निसमालोचना
सिर्जना र समालोचना एक–अर्काका पूरक पक्ष हुन्। सिर्जनाविना समालोचनाको अस्तित्व रहँदैन, तर सिर्जनालाई पनि समालोचनाको उत्तिकै आवश्यकता हुन्छ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन सक्दैन, किनकि समालोचनाले नै कृतिको सार्थक मूल्याङ्कन गर्दै त्यसलाई प्रकाशमा ल्याउने कार्य गर्दछ।
आजकल समालोचनाका नाममा पाठकीय टिप्पणी, सतही अध्ययन, केवल भावपक्षको उल्लेख, अन्धप्रशंसा तथा कृतिभन्दा कृतिकारलाई बढी प्राथमिकता दिने प्रवृत्ति व्यापक रूपमा देखिन्छ। अझ अभिनन्दन ग्रन्थहरूको नाममा व्यक्तिस्तुति र प्रशस्ति लेखनको बाहुल्य पाइन्छ। यसले कृतिको यथार्थ मूल्याङ्कन गर्न नसकी समालोचनालाई सही दिशातर्फ उन्मुख गराउन असफल बनाउँछ। समालोचनामा ‘कृतिमा के छ ?’ मात्र होइन, ‘कृति कसरी निर्माण भएको छ?’ भन्ने पक्षलाई समेत उजागर गरिनुपर्छ। सान्दर्भिकता, सङ्केत, शैली, संरचना तथा भाषिक पक्षको विश्लेषण आवश्यक हुन्छ। समालोचकले गुणदर्शनसँगै दोषदर्शन पनि निष्पक्ष रूपमा प्रस्तुत गर्न सक्नुपर्छ।
समालोचनालाई पनि अहिले सिर्जनात्मक साहित्य नै मानिन्छ। यसमा पनि लेखकको विषयज्ञान, अनुभव, दार्शनिकता, संवेदना, सैद्धान्तिक ज्ञान, लेखन प्रवाह तथा कलात्मक अनुभूति हुनुपर्छ। कुनै कृति पढेर त्यसभित्रको विषयवस्तुको गहिराइ, संवेदना पक्ष, बौद्धिक पक्ष, कलापक्ष आदिलाई समेटेर आफ्नो स्वतन्त्र लेखन गर्ने गरिन्छ। समालोचना अब निबन्धपरक हुँदैजाँदैछ। रामकृष्ण शर्मा, बासुदेव त्रिपाठी, कृष्ण गौतम, गोविन्दराज भट्टराई, सञ्जीव उप्रेती आदिका समालोचनाले निबन्धात्मक स्वरूप लिएर देखा परेका हुन्छन्। तिनलाई पनि अब निसमालोचनाको कोटीमा राख्न सकिन्छ।
भारतीय नेपाली समालोचनाको सन्दर्भमा सन् १९२२ लाई प्रारम्भिक चरण मान्न सकिन्छ। यस वर्ष सूर्यविक्रम ज्ञवालीको ‘नैवेद्य’ शीर्षक लेख बनारसबाट प्रकाशित ‘जन्मभूमि’ पत्रिकामा प्रकाशित भएको थियो, जसलाई प्रारम्भिक समालोचनात्मक लेखका रूपमा लिन सकिन्छ। त्यसपछि सन् १९३७ मा मणिसिंह गुरुङको ‘भ्रमर’ समालोचना उल्लेखनीय मानिन्छ। यस क्रमलाई अघि बढाउँदै पुण्यलाल शर्मा, रामदत्त शर्मा, इन्द्रबहादुर राई, गुमानसिंह चाम्लिङ, शरद् छेत्री आदिका योगदानले भारतीय नेपाली समालोचनालाई परिष्कृत र समृद्ध बनाएको छ। दार्जिलिङ क्षेत्रमा समालोचना परम्परा सशक्त देखिन्छ भने असममा पनि यसको क्रमशः विकास भइरहेको पाइन्छ।
असमेली नेपाली समालोचना भने अपेक्षाकृत कम विकसित देखिन्छ, यद्यपि यसलाई पूर्ण रूपमा निराशाजनक भन्न सकिँदैन। सन् २०२१ मा प्रकाशित ‘भारतीय नेपाली समालोचक सन्दर्भिका’मा असम तथा पूर्वाञ्चलका करिब ४४–४५ जना समालोचकहरूको उल्लेख पाइन्छ। तर सबैका समालोचनात्मक कृतिहरू उच्चस्तरीय छैनन्; कतिपय लेखहरू सतही अध्ययनमा सीमित देखिन्छन्। अझै पनि पुस्तकका भूमिका वा सामान्य प्रतिक्रियालाई समालोचना ठान्ने प्रवृत्ति विद्यमान छ। तथापि ज्ञानबहादुर छेत्री, विद्यापति दाहाल, इन्दुप्रभा देवी, रूद्र बराल आदिका समालोचना लेखन गुणात्मक र पद्धतिबद्ध छन्।
असममा सिर्जनात्मक कृतिहरूको प्रकाशन सन्तोषजनक रूपमा भइरहेको छ, तर तिनको गहन मूल्याङ्कन गर्ने समालोचकहरूको अभाव खड्किएको छ। धेरै उत्कृष्ट कृतिहरू र सर्जकहरू उचित मूल्याङ्कनको अभावमा ओझेलमा परिरहेका छन्। यद्यपि नयाँ पुस्ताका समालोचकहरू-जस्तै अविकेशर शर्मा, नैना अधिकारी, लक्ष्मण अधिकारी, कृष्णनील कार्की आदिको आगमनले आशाको किरण देखाएको छ। छविलाल उपाध्याय जस्ता अध्येताहरूको उपस्थिति पनि उल्लेखनीय छ।
