साहित्यमा ऐंजेरू
|
साहित्य मानवीय चेतनाको कलात्मक उपज हो। यसभित्र हार्दिकता, भाव, कला, ज्ञान, बुद्धि, कौशल सबै कुरा हुन्छन्। साहित्य पढ्नेले धेरथोर अन्य विषयमा पनि ज्ञान पाउँदछ। साहित्यभित्र परोक्ष रूपमा ज्ञान विज्ञानका अन्य धेरै कुरा समेटिएका हुन्छन्। जीवन र जगत्का हरेक कुरालाई साहित्यले सम्बोधन गर्दछ।
विश्वमा नयाँ नयाँ साहित्य सिद्धान्तहरू उदाइरहेका छन्। साहित्यसित अन्य ज्ञानानुशासन पनि गाँसिएर अबको साहित्य अन्तर्विषयक बनेको छ। साहित्यसित समाज, राजनिती, धर्म, विज्ञान, कला, संस्कृति, कुटनिती आदि सबै मिसिएर नयाँ नयाँ साहित्यिक स्वरूप देखा पर्दैछन्। अब साहित्यभित्र यी जम्मै कुरा अध्ययन गर्न सकिने स्थिति आयो। साहित्य पढ्न यी विभिन्न विषयहरू पनि जान्नुपर्ने स्थति आयो तब मात्र साहित्यको रसास्वादन गर्न सकिने दिन आयो। साहित्यमा मानव संवेदना, रस, आनन्द पक्षभन्दा अन्य कुराले घेरिएको बन्दै जाँदो छ। साहित्यको गाँठो फुकाउन अब अन्य विषयको अध्ययन गर्नुपर्ने स्थिति आएको छ।
साहित्य अब जटिल बन्दो छ। साहित्यरूपी रूखका वरिपरि अरू ऐंजेरू पलाएर, रूखलाई अरू तरू लताले बेरेर मूल रूखलाई नै छापिदिएको अवस्था आइपुगेको छ। साहित्य बुझ्न अब दुनियाँभरका दर्शनशास्त्र, राजनितीशास्त्र, समाजशास्त्र, समाजवाद, धर्मशास्त्र, कुटनीतिशास्त्र, सीमा अध्ययन, पर्यावरण अध्ययन, कता कताका क्वान्टम फिजिक्स, मनोविज्ञान, चिकित्साशास्त्र, मिथकशास्त्र, पौराणिकशास्त्र, जीवशास्त्र, नृवंशविज्ञान, बनस्पतिविज्ञान, अभियान्त्रिकी आदिमा धेरथोर ज्ञान राख्नुपर्ने भयो। धेरै ज्ञानका कुराहरू जान्नपर्ने भयो। मूल रूप कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्तबाट उब्जेका हैकमवाद, नारीवाद, साम्यवाद सङ्कथन आदिबारे ज्ञान राखेर मात्र एक खालको साहित्य बुझ्न सकिने भयो जसलाई प्रगतिवाद भनिन्छ। यस्तै अर्को डा सिग्मण्ड फ्रायडले प्रतिवाद गरेको मनोविश्लेषणात्मक सिद्धान्त बहबुझेर मात्र साहित्य बुझिने भयो। यस्तो भए साहित्य बुझ्न पाठकलाई कठिन पर्दछ।
इन्द्रबहादुर राईका कथा समालोचना आदि आमपाठकले स्पष्टसँग नबुझ्नुको कारण उनले प्रयोग र प्रतिपादन गरेका साहित्येतर कुराहरू हुन्। क्वान्टम भौतिकी, शून्यवाद, जैनको स्यादवाद, कैवल्य आदिका ज्ञान राखेर मात्र लीला लेखन बुझ्न सकिन्छ। इन्द्रबहादुर राईको लेखन धेरै पढेको पाठक, माथिल्लो दर्जाको प्राध्यापक, गहन अध्येताहरूले मात्र बुझ्न सक्ने छन्। अतिबौद्धिक किसिमका मोहन कोइरालाका कविता र उनका कविताहरूको व्य़ाख्या गर्ने ईश्वरबल्लभको समीक्षात्मक भूमिका झन कठिन किसिमको छ। उनका कविता दुनियाँभरका अन्य कुराहरू खाँदिएका हुन्छन्। ईश्वरबल्लभका कविता पनि उस्तै छन्। यद्यपि इन्द्रबहादुर राईले साहित्यमा प्रयोग गरी नयाँ कुरा दिने प्रयत्न गरेका थिए। साहित्यलाई नै केन्द्रमा राखेर त्यसभित्र अरू कुराको समावेश गरी प्रयोग गरेका थिए।
