समयको धाप
|मनको आकासमा छाउने
कल्पनाका तरंगहरु
बिना बादल गर्जिन्छ
अहमको भावभित्र
मीठो सम्झनाका बिम्बहरु
डुल्छ भाव सागरभित्र
अनन्त यात्राको सिमा बिहीन दिशामा
जीवन नगरीमा जीवन यात्रा !
सुरु र अन्तको पहीचानभित्र
बार बार नाटकहरुको रोमान्चमा
जीवन अनुभव बटुली रहन्छ
तितो मिठो यात्राका पलहरु !
हो जीवन, बिरुवाको बिउजस्तै
पलाउँछ आमाको कोखमा
सजिन्छ धर्तिको काखमा
पलाउँदै पातहरु फूलाउँदै फूलहरु
प्रकृतिकै सानिध्यतामा रमाउँछन्
हरेक बिहानीको घामसंगै
कोपीलाहरु फक्रिन्छ फूल बनेर
समयको सिमामा फुलीरहन्छ सुवास छरेर
समयकै कोल्टोमा बीउ बनेर
धर्तिकै आँगनमा बिसर्जित हुन्छ
उदाउँछ अस्ताउँछ आकासमा घामजस्तै ।
आउने जाने क्रम
नियमित प्रक्रियाभित्रै
जीवन उदाई रहन्छ
जीवन अस्ताई रहन्छ
अदृश्य समयको धापभित्र !