धिमाल जातिका वर्तमान आयामहरु

(विजय धिमाल)

धिमाल जातिका बारेमा धेरै खोज अनुसन्धान तथा इतिहारकारहरुले आ–आफ्नो तरिकाले व्यख्या तथा विष्लेशण गरेका छन । उनिहरुको व्यख्या तथा विष्लेशण सत्य हो या होइन सम्बन्धित निकायले समेत सही ठहर गर्न नसकिरहेको अवस्था छ । जे भएपनि धिमाल जाति ती खोज अनुसन्धानविद् तथा इतिहारकारहरुकै कुरोलाई आधार मान्दै आएकोे पाइन्छ ।
धिमाल जातिको पृष्टभूमि र जनसंख्या धिमाल जाति बारे बेलायतका विद्वान ब्रायन. एच. हड्सनले पहिलो पटक सन् १८४७ मा Essay the First on the Kocch, Bodo and Dhimal Tribes प्रकाशन गरि धिमालका हरेक कुराहरु समेट्न कोसिस गरेकाछन् । हड्सनका अनुसार सन् १८४७ तिर यस भुभागमा धिमाल जातिको बसाँई राम्रै भएको उल्लेख छ । उबेला कन्काई नदी र तोर्षा नदी आसपासमा धिमालको जनसंख्या १५ हजार रहेको सन् १८४७ मा प्रकाशित हडसनको कृति (पेज १५१ ) मा उल्लेख छ । हड्सनका अनुसार यतिका जनसंख्या कन्काई पूर्व मात्रै रहेको उल्लेख छ । तर हाल आएर धिमालको जनसंख्या नेपाल सरकारको केन्द्रीय तथ्यांक विभागको वि.सं. २०६८ सालको दशौं जनगणनामा २६ हजार २ सय ९८ मात्र देखाएको छ ।

यसरी हेर्दा त धिमालको जनसंख्या १ सय ६६ वर्ष सम्ममा ११ हजार २ सय ९८ मात्र बृद्धि भएको देखाइएको छ । तर २०६८ को दशौं जनगणना सत्य नभई मिथ्याङ्क भएको धिमाल जातीय विकास केन्द्र नेपाल केन्द्रिय समिति बताएको छ । धिमाल जातीय विकास केन्द्र नेपाल केन्द्रिय समितिका अध्यक्ष तेज बहादुर धिमाल ५० हजार जनसंख्य रहेको दावा गर्दछन तर दस्तावेजिकरण भने छैन । जनसंख्याकै कुरोमा धिमाल जातीय विकास केन्द्र नेपालका केन्द्रिय समितिका पूर्व अध्यक्ष राम बहादुर धिमाल भन्छन “१९८० सालको दशक तिर धिमाल बस्तीमा महामारी हैजा फैलिएको र कतिपय परिवारका सबै सदस्यको मृत्यु भएको, एकै रातमा सयौँको मृत्यु भएको तर यति हुँदाहुँदै पनि धिमाल जाति बसाँई सरेर कतै गएनन् । यति धेरै पीँडा, दुःख र मृत्युसङ्ग लड्दै कष्टकर जीवन व्यतित गर्दै नेपालको मोरङ, झापा र सुनसरी जिल्लामा रहँदै आएको छन् | ”

धिमाल जाति हिन्दु आर्यभन्दा फरक समुदाय भएको दावा गर्छन । धिमाल जातिको बसाँइको प्रकृति स्वरुप हेर्दा गोर्खा आक्रमण पूर्व धिमाल जातिले पक्कै पनि यस क्षेत्रमा राज्य गरेको अनुमान गर्न सकिन्छ । धिमाल जनश्रुति अनुसार पृथ्वीनारायण शाहको सेनासङ्ग धिमाल जातिका अगुवाई गर्ने सेनापति बांगाई र सुगईले चतराघाटमा सात दिन सात रातसम्म लडाइँ गरेको भनाई पाइन्छ । यस इतिहास लिखितरुपमा उल्लेख नभएपनि धिमाल पुर्खाहरुले मौखिक इतिहासका रुपमा कायम गरेका छन् भने राज्यले दस्तावेजीकरण गरेको पाइदैन । यस्ता इतिहासलाई कायम राख्न सम्बन्धित जातिबाट सामुदायिक चेतना र पहल आवश्यक देखिन्छ । धिमाल जातिलाई बहुसंख्यक भाषाविद्हरुले भोटबर्मेली परिवारको हिमाली समुह अन्तरगत मिल्दोजुल्दो उल्लेख गरेका छन् ।

ऋषिकेशवराज रेग्मीको The Dhimal Miraculous Migrants of Himal सन् १९९१ तथा तुलसी दिवसको प्रदर्शनी धिमाल लोक संस्कृति २०३९ सालमा उल्लेख भएअनुसार “धिमालहरु किरात इङवाका दश भाइ छोरा मध्ये कान्छा थाङदावाका जेठा छोरा धिकोम्पाका सन्तान हुन” भन्ने यी दुई विद्वानको भनाइ छ । र यी कुरालाई नै धिमाल अग्रजहरु र धिमाल समुदाय कतिपय सहमत भएको पाइन्छ ।

