दुई गीत
गणेश घिमिरे ‘मार्मिक’
मेरो देश खोज्दै जाँदा कहाँ कहाँ पुगें
जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ पुगें
नेपालीको ढुक्ढुकीमा मेरै देश चुमें
देश भन्नु संस्कृति र संस्कारमा बाँच्दोरहेछ
जहाँ जाऊँ आफ्नै देश आँखाभित्र नाच्दोरहेछ
भूगोलको घेराभित्र देश थुन्न सकिन्छ र?
माटो, मुटु एकै भए देश त्यहीँ देखिन्न र?
एकतामा, विश्वासमा समृद्धिको फूल फुल्छ
समानताको भावसँगै एकताको बाला झुल्छ
जहाँ जाऊँ उतै जान्छ नेपालीको आफ्नोपन
मनभित्र पनि बाँचे कहाँ मर्छ देश भन।
०००
गीत–२
जहाँ हिमाल हाँस्छन् त्यहाँ मलाई खोज्नू
जहाँ गुराँस फुल्छन् त्यहाँ मलाई खोज्नू
धेरै छन् जात–जाति, मेरो नेपाल एउटै
भिन्नै छ भेष, भाषा, सद्भाव, प्यार एउटै
झरना, नदी र ताल भेटे मलाई सोध्नू
डाँफे, मुनाल नाच्ने वनमा मलाई खोज्नू
मन्दिर, धाम, मस्जिद्, गुरुद्वार, चर्च, गुम्बा
स्याब्रु र चण्डी, झिझिया, लाखे र भैलो, देउडा
जहाँसुकै म हुन्छु, सम्झी मलाई सोध्नू
जहाँ चन्द्र–सूर्य झण्डा, त्यहाँ मलाई खोज्नू।

