसको मर्म अनुसार सबै काम हुन सकेको छैन । चुनाव त भयो । तीन तह सरकार पनि बनेका छन् । तर त्यहाँ पनि ठिकसँग काम भइरहेको छैन भन्ने सुनिन्छ । किनभने, आजकल राजनीति भनेको सेवा होइन, जागिर मात्रै भएको छ । सेवासुविधा भजाउने अखाडा भएको छ । भ्रष्टाचार र अख्तियार दुरुपयोग गर्ने कुख्यात थलो हुन पुगेको छ नेपालको राजनीति । डोजर लगाएर एकाध बाटा बने भन्दैमा त्यो बिकास हो त ? अहिले हुने बिकास निर्माणका कामहरु पनि भ्रष्टाचारले संक्रमित छन् । बिकासकै कामहरु भए पनि पहिले जस्तो दिगो र टिकाउ छैनन् । ठगठाग र झारा टार्ने किसिमले भएका कामहरुलाई के आधारमा बिकास भन्ने ? मुलुक त दिनानुदिन अधोगतिमा गइरहेको आभाष हुन्छ ।’

नेताका बिचौलियाहरुकै हालिमुहाली
उहाँको अध्ययन अनुसार अहिले सामान्य नागरिकलाई जीविकोपार्जन गर्न निकै कठिन छ । भ्रष्टाचारीलाई त ठिकै होला । तर इमान्दारहरु यहाँ भुङ्ग्रोमा सेकिएका छन् । दलाल र नेताका बिचौलियाहरुकै हालिमुहाली छ । ठेक्कापट्टा, सरकारी अनुदान र राम्रा जागिरहरु यस्तै मान्छेका पोल्टामा परेका छन् । मेहनत गर्ने नेपालीहरु विदेशिन बाध्य छन् । जनताले यहाँ राज्यसँग काम लिन घुस खुवाउनु पर्ने बाध्यता छ । नेता र उनका कार्यकर्ताले नागरीकहरुलाई पार्टीगत वा जातियरुपमा विभाजन र प्रयोग गरेका छन् । जताततै फुटवादी तत्वहरु हाबी छन् । अहिलेको व्यवस्थाको प्रचार त धेरै खर्चिलो र तडकभडकजन्य छ । नाराबाजी पनि अत्याधिक  छन् । तर यथार्थमा सरकार खोक्रो भएको र यसले जनहितमा उल्लेखनिय केही पनि गर्न नसकेको कुरामा पनि उहाँले जोड दिनुभयो ।

‘पहिले के हुन्थ्यो त ? पञ्चहरु राजाको डरले साँच्चै काम गर्थे कि काम गरेको नाटक गर्थे ?’ उहाँलाई सोधियो ।

उहाँ अब अलिक गंभिर मुडमा शुरु हुनुभयो, ‘हेर्नुहोस्, चाहे त्यो एउटा राज्य होस् वा परिवार — त्यहाँ अभिभावकको केही डर कायम हुनुपर्छ । त्यहाँ अराजकता वा छाडापनले काम गर्दैन । गरे त्यो परिवार वा राज्यै नै ध्वस्त हुन्छ । त्यतिबेलाको शासनकालमा एउटा डर कायम थियो । कानून पनि अलिक कडा नै थियो । मान्छेहरु कानूनसँग डराउँथे । उदाहरणका लागि पहिले देशमा कुनै नागरीकको हत्या वा भवितब्य मृत्यु हुँदा जिल्लाका उच्च अधिकारीहरुले ३-४ दिन वा आवश्यक्तानुसार त्यो भन्दा बढी समय लगाएर मुचुल्का उठाउँथे । बडो गंभिर तरिकाले छानविन वा अनुसन्धान गर्थे । अहिले यहाँ मान्छे मारिएको कुरा सामान्य हुनपुगेको छ । मैले भन्न खोजेको, पहिलेको ब्यवस्थामा अरु जे भए पनि मान्छेको जीवनको मूल्य थियो । आज यो व्यवस्थामा मान्छे वा देशको नागरीकको हैसियत के छ ? नागरीकहरु यहाँ कुकुर मरेजसरी मरिरहेका छन् । वा लतारिएका छन् ।’

सन्दर्भ जीवन र जगतको
कहिलेकाहिँ केवल राजनीतिले जिन्दगीलाई ‘मनोटनस’ तुल्याउँछ । प्रसंग बदल्नु उचित लाग्यो, ‘जीवन के हो ?’

