नेपाली भाषीको अमेरिकी राजनीतिमा बढ्दैछ अग्रसरता
अमेरिकाको आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा नेपाली मूलका अमेरिकी नागरिकहरूले पनि विभिन्न राज्यहरूमा प्रतिस्पर्धा गर्दैछन्। त्यसरी प्रतिस्पर्धा गर्नेहरूमा मेरिल्यान्डबाट ह्यारी भण्डारी र सतीश चापागाईं, न्युयोर्कबाट सरहाना श्रेष्ठ, न्यु ह्याम्पसायरबाट विश्वबहादुर शाह र रिकी गुरुङ छन्। उनीहरू एकआपसमा नभएर छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट अन्य स्थानीय उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछन्।
चापागाईं मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ७ ए’ का लागि राज्य प्रतिनिधि ‘डेलिगेट’ पदमा प्रतिस्पर्धा गर्दैछन्। त्यसरी नै शाह न्यु ह्याम्पसायर राज्यको हिल्सबरो काउन्टी डिस्ट्रिक्ट ४१ बाट राज्यको तल्लो सदन अर्थात् प्रतिनिधिसभा ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ मा प्रतिस्पर्धा गर्दैछन्। चापागाईं र शाह सामाजिक सेवा र पत्रकारिताको पृष्ठभूमिबाट आएका हुन्।
विश्वबहादुर शाहः समुदायसँग समन्वय
न्यु ह्याम्पसायर राज्यको डिस्ट्रिक्ट ४१ बाट राज्यको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ मा शाह पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्। म्यानचेस्टर सहरको डिस्ट्रिक्ट ४१ मा हिल्सबरो काउन्टीअन्तर्गतका २, ४, ५ र ७ नम्बर एरिया (वार्डका रूपमा बुझ्न सकिन्छ) पर्छन्। यस डिस्ट्रिक्टका लागि निर्वाचित हुने तीन जना राज्य प्रतिनिधि ‘रिप्रेजेन्टेटिभ्स’ का लागि रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीका तर्फबाट प्राइमरी निर्वाचन (अन्तरपार्टी प्रतिस्पर्धा) मा निर्वाचित भएका तीन-तीन जनाबीच प्रतिस्पर्धा हुनेछ। सबैभन्दा उच्च मत ल्याउने तीन जना निर्वाचित हुनेछन्। शाह डेमोक्रेटिक पार्टीका तर्फबाट प्राइमरीमा निर्वाचित भएका थिए। यी प्रतिस्पर्धीमध्ये एउटै पार्टी वा दुवै पार्टीबाट पनि निर्वाचित हुन सक्छन्।
करिब ४१ हजार मतदाता रहेको यस क्षेत्रमा गत निर्वाचनमा रिपब्लिकनले ५ हजार मत ल्याउँदा ७ हजार मत ल्याएर डेमोक्रेटिक पार्टीका नै तीन जना उम्मेदवार निर्वाचित भएका थिए। यस हिसाबले यो क्षेत्र डेमोक्रेटिक पार्टीका लागि सुरक्षित देखिन्छ। शाहले आफ्नो क्षेत्रमा स्कुल, स्वास्थ्य र आवासका विषयमा स्थानीय समुदायसँग समन्वय गरेर काम गर्ने मुख्य एजेन्डा बनाएका छन्।
सपना र अवसरको यस भूमिमा शाहले ट्याक्सी चालक, बीमा एजेन्ट, घरजग्गा एजेन्ट, सबवे (स्यान्डविच पसल) सञ्चालनजस्ता पेसा सञ्चालनका अतिरिक्त नेपाली खबर (नेपाली समाचार) प्रकाशित गर्ने र सामाजिक गतिविधिहरूमा सहभागिता जनाउँदै आएका छन्। विश्व भन्छन्, “ठूलो सहरमा सानो व्यवसाय चलाउन गाह्रो छ, तर म साना व्यवसायीहरूले सामना गर्ने चुनौतीहरू बुझ्छु र म उनीहरूको तर्फबाट वकालत गर्न चाहन्छु।”
शाहलाई मेहनत, इमानदारिता र सफलताको उदाहरणले यहाँसम्म डोर्याएको छ। धेरै अमेरिकी परिवारहरू पहिलेभन्दा कडा परिश्रम गरिरहेका छन्। तर जीवनयापनका लागि धेरै संघर्ष गरिरहेका छन्। काम गर्ने मानिसहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा करमा तिर्छन्। काम गर्ने परिवारहरूमा आर्थिक बोझ कम गर्न, युवाहरूका लागि रोजगारीका अवसर बढाउन र ज्येष्ठ नागरिकहरूलाई लोककल्याणकारी सहयोग सुनिश्चित गर्नेजस्ता विषय डेमोक्रेटिक उम्मेदवार शाहका थप प्राथमिकताहरू हुन्। उनी आफ्नो प्रतिनिधित्वले नेपाली भाषी समुदायलाई अमेरिकाको मूलधारको राजनीतिमा आउन प्रेरित गर्ने बताउँछन्। नेपाली सेनामा पन्ध्र वर्ष सेवा गरेपछि विश्वबहादुर शाह सन् २००२ मा नेपालबाट संयुक्त राज्य अमेरिका बसाइँ सरेका थिए।
सतीश चापागाईंः समुदायलाई प्राथमिकता
नेपाली साहित्यका महाकवि देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैँ कवि तथा पत्रकार सतीश चापागाईं दुई दशकअघि यस सपनाको भूमिमा आएका हुन्। स्वभावले कवि मनका चापागाईंले अमेरिकी समाजका अन्तरकुन्तरका अवसर, समस्या र तिनको निदानमा आफ्नो भूमिकाको सम्भावना देखे। त्यो सम्भावना व्यवसाय, रोजगारी र राजनीतिमा भएकाले उनले आजको बाटो रोजेका हुन्।
आसन्न अमेरिकी निर्वाचनमा मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ७ ए’ को डेलिगेट उम्मेदवारका रूपमा सतीश चापागाईं पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्। चापागाईं यस क्षेत्रअन्तर्गतका पेरी हल, ह्वाइट मार्श, किङ्सभिल, मिडल रिभर र बाउलीज क्वार्टर्स क्षेत्रका मतदाताहरूसँग जीवनयापनको लागत, स्रोतसाधनको अभाव भएका विद्यालयहरू र वास्तविक लगानी आवश्यक पर्ने सडकका विषयमा संघर्ष गरिरहेका सामाजिक अभियन्ता पनि हुन्।
‘मेरो बारेमा होइन; हाम्रो बारेमा’ उनको गन्तव्य हो। सतीश चाहन्छन्, ‘प्रत्येक बच्चाले उत्कृष्ट शिक्षा पाउन, प्रत्येक ज्येष्ठ नागरिकको हेरचाह होस् र प्रत्येक परिवारले फस्टाउने मौका पाउन।’
दुई दशकभन्दा बढी समयदेखि बाल्टिमोर काउन्टीलाई आफ्नो घर मान्दै आएका सतीश किन यस अभियानमा दौडिरहेका छन्? उनकै शब्दमा, ‘सार्वजनिक सेवा जनताको बारेमा हुनुपर्छ, राजनीतिको बारेमा होइन। हरेक दिन म ती छिमेकीहरूलाई भेट्छु, जो स्कुलको कोषबारे चिन्तित अभिभावक, निश्चित आयमा जीवनयापन गर्ने ज्येष्ठ नागरिक र दबाबमा परेका साना व्यवसायी हुन्। उनीहरू कडा परिश्रम गर्छन्, तर एनापोलिस (मेरिल्यान्ड राज्यको राजधानी) ले बिर्सेको जस्तो महसुस गर्छन्। मैले मेरो जीवन मेरो समुदायलाई मद्दत गर्न बिताएको छु र मलाई थाहा छ कि हामी अझ राम्रो गर्न सक्छौँ। तपाईंहरूको प्रतिनिधिका रूपमा म हाम्रो आवाज टेबलमा ल्याउनेछु, हाम्रो जिल्लाका स्रोतसाधनका लागि लड्नेछु र मानिसहरूलाई पहिलो स्थानमा राख्न बिर्सनेछैन। समुदायको हित सधैँ मेरो प्राथमिकतामा हुनेछ।’
अन्तरपार्टी प्रतिस्पर्धा ‘प्राइमरी’ मा डेमोक्रेटिक पार्टीबाट निर्वाचित भएर डिस्ट्रिक्ट ७ ए मा मेरिल्यान्ड राज्य प्रतिनिधिको दौडमा रहेका सतीश हरेक कडा परिश्रम गर्ने परिवारको जीवनस्तर उकास्न, जीवनलाई अझ किफायती बनाउन, छिमेकीहरूलाई सुरक्षित राख्न, साना व्यवसायहरूलाई समर्थन गर्न तथा राम्रो स्वास्थ्य सेवा र विद्यालयहरू निर्माण गर्ने अभियानमा छन्। उनी मतदाताहरूसँग विनयी भावमा भनिरहेका छन्- ‘तपाईंहरूलाई भोलि यी दुवै कुरामा पछुतो नहोस्– “म सतीशको सफलतामा सहभागी हुन सकिनँ” वा “मेरो सानो सहयोगले सतीशले सफलता प्राप्त गर्न सकेन।”’
यो निर्वाचन दुईवटा सिट भएको बहुसदस्यीय निर्वाचन क्षेत्र हो। यहाँ रिपब्लिकन पार्टीका बहालवाला डेलिगेटहरू रायन नभ्रोकी र क्याथी जेलिगासँग डेमोक्रेटिक पार्टीका चापागाईं र लिडिया जिन्जेन ब्राउनले प्रतिस्पर्धा गर्दैछन्। यहाँ पनि एकल वा मिश्रित पार्टीगत परिणाम आउन सक्छ।
ह्यारी भण्डारीः समुदाय र समावेशी भविष्य
अमेरिकी मूलधारको राजनीतिमा सक्रिय रूपमा संलग्न हुँदै आएका ह्यारी भण्डारी सन् २०१९ देखि मेरिल्यान्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित डेलिगेट हुन्। उनी हाल दोस्रो कार्यकालमा कार्यरत छन् र आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा सोही पदका लागि तेस्रो कार्यकालको प्रतिस्पर्धामा उत्रेका छन्।
डेलिगेट भण्डारीले यस पटक आफ्नो र समग्र मेरिल्यान्डकै निर्माण अभियानलाई आफ्नो चुनावी अभियानको नारा बनाएका छन्। भण्डारी ‘समुदाय र समावेशी भविष्य’ का लागि मेरिल्यान्डका नेतृत्वकर्ता तथा स्थानीय बासिन्दाहरूसँग मिलेर समुदायलाई बलियो बनाउन चाहन्छन्। समावेशी भविष्य निर्माण गर्ने प्रतिबद्धता, सबैका लागि शिक्षामा पहुँच, गुणस्तरीय स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकहरूको सुरक्षा र सर्वसुलभ आवास उनका अन्य प्राथमिकता हुन्। भण्डारीले सन् २०२४ मा मेरिल्यान्डको दोस्रो निर्वाचन क्षेत्रबाट अमेरिकी कङ्ग्रेसका लागि प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए।
सरहाना श्रेष्ठः सुन्दर भविष्यको सपना
अमेरिकी मूलधारको राजनीतिमा न्युयोर्कको मिड–हडसन भ्यालीअन्तर्गतको डिस्ट्रिक्ट १०३ क्षेत्रको एसेम्बली मेम्बरका रूपमा सरहाना श्रेष्ठ सन् २०२२ देखि निर्वाचित प्रतिनिधिका रूपमा सक्रिय छिन्। दुई वर्षको कार्यकाल हुने एसेम्बली मेम्बरको सोही भूमिकामा श्रेष्ठ तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछिन्।
सरहाना जलवायु अभियन्ता भएकाले जलवायु परिवर्तन र यसले पारेका असरहरूको नियन्त्रण तथा न्यूनीकरण उनका प्राथमिकताका विषय हुन्। ‘भविष्य सुन्दर हुनैपर्छ’ भन्ने उनको उद्घोष प्रशंसित र चर्चित छ। मिड-हडसन भ्यालीका बासिन्दाका लागि सस्तो आवास र जीवनयापनको लागत अत्यधिक बढ्न नदिन, सुरक्षित आवास, सर्वसुलभ स्वास्थ्य सेवा, सार्वजनिक शिक्षा र पूर्वाधारमा लगानी, मानसिक स्वास्थ्य र प्रजनन हेरचाहलगायतका क्षेत्रमा नागरिक सेवामा भूमिका खेल्न श्रेष्ठले मतदाताहरूलाई आफूलाई मतदान गर्न आह्वान गरेकी छन्।
रिकी गुरुङ र अन्य सहभागी
न्यु ह्याम्पसायर राज्यको मेरिम्याक डिस्ट्रिक्ट १० बाट राज्य प्रतिनिधि (स्टेट रिप्रेजेन्टेटिभ) का लागि नेपाली मूलका रिकी गुरुङले डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दैछन्। उनको चुनावी क्षेत्रमा न्यु ह्याम्पसायरका हुकसेट र डनबार्टन क्षेत्र पर्दछन्। यो निर्वाचन चारवटा सिट भएको बहुसदस्यीय निर्वाचन क्षेत्र हो।
यही क्षेत्रमा सन् २०१६ देखि गुरुङकी आमा मदलेसा गुरुङले डेमोक्रेटिक पार्टीको आन्तरिक चुनाव ‘प्राइमरी’ निर्वाचनमा जितेर मुख्य निर्वाचनका लागि पटक–पटक प्रतिस्पर्धा गरे पनि स्टेट रिप्रेजेन्टेटिभ (राज्य प्रतिनिधि) पदमा भने विजयी हुन सकेकी थिइनन्। यस निर्वाचनमा आफ्नी आमाको पदचाप पछ्याउँदै उनका छोरा रिकी अगाडि बढेका हुन्।
यसका अतिरिक्त अमेरिकाका विभिन्न नगर तथा सिटीहरूको नेतृत्वमा अन्य आधा दर्जनजति नेपाली भाषीहरू निर्वाचित प्रतिनिधिका रूपमा कार्यरत छन्। यसरी अमेरिकाको मूलप्रवाहको राजनीतिमा नेपाली मूलका अतिरिक्त भुटानलगायतका नेपाली भाषीहरूको सहभागिता बढ्दै गएको छ।
अमेरिकी निर्वाचनमा मतदाताहरूका लागि सजिलो के छ भने निर्वाचनको मुख्य वा अन्तिम दिनभन्दा करिब तीन-चार हप्ता पहिलेदेखि नै अग्रिम मतदान सुरु हुन्छ। मतदाताहरूले निर्वाचन कार्यालयले तोकेका आफूलाई पायक पर्ने स्थानीय पुस्तकालय वा नागरिकको सहज पहुँच हुन सक्ने अन्य स्थानीय सरकारी भवनहरू, शैक्षिक संस्थाहरू र सार्वजनिक स्थलहरूमा गएर मतदान गर्न सक्छन्। राज्यहरूका फरक–फरक नियम भए पनि अमेरिकाभित्र वा बाहिर बसोबास गरिरहेका अमेरिकी नागरिक, सेना र कूटनीतिक नियोगहरूमा कार्यरत मतदाताहरूले हुलाक वा इमेलको विशेष प्रक्रियामार्फत मतदान गर्न पाउँछन्। यस प्रक्रियामार्फत मतदान गर्नेहरूको पनि ठूलो सङ्ख्या छ।
आगामी नोभेम्बर ३ मा हुने निर्वाचनका लागि सबैजसो राज्यहरूमा अग्रिम मतदान सुरु भइसकेको छ। अग्रिम मतदान यो अक्टोबर ३१ तारिखसम्म कायम रहनेछ। यसबीचमा मतदानमा धेरै मतदाता सहभागी हुने गर्छन् र बाँकी मतदाताहरू निर्वाचनको मुख्य वा अन्तिम दिन मतदानमा सहभागी हुन्छन्। अहिले अमेरिकाको कुल मतदाता सङ्ख्या करिब २१ करोड छ। यसभन्दा पहिलेका निर्वाचनहरूमा ६०–७० प्रतिशत मतदान हुने गरेकोमा करिब ५० प्रतिशतले अग्रिम मतदानमा भाग लिने गरेका छन्। मतदानमा सहभागी हुन चाहने आधा मतदाताहरूले मात्र मुख्य निर्वाचनका दिन मतदान गर्छन्।

