देशवासीका नाममा सम्बोधन !

 

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारबाट देशवासीका नाममा बक्स भएको सन्देशको पूर्ण विवरण

प्यारा देशवासीहरू!

देशमा अहिले जताततै सङ्कट देखापरेको कुरा हामीले महसुस गरिबक्सेका छौँ। हाम्रो जस्तो कृषिप्रधान देशमा अहिले किसानहरू खेतीपातीमै व्यस्त हुनु वाञ्छनीय हुन्छ। देशका विभिन्न भूभागहरू बाढीपहिरोले प्रभावित भएका छन्। सडक यातायात मात्र होइन, हवाई सवारी पनि कठिन छ। यो अवस्थामा पैदल यात्राको के कुरा गर्नुपर्छ र?

बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट एकीकरण गरिबक्सेको यो मुलुकमा शाहवंशीय राजतन्त्र जनचाहनाबमोजिम देशमा शान्ति पुनःस्थापना गर्नका लागि पुनः अगाडि सर्न बाध्य भएको छ। यो बाध्यतालाई समग्र देशवासी, विदेशी मित्र, सबै राजनीतिक दल र राष्ट्रसेवकहरूले बुझिदिने नै छन्।

प्यारा मेरा देशवासीहरू!

विक्रम संवत् २०६३ साल वैशाख ११ गते ‘नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता’ नै भएको र ‘नेपालको सार्वभौम सत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको’ तथ्यलाई हृदयङ्गम गर्दै जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनचाहना एवं जारी आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा हामीले हाम्रो शाहवंशीय राजसत्ता छाडिबक्सेका थियौँ। हाम्रा बडामहारानी कोमल तथा पुत्ररत्न पारसको इच्छा नहुँदानहुँदै पनि हामीबाट देशमा दिगो शान्तिका लागि देखाइएको त्यो समर्पणमा हाम्रै परममित्रहरू र सल्लाहकारहरूको पनि असन्तोष रहेको दुनियाँलाई जगजाहेर छ।

यसैबीच माओवादीसँगको शान्ति सम्झौता, हतियार व्यवस्थापन र अन्तरिम सरकार गठनजस्ता कार्य भइरहँदारहँदै पनि हाम्रा परम अनुकम्पाले हामीलाई विश्वकै हिन्दू राजाका रूपमा नेपालमा एकछत्र राज गर्न दबाब आइरह्यो। छिमेकी मुलुकका केही दाजुभाइ र सन्तमहन्त तथा हामीबाटै पालितपोषित भएकाहरूबाट तराई-मधेशको घाउमा नुनचुक छर्कने र घिउ थपेर आगो सल्काउने काम भइरह्यो।

प्रजातन्त्र दिवसमा हाम्रा निजी सञ्चारमाध्यममा दुई जना ऐरेगैरे नेता भनाउँदाहरूले प्रजाको गणतन्त्रको वकालत गर्दै अन्तर्वार्ताका लागि तयार भएपछि हामीले नै त्यसो गर्नुभन्दा मेलमिलाप र सबैको सहअस्तित्वको रक्षाका लागि हामीबाट सन्देश हुकुम भएको पनि धेरै भएको छैन।

हामीले हाम्रा सहयोगीका बिहेभोज र पास्नीमा जाँदाआउँदादेखि लिएर दक्षिणकालीमा भाकल गर्न जाँदा पनि हामीलाई कसैबाट र कतैबाट कुनै पनि अवरोध, असुरक्षा वा अन्य खतरा महसुस भएन। जनचाहना र जनहितअनुसार नै दक्षिणकाली माताले पञ्चबली ग्रहण गरेपछि हाम्रो स्वागतमा हाम्रो शाही सेनाले गरेको पुरानै राष्ट्रिय गानको सलामीपछि हामीमा पुनः पुनर्जीवन र राजकीय सत्ता प्राप्त भएको महसुस हामीबाट गरिबक्सेका छौँ। हिजो हामीले व्यर्थैमा खोपीमा बसेर दुःखका दिन गन्ती गरेछौँ भनेर आज पश्चात्ताप भएको छ।

प्यारा देशवासीहरू!

