राम अधिकारी कृत सपना र छायाहरुको चर्चा
|
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्थापना दिवसको अवसर पारेर समाजको डी.सी. मेट्रो च्याप्टरको आयोजनामा यही जनवरी ११ शनिबारका दिन राम अधिकारीको कविताकृति “सपना र छायाहरु” को समिक्षात्मक चर्चा कार्यक्रम सम्पन्न भयो । पत्रकार तथा लेखक पुरुषोत्तम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा भीम शाही, प्रकाश नेपाल र कल्पना सुवेदीले अधिकारीको नव प्रकाशित कृतिबाट केही कविताहरु पनि वाचन गरेका थिए ।
कृतिको समीक्षात्मक चर्चा कवि तथा लेखकहरू नारायण अधिकारी र तिर्थ पाण्डेले गरेका थिए । त्यसक्रममा नारायण अधिकारीले राम अधिकारीको नव प्रकाशित कृति ‘सपना र छायाहरु’मा नेपाल र अमेरिकी बसाईका भोगाई, केही दार्शनिक र छोटा तथा वर्णनात्मक शैली प्रयोग गरिएको र केही समसामयिक विषयका कविताहरू सङ्ग्रहित भएको उल्लेख गरेका थिए । त्यस्तै तिर्थ पाण्डेले पनि कृतिमा धेरै नेपाली समाजका विषयवस्तु र केही विदेशी जीवन भोगाईका विषयवस्तु समेटिएको,आंचलिक विषयवस्तु र सन्दर्भ उठान गरेपनि भाषिक र भाषिका तथा स्थानियपनको कवितामा अभाव रहेको चर्चा गरेका थिए । यसै अवसरमा समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले कवि अधिकारीको कविताकृति अस्तित्ववादी चेतनाको वरीपरी घुमेको सम्बन्धमा प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा होमनाथ सुवेदीको शोक काव्य ‘नन्दा’ युट्युव भिडिओको पनि लोकार्पण गरिएको थियो । कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू पुरु सुवेदी, भीम रेग्मी लगायतका वक्ताहरूले समाजका बारेमा चर्चा गरेका थिए । समाजाको डी.सी. मेट्रो च्याप्टरका अध्यक्ष निलकण्ठ सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन च्याप्टरका महासचिव जगन्नाथ पौडेलले गरेका थिए | शब्द मिडिया काठमाण्डौले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवि अधिकारीको पहिलो पुस्तक हो ।