झिलिमिली दुबईको अलिपर


सोनापुर अनि जाबेल अलिको लेबर क्याम्प बाहिरको रम्बलमा
अर्कै बेग्लै एउटा अँध्यारो दुबई छ।

यहाँ दिउसो, एक अर्कालाई यो देशको र उ देशको भनेर
कर्के आँखा लगाएर तर्केर हिड्ने
एसिया र अफ्रिका,
लडखडाउँदै,
तर एउटै लयमा हातेमालो गर्दछ्न।

रम्बल एकैछिनमा बङालको ढाका बन्छ,
पाकिस्तान र भारतको कुनै मेला बिर्साउँछ,
तर विश्व मानचित्रमा सानो देखिएको नेपाल,
यहाँ अजङ्गको गर्जना गर्छ,
आमाचकारी गाली गर्छ,
पिरको सुस्केरा,
सुपरभाइजरको गाली अनि
सरकारको लाचारी
हरेक वेतनमा अन्य भन्दा कम भएर आउने
वेतन हुडलेर,
छाद बनाएर निकाल्छ।

सोनापुर र बाहिरी दुबईका रम्बल* मा,
भोजराज, भाग्य नेउपाने र देउजाका युटुब भाइरलमा,
बिग्रेका घरका कथाले,
सोधी सिधा पतिब्रता जहानको साच्चिकैको ब्यस्तता पनि,
जार बनाएर ठिङ उभ्याउछ।

अलि आँखा बिझाउने, आँखा र मुटु एकैसाथ पिरो भएर पोल्ने,
दुबईको रम्बल,
खै किन आफुलाई चिन्न अनि आफैलाई सम्मान दिन नसकेका
साहिली र माहिलीहरु पनि,
केवल शरीर बनेर ,गिजोलिएर
त्यही रम्बलको प्रीय, सबैको साझा,
रातो घोडा हातमा बोकेर लडखडाएर,

मुटुको खिल बनेर बिझाउँछन।

अलि परको अँध्यारो दुबईका पहेला रम्बल,
ती सबै रित्तिएका निख्रिएका मानिसहरुझै,
कुच्चिएका राता घोडाका क्यानहरु असरल्ल
पसार्छ, पुरै *रम्बल रातै बनाएर।
रित्तै रित्तै…

*मरूभुमी

Add a Comment

Your email address will not be published. Required fields are marked *