गीत
|उसले मलाई नचिनेर, सोध्यो को हौ भनी
देखाउँदै सगरमाथा, मैले पनि भनें
त्यो देशको मान्छे म हुँ, छाना संसारको
शान्ति छर्दै जुन देशमा, बुद्ध जन्मिएको ।
हिमालमा चौंरी चर्छ, पहाड गुराँश फुल्छ
शेर्पा दाइको टुङ्ना बाजा, सुन्दै हिमाल झुल्छ
गाइने दाइको सारंगीको, धुनमा देश हाँस्छ
मुर्चुङ्गा र बिनायोको धुनमा, मयूर नाच्छ ।
तराईका धान झूल्दा, सुनै सुनको धर्ती
जनक सीता ऋषिमुनी दिने ज्ञान अर्ती
कैलाश पर्वत देव भूँमी, नेपालको शान
खोज्न यहाँ संसार आउँछ, शान्ति अनि ज्ञान ।
बच्चाहरु जुन देशमा, मूर्ती बनाई खेल्छन्
हिम गङ्गा रमाउँदै पहाड, फेदी झर्छन् ।
नौरङ्गी डाँफे चरी, मयूर अनि मुनाल
त्यो देशको मान्छे म हुँ, त्यो हो देश नेपाल ।