नेपाली भाषासेवी भूपेन्द्र अधिकारी

(भूपेन्द्र अधिकारी)

भूपेन्द्र अधिकारीको जन्म ६ सेप्टेम्बर १९४६ मा कालिम्पोङको लोले बस्तीमा पिता स्व. प्रेमदास अधिकारी र माता स्व. बुद्धिमायाका सुपुत्रका रूपमा भएको हो। जहाँ रहे पनि नेपाली भाषा, साहित्य र समाजको सेवामा समर्पित रहनुभएका उहाँका दीर्घकालीन योगदानहरू प्रशंसनीय छन्। उहाँ जहाँ जानुभयो, त्यहाँ नेपाली भाषा र साहित्यको सेवा लिएर जानुभयो।

उहाँले त्यस समयको कालिम्पोङको प्रतिष्ठित सेन्ट अगस्टिन स्कुलमा अध्ययन गर्नुभयो। त्यसपछि सिलिगुडीको महाबर्ट स्कुलबाट हायर सेकेन्डरी उत्तीर्ण गरी शिलाङमा कलेज शिक्षा हासिल गर्न जानुभयो। उहाँ शिलाङमा रहँदा सन् १९६२ मा नेपाली साहित्य परिषद्को स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। साथै, त्यहाँबाट प्रकाशित हुने मादल पत्रिकाको सहसम्पादकका रूपमा समेत कार्य गर्नुभयो। उहाँ भारत स्काउट्स एन्ड गाइड्सका अधिकारीका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। त्यसपछि सोही जिम्मेवारी सम्हाल्दै गान्तोक आउनुभयो।

सन् १९८१ मा गान्तोकमा रहँदा उहाँले नेपाली साहित्य सम्मेलन, सिक्किमको मूलसचिवका रूपमा सेवा गर्नुभयो। यसका साथै, भानु सालिक निर्माण समितिको मूलसचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो। सन् १९८८ मा उहाँ नेपाली परिषद्का संस्थापक सदस्य बन्नुभयो।

नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन सञ्चालित आन्दोलनमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। अखिल भारतीय नेपाली भाषा समितिका संयुक्त सचिवका रूपमा सक्रिय रहँदै उहाँ लखनउमा आयोजित तीनदिने भोक हडतालमा सहभागी हुनुभयो। देहरादुनदेखि दिल्लीसम्म तथा जन्तरमन्तरदेखि संसद् भवनसम्म आयोजित भाषा आन्दोलनसम्बन्धी पदयात्रामा समेत उहाँले सक्रिय सहभागिता जनाउनुभयो।

गान्तोकमा भारतीय नेपाली राष्ट्रिय परिषद्को स्थापनामा उहाँले महत्त्वपूर्ण सहयोग पुर्‍याउनुभयो। यसका साथै, भारतीय गोर्खा परिसङ्घका संस्थापक सदस्यका रूपमा पनि उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभयो। पछि सो संस्थाको केन्द्रीय महासचिवको जिम्मेवारीसमेत सम्हाल्नुभयो। संसद् भवनअगाडि शहीद दुर्गा मल्लको प्रतिमा स्थापना गर्ने कार्यमा पनि उहाँको उल्लेखनीय योगदान रहेको छ।

उहाँले आफ्नो पेसागत जीवनसमेत नेपाली भाषाको सेवामा समर्पित गर्नुभएको छ। लालबहादुर शास्त्री राष्ट्रिय प्रशासनिक अकादमी, मसुरीमा सिक्किमतर्फबाट प्रशासनिक सेवामा प्रवेश गर्न आईएएस उत्तीर्ण गर्नेहरूलाई नेपाली भाषाको प्रशिक्षण दिने कार्य गर्नुभयो। यसैगरी, भारतीय वन सेवा उत्तीर्ण गर्ने प्रशिक्षार्थीहरूलाई इन्दिरा गान्धी फरेस्ट रिसर्च इन्स्टिच्युट, देहरादुनमा नेपाली भाषाको प्रशिक्षण दिनुभयो। यी दुई प्रमुख संस्थानबाहेक महादेवी कन्या पाठशाला (पी.जी.) कलेज, देहरादुन; क्यामरिन हल स्कुल, देहरादुन तथा सेन्ट जर्जेस कलेज, मसुरी आदिमा विभिन्न अवधिमा नेपाली भाषा र साहित्यको अध्यापन तथा प्रशिक्षणमा संलग्न रहनुभयो। यस क्रममा नेपालीभाषी तथा अनेपालीभाषी दुवैलाई नेपाली भाषा सिकाउने महत्त्वपूर्ण कार्य गर्नुभयो।

यसका अतिरिक्त, रेडियो घामछायाँको सञ्चालनमा समेत उहाँले योगदान पुर्‍याउनुभएको थियो। एउटा रोचक पक्ष के हो भने उहाँले एक समय देहरादुन र मसुरीमा गरी एकै दिन आठवटा शैक्षिक संस्थानमा नेपाली विषय अध्यापन गर्नुहुन्थ्यो।

यसरी हेर्दा भूपेन्द्र अधिकारी नेपाली भाषा र साहित्यका समर्पित सेवकका रूपमा देखिनुहुन्छ। उहाँ जहाँ जानुभयो, त्यहाँ नेपाली भाषा र साहित्यको सेवा गर्नुभयो। शिलाङमा नेपाली साहित्य परिषद्को स्थापना गर्न उहाँले ठूलो भूमिका निर्वाह गर्नुभयो। त्यसैगरी, गान्तोकमा रहँदा सिक्किम साहित्य परिषद्को संस्थापक सदस्यका रूपमा यसको स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभयो। उहाँ भारतीय नेपाली राष्ट्रिय परिषद्का पनि संस्थापक सदस्य हुनुहुन्थ्यो। देहरादुनमा बस्दा त्यहाँको गोर्खाली सभाका सक्रिय सदस्यका रूपमा कार्य गर्नुभयो। त्यसैगरी, भारतीय गोर्खा परिसङ्घका संस्थापक सदस्यका रूपमा पनि उहाँको महत्त्वपूर्ण भूमिका रहेको छ।

उहाँ चार कार्यकालसम्म साहित्य अकादेमी, नयाँ दिल्लीको नेपाली भाषा सल्लाहकार समितिको सदस्य रहनुभयो। धेरै वर्षसम्म देहरादुनका नेपाली साहित्यिक प्रतिनिधिका रूपमा भारतभर आयोजित भाषा तथा साहित्यसम्बन्धी सङ्गोष्ठीहरूमा सहभागी भई कार्यपत्र तथा वार्तापत्र प्रस्तुत गर्नुभयो।

उहाँको साहित्यिक, भाषिक तथा सामाजिक यात्रामा उहाँकी श्रीमतीले पनि सदैव साथ, सहयोग र प्रेरणा प्रदान गर्दै आउनुभएको छ। हाल उहाँ कालिम्पोङमा बसोबास गरी विश्रामपूर्ण जीवन बिताइरहनुभएको छ। अस्सी वर्षको उमेरमा पनि उहाँ सुस्वस्थ, सक्रिय र उत्तिकै ऊर्जावान् हुनुहुन्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *