समय होस् नहोस्

समय होस् नहोस्,

यति फुर्सद अवश्य मिलोस्
घरको आँगनमा हाँसिरहेको घडीफूलको यौवन देख्न सकूँ।

मौका पाऊँ या नपाऊँ,

यति अवसर अवश्य जुरोस्
आमाले स्याहारेको गाईले ब्याउँदा एउटा खुसी चाख्न सकूँ।

यात्रा सुरु नगरुन्जेल हो एक्लोपन महसुस हुने,
हिँड्दै जाँदा बाटो आफैँले डोर्‍याउँछ,
उकालो लाग्दै गर्दा कुहिरोले बाटो देखाउँछ,
ओरालो झर्नुको आनन्द झरनाले सिकाउँछ।

खैर, बाल्यकाल पनि ऋतुजस्तै रहेछ,
जीवनका अनेकौँ याम अनुभूतिको सँगालो,
ऋतु परिवर्तन भएर गएको पत्तै हुँदैन,
तर फेरि नयाँ रङमा भेटिने अठोट लिएर जान्छ।

बैँस बाल्यकाल बितेर गएको विडम्बनामा नअल्झियोस्,
किनकि भोलि बैँस पनि बितेर जान्छ,
मान्छेले पालेको विडम्बनाले मान्छे खान्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *