सलकपुरका हेडमास्टर : इतिहासका जीवित साक्षी

(पदमलाल सुब्बा)

कालिम्पोङमा जन्म ग्रहण गर्ने पदमलाल सुब्बा (पि. एल. सुब्बा) आज नब्बे वर्ष वर्ष नाघेको उमेरमा पनि  सुस्वस्थ्य छन्। अझै पनि बारीमा काम गर्नु, योगाभ्यास र स्नानादि जस्ता दैनिक चर्या कायम राखेका छन्। उनीसित जीवनका व्यापक अनुभव छन्, संस्मरणका ताजा छन्। विद्यार्थी भए, गुरूबाबु भए, पार्टी कार्यकर्ता भए, राजनेता भए, कालिमपोङका विधायक (पश्चिम बंगाल विधासभाका सदस्य) पनि भए। धार्मिक संस्थाका अनुयायी हुन्, सबैभन्दा बढी उनी एक कृषक हुन्, एक परिश्रमी, अनुशासनप्रिय सज्जन व्यक्ति हुन्।

कालिम्पोङको बाह्र माइलमा जन्म ग्रहण गरेपछि त्यति बेलाको एसयुएमआइमा शिक्षा ग्रहण गरी मेट्रिक पास गरेका थिए। मेट्रिक पढेर सन् १९५१ मा कामको खोजीमा नेपाल गए। त्यति बेला इलामका गभर्नर र झापा आन्दोलनका मुख्य नेता भैरवप्रसाद आचार्य (जसको कालिम्पोङमा पनि घर थियो रे) को शिविर झापाको भद्रपुरको छेउमा दुईचार दिन रहँदा सलकपुरका कान्छा महाजन विश्वनाथ घिमिरेसित भेट भएछ। परिचय गर्दा आफु कामको खोजीमा आएको भनेर बताउँदा कान्छा महाजनले आफ्नो गाउँको स्कुलमा हेडमास्टर चाहिएको छ अनि भोलि नै सलकपुर जाउँ भनेर प्रस्ताव राखेछन्। उनको निम्ति ‘के खोज्छस् कानो? आँखो’ भनेझैं उनले त्यो प्रस्ताव सहर्ष स्वीकार गरेछन्। त्यसकै भोलिपल्ट भद्रपुरबाट मेची तरेर गलगलियाबाट रेलमा चडेर नक्सलसम्म आएपछि त्यहाँबाट हिँडेर सलकपुर पुगेछन्। खाने बस्ने सबै सलकपुरका कान्छा महाजनको घरमा बन्दोबस्त भयो। सलकपुर स्कुल समितिका तत्कालीन सभापति गौरी लामा, सचिव पुष्पलाल घिमिरे र खचाञ्ची शिवलाल घिमिरे थिए। स्कुल घर बाँस, काठ माटोले लिपेको थियो। कान्छा महाजनका छोरीहरू र गाउँका केटाकेटीलाई भेला गरेर प्राथमिक स्कुलमा पढाउन शुरू गरे। स्कुलबाट पाइने तनखा रू ७५ मात्र थियो। विद्यार्थीहरूलाई कडा अनुशासनमा राखेर शिक्षा प्रदान गरेका थिए।

सुब्बा सर एकजना सचेत, जागरूक र समाज सुधारक थिए। गाउँमा शिक्षाको प्रचार, शिक्षादानबाहेक अन्य सामाजक कार्यमा पन सक्रिय रूपमा संलग्न थिए। सरकै प्रयासमा गाउँमा एउटा क्लब खोलेर सङ्गीतको परिवश शुरू भयो। सरले सिलगडीबाट रू १३ मा दुक्की तबेला किनेर आफ्नो जिउमा कपडाले बाँधी घोडामा चडेर सलकपुर पुर्‍याएका थिए। हार्मोनियम, तबला, मादल र फोनबाजा बजाएर कान्छा महाजनको घरमा दिनहुँ भजन र गीतादिको माहौल थियो। सरले फोटो खिच्ने गर्थे। आफ्नो यासिका क्यामेराले फोटो खिच्ने गर्थे। उनले त्यसबेला खिचेका फोटाहरू अहिले पनि संरक्षण गरेर आफुसित राखेका छन्।

(नवीन पौड्याल)