जति जति समय बित्दै छ उति उति साहित्य अन्तर्विषयात्मक बन्दैछ अनि उति उति अलोकप्रिय पनि बन्दैछ। आमपाठकको अभावको खाडल ठुलो हुँदैछ। साहित्य पढ्दा नबुझ्नु कि त पाठकको बोध क्षमताको कमी कि त संश्लिष्ट किसिमको भएऱ हो। साहित्यिसित अरू गाँसेर आउने हुँदा साहित्य नपढेर इतिहासजस्ता अन्य ग्रन्थ पढेजस्तो साहित्य कसले पढ्न चाहन्छ र? किन मथिङ्गल मन्थन गरेर वा कनीकनी कविताको अर्थ बुझ्नु? कथा उपन्यासभित्र साहित्येतर कुराहरूको गुजुल्टो फुकाउँदै नै पाठक तर्सिन्छ। कविताको अर्थ बुझाइ भन्दा संवेदनशीलतालाई उत्तेजित पार्ने क्षमता भएको कवितालाई सफल मानिन्छ। कविताको नाममा साहित्यितेर पक्षहरू बढी कोच्नु उचित हुँदैन। जस्तो पर्यावरणको सिद्धान्त लाद्नु, इतिहास कोच्नु, कविले आफुले जानेको कुरा हाल्नु, दर्शन कुरा हुल्नु, विज्ञानका कुरा हाल्नु आदि उचित होइन। साहित्यका नाममा आफ्नो विद्वता देखाउन भएभरको आफुले जानेका कुरा, युक्ति आदि मिसाएर लेखे पाठकमैत्री बन्न सक्दैन। यसैकारण कविता थोरै पढिने भएको छ। कविता कथा उपन्यासहरूमा बेसी यस्ता अन्य विधाहरू जोड्ने साधन बनेका छन्। कविता बुझिएन वा कथा पढ्दा मजा आएन भने, उपन्यास आफ्नो रूचिको भएन भने स्वतः अलोकप्रिय हुन्छ। अचेल यस्ता धेरै कृतिले पाठकलाई प्रभाव पार्न सक्दैनन्। पाठकले के कस्तो रचना पढ्न चाहन्छ भन्ने कुरा ख्याल गर्नुपर्दछ।
साहित्यभित्र अन्य कुराले साहित्यको अनुशरण गर्नु उचित कुरा हो तर जब साहित्यले अन्य विधाको अनुशरण गरेको हुन्छ, त्यहाँ गढबढ हुन्छ। साहित्यभित्र अन्य कुराको भारी भए साहित्य कम अन्य विधा बेसी हुन्छ। यस्तो भए साहित्यको महत्त्व घट्दछ। साहित्यमा अन्य ज्ञानानुशासनका कुरा हुनु स्वाभाविक कुरा हो तर अन्तर्विषयात्मक बेसी बनाउनु साहित्यमाथि थिचोमिचो गर्नुसरह हो। मैले साहित्य पढ्दैछु कि अन्य कुरा पढ्दैछु भन्ने भ्रम पाठकमा पर्न सक्छ। साहित्यभित्र साहित्यिक तत्वको स्वायत्तताको हस्तक्षेप हुन्छ।
साहित्यिक लेखकले साहित्येतर कुराहरूलाई पछ्याएर लेखे साहित्य अलोकप्रिय हुन्छ बरू साहित्य लेख्दै जाँदा स्वतः अन्य कुरा आए मात्र त्यो ठिक हुन्छ। साहित्य लेख्दा प्रतीक, विम्ब, अर्थ गौरव, शब्दशय्या, गति, लय, वर्णगत सचेतता, रूपसचेतता, भावगत मौलिकता, शैलीगत नवीनता, संरचनागत विशिष्टता आदि जति राम्रोसँग मिलाउन सक्यो उति उत्कृष्ट साहित्य मानिन्छ। साहित्यले अरू विधालाई पछ्याउने होइन बरू साहित्य लेख्दा अरू विधाले साहित्यलाई पछ्याएको हुनुपर्छ। साहित्य लेख्दै जाँदा लेखकभित्रको अन्तचेतनाले अन्य कुरालाई पनि ल्याए, वा स्वतः पसे मात्र साहित्यको स्वायत्तता र वर्चश्व रहन्छ।