धिमाल जातिको नामकरण
धिमाल जातिको नामकरण र उत्पतिको प्रसंगमा अनेकौँ कुराहरु आएको पाइन्छ । केहि धिमालहरु उत्तर पूर्वबाट आएको कुरा हिमाल शब्द बाटै धिमाल बनेको भन्ने भनाई ऋषिकेशवराज रेग्मी १९७१–२२–२३ ले प्रष्टाएको छ । थारु, राजवंशी जातिहरुले भने धिमाल जातिलाई उबेला “ढेमाल” भन्ने गर्दथे । धिमाल अग्रजकोहरुको भनाईले “ढेमाल” शब्दको अर्थ धिमाल भाषामा “ढे” को अर्थ छुट्टिएको र “माल” को अर्थ मधेस भन्ने गरेको पाइन्छ | बहुसंख्यक धिमालहरुले किराँत शाखाका लिम्बु तथा राई दाजुभाइ थिए | उनीहरू छुट्टिएर मधेशमा बस्न थालेको प्रसंग तुलसी दिवस २०३९,सङ्ग मेल खान्छ । धिमाल जाति भित्र माईखोला देखि पूर्व बसोबास गर्दै आएकाहरुलाई पुर्वेली धिमाल र माईखोला देखि पश्चिम बसोबास गर्दै आएकाहरुलाई पश्चिमेली धिमाल भन्ने गरीन्छ । जसरी रहेपनि साँगठनिक रुपमा एकमत भएको पाइन्छ र धिमाल जातीय विकास केन्द्र नेपालकोे विधिविधान साथै नियममा रहँदै आएको छ ।

सामाजिक संस्कार
धिमाल जातिले सामाजिक संस्कारलाई मुख्य तीन भागमा विभाजन गरेको पाइन्छ ।
जन्म :बच्चा जन्मीसकेपछि आमा र बच्चालाई नुहाईधुवाई गर्ने गरिन्छ । बच्चा जन्मेको कतिदिनमा नाइटो झर्छ सोही दिन सुत्केरी चोखिने र बच्चाको नामाकरण गरिने चलन छ । सामान्यतया बच्चा जन्मेको ५ दिन देखि १५ दिनसम्ममा नाइटो झर्छ । सुत्केरी चोखिने र बच्चाको नामकरण गरिने दिन आफ्नो आफन्तहरुलाई बोलाउने, गाउँटोलको मुख्य व्यक्ति मार्फत नाम राखिदिने वा घरको अग्रज व्यक्तिबाट नाम राखिदिने चलन छ । बच्चाको नाम साइत वा ग्रह दशा हेरेर राखिदैन । बच्चा जन्मेको अवस्थाको स्थिति, वातावरण, बार, मौसम, घटनाक्रम आदि जस्ताकुरालाई मध्यनजर गरी आफ्नै परम्परागत तरिकाले नाम राखिदिने चलन छ । तर हाल आएर परम्परागत तरिकाले नाम राखिदिने चलन कम हुँदै गएकोछ । छोरा र छोरी हुनुमा कुनै भिन्नता देखिदैन तर पितृसत्तात्मक संस्कारका कारणले छोरा भए वेश भन्ने भावना छँदैछ अझैसम्म पनि ।

बच्चालाई दक्षिण पूर्वमा राखेर बिहान र दिउँसो ज्वानो, मेथी तोरीको तेलमा तताएर मालिस गरिन्छ । यसो गरे बच्चालाई चिसो नलागोस र बलियो हुने जनविश्वास छ । आजभोली गाउँ-शहरका धिमाल बन्धुहरुले हिन्दु परम्पराअनुसार जन्मेको समय, बार, साइत र ग्रह दशा हेरेर नाम राख्न शुरु गरेका छन् । र सुत्केरी चोखिने र बच्चाको नामाकरण गरिएको दिन भोजभतेर समेत गरेको पाइन्छ तर यस्ता कार्य धिमाल जातिको प्रचिन परम्परा चाँहि होइन ।
विवाह:
धिमाल समुदाय भित्र केही अप्ठ्यारा र अचम्मित तरिकाका विवाह थिए तर हाल आएर सुधार भनौं या रिवाज भुल्दै गइरहेको होकी भन्ने अनुमान छ । जसमध्ये यसप्रकार छन् –
(क) सुपारी विवाह:
ऊ बेला धिमाल समुदायमा आफूले मन परेको केटीलाई फकाई सुपारी वा पान खान दिने खाएमा विवाहको स्वीकारोक्ती भएको बुझिने चलन थियो । र सोही अनुरुप विवाह गरिदिने वा गर्ने गरीन्थ्यो । विशेषत जातिरी (मेला) घुम्न आएका युवतिहरुलाई । हाल यो परम्परा पूर्णरुपले अन्त्य भैसकेको छ ।
(ख) जबर्जस्ती वा चोरी विवाह:
धिमाल समुदाय भित्र प्राचिनकालमा आफूले मन पराएको केटी भए वा केटी राम्री देखे सो केटी हाटबजार, मेलापात वा एक्लै कतै गएको बेला मौका परी सके एक्लै नसके केही साथीहरुको सहयोगमा घर भित्राउने गरिन्थ्यो । घर भित्राई सकेपछि सदाको लागी श्रीमति हुने र घरको बुहारी हुने चलान थियो । र कतै आफन्त नातेदारकोमा केहि दिन वा महिना राखी आफ्नो गाउँ फर्किने चलन थियो । तर हाल आएर यो प्रवृती पुर्णरुपले रोकीएको छ ।
(ग) मागी विवाह:
धिमाल समुदाय भित्र बुढापाकाहरुको कालखण्डमा जे भए ती समयमा ठिकै थियो होला तर हालको समयसम्म आइपुग्दा बिकृति होकी भन्ने मनसायले परिमार्जित भएको अवस्था छ । मागी विवाह पहिले देखि कै चलन हुनुपर्दछ किनकी मनपरेको केटी माग्दा विविध कारणबस नदिने भएमा सुपारी विवाह र जबर्जस्ती वा चोरी विबाह भएको होकी भन्ने अनुमान गर्न सकिन्छ । उबेला जमिन्दार, मुखियाजस्ता परिवार भित्रका सदस्यहरुले बल,बैंश हुनेले जे पनि गर्न सकिने प्रवृती रहेको थियो । यस विवाहमा नातागोता पर्ने हो या होइन बिचार वा सोधखोज गरिन्छ ।

कहीं कतैबाट नाता नपर्ने भए गाउँका बुढापाका,आफन्तहरुको एक समुह विधिअनुसार रक्सी, सुपारी,पान,सुक्मेल,ल्वाङ,मिठाई,बिंडी,चुरोट आदि लिएर केटीको घरमा पहिलो पटक जाने चलन छ । पहिलो पटकमा कुनै प्रतिक्रिया नआए पहिलो पटक जसरी गएको हुन्छ त्यसरी नै दोश्रो पटक जाने गरिन्छ । दोश्रो पटकमा पनि प्रतिक्रिया नआए तेश्रो पटकमा केटी दिने या नदिने टुङगो गर्ने चलन छ । केटी नदिने भए पहिलो पटक वा दोश्रो पटकमै अस्विकार गरिन्छ । यदी दिने निर्णय भए सोहीदिन तिथिमिति तोकी विवाहको चाँजोपाँजो मिलाउन सुरसार गरिन्छ । विवाह आफ्नै जातीय धिमाल पहिरन, रीत, दुधौली, गाउँको रीत र जातीय संस्कार परम्परा अनुसार विबाह सम्पन्न गरिन्छ । विबाह निर्णय पक्का भइसकेपछि विबाह नभएमा धिमाल जातीय विकास केन्द्रको निति, नियम र विधान अनुसार कसको गल्ति हो सोही अनुसार दण्ड वा जरिवाना गरिन्छ ।

मृत्यु:
धिमाल परिवारमा कसैको मृत्यू भए आफ्नै जातिय संस्कार अनुसार गर्ने चलन छ । उबेला धिमाल परिवार भित्र कसैको मृत्यू भएमा प्राय माटोमा गाड्ने चलन थियो । तर हाल आएर चिता बनाई जलाउने चलन बढीमात्रामा गरेको पाइन्छ । उबेला प्रशस्त खाली जमिन र वनजंगल थियो त्यसैले पनि गाडिने गरिन्थ्यो र हालको अवस्थामा भने समयको मागअनुसार जलाउने चलन बढेको हुनसक्छ । लास जलाउँदा होस या गाड्दा जातिय रिति र संस्कार भने हालसम्म यथावत रहेको पाइन्छ । जलाउने वा गाड्ने कार्य सकिसकेपछि रक्सी,चामल र मर्नेको नाममा कुखुराको चल्ला मन्साएर वा जातीय बिधि अनुसार छोडीने गरिन्छ । उबेलाको नियम अविवाहित केटा या केटी व्यक्तिको मृत्यू भएमा लास गाडिएको ढिस्को माथी केराको बोट या कुनै फूल रोपीदिने चलन थियो तर हाल यो चलन हराउँदै गएको पाइन्छ । आफ्नो क्षमताले भ्याए अनुसार मलामीहरुलाई खाजाको व्यवस्था गर्ने गरिन्छ । 

परिवारमा कसैको मृत्यु भएमा सबैजना किरिया बस्नु नपर्ने तर घरको जेठो वा कोही एक जना छोरा किरिया बस्ने चलन छ । परिवारका सबैजना किरिया बस्नुपर्दैन । किरिया बस्ने व्यक्ति गैर धिमालसङ्ग बोल्न नमिल्ने, आफन्त बाहेक अरुसङ्ग बोल्न नमिल्ने, आफूले खाने खाना आँफै पकाएर खानुपर्ने, तेल खान नमिल्ने, नुन खान नमिल्ने हुन्छ । नुन भुटेर र सुख्खा खाना खान मिल्ने चलन छ । धिमाल समुदाय भित्र कम्तिमा तिन बढिमा पाँच दिन भित्रमा चोखिने प्रचलन बढ्दै गएको छ । तर कोहीकोही लामो समयसम्म पनि किरिया बस्ने गर्दछन् । किरिया चोखिने दिन आफ्नो परिवार भित्रका नातागोता भेला भई कपाल मुन्डन गर्ने चलन छ । किरिया चोखिने क्रममा अनिवार्य रक्सि र मृतकको नाममा पुजा गरी कुखुरा बलि दिने गरिन्छ । बलि दिएको कुखुराको मासु परिवार भित्रका नातागोतालाई ख्वाई चोखिने गरिन्छ । चोखिने दिन धिमाल गाँउटोल माझी (पुरेत)ले पुजा गर्ने चलन छ । माझी (पुरेत) नभए गाँउका विधि जान्ने कुनै एक पाका धिमाललाई माझी (पुरेत) बनाइन्छ र उपस्थित वंसजहरु, आफन्त, मलामिजन, छरछिमेक सामु किरिया चोखिने चलन छ । हाल धिमाल समुदाय भित्र आफ्नो वंशहरु काजकिरियामा अनिवार्य उपस्थित हुने नियम लागुगरिएको पाइन्छ । हुनत यो नियम पहिलै देखी लागु भएकै हो तर पछिल्लो समयमा शिक्षित भई रोजगारको सिलसिलाले नआउने वा नभ्याउने भएका कारण कडा रुपमा नियम लागु गरेको पाइन्छ । यसो गर्नुमा नयाँ पिँढीहरुले आफ्नो वंश चिन्ने अवसर मानिन्छ । काजकिरियाको दिन क-कस्ले कती सहयोग गरे र कोको उपस्थित भए भन्ने रेकर्ड राखिन्छ । यस काजकिरियामा उपस्थित नभएका वंशजहरुलाई आफ्नो अर्को वंश भित्र कसैको काजकिरियामा वा शुभ कार्यमा भेटेको बखत जरिवाना लगाइन्छ । त्यस्तै आफ्नो क्षमताले भ्याएअनुसार आफ्नो आफन्त,छरछिमेक लगायत मलामिजनलाई सोही दिन भोज खुवाउने चलन छ ।