आफु बसेको घरका जेठा महाजन शिवलाल घिमिरे र कान्छा महाजन विश्वनाथ घिमिरेका छोराहरू कोही खरसाङ, कोही कालिम्पोङ, कोही दार्जिलिङ कोही कोलकाताको स्कटिस चर्च कलेजमा पढ्थे। छोरीहरूलाई भने बाहिर राखेर पढाउने चलन थिएन। महाजनको घरका नारीहरूको पानी बोक्ने, घरभित्रको जस्ता काम गर्ने चलन थियो। गाउँमा एउटा टहके दर्जी थियो, उसले गाउँको लुगा सिउँथ्यो। एकपटक उसको घरमा सत्यनारायणको पुजा लाग्यो। उक्त पुजामा सर र सरसित अरू भुराभुरी पनि पुजामा गए। हेडसरले प्रसादी खाएको देखेर अरू भुराभुरीले पनि खाए। त्यो कुरा गाउँमा फैलियो। आफु बसेको जेठा महाजन र कान्छा महाजनहरू आधुनिक विचारका थिए। उनीहरूलाई त्यो कुरा सामान्य भयो तर अरूहरूले भने हेडसरको उक्त उदारताको विरोध गर्न लागे। फेरि अर्को पटक हेडसरले गाउँका केटाकेटीको केश काटिदिन थाल्दा भने पण्डित खलकहरूलाई खपिनसक्नु भयो। अब यो हेडमास्टरलाई गाउँमा राख्नु हुन्न, स्कुलबाट निकाल्नु पर्छ, यो तारतुमे (प्रणामीको अर्थमा) ले गाउँ बिथोल्यो भनेर गाउँमा पञ्चायत भयो। उक्त पञ्चायत भेलामा भद्रपुरबाट गंगा सर र दानियल खालिङहरू पनि सामेल भए। घरका महाजन खलकजति उनको पक्षमा उभिएका थिए। आखिर सरकै जित भयो। उनलाई निकाल्ने योजना सफल भएन।

सलकपुरमा उनले वि.सं. सन् १९५१ को शुरूदेखि (वि.सं. २००८) १९५३ को अन्तसम्म (२०१०) गरी पूरापूरी तीन वर्ष जति पढाएका थिए। अन्तमा भने आफ्नै तत्परतामा पुष्पलाल घिमिरेले दान गरेको जमीनमा नयाँ स्कुल बनाउन थालेका थिए। त्यो १९५३ को हिउँदको छुट्टीपछि सरले उक्त ठाउँ र विद्यालय छोडेका हुन्। उनको निम्ति त्यो सलकपुर आफ्नो जीवनको एउटा अति महत्त्वपूर्ण र अविष्मरणीय लाग्छ। उनी अझै पनि त्यहाँका डाँडा पाखा, बाटाघाटा, घर, मान्छे, विद्यार्थी भुलेका छन्। उनलाई गाउँका धेरै मानिसको नाम अझै सम्झना छ। त्यतिखेर दिवाकर पढाइमा तेज थियो भन्छन्। कोही बदमास विद्यार्थी भए। आफु बसेको महाजनघरका छोरीहरू गङ्गा, रूका, जिता, भूबा, सरला  अझै मुखस्त छ।  देवलाल अलिक सिनियर थिए रे। कोशनाथ, सूर्यनाथ भगीरथ अझै सम्झन्छन्।

त्यसै बिचमा सलकपुरका अति सम्भ्रान्त कप्तान कार्की परिवारकी छोरीसित उनको प्रेम बस्यो। दुईजनामा मन परापर भएको कुरा ती सुन्दरी युवतीका आमा दिदीहरूले थाहा पाए। कप्तानका घरका नारीहरू जतिले भित्रभित्र समर्थन गरेका थिए तर कप्तानका घरका लोग्नेमान्छे जतिले बिरोध गरेका थिए। अब सलकपुरमा बस्ता कप्तानहरूको डर भयो। कप्तान साहेब राणा शासनकालका ठुला कप्तान थिए। त्यसपछि सुब्बा सर शान्तिनगर इरौंटार मिडिल स्कुलमा काम गर्न भनेर गए। त्यहाँ पनि तिनै कप्तानहरूकै डर थियो। जात, धर्म (सर सानैदेखिको प्रणामी), खानदान नमिल्ने भनेर कप्तान खलकका पुरूषहरू विरोध गर्थे। जिउ ज्यानको पनि खतरा थियो। एकै वर्ष पनि इरौंटार शान्तिनगरमा बस्न मुस्किल परेको बेला कालिम्पोङका आफ्ना परम मित्र महानन्द पौड्यालसित त्यहीँ भेट भयो। आफ्नो हेडमास्टरी महानन्द पौड्याललाई जिम्मा दिएपछि कालिम्पोङ घर फर्किने जमर्को गरे। त्यसपछि आफ्नी प्रिया रेणुलिनालाई भगाएर कालिम्पोङ ल्याएपछि भने पढाइ जारी राखे।

