पुष्पाञ्जलि ः झापा कोरोबारी वरिपरि
|

झापा जिल्लाको त्यो सूदुर पश्चिम दक्षिणको गाउँ ‘कोरोबारी’ ‘बास्तवमै अहिले पनि आफ्नो मौलिक नामले चिनिन्न । यो बयान नाम बिनाको त्यही गाउँको करिब चार दशक पुरानो चित्र पनि हो । कोरोबारी, टटुवामारी, तुलाचन, बाघाचौधरी, भाकुरमारी यी कुनै नाम जिल्ला सदरमुकाम चन्द्रगढी, भद्रपुर वा पूर्वपश्चिम राजमार्गले चिनेका नाम होईनन् । झापा जिल्लाको दक्षिण पश्चिम कुनामा रहेको यस गाउँको पूर्व र दक्षिणतर्फ भारतीय सिमासँग जोडिएको छ । अर्कातिर कोरोबारी नेपालको सीमा क्षेत्रमा पर्ने भारतको एउटा हाट (किनमेल गर्ने बजार) लाग्ने ठाउँ भने थियो । राजमार्गतिरको सहज सम्पर्क नहुँदा त्यस ठाउँका जनताको किनमेलको सानोतिनो गर्जो टार्ने काम गर्थ्यो उक्त कोरोबारी बजारले पनि । तल्लो वा माथ्लो बाहुन टोलको बोझ पनि हामीलाई मन परेन । झापा जिल्लाको त्यो पश्चिम दक्षिण कुना कोरोवारीस्थित भालुखोपमा पुगेका भोजपुर,खोटाङ,धनकुटा र सङ्खुवासभाका बाहुन परिवारको छेउमा राई,तामाङ,मगर र विश्वकर्मा परिवारको वस्ति थियो | वस्तिको यो संरचनाको मनोविज्ञान के थियो ? यसबारे समाजशास्त्रिय अध्ययनले के भन्छ थाहा छैन | हामीले त्यही ‘बाहुन टोल’लाई प्रकाशपुर भन्नुपर्छ भनेर केही समय प्रयास गर्यौं । यो पनि रेडियो नेपालका फर्मायसी गीत वा पत्रमित्रताका लागि मात्र भयो तर लामो समयसम्म चलेन यो प्रयास पनि । पञ्चायतकालकको केही समय यो कोरोबारी गाउँ पञ्चायत थियो भने त्यसपछि यो गौरीगञ्ज गाउँ पञ्चायतमा गाभियो । गौरिगञ्ज गाउँ पञ्चायत वार्ड नम्बर ९ त्यसपछि कोरोबारी गाउँ पञ्चायत र कोरोबारी गाविस भएको थियो । अहिले यो गौरिगञ्ज गाउँ पालिकाको वार्ड नम्बर २ का नाममा सङ्घियताको अधिकार भोगिरहेछ ।

भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन !
समयको गति र शक्ति कसैले पनि अनुमान गरेजस्तो नहुने रहेछ । माथि उल्लेख गीतका सुरुका पङ्तिहरू यी होइनन् । तर धेरै पटक आँखा छोपी नरोऊ भनि भन्नु पर्याछ ‘यो गीत सम्झदा याद आउने पङ्ति भने यिनै माथिका हुन् ।’कालीप्रसाद रिजालको रचना तथा नारायण गोपालको संगीत र स्वरमा रहेको यस गीतका पङ्तिहरू अहिले लेख्दै गरेको पुष्पाञ्जलि सन्दर्भसँग पनि मिल्छन् । जीवनको गति र नियती पनि यो गीतका यिनै पङ्तिहरू जस्तै रहेछ । न भोलि उठी कहाँ जाने थाहा नै छ, न फर्कि आउने नआउने नै यकिन हुन्छ ! तर पनि यात्रामा जानेले जानु नै पर्छ र बाटोमा रहनेले पनि आँखा छोपेर रोएर मात्र पो कहाँ हुन्छ र ? मुटुमाथि ढुङ्गा राखेर नै सही हाँस्नै पर्छ ।बाल्यकालमा हामी अलिक धेरै नै रेडियो नेपालमा बज्ने गीतहरू सुन्थ्यौं । हाम्रा मनोरन्जन हुन् वा ज्ञान र सूचनाका स्रोतहरू हुन्,ती रेडियो नेपालका विभिन्न कार्यक्रमहरू मात्र थिए । रेडियो नेपालमा बज्ने सबै कार्यक्रमहरू हामी बालबालिकाहरूका लागि अलिक सर्वसुलभ नुहने तर समाचार र बाल कार्यक्रमहरूबाट तानिंदै गएर हामीहरूमा साहित्यिक र सांगीतिक कार्यक्रमहरू प्रति पनि रुची बढ्दै गइरहेको थियो । तर स्थानीय रूपमा भने हामीमा रेडियो नेपालका गीत संगीतभन्दा पनि अर्कै प्रभाव र प्रेरणा ज्यादा थियो । प्रभाव र प्रेरणाकारूपमा रहेको पञ्चायत व्यवस्था बिरोधी जनसाँस्कृतिक संगीतको लहरको स्थानीय दबाब झेल्दै हामी रेडियो नेपालबाट बज्ने गीतहरूबाट पनि मनोरन्जन भने लिने गथ्यौँ । तर वि.सं. २०४६ को परिवर्तनपछि भने समग्र नेपाली समाजमा जनसाँस्कृतिक संगीतको लहरको स्थानीय प्रभाव र दबाब पनि कम भयो अर्थात् हराउँदै गयो । त्यसो त त्यसबेलासम्ममा हामीले पनि गाउँ छोडिसकेका थियौं । वि.सं. २०४६ को परिवर्तनले ल्याएको बहुदलिय व्यवस्थासँगै पञ्चायती व्यवस्था वा राजतन्त्रप्रतिको साँस्कृतिक प्रहार पनि घट्दै गयो भने बहुलवादी वा बहुपक्षीय साँस्कृतिक स्वतन्त्रता पनि बढ्दै गयो ।

यहाँ माथि उल्लेख गीतका सबै पङ्ति मानिसका व्यक्तिगत जीवनका आरोह र अबरोहसँग जोडिएका छन् । यो गीतका यी पङ्ति पढ्दै वा सुन्दै गर्दा मलाई अहिले मित्र पुष्पजीको सम्झना हुनेगर्छ । माथि उल्लेख सामाजिक चित्रहरूमा र अब आउने चित्रहरूमा पाठकहरूले पुष्पजीलाई पनि त्यसभित्रको एक सक्रिय पात्रका रूपमा लिनु हुने विश्वास छ । पुष्पजी अर्थात् पुष्प बरुवाल, उहाँ अहिले हामी माझ हुनुहुन्न । यसमा हाम्रो बाल्यकालको तत्ल्कालिन सामाजिक परिवेशको सामान्य सङ्केत गर्न मात्र प्रयास गरिएको हो ।
बयान – ३
पुष्पजी पारिवारिक भेटघाटका लागि २०७८ वैशाख दोस्रो हप्ता अमेरिका आउनु भएको थियो । तर दुर्भाग्य उहाँ अमेरिकाबाट न त नेपाल फर्किन पाउनु भयो न त हामीसँग अमेरिकमा नै हुनुहुन्छ ? नियतीले उहाँलाई हामीबाट सँधैका लागि खोसेर लग्यो । माथि उल्लेख गीतमा भनिए जस्तै भयो– भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होईन केही थाहा छैन !