पहिरन:
धिमाल जातिमा महिला र पुरुषले लगाउने आफ्नै जातीय पहिरन छ । आफ्नै हातबाट निर्माण गरिएको कपडा जस्लाई पेटानी वा बोना भनिन्छ । जुन लुदाबोना, दाबोना,सामुठी,इताङ्गी र पातोलोइ गरी ५ प्रकारको हुन्छ र भिन्ना भिन्नै पारि (डिजाइन)का हुन्छ । यो खालको कपडाको पृष्ठभूमि पुरै कालो हुन्छ र रातोरातो धर्काहरु हुन्छ । यी पाँच प्रकारको बोना वा कपडा मध्ये लुदाबोना प्राचिन मानिन्छ । यसको प्रयोग उबेला छाति देखि पिँडुलासम्म वारपार छोपिनेगरि कम्मरमा सेतो पटुकी बाँधेर लागाइन्थ्यो र चोलोको प्रयोग गरिदैन थियो । तर हाल आएर चोलो प्रयोगगरी लागाइन्छ तरिका भने छाति देखि पिँडुलासम्म वारपार छोपिनेगरि कम्मरमा सेतो पटुकी बाँधेर नै प्रयोग गरेको पाइन्छ । र हाल बढिमात्रामा दाबोना प्रयोग गरेको पाइनछ । त्यस्तै गरगहनाहरुमा धिमाल महिलाहरु सौखिन र धनी देखिन्छन् । प्राय चाँदीबाट निर्मित खुन्तला, नादाई, काठिमाला, गाँसमाला, सिङलि, बिसमाला, हारि टाकामाला, हासुलि, चन्द्रहार, थोका कलबाला, थोकासाधा, कल्लि, पात, औँठी, पाउजु र सुन बाट निर्मित कानाउसि, कुन्डल, नाकामुन्दि, कानाइला, ल्हे र औँठीहरु पर्दछन् । र त्यतिकै धिमाल महिलाहरु विषेश त केश (कपाल) विन्यसमा औधि रुचि राख्दछन् । धिमाल महिलाहरु केश (कपाल) खुल्ला राख्न त्यति रुचाउँदैनन् उनीहरु खोपा बनाउने गर्दछन् । जस्मा जुरखोपा, लोताङ खोपा, विन्दा खोपा, साइतर खोपा, पेत्लाङ खोपा, नोका खोपा आदि । यी खोपा मध्ये जुरखोपा बढीले बनाउने गरेको पाइन्छ । धिमाल महिलाहरुले नलगाउने तर प्राचिन जनविश्वास अनुसार गोद्ना बनाउने चलन थियो जुन आफू मरेपछि आफू सङ्गै लान सकिने । यो संस्कार वा मान्यता धिमाल महिलामा यथावत रहेको पाइन्छ । त्यस्तै पुरुषहरुमा उबेला सेतो धोती, पाखुटा (टाउकोमा बाँधिएको सेतो कपडाको पटुकी वा टोपी), गन्जी, चेउधारी र आस्कोट प्रयोग गर्दथे । तर हाल आएर पुरुषहरुले प्रयोग गरेको पाइदैन । विशेष कार्यक्रम र काजकिरियामा यदाकदा प्रयोग गरेको पाइन्छ । हालका युवा युवतीहरुले जातीय पहिरनलाई मोडीफाई (परिर्वतन) गरिरहेको अवस्था छ । जे गरेता पनि विशेषत हाल धिमाल जाति भित्र पहिरन वा भेषभुषाको सवालमा पुरुषहरुलेभन्दा पनि महिलाहरुले जातीय अस्तित्व जोगाइराखेको छर्लङ्ग छ ।
धर्म:
धिमाल समुदाय वा व्यक्तिहरुमा कतिपयले धर्मको सवालमा कसैले हिन्दु धर्म भन्छन, कसैले प्राकृतिक धर्म भन्छन भने कतिपय अलमलिएको पाइन्छ । आदिमकालदेखि धिमाल जाति वा समुदायहरुले हिन्दु धर्मशास्त्रमा भएका देविदेवताहरु मात्र नभएर आफ्नै मौलिक तरिकाले प्रकृतिलाई सर्वशक्तिमान ठानी प्रकृतिको पुजाआजा गरेको पनि पाइन्छ । यदी धिमाल जाति हिन्दु हो भने सबै कर्मकाण्ड हिन्दु धर्मअनुसार नै गरिन्थ्यो तर किन फरक भयो ? यस कुरामा गम्भिर हुन आवश्यक देखिन्छ धिमाल जातिहरु । यो मानेमा धिमाल जातिको प्राकृतिक धर्म उबेला मृत्यु,विराम, गरीब, विबाह पश्चात बच्चा नहुनु, अन्नबाली नसप्रिनु, अचानक बस्तुभाउ मर्नु, हैजा लाग्नु, सम्पतिमा चोरी-डाका लाग्नुजस्ता आदि सबै प्रकृतिको देन हो र खुसि हुँदा सबै ठिक प्रकृति रिसाउँदा विनास हुन्छ भन्ने जनविश्वास थियो । धिमाल जातिको न कुनै विकसित मन्दिर छ, नत देविदेवताको प्रतिमा, नत फोटो प्रकृतिलाई पुकार्दै प्रकृतिलाई नै पुज्ने भएकाकाले धिमाल जातिको धर्म प्रकृति धर्म नै हो ।