कालिम्पोङ आएर एसयुएमआई विद्यालयाट आइ. ए. पास गरेपछि दार्जिलिङ सरकारी कलेजबाट बी. ए. पास गरे। यसपछि १९५९ देखि १९६२ सम्म सन्त जर्ज पेदोङमा शिक्षण गरेपछि कालिम्पोङकै प्रतिष्ठित कुमुदिनी होम्समा टिकाराम शर्माले १९६२ मा उनलाई नियुक्ति दिएका हुन्। त्यस वर्ष सम्पन्न हुनलागेको विधानसभा चुनावमा कालिम्पोङबाट गोर्खालिगका उम्मेवार एल. आर. जोशी बनेका थिए अनि त्यसमा सरको प्रचार-प्रसारको सक्रिय सहयोगिता रहेको थियो। यसकारण कुमुदिनी स्कुलमा पढाउन थाल्नु अघिदेखि नै टिकाराम शर्माको निर्देशनमा गोर्खालिगलाई सघाउन आफुलगायत टिकाराम शर्मा, रामकृष्ण शर्मा, सि. बि. राणा आदिको टोली रेलीपारिको भेकमा चुनाव प्रचारमा गएका थिए। उनले कुमुदिनी स्कुलमा लगभग ३० वर्षजति पढाएर सेवानिवृत्त भएका हुन्। तिनै सर १९६८ देखि १९७१ सम्मका कालिम्पोङ विधानसभा समष्टिका गोर्खालीग दलका विधायक हुन्। तिनकै श्रीमती रेणुलिना सुब्बा भने कालिम्पोङकी एक चर्चित राजनेता, विधायिका हुन्। उनी सन् १९७७ देखि १९८७ सम्म कालिम्पोङकी विधायक हुन्। उनले पश्चिम बङ्गाल विधानसभामा आफ्ना क्षेत्रको उन्नतिका निम्ति घनघोर काम गरेकी हुन्, थर्काएकी हुन्। कालेबुङका वनबस्ती, सिन्कोना, बसोबास, भौतिक समस्या आदि विषयमा जोडदार आवाज इउटाएर, आफैं सक्रिय रूपमा समस्याग्रस्त ठाउँहरूमा घुमी घुमी काम गरेकी थिइन्। कालिम्पोङको इतिहास अहिलेसम्मको सबैभन्दा सशक्त विधायक रेणुलिना सुब्बा नै हुन् भन्न सकिन्छ।

पी एल सुब्बा सर कर्मका पुजारी हुन्। आफैले कठोर काम गरेर देखाउने, दिनभर विद्यालयलाई समय दिन्थे, बिहान बेलुकी खटेर काम गर्थे। आफै गोरू जोत्नु, बारी खन्नु, घाँस काट्नु, धान खेती गर्नु सबै आफ्न हातले गर्थे। आज पनि करीब नब्बे वर्षको उमेरमा पनि घरका यावत काम गर्छन्। आफ्ना दुई छोराहरू दशभक्त सुब्बा र त्रिलोक सुब्बा तथा छोरीहरूका सानिध्यमा आध्यात्मक चिन्तन, सत्सङ्ग, भजन आदिमा आनन्दले बसेका छन्। उनको स्वस्थ्य अझै पनि अनुकूल छ। बार्धक्यले बढी लाचार बनाएको छैन। हट्टाकट्ठा तगडा छन्, जोसिला छन्, खुलेर गफ गर्छन्। प्रणामी मन्दिर गएर आफ्नो सेवा कार्य गर्छन्। उहाँको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।

Add a Comment

Your email address will not be published. Required fields are marked *