पुष्पजी मेरो गाउँले भाइ थिए । उमेरमा त धेरै ठूलो अन्तर नहोला तर उनको दाइ मेरो पनि दाइ, कृष्ण दाइसँग विभिन्न सामाजिक गतिविधिहरूमा हामी सँग–सँगै हुने क्रममा उनको दाइको साथीजस्तै भएको कारणले पनि र मेरो भाइ गणेश पनि पुष्पजीको साथी भएकाले हामी ती दिनहरूमा दाइ–भाइ भयौँ । स्थानीय वाचनालय र खासगरी भलिबल खेलमा जोडिएर कृष्ण दाइसँगको निकटता रह्यो । त्यही दाइको निकटताले पुष्पजीलाई पनि मेरो नजिक ल्यायो ।
समय परिस्थितिले पुष्पजी भाइ वा साथी हुँदै नाताले ज्वाइँको रूपमा नजिक हुनु भयो । उमेर, मित्रता र नाताको त्रिवेणीले हामीलाई अमेरिकासम्म पछ्याइरह्यो । उमेरले भाइ वा साथीका रूपमा तँ तिमी नै भने पनि हुने भए पनि पुष्पजी ज्वाईं सा’ब वा तपाईंकै हकदार हुनुभयो । मलाई पनि यही सजिलो र मन पर्ने–ज्वाईं सा’ब । मैले कमैलाई मात्र भाइ–बहिनी वा तँ–तिमी भन्ने गरेको छु ।
झापा जिल्लाको त्यो सुदूर दक्षिण पश्चिमको त्यही कुनामा हामी हुर्कियौँ । हामीलाई सीमानाका अनगिन्ती समस्या तथा गाउँको भूगोल र वातावरणले यति धेरै सङ्गठित गर्यो कि त्यस गाउँमा को विरानो को नजिक भन्ने नै भएन । पूर्व र दक्षिणतर्फ भारतीय सिमानामा जोडिएको खेतबारीमा काम गर्दा होस् वा गोठालो–खेतालो जाँदा हामी नेपाल भारत सीमानाको दसगजा भनिने क्षेत्रहरूमा सँगै हुन्थ्यौं । स्कूल जाँदा आउँदाका खोला खोल्सी, दह र होली (पानी जम्मा हुने खेत)हरूमा पनि हामी हातेमालो गरिरहेकै हुन्थ्यौँ । स्वभाव र रुचीले मैले हाईस्कूल पढ्दैदेखि गाउँ छोडेर हिंड्न थालेँ । जिल्ला सदरमुकाम चन्द्रगढी–भद्रपुर, दमक वा विराटनगरका साहित्यिक गतिविधिहरूमा सहभागी हुन थालें । पत्र–पत्रिकाहरूमा कविता मात्र होइन, गाउँका समस्यहरूको बारेमा सम्पादकलाई चिठ्ठि वा समाचार पनि लेख्न थालेँ । पुष्पजीको यस्ता सामाग्रीप्रति गहिरो रुची हुन्थ्यो भने कतिपय सूचनाका स्रोत पनि ।
तुलाचनदेखि टटुवामारी स्कूलसम्मका बुबा आमाहरूले घरमाभन्दा पनि म गाउँ छोडेर गएको र फर्केर आएको मेरो हिसाब राख्नु हुन्थ्यो । मैले घरमा कुनै चिठ्ठी वा पत्रिका नपठाए पनि गुनासो गर्नु हुन्नथियो । ती सबै घरहरूमा विराटनगर, विरगञ्ज र काठमाण्डू बस्ताताकाका दिनहरुमा मैले सके हातैले चिठ्ठी नै लेखें वा हुलाकबाट पत्र–पत्रिका पठाएको छु । घर फर्किंदा बाटैमा पर्ने धेरै घरमा चिया खाजा पानी वा दही–मोही र फलफूल खाएर घर पुगें । गाउँबाट शहर फर्किनु पहिले बाँकि घरमा पस्थें । मलाई अहिले पनि सम्झना छ – चौलागाईं कान्छा बडाबा, चौलागाईं जेठी आमा, पुष्पजीको आमा र महेन्द्र खतिवडाको आमाले– “माइला तिमी त परदेशी भयौ, अघिल्लो पटक आउँदा त हामीलाई बोलाएनौ पनि !” भनेर गुनासो गर्नु हुन्थ्यो । पुष्पजीकै घर अगाडिको घर उहाँको ससुराली घर हुनु पहिले नै हाम्रो दिदी भिनाजुको घर हो । लक्ष्मी भान्जी र हरि दाहाल (भिनाजूका भान्जा)सँग सामाजिक-साँस्कृतिक चासोका विषयमा छलफल हुन्थ्यो । हाल नेकपा एमालेका नेता तथा मन्त्री देवेन्द्र दाहाल स्थानीय टटुवामारीस्थित आदर्श निमाविको शिक्षक भएर काम गर्दाको समयमा यही दिदी भिनाजुको घरमा बसेका थिए । केदारमणि भिनाजु पनि अब हामीमाझ हुनुहुन्न | तत्कालिन समयमा गाउँमा राजनीतिकरुपमा कमैले चिनेका दाहाललाई अहिले पनि राम्रो शिक्षकका रूपमा यस गाउँले सम्झिन्छ ।
पञ्चायतकालको उतरार्थतिरको त्यस समयमा गाउँमा विभिन्न साँस्कृतिक (जनवादी) गतिविधिहरू हुने गर्थे । हामी धेरैलाई थाहा नै थिएन कुन साँस्कृतिक मात्र हो वा कुन जनसाँस्कृतिक पनि हो र कुन प्रतिगामी वा पञ्चायती पनि हो ?! वि.सं. २०४०–४१ सालताका विद्यालयबाट तत्कालीन स्वतन्त्र विद्यार्थी मण्डलको दमकमा भएको कुनै एक सम्मलेनमा म पनि सहभागी भएको छु । विद्यालयका तर्फबाट मसमेत केही साथीहरूलाई दमकमा विद्यार्थीहरूको एउटा कार्यक्रम छ भनेर पठाइएको थियो । त्यसबेलाका केही चिने जानेका पञ्च नेताहरू र केही विद्यार्थी नेताहरूले गरेको भाषण र सामुहिक भोजन सम्झनामा छन् अहिले । भास्कर भद्रा, देवी वर्मा, राम थापा, नकुल काजी, एसएल शर्मा, हरि भण्डारी,प्रकाश बुढाथोकी लगयात ‘नोटिस’मा परेका नाम थिए ।मलाई लाग्छ, यस कार्यक्रममा अहिलेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सुरेन्द्र रञ्जितकारलगायतका केही विद्यार्थी नेताहरू पनि सहभागी भएका थिए । यस सम्मेलनबाट फर्केर गएपछि हामीले पढ्दै गरेको गौरीगञ्ज स्कूलमा पनि विद्यार्थीहरूको सङ्गठन बनाउनुपर्छ भनेर चर्चा हुन थालेपछि भने मैले पनि साथीहरूबाट थाहा पाएको थिएँ, त्यो त पञ्चायत समर्थकहरूको सम्मेलन पो रहेछ ! त्यसलाई हामीले त्यसभन्दा अगाडि बढाएनौं । तर हाम्रा त्यसभन्दा पहिलेका स्थानीय तहमा हुने गरेका जनसाँस्कृतिक गतिविधिहरू भने अरु केही वर्षहरूसम्म नियमित नै रहे ।स्थानीय स्तरमा हामीभन्दा पहिलेका अग्रजहरूले सामाजिक र साँस्कृतिक रूपमा जुन बाटो हिंड्नु भएको थियो, शुरुमा हामीले पनि उहाँहरूसँगै हातेमालो गर्यौं । समयसँगै उहाँहरूका रुची र प्राथमिकताहरू बदलिए । कसैले गाउँ छोड्नु भयो भने कसैको अन्य सामाजिक जिम्वेवारीहरू पनि थपिए । त्यसपछि भने त्यसलाई हामीले आफ्नै तरिकाले पनि केही वर्षसम्म पछ्याउने प्रयास गरेका थियौँ । विशेषगरी दशैँ तिहार हाम्रा लागि त्यस्ता सार्वजनिक अवसर हुन्थे –जहाँ हामी नाच गान, नाटकलगायतका साँस्कृतिक कार्यक्रम गथ्यौँ । देउसी भैलो त नियमित नै हुन्थे । स्थानीय सतार समुदायले दशैँ तिहारको अबसर