धिमाल जातिले आफ्नो देवताहरुमा मान्ने दुई प्रकारका छन घर भित्रको देवता सालिबेराङ र घर बाहिरको देवता धिमाल ग्रामथान । घर भित्रको देवता भनेको सालिवेराङ हो । यो देवता हरेक धिमालहरुको घर भित्रको पूर्व उत्तर कुनामा केहि माटो उठाएर दियो, कुचो वा कुस राखि पुजा गरिन्छ । घर भित्र पुजा गर्दा धिमाल जातिले मान्ने देवता काली, देवि र मसानको पुजा गरिन्छ । घर परिवार भित्रको कोही सदस्य विरमी भएमा वा घाउखटिरा आएमा घर भित्रको मूल व्यक्ति नुवाइ धुवाइ गरि पुजा गर्ने स्थान लिपपोत, साल धुप, दियो बालि सालिवेराङलाई पुज्ने गरिन्छ । यो पुजा जतिखेर वा जुनै बेला पनि गर्न सकिन्छ । यसरी पुजा गरे धिमाल परिवार वा सदस्यमा देखा परेको बिरामी र घाउखटिरा निको हुने वा अनिष्ठ नआउने जनविस्वास छ ।

त्यस्तै घर बाहिर गरिने पुजा भन्नाले धिमाल बस्तिको पूर्व पट्टि सामान्य रुपले स्थानिय श्रोत र साधनबाट निर्मित महाराज ग्रामथानमा गरिने पुजालाई जनाउँदछ । र यसलाई सिरिजात वा जात्रि समेत भनिन्छ । हाल आएर सबै थानहरु पक्किमा परिणत भैसकेको अवस्था छ । यस पुजा सामुहिक रुपमा गरिने चलन छ ।
धिमाल जातिका संघ संस्था नेपालभर धिमाल जातिको आफ्नै ९८ वटा धिमाल टोल वा जातीय संगठन छ । विशेषत मोरङ, झापा, सुनसरी र हाल काठमान्डौको जोरपाटीमा समेत रहेको छ । धिमाल जातीय विकास केन्द्रको स्थापना बि.स. २००८ साल तिर भएको तर सक्रियरुपमा नचलिरहेको अवस्था थियो । बि.स. २०५३ सालदेखि सक्रिय रुपले चलिरहेको धिमाल जातीय विकास केन्द्रका वर्तमान केन्द्रीय महासचिव केदार धिमाल बताउँछन ।

धिमाल जातीय विकास केन्द्रको उद्देश्यहरुः
नेपाल भित्र बसोबास गर्ने धिमालहरु विच भेटघाट, आपसि जातीय सहयोग र सद्भाव, एकताका कार्यक्रमहरु संन्चालन गर्ने, कुरीति तथा कु–संस्कारहरुलाई हटाउने, धर्म-भाषा र संस्कार तथा परम्पराहरुको संरक्षण गर्ने, दैनिक जीवनमा आइपरेका समस्याहरुलाई समाधान गर्ने र देश विकासमा सरिक भएर अगाडी बढ्नु धिमाल जातीय विकास केन्द्रको उदेश्य रहेको वर्तमान केन्द्रीय अध्यक्ष तेज बहादुर धिमाल बताउँछन ।

पर्वचाड वा पूजा
क) जातिरि-सिरिजात: यो पुजा प्रत्येक नयाँ वर्षको सुरुवातसँगै बैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट सुरु भई अषाढ २ गते मोरङको उर्लाबारी नगरपालिका ३, मंगलबारे स्थित रहेको परियोजना स्थल वा धिमाल जातीय विकास केन्द्र नेपाल दश बिघेमा समापन गरिन्छ । यो पुजा धिमाल समुदायले बैशाख २ गते अघि र आषाड २ गते पछि गर्छु भन्न पाइन्न । यदि कसैले यसो गरे केन्द्रको नियम र विधान अनुसार कारवाही गरिने चलन छ । विषेशत यस पुजामा फलफूल, धुपबत्ति साथै हाँस, कुखुरा, परेवा, सुङगुर पूर्वकाल देखि नै बलि दिने चलन छ र हालसम्म जारी छ । यो पुजा गर्दा थान भित्र भगवानको कुनै फोटो वा प्रतिमा हुँदैन । माटोद्वारा हस्त निर्मित हात्ति, घोडा र बाख्राको मुर्ति हुन्छ । सोहीलाई मुख्य देवता मान्दै राधरम, देरागेलाई, महाराजा, धरम ठाकुर,दिय बेराङ,धार्नि बेराङ,धामी,म्हाईजस्ता देवतालाई पुज्ने गरिन्छ

उबेला देखि नै यो पुजा वा चाड सामुहिक रुपमा मनाउँदै आएको बुढापाकाहरुको भनाइ छ । तर समय बित्दै जाँदा यस पुजा वा चाड फेरिन गएको पाइन्छ । मेला लगाएर ढोल प्रतिष्पर्धा गराएमा यसलाई जातिरि भनिन्छ भने मेला नलगाई ढोल प्रतिशपर्धा नगराई सामुहिक पुजाआजा मात्रै गरिएमा सिरिजात भन्ने गरिन्छ । यसरी यो पुजा वा मेला लगाएमा आफ्नो गाउँ वा परिवार भित्र अतिबृष्टी, अनाबृष्टी, अनिष्ठ नहोस, बाली सप्रियोस, उब्जनि बढोस, रोगव्यधी नलागोस, जिव-जनावरले दुख नदियोस र नयाँ फल फलाएपछि जहाँबाट फलाएको हो,जसले फल दियो उसलाई चढाएमा राम्रो मानिने जनविश्वास छ । यस मेला वा पुजामा टाढा-टाढाका आफन्त भेटघाट र खुब रमाइलो गर्ने गर्दछन । व्यक्तिगत रुपमा समेत तिहारमा यीनीहरुको पुजा गर्नेगरिन्छ । घर बाहिरको पुजा जो एक पुजानै हो तर पुजाको साथसाथै धिमाल जातिको महान चार्ड समेत हो । त्यसैले धिमाल जातिले आफ्नो मुख्य चार्ड सिरिजात वा जात्रिलाई लिने गर्दछन ।