गत साल नै यो साल गर्छु भनेको संविधानसभाको निर्वाचन पनि समयमा गर्न नसक्ने गरी गरिएका यी हलचल र चलखेललाई पुनःस्थापित संसद्, सरकार र अन्तरिम सरकारले पनि बुझ्न, चिन्न र चिर्न नसकेको अहिलेको सरकार वा ‘आठदलीय गठबन्धन’ले पनि हाम्रा यी कुनै गतिविधिमा नियन्त्रण गर्न नसक्नु हाम्रा लागि खपिनसक्नु दुःख भएको छ। त्यसैले हामीले यो दुःखका साथ बाध्य भएर यो कदम चालिबक्सन गइरहेका छौँ।

वर्तमान अन्तरिम सरकारलाई थप जिम्मेवारी दिएर मुलुकलाई अझै बर्बादीतिर जान दिनु जनचाहनाविपरीत हुने कुरा हाम्रो राजकीय स्वप्रेरणाबाट हृदयङ्गम भइसकेकाले आजको यही घोषणाले हामीबाट यो अन्तरिम सरकार बर्खास्त भएको घोषणा गरिबक्सेका छौँ।

यसै घोषणाबाट अन्तरिम सरकारमा रहेका समयमा संविधानसभाको चुनाव गर्न नसक्ने र गणतन्त्रको घोषणा गर्छु भनेर जनतालाई झुटो आश्वासन दिने, असक्षम साबित भइसकेका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई उनीहरूकै सुरक्षाका लागि सरकारको निगरानी र नियन्त्रणमा राखिने छ। यो गठबन्धन सरकारका ‘आठै दल’का केन्द्रीय नेता र नागरिक समाजका अगुवा भनाउँदा सबैलाई सरकारले सुरक्षा प्रदान गर्ने बन्दोबस्ती मिलाइसकेको छ।

यो घोषणाबाट कसैले आत्तिनु, मात्तिनु र तर्सिनु पर्दैन। सबैले आआफ्नो कर्तव्य पूरा गरे पुग्छ। हामीबाट हुकुम भएको यो राजकीय सत्ताको प्रयोगलाई कसैले जानीबुझी अटेर गरेर आतङ्ककारी क्रियाकलापमा संलग्न भएमा त्यो राष्ट्रसेवकका लागि सह्य हुने छैन। सरकारको थप नीति र कार्यक्रम निकट भविष्यमा नै सार्वजनिक गरिने छ। अहिलेलाई हामीबाट नै देशको कार्यकारी अधिकारसमेत ग्रहण गरी दैनिक राज्य सञ्चालनको अभिभारा लिइबक्सेका छौँ।

हामीबाट लिइएको यो कार्यभारबाट हामी यथाशक्य छिट्टै नै छुटकारा लिनका लागि निकै आतुर पनि छौँ। त्यसैले राष्ट्रियता, राजसंस्था र जनचाहनाअनुकूल हुने गरी हाम्रा पूज्य पुर्खा बडामहाराजाधिराज, जिज्यूबुवा राष्ट्रपिता श्री ५ त्रिभुवन, बुवाहजुर श्री ५ महेन्द्र सरकार र मुमा मौसुफ श्री ५ रत्न सरकार तथा मेरा श्रद्धेय दाजु र दाजुका शाखासन्तानको सदिच्छाबमोजिम देश र नरेशको सेवा गर्न इच्छुक कुनै पनि राष्ट्रवादी नेपालीले सात दिनभित्र नवगठित हुने श्री ५ को सरकारको नेतासहितको मन्त्रिपरिषद्को सिफारिस राजदरबारको दक्षिण ढोकामा आएर हाम्रा हजुरमा चढाउन पनि यही घोषणामार्फत आदेश गरिबक्सेका छौँ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्!

इति संवत् २०६४ साल वैशाख २३ गते शनिबार।

स्पष्टीकरण

यो पङ्क्तिकार केही दिनपहिले आफ्नो मातृभूमि नेपाल पुगेको थियो। अमेरिकाबाट आएको थाहा पाएपछि सबैतिरबाट मलाई सोधखोज हुन थाल्यो। तँ यो देशमै चाहिने मान्छे किन अमेरिका भासिएको? कसैले यता आइज, यो गरौँ भने, कसैले उता आइज, त्यो गरौँ भने। राजनीतिक दल पनि त्यत्तिकै पछि लागे। उद्योगपति, व्यापारी र नागरिक समाजले पनि छाडेनन्। पत्रकार साथीहरूको त कुरै भएन। मेरो त्यो बिघ्न जगजगी र चकचकी देखेर केही राजनीतिक दलका नेता र बहालवाला केही सत्ताधारीहरू भने तिल्मिलाउन पनि थालेका थिए। म कतै नगई यसै हेर्दै र सोच्दै थिएँ।

अचानक एक दिन पदच्युत राजा श्री ५ ज्ञानेन्द्र सरकारबाट बोलावट भयो। महाराजका एक झुन्ड सेनाले मौसुफ सरकारबाट ‘तलाईङ नलिई नआउनु’ भन्ने आदेश बक्स भएको छ भनेर अड्डी नै कसेपछि टार्नै सकिनँ। त्यसपछि पुगेँ म राजपथको ओरालो बाटोमा। त्यहाँ महाराजबाट मलाई अँगालो नै मारेर स्वागत गर्दै हुकुम भयो, “लेखनाथ, तिमी पहिले नै आउनुपर्थ्यो। अहिले नै भए पनि आयौ। अब तिमी यतै बस्नुपर्छ र मलाई सहयोग गर्नुपर्छ। तिमीजस्तो सहयोगी नपाएर म साह्रै अप्ठ्यारोमा परेको छु।”