पारेर गर्ने मेला र नाच गान हाम्राका लागि थप आकर्षणका विषय हुन्थे । राजबंशी समुदायका केही चाडवाड र खानपानको आफ्नै मौलिकता थियो । राजवंशी समुदायको अतिथि सत्कार, घुङ्नी मुरी वा मुराई-भुजा, भक्का आदीले अहिले पनि पुष्पजीलागायतका साथीहरूको सम्झना गराउँछन् । यो समुदायले मनाउने कुनै एक पर्वमा हिलोमा कुस्ती खेल्ने र बाँसको टुप्पोमा बाँधेको नरिबल झार्ने खेल हामीले छुटाउने कुरै हुन्थेन ।यस गाउँमा स्थानीय समुदायका पर्वहरूको तुलनामा हिन्दु संस्कृतिसँग जोडिएका पर्वहरूको प्रभाव सार्वजनिक रूपमा कमै हुन्थ्यो । हाम्रा अघिल्लो पुस्ताका अग्रजहरूले दशैँ तिहारमा भने पारिवारिक रूपमा सनातन संस्कृतिसँग सम्बन्धित गतिविधिहरू गर्नुहुन्थ्यो । तर गाउँमा स्थानीय सतार र राजवंशी समुदायका चाडबाडको प्रभाव, सार्वजनिकीकरण र महत्व हुन्थ्यो । हाम्रा लागि उत्साहित गर्ने मेला पर्व,हाटबजार लाग्ने र आकर्षक चाड स्थानीय समुदायका नै हुन्थे |बयान– ५
जनसाँस्कृतिक गतिविधिहरूका अतिरिक्त स्थानीय अग्रजहरू कालुराम दाइ, महेश दाइ, नारायण काका, बुध्दि तामाङ्ग, बोधराज सर, योगेन्द्र राजवंशी, ड्राइभर दाइ ( हरिबहादुर थापा), कृष्ण बरुवाललगायत अग्रजहरूको पहलमा टटुवामरी स्कूलमा वाचनालाय स्थापना भयो । साहित्यिक कार्यक्रमका साथै पुस्तक पत्रिकाहरू जम्मा हुन थाले । स्थानीयस्तरमा भिते पत्रिका प्रकाशित हुन थाल्यो । महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, भिमनिधी तिवारी, मोदनाथ प्रश्रित, शम्भु राई त्यसै समयमा चिनिएका वा सुनिएका नाम हुन् ।
जनताका गीत भाग १ –२ , संजय थापाको खुइते कडेरिया, मोदनाथ प्रश्रीतको पचास रुपियाँको तमसुक, देवासुर संग्राम र गोल घरको सन्देश र अन्य केही समसामयिक पत्रिकाहरू पुग्थे गाउँमा । हामीलाई हेडसर अर्थात् बोधराज नेपाल, ड्राइभर दाइ वा ड्राइभर काका अर्थात हरिबहादुर थापा र खम्बु दाइ अर्थात् कालुराम राईहरूले पनि निर्देशन गर्नु हुन्थ्यो । उहाँहरूको प्रत्यक्ष निगरानी र निर्देशनका अतिरिक्त उहाँहरूको अनुपस्थितिमा पनि हामीले केही साल उहाँहरूको प्रेरणालई सम्झेर दशैँ–तिहारमा साँस्कृतिक कार्यक्रमहरू गर्न प्रयास गर्यौं । यस मेसोमा पुष्पजीको दाइ कृष्ण बरुवाल, नारायण काका, महेश दाइ, बिनोद दाइ, कुमार काका, पशुपति खबास, होमनाथ राई, बिष्णु नेउपाने, परशु नेउपाने, भोला खतिवडा, मिन खतिवडा, खड्ग भुजेल, देवीप्रसाद डोटेल, गोपाल डोटेल, नारायणसिंह वान्तवा, इन्द्र नेपाल, महेन्द्र बस्नेत, होम सुबेदी, पार्थ खबासलगायतले पनि सहयोग गर्नुहुन्थ्यो । भाइ बहिनीहरू गणेश भण्डारी,शारदा भण्डारी,उपासना भण्डारी, शालिकराम भट्टराई,धर्मकुमारी नेउपाने, वेदनाथ न्यौपाने, प्रेम