ख) तिहार: दोश्रो मुख्य चाडमा धिमाल समुदायले तिहार(पार्वा)लाई लिन्छन् । धिमाल समुदाय भित्र यो चाड अत्यन्तै महत्वपुर्ण मानिन्छ । घरबाट केहि टाढा रहेका घरका सदस्यहरु सिरिजात वा जात्रिमा नआएपनि यसबेला आउने गर्दछन । यो चाडमा पनि भव्य रुपमा धिमालको प्रत्येक घरमा पुजा गरिने चलन छ । आँगनको पूर्व पट्टि केही भाग अस्थायी घेरावारा गर्दै लिपपोत गरी बृहत पुजा गरिन्छ । धिमाल जातिको थर अनुसार हाँस, कुखुरा, परेवा, सुङगुर, अन्डा आदि भोग दिने चलन छ । यस बखत पितृ भोग, कृषिमा प्रयोग हुने सामानलाई भोग, घरलाई भोग दिइन्छ र बाटो, खोलानाला, बनजंगल, जिवजनावर सबैलाई पुकार्दै पुज्ने गरिन्छ । र जातिय अनुसार द्यौसे खेल्दै रमाइलो गर्नेगर्दछन । तर हाल आएर संस्कृतिमा फरक छाएको छ । धिमाल जातिको प्राय मौसमी चाडहरु छन । अन्य चाडपर्व भनेको समुदाय प्रतिको मेलमिलाप र सद्भावका लागि मनाउने गरिन्छ ।

खानपिन:
धिमाल जातिको खानपिनको कुरो गर्दा आफ्नै जातीय परिकारहरु प्रशस्त भएको पाइन्छ । उबेला धिमाल जाति कन्दमुल खोजिखाने बुढापाकाहरुको भनाई छ । हाल आएर सामान्यत अन्य मानिस जस्तै खेतिपाती वा किसानी र खानपिन भएको छ ।

विशेषत धिमाल पर्व र पुजाआजामा आफ्नै जातीय खानपिन बनाउने गर्दछन तर आजभोली त्यो चलन हराएर गएको पाइन्छ । उबेला चिचिरि भात जो एक प्रकारको चामलबाट बनाइन्छ, बगिया जो चामलको पिठो द्वारा बनाइन्छ, कुरुङ जो चामल भुटेर बनाइन्छ । मासुमा आफ्नो मनले रुचाएसम्म सबै, फलफूलहरुमा प्राय सबै प्रकारका र खोजि खानेमा डिङडिङ, जिह्राम, घाेंगी, सिपि, गङगटा, माछा, गोह्रो आदि पर्दछ । मादक पदार्थमा जाँड, रक्सी, तोङ्वा, निघार, घेन्सी आदि हुन् ।

लोक नृत्य, लोक बाजा, नाटक र शैली :
आदिमकाल देखि नै धिमाल जातिको आफ्नै नृत्य,बाजागाजा, नाटक, गित आदि कायम रहेको पाइन्छ । धिमाल जाति भित्र मौसम अनुसारको पुजापाठ, चार्डपर्व र सोही अनुसारको गीत नृत्य रहेको छ । धिमाल लोक नृत्य धिमाल जातिको लोक जिवनमा प्रचलित परम्परा हो भने रीतिरीवाज,लोक धर्म, विश्वास, जातीय विचारधारा एवं संस्कार सम्मिलित र प्रतिविम्बित भएको पाइन्छ । विशेषगरी नृत्यहरु चाडपर्वमा गरिने नृत्य, धान काट्न सक्दाको नृत्य आदि फरक परिवेश नृत्यहरु हुन । जसमध्ये तिहारमा गरिने नृत्यहरु,पेटानी बुन्दाको नृत्य, पोयामारी नृत्य, तोङ्का नृत्य,खाइलो नृत्य,राथुम नृत्य,तिह्रो नृत्य,थोका नृत्य,धाउधाउका नृत्य,चोरधाका नृत्य, देउसी नृत्य आदि मुख्य छन् । त्यस्तै विबाहको दिन नाचिने नृत्यहरु न्हाकालाई नृत्य, वाजालाई नृत्य, वाराङगेलाई नृत्य, बेदाङ्गी नृत्य आदि पर्दछ । र सिरिजात तथा जातिरिमा गरिने नृत्यहरुमा दिर नृत्य, ढोल नृत्य, चेङचेङ बेङबेङ नृत्य,बिन्दा हेर्का नृत्य आदि पर्दछ ।

उबेला यी नृत्यहरु गाउँगाउँमा देखाएर प्राचिन ताका साहित्य, कला र संस्कृतिको जगेर्णा गर्ने गरिन्थ्यो तर हाल आएर यस्ता कार्य गरेको पाइन्न । धिमाल जातिको हरेक जीवनशैली आफ्नै किसिमको छ र आफूमा गाँसिएर बसेको छ । यस्तो जीवनशैली झल्काउने कुराहरुलाई धिमाल भाषामा पोदो नेपालीमा ताल अथवा लय भनिन्छ । धिमाल जाति (ताल अथवा लय) पोदोमा एकदमै धनी छ ।

सारङ्गीजस्तो एक प्रकारको धिमाल जातिकोे बाजा उर्निको पोदो (ताल अथवा लय)हरु निम्न छन्-
सरस्वती पोदो, कुर्जा कुका पोदो, तोङका पोदो, बेजालाइहेङ लाइपाका पोदो, उन्खु झोका पोदो आदि । यस्तै ढोलमा पनि न्हाका पोदो, देराघुराइका पोदो र चिजुराइका पोदो आदि । धिमाल जातिको बाजागाजाहरुमा ढोल, उर्नि, गोमाना, तुन्जाइ, शेरेन्जा, दोदोरा आदि मुख्य बाजाहरु हुन् । यी बाजाहरु प्राचिनकालदेखि प्रयोग र संरक्षण गर्दै आएको पाइन्छ तर हालसम्म आइपुग्दा प्रयोग त्यति नभएको देखिन्छ । यी सबै आँफै निर्माण गर्ने गरिन्छ तर संरक्षणको अभावमा केहि समयपछि लोप हुने सम्भावना छ ।