समालोचनाका पद्धति र प्रवृत्तिहरू विविध छन्। परम्परागत रूपमा यथार्थवादी, जीवनीपरक, सैद्धान्तिक, ऐतिहासिक, मनोविश्लेषणात्मक, प्रगतिवादी, मिथकीय, शैलीवैज्ञानिक तथा संरचनावादी समालोचना प्रचलित छन्।
वर्तमान समयमा विश्व साहित्यमा समालोचनाका नयाँ–नयाँ पद्धति र प्रवृत्तिहरू विकास भइरहेका छन्। उत्तरआधुनिक, उत्तरसंरचनावादी, विनिर्माणवादी, सांस्कृतिक, पाठकेन्द्रित, पाठनिष्ठ, लिङ्गीय, उपनिवेशोत्तर, साइबर तथा अन्तरविषयक समालोचना जस्ता धाराहरू व्यापक रूपमा प्रयोगमा छन्। समालोचना लेखनमा रुचि राख्नेहरूले आफ्नो अध्ययन क्षेत्रलाई फराकिलो बनाउँदै यी नवीन अवधारणाहरूको गहिरो अध्ययन गर्न आवश्यक छ। यस सन्दर्भमा कृष्ण गौतम, सञ्जीव उप्रेती, गोविन्दराज भट्टराई, घनश्याम नेपाल आदिका कृतिहरू अध्ययनयोग्य छन्।
समालोचनाको क्षेत्रमा अझै पनि रामकृष्ण शर्मा, यदुनाथ खनाल, इन्द्रबहादुर राई, कुमार प्रधान, बासुदेव त्रिपाठी, अभि सुवेदी, केशवप्रसाद उपाध्याय, कृष्णचन्द्रसिंह प्रधान, गोविन्दराज भट्टराई, कृष्ण गौतम, घनश्याम नेपाल, कुमारप्रसाद कोइराला जस्ता गम्भीर र गहिरा चिन्तनशील समालोचकहरूको आवश्यकता अनुभव गरिन्छ। विषयकेन्द्रित, अन्तरविषयक तथा तुलनात्मक अध्ययनलाई अझ सुदृढ बनाउनुपर्ने देखिन्छ।
समालोचना लेखन सजिलो कार्य होइन। यसका लागि निरन्तर अध्ययन, गहिरो चिन्तन, लेखन अभ्यास, विश्लेषण क्षमता तथा संवेदनशील दृष्टिकोण आवश्यक हुन्छ। समालोचकले विभिन्न सैद्धान्तिक मान्यताहरूलाई आधार बनाएर कृतिको मूल्याङ्कन गर्नुपर्छ। समालोचनामा मूल्यनिर्णय, पाठविश्लेषण, सैद्धान्तिकीकरण, शोधपरकता, प्रामाणिकता र तर्कसंगत निष्कर्ष अनिवार्य हुन्छन्। विषय चयनदेखि निष्कर्षसम्मको सम्पूर्ण संरचना तार्किक र सुसम्बद्ध हुनुपर्छ। साथै, सन्दर्भ सामग्रीहरूको उचित उल्लेख पनि गरिनुपर्छ।
अब साहित्यमा धेरै–धेरै परिवर्तन आइरहेका छन्। नयाँ–नयाँ साहित्यिक विधा, उपविधा, सिद्धान्त, साहित्यिक शब्दनिर्माण आदि प्रवर्तन भइरहेका छन्। तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ यात्रासाहित्यलाई पनि उपसर्ग थपेर ‘नियात्रा’ बनाइदिए। त्यसपछि ‘नियात्रा’ शब्द सामान्य रूपमा चल्न थाल्यो। त्यही नौलोपन ल्याउने जोसमा नयाँ–नयाँ उपविधा जन्मन थालेका हुन्। रामलाल अधिकारीले आफ्ना संस्मरणको सङ्ग्रहलाई ‘निसंस्मरण’ बनाए। अब ‘निसमालोचना’ पनि चल्न थालेको छ।
‘नि’ शब्दले निबन्ध बुझिने हुनाले निबन्धपरक समालोचनालाई ‘निसमालोचना’ भनिएको हो। आलोचना, समीक्षा, विवेचना, अनुशीलन, परिशीलन, परख, अध्ययन, अधीति आदि शब्दले समालोचनाकै अर्थपरिधिमा पर्दछन्। यी जम्मै नै समालोचनाका हाँगा–बिँगा हुन्। अब यसै क्रममा निसमालोचना पनि देखा परेको छ।
अहिले समालोचनाका नाममा कृति निरूपण, पुस्तक समीक्षा, पाठक प्रतिक्रिया आदि पनि फस्टाएका छन्। हलुका, सतही खालका प्रशंसापरक लेखलाई कतिपय लेखकले समालोचनाको मोहोर लगाइदिनु पनि उचित होइन। अहिले कम्प्युटर र इन्टरनेट प्रविधिले साहित्य अध्ययन पछाडि पार्दैछ। अब साहित्य मोबाइल र कम्प्युटरमा मात्र लेखिने र पढिने भएको छ। कुनै एउटा विषय टिप्यो, छोटोमा लेख्यो, सकियो। लेख्नेले पनि छोटो लेख्ने र पढ्नेले पनि छोटोमा पढ्ने समय आएको छ। अब गम्भीर साहित्य, सैद्धान्तिक र शास्त्रीय समालोचना लेख्ने परम्परा हट्न थालेको छ। अब ‘साहित्य पोस्ट’, ‘समकालीन साहित्य’, ‘नेपाली पोष्ट’ जस्ता अनलाइन साहित्यिक पत्रिकाहरू विकसित भएका छन्।