खड्का र युवराज खड्का, खेमकुमारी आचार्य, शकुन्तला चौंलागाईं, गंगा सुबेदी, कर्ण राईहरूको उत्साहजनक सहभागिता स्मरणीय छन् । यस्ता कतिपय गतिविधिहरूमा आफूभन्दा कम उमेरका भाइ बहिनीहरूलाई सङ्गठित गर्ने र अनुशाशितरुपमा कार्यक्रमहरूमा सहभागी गराउन पुष्पजीको सहयोगी भूमिका हुन्थ्यो । यस्ता कार्यक्रमहरूका लागि स्थानीय समुदायका अन्य सबै घर परिवारहरूले पनि उतिकै रुची लिने गर्नुहुन्थ्यो । यो समय विसं ३८–४५ बीचको थियो । यसभन्दा पहिलेका गतिधिहरूमा हाम्रो चासो र सहभागिता सकृयतापूर्वक भएन । त्यसबेलाका सन्दर्भाहरूका बारेमा खम्बु दाइ वा अन्य अग्रजहरूले विभिन्न सन्दर्भहरूमा चर्चा गर्नु भएको छ ।

हामीलाई त्यस समयमा केही द्विविधा पनि थियो – सामन्त, शोषक, विस्तारवादी, सम्राज्यवादी, विदेशि, पुँजिपति आदि कुराहारूको मापदण्ड र वर्गिकरण के हो ? के हो घरदेश ? कहाँ हो परदेश ? इण्डिया वा मलाया–हङ्कङ्गको लाहुरे, फकलैण्डको युध्द, हिरोसिमामा अमेरिकी बम गोलाले गरेको नरसंहार, जाँड रक्सी र चुरोट, जुवा–तास वा अन्य सामाजिक कुलत यस्ता कतिपय बनिबनाउ नारा– शब्दहरूका बारेमा हामी बोल्थ्यौँ र लेख्थ्यौँ पनि । त्यस समयमा यस्ता द्विविधायुक्त मेरा कतिपय कविता र लेखहरू पनि प्रकाशित भएका छन् । परदेशी दाइ, साम्राज्यवादी, दलाल वा सामन्त आदि विशेषणहरूको प्रयोग जानेरभन्दा नजानेर नै बढि भएको हुनुपर्छ ।माथि पनि चर्चा भएको छ, मैले अलिक पहिले नै गाउँ छोडें । रहर वा त्रासमा नै मैले एसएलसी दिएको भोलिपल्ट नै गाउँ छोडेको थिएँ । यो सम्बन्धमा अर्को कुनै सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक हुन्छ,गरौंला । गाउँमा त्यसभन्दा पहिले पनि अलिक कम नै बसें । स्थानीय आमा बुबाहरू भन्नुहुन्थ्यो–तिमी त परदेशी भयौ । भाइहरूलाई पनि बाटो देखाउनु है । बुबा आमाको प्रभाव प्रेरणा वा अन्य कारणले नै हुनुपर्छ, पुष्पजीले पनि वि.सं. २०४३ सालमा मेरो डायरीमा अटो लेख्नु भयो– हस्ताक्षरसहितको विचार सङ्कलन गर्न प्रयास गरेको थिएँ मैले त्यसबेलादेखि नै । पुष्पजीले लेख्नु भएको त्यस डायरीमा त्यस्ता केही आक्रोशपूर्ण अभिव्यक्ति र विशेषण तथा केही भावानात्मक दृष्टिकोण, केही स्वभाविक सद्भाव र सन्देश पनि छन् ।
बयान– ६
गाउँबाट कलेज पढ्न शहर जानु हुने दाइ–दिदी र काकाहरूको आफ्नै समय तालिका हुन्थ्यो । दशैँ–तिहार विदामा उहाँहरू घर फर्किंदा गाउँको वातावरण नै रमाइलो हुन्थ्यो । प्रायः घर आँगन जोडिएकै घर वा बाटोको आम्ने साम्नेका घर भएको पुग नपुग १ सय परिवार रहेको त्यस बस्तिमा हामी हुर्कियौं । हाइस्कूल सकेपछि भने हाम्रो गाउँले जीवन छिन्न भिन्न भएर धेरैतिर छरियो । पुष्पजीले केही वर्ष धनकुटा बसेर पढ्नुभयो । दशैँ तिहार वा आवश्यकतानुसार गाउँ आवतजावत गर्दा मात्र हाम्रो भेट र भलाकुसारीका अबसर हुनथाले । केही वर्ष विराटनगर र विरगंजमा भौतारिएपछि म पनि काठमाण्डू पसें । त्यसपछि हामी फेरि काठमाण्डूमा भेट भयौँ । काठमाण्डुमा नै नयाँ नाता पनि जोडयो |
