‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ कृतिसङ्ग्रह सार्वजनिक
धीरकुमार श्रेष्ठको सम्पादन तथा भारती गौतमको अतिथि सम्पादनमा प्रकाशित ‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ कृतिसङ्ग्रह काठमाडौँस्थित यल्लो पेगोडा होटलमा आयोजित समारोहमा सार्वजनिक गरिएको छ।
कृति सार्वजनिक समारोहको अध्यक्षता प्राध्यापक नारायण जोशीले गर्नुभएको थियो भने अग्रज साहित्यकार रमेश खकुरेल प्रमुख अतिथि हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा प्रा.डा. दयाराम श्रेष्ठ, रेडियो नेपालका पूर्व निर्देशक तथा धार्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटा, प्रा.डा. माधवप्रसाद पोखरेल र प्रा.डा. गोविन्दराज भट्टराई हुनुहुन्थ्यो। अतिथिहरूमा प्रा.डा. हेमचन्द्र नेपाल र प्रा.डा. जीवन अधिकारी सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन प्रा.डा. विनोद पोखरेलले गर्नुभएको थियो भने धनकुटेली समागमका संयोजक शशिशेखर श्रेष्ठले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।
प्रमुख अतिथि रमेश खकुरेलले हेमचन्द्र पोखरेलसँगको आफ्नो व्यक्तिगत सम्बन्ध स्मरण गर्दै उहाँको व्यक्तित्व तथा कृतित्वबारे चर्चा गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष प्राध्यापक नारायण जोशीले हेमचन्द्र पोखरेलसँगको ३५ वर्ष लामो सङ्गत स्मरण गर्नुभयो। उहाँका प्रकाशित तथा अप्रकाशित कृतिहरू सङ्कलन गरी पुस्तक प्रकाशनमार्फत साहित्यकार पोखरेललाई चिनाउने कार्य गरेकोमा सम्पादक धीरकुमार श्रेष्ठ र उहाँकी गुरुपुत्री भारती गौतमलाई विशेष धन्यवाद दिनुभयो।
कृतिका सम्पादक धीरकुमार श्रेष्ठले अक्षर अविनाशी हुने र आफू अक्षरको पुजारी भएकाले अक्षरकै माध्यमबाट हेमचन्द्र पोखरेलसँग आफ्नो सम्बन्ध गाँसिएको बताउनुभयो। विज्ञान र प्रविधिको वर्तमान युगमा केन्द्र र मोफसलबीचको दूरी तथा विभेद भङ्ग हुँदै गएको उल्लेख गर्दै उहाँले धनकुटामा बसेर शिक्षा र साहित्यको सेवा गर्ने हेमचन्द्र पोखरेलको योगदानबिना त्यहाँको इतिहास पूर्ण नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले पोखरेलका कृतिहरू सङ्कलन गरी प्रकाशित गर्ने कार्यमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुका साथै पुस्तकभित्र समेटिएका अध्ययनयोग्य विषयहरूबारे पनि प्रकाश पार्नुभयो।
हेमचन्द्र पोखरेलकी सुपुत्री तथा कृतिकी अतिथि सम्पादक भारती गौतमले आफ्ना पिताको स्मरण गर्नुभयो। उहाँले बुबाको खोजीमा रहँदा यस कृति र कार्यक्रममा सहभागी साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमार्फत बुबालाई पुनः प्राप्त गरेको अनुभूति भएको बताउनुभयो। सम्पादक धीरकुमार श्रेष्ठ तथा धनकुटेली समागमलाई विशेष धन्यवाद दिँदै उहाँले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले कृति सम्पादनका विषयमा, प्रा.डा. जीवन अधिकारीले हेमचन्द्र पोखरेलका संस्कृत रचनाका विषयमा, प्रा.डा. गोविन्दराज भट्टराईले सम्पादित कृतिको महत्त्वका विषयमा र प्रा.डा. माधवप्रसाद पोखरेलले हेमचन्द्र पोखरेलसँगका पुराना संस्मरणका विषयमा आफ्ना विचार प्रस्तुत गर्नुभयो। पुरुषोत्तम सापकोटाले धार्मिक कार्यक्रम सञ्चालनका क्रममा हेमचन्द्र पोखरेलसँग भएका भेटघाट स्मरण गर्दै उहाँका संस्कृत रचनाहरू वाचन गरेर सुनाउनुभयो।
कार्यक्रममा उमेशचन्द्र अधिकारीद्वारा निर्मित हेमचन्द्र पोखरेलको पेन्सिल चित्र धनकुटेली समागमका तर्फबाट संस्थाका अध्यक्ष प्रा. नारायण जोशीले कार्यक्रमकी प्रायोजक तथा अतिथि सम्पादक भारती गौतमलाई उपहारस्वरूप प्रदान गर्नुभयो।