आदिवासी जनजातिहरुको जीवन शैली, भेषभुषा, प्राचिन सामाग्री, इतिहासका कुराहरुलाई संरक्षण गर्दै जीवन्त राख्न काठमाण्डौमा पर्यटन बोर्ड भित्र जनजाति संग्राहलयको स्थापना भएको छ । यस संग्राहलयमा पहिला १२ जाति मात्रै सम्मिलत थिए पछि वि.सं. २०६४ मंसिर १८ गते ३ जाति थपिए जस्मा धिमाल, लेप्चा र राउटे । यसरी वि.सं. २०७२ सालसम्म आउँदा १५ आदिवासि जनजातिको सामाग्रीहरु संग्राहलयमा संकलित गरिएर राखिएको छ । हाल सो संग्राहलयमा धिमाल जातिको ठूलो ओखली, सानो ओखली, चर्खा, तान बुन्ने सामाग्रीहरु, माङखु, फिर्कि, फुक्ने ढुङग्रो, आल्गी धावा, इताङगी बोना, सामुठी बोना, दा बोना, जेका बोना, चेउका धारि, आस्कोट, कमिज, पटुका, धोति, ढुङग्री, चुलो, धिमाल पुरुष र महिलाको मुर्ति बिसमाला आदि सामानहरु राखिएको छ ।

शिक्षा, स्वास्थ्य र पेशा:
धिमाल जातिको मुख्य पेशा भनेको कृषि नै हो तर हालको बदलिंदो परिस्थितिअनुसार पेशा परिवर्तन हुँदै गएको छ । यसो हुनुमा समयको माग वा प्रभाव पनि भन्न सकिन्छ । धिमालहरु शिक्षा, चेतना, स्वास्थ्य, राजनीति, रोजगार, सरकारी निकाय, आर्थिकलगायत धेरै कुराहरुमा ज्यादै कमजोर अवस्थामा छन् । यी यस्ता कुराहरुलाई सन्तुलनमा ल्याउन धिमाल जाति विकास केन्द्र नेपाल स्थापना भएर लागि परेको छ । धिमाल जातिको आफ्नै भाषा, कला, संस्कार, संस्कृति, बाजागाजा, पहिरन, गरगहना र जीवनशैली छ ।

अबका धिमाल युवाहरुले र आउने पिंढीहरुमा आफ्नो जातीय समुदाय भित्र अध्ययनको खाँचो, अनुसन्धान र खोजको अझै अभाव छ । शिक्षा र रोजगारको अवस्था भने हालको २१ औँ शताब्दीसम्म आईपुग्दा समेत निम्न नै रहेको छ । सबै कुरोले विकसित ठाउँमा बसोबास गरेपनि कृषिमा आधारित जीवन बिताईरहेको पाइन्छ । बि.स. २०५८ सालको दशौं जनगणना अनुसार धिमालहरु ३९ प्रतिशत मात्र साक्षर रहेको उल्लेख छ । बि. स. २०७५ सालसम्म आईपुग्दा १८ जनाले स्नातकोत्तर र अन्य हरेक कुरामा एक वा दुई जना बाहेक भेटिन्न । र सरकारी जागिर भने देशभर २०-२५ जना बाहेक नभएको धिमाल विधार्थी मञ्चका अध्यक्ष तिलक धिमाल बताउँछन । अबका पढेलेखेका नयाँ पुस्ताले शिक्षा आर्जन र अबसरको लागि एकदमै ध्यान पुर्याउनु पर्ने देखिन्छ । त्यस्तै जातीय संस्थाले पनि धिमाल शैली र परम्पराहरुलाई बदलिदो परिवेश अनुसार परिवर्तन साथै जगेर्णा गर्न आवस्यक देखिन्छ । यी माथिका हरेक कुराहरु जो जुन ठाउँ र परस्थितिमा रहेपनि आम धिमाल समुदायका अगुवा व्यक्तिहरु लागिपरेमा मात्र धिमाल जातिको विकास सम्भव देखिन्छ ।

यता स्वास्थ्यमा भने पहिलेका धिमाल ११० वर्ष सम्म जिवित रहेको इतिहास छ । झापा चोडपाडाका स्व. समई धिमाल ११० वर्ष सम्म रहेको धिमाल इतिहास भाग १ मा उल्लेखित छ । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका वाड नम्बर ८ मा रहेका ९३ वर्ष पुगेका चौकिलाल धिमाल र ९५ वर्ष पुगेका सर्वलाल धिमाल हाल सम्म रहेको अवस्था छ । धिमाल समुदाय एलोपेथिक भन्दा आर्युवेदिक वा जडिबुटीमा बढि विश्वास गर्ने गर्दछ । आर्युवेदिक वा जडिबुटीबाट अग्रजहरुले आफ्नो समुदायलाई मात्र नभई अन्य व्यक्तिहरुलाई समेत निःशुल्क उपचारमा लागेको पाइन्छ । हालको समय र परस्थितिले गर्दा एलोपेथिक उपचार गर्न बाध्य भएको पाइन्छ ।

ऐतिहासिक स्थलहरु:
धिमाल जातिको ऐतिहासिक स्थलहरु भोगटेनी गाउँ विकास समितिको लेटाङ स्थित राजारानी पोखरी तथा धार्मिक स्थल, मोरङको केरौन कालीकोशी सातकन्या धार्मिक स्थल, मोरङको कानेपोखरी, त्यस्तै झापाको धिमाल धुरा, नगरडुबा आदि स्थानहरु प्रसिद्ध छन् ।