काठमाण्डू त त्यसबेलाको हाम्रो धेरै टाढाको परदेश थियो । त्यस परदेशमा व्यक्तिगत, पारिवारिक, सामाजिक, राजनितिक, व्यवशायिक र प्राज्ञिक जीवनको पथलाई डोर्याउन सजिलो थिएन । तर पुष्पजीले परदेश मानिएको काठमाण्डूमा पनि सामाजिक पहिचान बनाउन लामो समय लगाउनु भएन । काठमाण्डूको परदेश पार गरेर हामी सात समुद्रपारीको अमेरिकामा स–परिवार आइपुगेका थियौँ । अमेरिकामा भने पुष्पजी स्थायी रूपमा बस्नु भएन यद्यपी आउँदा जाँदा सामाजिक र राजनीतिक जीवनका बारेमा चासो र चर्चा हुने गर्थयो । पुष्पजी नेपालको राजनीतिक र सामाजिक गतिविधिहरूमा आफ्नो प्रभाव र पहिचान बढाउँदै हुनुहुन्थ्यो । छोराहरूको रेखदेखमा न्यूयोर्कमा रहनु हुने खेमकुमारी भान्जीसँग न्यूयोर्क जाँदा आउँदाको भेटघाटका साथै फोन सम्वादमा पनि पुष्पजीको प्राथमिकता र व्यस्तताको बारेमा छलफल हुने गर्थ्यो । न्यूयोर्कमा भाइहरू हिमाल(गणेश) र मोहनको व्यावशायिक कौशल पनि स्थापित हुँदै गएको थियो-छ । पहिलो वर्षको विश्वव्यापी कोरोनाको महामारी सकिंदै थियो । हामीले केही वर्ष पहिले नै प्रकाशित गर्न तैयार गरेको हेडसर अर्थात बोधराज नेपाल कृत कृति ‘विविध पल्लवावली’ पनि महामारीकै कारण तत्काल प्रकाशित गर्न सकेनौं । त्यसैबीचमा हेड सर पनि हामीलाई छोडेर जानु भयो । उहाँको निधन २०७७ असार १८ मा भयो । निधनको केही महिनापछि (२०७७ मङ्सिर) मा मात्र हामीले हेड सरको किताब प्रकाशित गर्न सक्यौं भने यसको सार्वाजनिक लोकार्पण २०७८ फागुन १४ गते मात्र झापामा एक कार्यक्रमबीच हुनसक्यो ।

नेपालमा हुनु भएका पुष्पजीसँग पछिल्लो पटक हेडसरको किताब प्रकाशित भएको विषयामा केही कुराकानी भएको थियो । नोभेम्बर २४, २०२० मा भएको त्यस सम्वादमा हामीले हेडसर अर्थात बोधराज नेपाल कृत कृति ‘विविध पल्लवावली’ काठमाण्डूबाट झापा कोरोबारीस्थित स्कूलमा लैजाने विषयमा चर्चा गरेका थियौं । त्यस सन्दर्भमा पुष्पजीले राम्रो काम भएको र त्यसका लागि आफूलाई पनि सम्झेकोमा खुशी व्यक्त गर्दै सकेको सहयोग गर्न प्रयास गर्छु भन्नु भएको थियो । तर तत्कालको परिस्थिति त्यति राम्रो र सहज थिएन भने लगतै महामारीको अर्को लहर शुरू भयो ।