कला कलाको निम्ति हो कि कला जीवनका निम्ति भन्ने तर्क चलिरहेको छ। यद्यपि कला दुवैका लागि हो। कला आफ्नै दीर्घमियादी वर्चश्वका निम्ति पनि चाहिन्छ अनि जीवनका लागि आवश्यकता पर्छ। यद्यपि कला कलाका निम्ति बढी उपयुक्त हुन्छ। कला सदा उच्च स्थानमा हुनेगर्छ। साहित्य कला बहहो, लेखको सीप हो। जसरी एउटा चित्रकार वा मूर्तिकारले आफनो सीप लगाएर एउटा सुन्दर आकृति वा नक्सा तयार पार्छ ठिक त्यसरी नै एउटा कवि-लेखकले आफ्नो कलालाई राम्रोसँग सीप लाएर लेख्छ, सिर्जनामा मेहनत गर्छ र पाठकलाई मिठो कुरा दिने प्रयास गर्छ।
साहित्य रसोत्पादक, आह्लादकारी, आनुषाङ्गिक आनन्ददायी, सौन्दर्यमयी, संवेदनशील हुन्छ। साहित्य पढ्दा पाठकलाई यस्तै कुराहरूको अनुभूति भएर नै पढ्ने गर्दछ। कविता पढ्दाको आनन्द बेग्लै छ। हाम्रो हृदयलाई छुन्छ। कवितामा हार्दिकताका साथै बौद्धिकता पनि हुन्छ। यद्यपि बौद्धिकताले बढी भार भएको साहित्य पाठकप्रिय हुँदैन। हामी निबन्ध पढ्छौं, निबन्धभित्र लेखकले आफ्नो ज्ञान अनुभव अनभूति जानकारी सबै प्रकट गरोको हुन्छ तर निबन्धमा पनि रसात्मकता, आह्लादकारी अनुभूति हुनपर्छ। यो पनि कविताजस्तै लेखनगत प्रवाह हुनपर्छ, तब त्यो निबन्ध साहित्य हुन्छ। आख्यान साहित्यमा पनि जीवनका रागात्मक पक्ष, कलात्मकता, संवेदनशीलता, सौन्दर्य आदि सबै गुण हुनुपर्छ। यसभित्र पनि शिल्प सौन्दर्य, शब्द र अर्थको उच्च गरिमामय प्रयोग, विशिष्टता हुनपर्छ। विषय गम्भीरता भए पनि सरलता, कठोर विषय भए पनि कोमलता, संश्लिष्टता भए पनि विशिष्ट हुनपर्छ। नाटक विधामा पनि उच्च किसिमको शिल्प सौन्दर्य हुनपर्छ। तब मात्र पाठकले साहित्य पढ्छन् र बुझ्छन्, पात्रसँगै अनुभूत गर्छन्, एकाकार हुन्छन्।
साहित्यमा अन्य विषय चियामा चिनी मिसिएको जस्तो हुनुपर्छ तर पानीमा बालुवा जस्तो हुनुहुँदैन। साहित्य पढ्दै गर्दा नजानिदो गरी अरू कुरा भएको मात्र राम्रो हुन्छ। यद्यपि अन्य विषयलाई नै अघि राखेर साहित्य लेख्न बसे त्यो असल साहित्य हुँदैन। जस्ता पर्यावरणको सिद्धान्तलाई हालेर कविता लेखे त्यो कविता नीरस हुन्छ। कविताभित्र पर्यावरणीय चेतना घोलेर लेखेर त्यो कविता राम्रो कविता बन्न सक्छ। साहित्यको रागात्मकताभित्र गौण रूपमा अरूलाई प्रयोग गरेको नै उत्तम हुन्छ। साहित्यले जीवनका अनुभूतिलाई साहित्यले सम्बोधन गर्छ। यो पुराण जस्तो नीरस नभएर रसिलो हुनुपर्छ।
साहित्यका नाममा साहित्येतर कुरा बढी भार हुनुहुँदैन। साहित्यलाई यसकै थान्कोमा बस्न दिनुपर्छ। साहित्यका नाममा भएका अन्य कुरा खाँदेर पाठकलाई त्रसित बनाउनु हुँदैन। साहित्यको बुइमा अरू कुरा हुनुपर्छ तर अन्य कुराका बुइमा साहित्य हुनुहुँदैन। यस्तो भए साहित्यको महिमा महत्त्व र गरिमा घट्छ। अहिले त्यस्तै भइरहेको छ। आमपाठकका निम्ति साहित्य नबुझिने स्थिति आएको छ। यस्तो हुनुको मुख्य कारण साहित्यमा बेसी ऐजेरू पलाएकाले हो।