धिमाल जा ति भित्रका ऐतिहासिक व्यक्तित्वहरु
राजनीतिक काराणले लामो समयसम्म जेल जीवन बिताउनु हुने भिष्म धिमाल हुनुहन्छ । पहिलो अञ्चलाधिश कर्ण बहादुर, पहिलो प्रधानपञ्च कहरमान धिमाल, पहिलो सभासद नगेन्द्र बहादुर धिमाल, रेडियो नेपालमा गीत गाउने पहिलो मंगलसिङ धिमाल र लक्ष्मी धिमाल (कुसियारदोङगे), पहिलो लोक साहित्यकार गणेशमान तेतेला धिमाल, धिमाल भाषाको पहिलो समाचार वाचक नारायण धिमाल (राजदोङग), पहिलो पत्रिका सोलोई, पहिलो टेलिभिजनकर्मी अजितकुमार धिमाल, पहिलो मनोरञ्जन कार्यक्रम संन्चालीका एफ.एम मा प्रमिला धिमाल, पहिलो टेलिसिरियल खेल्ने रेश्मा धिमाल (राजनुनिया), पहिलो इन्जिनियर उमेश धिमाल, पहिलो अनलाइन वेबसाइड धिमाल डट कम, पहिलो रिक्सा चालक महिला फुलमाया धिमाल, पहिलो धिमाल चलचित्र भूमिरक्षक र जातीय नायक राजेन्द्र साजदोङगे धिमाल आदी अहिलेसम्मका उल्लेख्य मानिन्छन ।

धिमाल जातीय विकास केन्द्रको संक्षिप्त परिचय
धिमाल जातीय विकास केन्द्र नेपाल जातिय संस्था हो । यो संस्था धिमाल समुदाय र धिमाल जातिको निमित्त स्थापना भएको हो । धिमाल जातिको संस्थागत विकासको सुरुवात वि.सं. २००८ साल देखी भएको पाइन्छ । यसको सुरुवात पूर्व माइखोला पारीका पूर्वेली अग्रज धिमालहरूले गरेको पाइन्छ । धिमाल जातिको संस्थागत विकासको नेतृत्वकर्तामा अन्धारु धिमाल र गोधिलाल धिमाल अघि बढेको पाइन्छ । यी दुईले बुधवारेको हन्डिया खोलाको चौरमा बि.स. २००९ सालमा पहिलो पटक धिमाल सम्मेलन गरेको प्रष्टिएको छ । सो समयमा धिमाल सम्मेलन लगातार ६ दिन चलेको थियो । धिमाल जातिले पहिलो पटक धिमाल समुदाय विकास केन्द्रिय संस्था धन बहादुर धिमालको अध्यक्षतामा गठन भएको थियो ।

पहिलो समितिले खासै काम नगरेको र कामगर्न नसकेको महसुस गरि सो समिति विगठन गरि वि.सं. २०३६ माघ १४ गते दमक १७ हाल दमक १० का जित बहादुर धिमालको अध्यक्षतामा ११ समिति गठन गरिएको पाइन्छ । यस समितिले पनि खासै उपलब्धीमुलक काम गर्न नसकेको महसुस गर्दै तत्काल धिमाल समुदायका बुद्विजिविहरुको भेला भई वि.सं. २०४३ सालमा धिमाल लोक सांस्कृतिक संरक्षण तथा समाज सुधार नामक दमक चोडकपाडाका राम बहादुर धिमालको अध्यक्षतामा ९ समिति सदस्य गठन गरिएको पाइन्छ । राम बहादुर धिमालले दुई कार्यकाल सम्हालेका थिए ।

यसरी चल्दै गर्दा विसं. २०४६ सालको जनआन्दोलनले देश उथल पुथलको अवस्था बन्न पुग्यो । देशले कोल्टे फेरेको अवस्था थियो । देशमा नयाँ परिवर्तन जनताले चाहेका थिए । यसैबीच चैत्र २६ गते मध्यरातमा तत्कालीन राजा विरेन्द्रले बहुदलिय प्रजातन्त्रको घोषणा गरेका थिए । प्रजातन्त्रको घोषणापछि नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कार, बहु धर्म संस्कृति , जानजाति, भाषा, पहिरन, भाषालिपि, जाति, वर्ण, लिङग जस्ता विषयहरुमा एकता र समानताको आवश्यकता महसुस हुन थाल्यो । त्यसैले सामुदायीक विकास, आर्थिक-भौतिक, शैक्षिक र राजनैतिकजस्ता आदि विषयहरुमा अस्तित्व लोप हुने अवस्थाका कारण सबै जात वर्ग तथा समुदायसँग सहयोग र सद्भावना कायम राख्न जातीय उत्थान र समग्र विकासको निमित्त विशुद्ध संस्था वि.सं. २०४७ सालमा धिमाल जातीय विकास केन्द्र नामाकरण गरिएको हो ।

यो नामाकरण पश्चात ३ वर्षपछि वि.सं. २०५० साल मंसिर १० गते जिल्ला प्रशासन कार्यालय झापामा अनुसुचि–३, नियम ४ सङ्ग सम्बन्धित भएर दर्ता नम्बर १४६ मा बैधानिक रुपले दर्ता गराइएको हो । समाज कल्याण परिषद नम्बर २०८७ र नेपाल आदिवासी जनजाति महासंघमा सदस्यता प्राप्त भइसकेको छ । यस पछि पहिलो संबिधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद नगेन्द्र बहादुर धिमालसं बिधान सभा बिघटन पछि अध्यक्ष भए । यस केन्द्रले वि.स. २०७३ मा झापाको विर्तामोडमा पाँचौ महाधिवेशन सम्पन्न गरेको छ । यी यस्तै क्रमले धिमाल जातीय विकास केन्द्र नेपाल अघि बढिरहेको छ ।

लेखकको सम्पर्क : vdhimal13@gmail.com

Add a Comment

Your email address will not be published. Required fields are marked *