मैले पनि त्यसरी राजाले अनुनयविनय गरेपछि बिन्ती चढाएँ, “सरकारको जो हुकुम, जो निगाह। हुकुम होस्, यो सेवकले के गर्नुपर्छ, त्यो गर्छ।”

मौसुफ सरकारबाट मलाई सुरुमा त पत्रकारहरूको एउटा छुट्टै सङ्गठन बनाउनुपर्‍यो भनेर हुकुम बक्स्यो। मौसुफको गुनासो पनि रहेछ, “यो एउटा निठुरी ज्यादै चाम्रो रहेछ, सबै नागरिक समाजलाई उचालेर हिँडेको छ, जताततै कुदेको कुद्यै गर्छ। कहिले कता पुग्छ, कहिले कता ताक्छ। त्यसैले तिमीले नै त्यसलाई काउन्टर दिनुपर्‍यो,” भनेर हुकुम भयो।

मैले सवालजवाफ नगर्दै राजाका छेउमा उभिएका अर्का उनका खै कुन सल्लाहकारले बीचैमा भने, “सरकार, त्यो कामका लागि हजुरबाट जीवराम भण्डारीलाई खटाइबक्सेकै छ। लेखनाथजीलाई त्यही काम दिँदा अलि अप्ठ्यारो पर्ला कि?”

यो सुनेर राजा पनि एकछिन अलमलमै परिबक्स्यो। मैले केही बोल्ने कुरै थिएन। त्यसपछि राजाले मलाई हुकुम भयो, “ल, ठीक छ लेखनाथ, पत्रकारको कुरा छाडिदेऊ। तिमीले मन्त्री नै बनेर सघाउनुपर्छ।” त्यसपछि राजाबाट मलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएपछि मैले तयार गरेको यो राजाको पहिलो काम हो।

राजाको यो सन्देश नेपाल टेलिभिजन, रेडियो र सबै सञ्चारमाध्यमहरूमा प्रसारण गर्ने र अमेरिकामा रहेको विश्वप्रसिद्ध च्यानल सीएनएनमा पनि त्यहाँ काम गर्ने नेपाली छोरी किरण क्षेत्रीलाई पठाउने भनेर सञ्चार सचिवलाई आदेश दिन लागिरहेको थिएँ। पछाडिबाट एउटा ठूलो आवाज आयो। झल्याँस भएर पछाडि हेर्दा त मैले आफूलाई ठाउँको ठाउँमै पो पाएँ। आफू काम गर्ने कारखानाको ‘ब्रेक रुम’ (आरामकक्ष) मा बस्दाबस्दै म निदाएँछु। पछाडिबाट हाकिमले भन्दै रहेछ, “लेखनाथ, ह्वाट आर यु डुइङ? आर यु ओके?”

समादरणीय पाठक महोदय,

यो पङ्क्तिकारको यो एउटा दुस्वप्न चिन्तन अर्थात् अप्रिय आशंका र अनुमान मात्र हो। यो दुस्वप्न ज्ञानेन्द्र शाहले २०६४ को जेठ, असार र साउन वा दसैँ-तिहारको कुनै पनि बेला घोषणा गर्न पनि सक्छन्। यो पङ्क्तिकारको ज्ञानेन्द्रलाई त्यही सल्लाह छ र उनको सहयोग र सजिलोका लागि निःशुल्क रूपमा यो घोषणाको मस्यौदा उनैमा समर्पित छ। यदि ज्ञानेन्द्रले यो घोषणा पढेनन् र देशमा केही गरेनन् भने भन्नुहोला, ‘तँ त साह्रै झुटो भइछस् नि त, लेखनाथ!’ त्यसका लागि अग्रिम क्षमाप्रार्थी छु।

यसबाट नेपाली जनताको लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्थायी शान्तिको आकाङ्क्षामा पर्न गएको आघातप्रति पनि म क्षमा चाहन्छु। मेरो यो दुस्वप्न झुटो भइदिए हुन्थ्यो। झुटो होस् है!

(नोट: नेपाली पोष्ट डटकममा सन् २००६ को मे महिनाको पहिलो हप्ता प्रकाशित। सो लेखको लिङ्क नेपाली पोष्टमा उपलब्ध छैन।)

Add a Comment

Your email address will not be published. Required fields are marked *