यसैबीच मैले उहाँलाई हेडसरको किताब झापा पुगेको जानकारी दिएँ– ‘पुष्पजी, तपाईंले प्रयास गर्दै हुनुहुन्थ्यो होला किताब झापा पठाउन । प्रेसवाला साथीहरूले बसको कनेक्शन मिलाएर झापा कोरोबारी नै पठाइदिनु भयो । किताब कोरोबारी पुग्यो । अब अनुकूल हुँदा कुनै सार्वजनिक कार्यक्रममा पुस्तक पनि सार्वजनिकरण अर्थात् बिमोचन गर्नका लागि प्रयास गर्नुहोला । त्यसको लागि स्कूल र स्थानीय चासोमा सल्लाह गरेर काम गर्नु पर्ने हुन्छ । सकेको प्रयास गर्नु हुने विश्वासछ ।’ तर केही समयसम्म उहाँको रेस्पोन्स नआएपछि थाहा भयो–पुष्पजी न्यूयोर्क आउनु भएको छ । पारिवारिक भेटघाटका क्रममा अमेरिका आइपुग्नु भएका पुष्पजी बिरामी हुनुहुन्छ भन्ने थाहा पाएपछि बुझ्न प्रयास गर्दा उहाँको अवस्था गम्भीर रहेको थाहा भयो । उहाँलाई कोभीड –१९ महामारीले समातेछ । भान्जी खेमकुमारीसँग ‘धैर्यता कायम राख्नुहोला’ भन्नुबाहेक धेरै कुराकानी गर्न सकिएन । भान्जीसँग धैर्यता कायम राख्न र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुको विकल्प पनि थिएन । भाइहरूले महामारीका समयमा दाजुका लागि गरेका औषधि विज्ञान र आध्यात्मिक प्रयत्नले पनि नियतीको लेखा सच्याउन सकेनन् । भाइहरूले खबर गरे– ‘दाजुले हामीलाई सधैंका लागि छोडेर जानुभयो।’ कोभीड –१९, यस महामारीले छोडेका अनगिन्ति यिनै अविश्वसनीय दुःखद खबरहरूले पुष्पजीलाई पनि हामीबाट खोसेर लग्यो ।अन्त्यमा
कतिपय दुःखद घटनाहरू भित्र पनि केही अनौठा, अदृश्य वा शक्तिशाली संयोगहरू पनि मिसिएर आउने रहेछन् । पुष्पजीको जीवनको दुःखद् घटनासँग जोडिएर आउने अर्को संयोग थियो– उमेरले ८० वर्ष पुग्न लाग्नु भएकी आमाको काखमा उहाँ कसरी कुन शक्ति र संकल्पले आईपुग्नु भयो होला ? यति ठूलो विश्वव्यापी महामारी नाघेर पनि पुष्पजीले वयोवृध्द आमा, जीवन संगिनी खेमकुमारी, नाबालक छोराहरू र भाइहरू हिमाल(गणेश) र मोहनको परिवारको काखमा आएर बाँकी जीवनबाट संधैका लागि विश्राम लिनु भयो ! यो अनौठो संयोग र स्मृति मात्र बाँकी छन् अब – पुष्पाञ्जलि पुष्पजी ।
भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन !

थाहा छैन, हिजोसम्म यो गीत सम्झनुका केही कारण थिए वा थिएनन् होला ? यसको सरल उतर वा कुनै घटना दुर्घटनाको उदाहरण योग्य सम्झना र संयोग पनि छैनन् । तर यो गीत मनको कुनै कुनामा बसेको थियो । अहिले यही गीत सम्झदा भने पुष्पजीको सम्झना आउँछ । पुष्पजीको जीवनको अविरल यात्रा प्रवाहको सम्झना हुन्छ । खेमकुमारी भान्जीको व्यक्तिगत र पारिवारिक जीवन तथा सामाजिक, राजनीतिक र प्रवासी जीवनको अविचलित यात्राको भरोसाको सम्झना हुन्छ । भन्न पर्ने र सम्झन पर्ने अगाडि जानेका लागि हो कि पछाडि रहनेका लागि हो ? यस्तो लाग्छ– भन्न पर्ने खेमकुमारी भान्जीका लागि नै हो, छोराहरूको लागि हो । आमाका लागि र बाँकी हामी सबैका लागि हो–
आँखा छोपी नरोउ भनि भन्नु पर्याछ
मुटुमाथि ढुँगा राखी हास्नु पर्याछ ।