‘जीवन धेरै मानेमा नदी जस्तै हो । नदी उपकारी हुन्छ । नदीमा अनेक कुराहरु हुन्छन् । खानेपानी त्यहाँ हुन्छ । त्यहाँ सिँचाइको लागि पनि पानी छ । त्यहाँ माछालगायत अनेक जीवहरु हुन्छन् । फोहोर पनि हुन्छ । नदीले सुख भोग्छ । दुःख भोग्छ । तर पनि ऊ अनवरत बगिरहन्छ र एकदिन सागरमा मिल्दछ । मान्छेको जीवन पनि यस्तै हो । अथवा हुनुपर्छ । यसप्रकार जीवन संघर्ष हो । जीवनमा संघर्ष हुनुपर्छ । र, त्यो संघर्ष आफ्नो र अरुको भलो वा सेवामा समर्पित हुनुपर्छ ।’

‘मृत्यु के हो ?
‘मृत्यु शाश्वत हो । समय पुगेपछि जान्छ वा जानु पर्छ । जस्तै, हरेक जीवनको समयसिमा हुन्छ । अन्नबाली छआठ महिनामा पाक्छ । फलफूललाई केही वर्ष लाग्छ । जीवहरुको पनि
आ-आफ्नै आयु हुन्छ । यो शाश्वत चक्र हो । जसरी जीवन संघर्ष हो त्यसैगरी मृत्यु शाश्वत हो । यो जीवनको एउटा अकाट्य सत्य पनि हो । कर्म, भाग्य वा पुनर्जन्मका कुराहरु पनि छन् । मलाई चाहिँ लाग्छ कि जीवनमा यी कुराहरुको कहिँ न कहिँ अस्तित्व वा झन्झनाहट अवश्य छ । हाम्रा सनातन वैदिक धर्मग्रन्थहरुमा यी कुराहरुको मिहिन व्याख्या पाइन्छ । र, चेतनामा कताकता महसुस पनि हुन्छ कि यो जीवन इतर पनि कुनै सत्ता थियो, छ र हुनेछ । कर्म मेटिँदैन र यसलाई अहिले खोजेर मात्रै पनि भेटिँदैन जस्तो मलाई लाग्छ ।’

‘उपनिषदहरुको अध्ययन गरिरहनुभएको छ, ईश्वरको अस्तित्वलाई कसरी व्याख्या गर्नुहुन्छ ?’

‘यति विराट ब्रह्माण्ड चलाउने कोही त अवश्य छ । चाहे त्यसलाई ईश्वर भनौँ वा प्रकृति वा परमात्मा । आत्मा भनेकोचाहिँ एकजनासँग मात्रै सम्बन्धित छ । परमात्मा भनेको सबैमा छ । चराचर । त्यसो भए त्यो को हो जो यस सृष्टिको निर्माण वा यसको परिचालनको जिम्मा लिइरहेको छ त ? कसै न कसैले यसलाई नियन्त्रण त गरेकै छ । नत्र यो सब कसरी चलायमान छ त ? यहाँ एउटा जीवनरुपी चक्रमा जीवलाई घुमाइन्छ । यसको कारण र कारकलाई मनन वा अनुसन्धान गरेर सत्यानुभूत गर्नेहरु जीवनको भवचक्रबाट पार हुन्छन् । नत्र यहाँ कल्पकल्प घुमिरहनु पर्छ । उपनिषदमा म यस्तैयस्तै कुराहरु भेट्टाउने गर्दछु र पढ्दा आनन्द आउँछ । तृप्ती पनि मिल्छ ।’

यस प्रसंगलाई सविस्तार गर्दै उहाँले कुनै धर्मग्रन्थमा आफूले पढेको एउटा छोटो किस्सा पनि सुनाउनुभयो-
एउटा विशाल रुखमा दुइवटा चरा बसेका छन् । एउटा अलिक माथ्लो हाँगामा बसेको छ । अर्को तल्लो हाँगामा । माथि बस्नेले अनवरत तलको चरोको दिनचर्या नियालिरहन्छ । तलको चरो यता उड्छ, उता फुर्र गर्छ । चारो खोजेर खान्छ । अण्डा पार्छ, बच्चा कोरल्छ । इत्यादि । तर माथि बस्नेलाई केही खानु, कतै जानु पर्दैन । ऊ केवल स्थिर भएर तलको चरोको दिनचर्या नियालिरहन्छ । यस किस्सामा गरिएको तत्व मिमांसा के हो भने, त्यो माथिको चरो भनेको परमात्मा हो । र, तल्लो चरो भनेको आत्मा या कुनै पनि जीव ।

सेवामा समर्पण:आजका युवालाई सन्देश
अब अलिकति उहाँको दैनिकी जान्न मन लाग्यो, ‘दिनहरु कसरी बितिरहेका छन् आजकल ?’

‘बिहान टेलिभिजन वा रेडियोमा धार्मिक कार्यक्रम सुन्छु । जीवनविज्ञान सुन्छु । हरिराजको प्रवचन सुन्छु । जनार्दन घिमिरेलाई सुन्थेँ । उनी राम्रो प्रवचन गर्थे । उनी बितेपछि अहिले अच्युत सुबेदीलाई सुन्छु । यिनको पनि राम्रै हुन्छ । योगा, प्राणायम गर्ने गर्छु । समाचार सुन्दाचाहिँ दिक्क लाग्छ । तिनै बिकृत्ति, बिसंगति, हत्याहिंसा र अराजकताका खबर कति सुन्नु ?’ कोइराला बाको अर्थपूर्ण जवाफ थियो ।

‘युवापुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?’ कुराकानीलाई बिट मार्ने मनसायसँगै सोध्न मन लाग्यो ।
उस्तै अथक भावमा उहाँको जवाफ आयो, ‘साँचो बोल्ने । सबैको हित गर्ने । दान गर्ने भनेको पुरोहितलाई टीको लगाएर दक्षिणा दिने मात्रै होइन । दीनदुःखीको सेवा, जरुरतमन्दलाई उचित सहयोग, शिक्षाको ज्योति प्रज्ज्वलन, वा रोगीबिरामीको उपचार र सहयोग नै सेवा हो । युवापुस्ताहरुले यस्ता कुरामा आफूलाई समर्पित गर्नुपर्छ ।’

कुराहरु सुन्दै गर्दा लाग्यो कि मुलुकका गाउँगाउँ घुमेर अनेक कल्याणप्रसाद कोइरालाहरुलाई भेटौँ । उनीहरुका कालजयी कुराहरु सुनौँ । तिनलाई अक्षरांकन गरौँ र संसारभर उनीहरुका अनुभवी र सिद्धहस्त कुराहरु पुर्याऔँ ।

उहाँलाई भेटेर घर फर्केपछि लाग्यो हेरौं नत उहाँको फ़ेसबुक पनि । सामान्य घरपरिवार भेटघाट वा चाडबाड यस्तै र केही तस्विरहरू । यसैबिच एउटा स्टाटसले तान्यो । लेखिएको रहेछ-
आज २०७३/३/२२ गतेको दिन म ८४ बर्ष मा प्रबेस गरेको छु । जीवन भरमा मैले जानी नजानी छर छिमेक इष्ट मित्र बन्धु बन्धबहरुमा केही गल्ती गरेको भये ८४ बर्ष को वृद्ध सम्झी क्षमा गरिदिनु होला । आगामी दिनमा संघ-संस्था र अन्य ठाँउमा मेरो सकृय सेवामा उपस्थिति कमै रहने छ,धन्यवाद ।
यस्तो लाग्यो-

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?!

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *