यो देशलाई कसैले आफ्नो अधिनमा राख्नै सक्दैन : किशोर नेपाल (भिडियो सहित)

प्रस्तुत छ, वरिष्ठ पत्रकार किशोर नेपालसँग नेपालीपोष्टका लागि लिलाराज खतिवडाले हालै काठमाडौंमा लिएको अन्तरबार्ताको प्रमूख अंश –

कहिलेकाहिँ झोला बोकेर बजारमा राशन वा तरकारी किन्न जाने गर्नुहुन्छ ?’
‘जान्छु ।’
कस्तो लाग्छ ?
‘अत्यास लाग्छ !’

हालैको एक दिउँसो नेपाली पत्रकारिताका ‘बाघ’लाई भेट्न बत्तिसपुतलीस्थित ‘सेन्टर फर जर्नालिजम स्टडिज’को कार्यालय पुग्दा उहाँ ‘डेस्कटप’मा ‘सोलिटायर’ खेलिरहनु भएको थियो ।
देख्नासाथ उहाँले सोध्नुभयो, ‘के गर्दैछस् आजकल ?’
भनेँ, ‘फेरि रिपोर्टर भएर घुम्दैछु । इमान्दारसाथ भन्नुपर्दा म भर्खर मात्रै लेख्न सिक्दैछु । हाम्रो भाषा नै यति अप्ठ्यारो छ कि…।’

सुनेर उहाँ फिस्स हाँस्नुभयो । र, नेपाली भाषा प्रतिको मेरो दुरुह अनुभवमा सहमति जनाउनुभयो ।
अघिल्लो दिन फोन गरेर उहाँसँग समय मागेको थिएँ ।
फोनमा भन्नु भएको थियो, ‘तँ आइज न । मलाई भेट्न तँ कुनै पनि बेला आउन सक्छस् ।’
उहाँको यो अगाध स्नेहको शक्तिशाली तरंगले मेरो ‘डर’ अलिक काबूमा आएको थियो ।

बरिष्ठ पत्रकार किशोर नेपालका कुराहरु सुनिरहेका बेला टाउकामा दबिएका केही राजनीतिक भ्रम वाष्पिभूत भइसकेका थिए । उहाँका स्पष्ट एवम् सटिक राजनीतिक ब्याख्या वा विष्लेषणमा खारेको घीउको स्वाद र सुगन्ध थियो ।

वार्ताको तारतम्य मिलाउँदै गर्दा मैले नेपाली पत्रकारिताका यी ‘भेटर्न’लाई लापर्वाह सोधिदिएँ, ‘हजुरको र लेनिनको हाइट बराबर हो, दाजु ?’
दाजुले भन्नुभयो, ‘लेनिनको भन्दा मेरो हाइट बढी छ । ऊ पाँच फिट दुई इञ्चको हो भने म पाँच फिट सात इञ्च ।’

अन्तरबार्तामा उहाँलाई सोधियो, ‘के मुलुक विदेशी खुफिया एजेन्सीहरुको दवाव वा नियन्त्रणमा छ ?
उहाँको स्पष्टोक्ति थियो, ‘छैन । यो हाम्रा राजनीतिक नेताहरुको मौलिक परिकल्पना मात्रै हो । जसको दिमागमा भारत, अमेरिका, चीनहरु घुसेका छन् । यो देशलाई कसैले आफ्नो अधिनमा राख्नै सक्दैन । यो बडा अचम्मको देश छ ।’

उहाँका अनुसार, बरु विश्वभरमा नेपाल एउटा त्यस्तो मुलुक हो जसले अन्य जुनसुकै मुलुकलाई ‘फ्लर्ट’ गर्न सक्छ । नेपाल कसैको अधिनमा चलिरहेको नभएर आफ्नै आन्तरिक मामिलाहरुलाई एकएक गर्दै मिलाएर लैजान ब्यस्त छ ।

अर्को प्रश्न थियो, ‘ओली सरकारको आयु कति हो ?
किशोर दाइको सुदुर राजनीतिक विश्लेषण, ‘यो सरकारले पूर्ण कार्यकाल राज गर्छ । ओलीको सट्टामा अरु कोही आउलान् । तर कम्युनिष्टहरूको वर्तमान गठबन्धनले केही समय यहाँ सत्ता चलाउने छ । अहिले कोही सरकार ढाल्ने प्रयासमा छैन ।’

कू हुने संभावना छैन त यहाँ ?’ प्रश्नको प्रहार जारी थियो ।
‘कसले गर्ने यहाँ कू ? कसको हिम्मत ? कू हुने संभावना छैन नेपालमा,’ उहाँको जवाफी आक्रमण पनि जारी नै थियो ।

दरवारले ?’ कु गर्न सक्ने सम्भावित तत्व यही हो जस्तो
लाग्यो ।
किशोर दाइको मुखारबृन्दबाट ताता कोइलाहरु यसरी वर्षिए, ‘यहाँको आर्मीले कहिल्यै नपत्याएको त्यो दरवारले के कू
गर्ला ? राजाको आदेश त नमान्ने आर्मीले यहाँ त्यो सिभिलियन सरकारलाई टेर्छ वा त्यो झ्यास संविधानलाई मान्छ भनेर कसले भन्ने ?’

मुलुकमा अराजकता मात्रै होइन छाडापन नै ब्याप्त भएको संज्ञा दिँदै उहाँले अन्तरबार्ताका क्रममा भन्नुभयो, ‘मुलुकमा दलाल, बिचौलिया र गुण्डाहरुकै हालीमुहाली छ । मुलुक हुलहालमा छ । मुलुक समग्ररुपमा रुपान्तरण हुन सकेको
छैन । यहाँको मुख्य समस्या साँझ-बिहानको दालभात र ज्वरो आउँदा सिटामोल हो । एट्लिस्ट, डाइरिया नहुने पानी हो । रेल, मोनोरेलसँग नजोड्नुहोस् । यहाँको समस्या भनेको भोक हो । तर राष्ट्रपतिको एउटा मेसेज त ठिकसँग लेख्न नजान्ने कर्मचारीहरु भएको देशमा के आशा गर्ने ?’

अझै दैनिक तीनचार हजार शब्द लेखिरहेका यी सदाबहार पत्रकारसँग गरिएको पौने एक घण्टाको भलाकुसारीले अनेक अर्थमा ‘हाइभोल्टेज’ उर्जा उत्पन्न गरिरहेको थियो ।
वर्तमान पत्रकारिता र मिडियाको हालत बारे उहाँको टिप्पणी थियो, ‘यहाँ प्रेसै छैन । धन्दा मात्रै छ । अहिले यहाँ राम्रो लेखेर कोही बाँच्न सक्दैन । प्रकाशकको इच्छाअनुसार काम गरेर मात्रै पत्रकार यहाँ बाँच्न सक्ने अवस्था छ ।’

‘काठमाण्डौ पहिले शहर थियो, अहिले यो केवल भीड भएको छ,’ उहाँले सुस्केरा हाल्नुभयो । ‘अहिले त यहाँ बाहिर निस्कियो कि अत्यास लाग्छ । उकुसमुकुस भएर आउँछ ।’

सर्वप्रथम २०५१ सालमा पुतलीसडक चोकस्थित एउटा भीमकाय घरको तेस्रो तल्लाको जनस्वतन्त्रता साप्ताहिकमा मलाई औँला समातेर पत्रकारिता सिकाउने ‘डरलाग्दा’ किशोर नेपाल, कान्तिपुर साप्ताहिकमा रङ्गिन पत्रकारिता सिकाउने ‘सहज’ किशोर नेपाल, शान्तिनगरको नयाँ सडक दैनिकमा मलाई पत्रकारिताको ‘लिडरसिप’ सिकाउने ‘बहुआयामिक’ किशोर नेपाल वा मेरो संघर्षको आरोहअवरोहमा यदाकदा भेटिएर जिन्दगीको ढाडस दिने ‘तत्वमीमांसी’ किशोर नेपालसँगको सान्निध्य अझै पनि उस्तै उर्जावान, जुझारु, चुम्बकिय र प्रेरणादायी सावित हुन पुगेको थियो यो भेट ।

अन्तरबार्ताको अन्त्यमा मैले धन्यवाद दिँदै भनेँ, ‘यु आर द टाइगर अफ नेप्लीज जर्नालिजम, दाजु ।’
कुर्सीबाट उठ्दै उहाँको ब्रान्ड हाँसो मिसिएको आवाज आयो, ‘त्यसै भन्छन् यार । तर दाँतसाँत छैनन् !’

किशोर दाइको अन्तरबार्ताको फुटेजहरु सम्पादन गर्दैगर्दा लाग्यो, छापामा बन्दै काम नगरेको टेलिभिजन पत्रकार मुलुकको राजनीतिक अवस्थामाथि अखवारमा लेख लेख्ने कोसिस गरिरहेको छ ।

भिडियो सम्पादन: आधार खतिवडा र सागर गिरी
क्यामेरा : सुनिल राजभण्डारी

 

 

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *