दिगो विकास लक्ष्य २०३० हासिलमा खुल्ला तथ्याङ्कको महत्व र भूमिका

दोस्रो विश्वयुद्धको समाप्ति तथा संयुक्त राष्ट्रसंघको स्थापना (सन १९४५) पछि विश्वको सन्तुलीत विकासकालागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा अन्तराष्ट्रिय स्तरमा विभिन्न चरणमा थुप्रै प्रयासहरु गरीदै आईएका छन् । पछिल्लो विकास प्रयास दिगो विकास लक्ष्य २०१५–२०३० (एसडिजी २०३०) ले निरन्तरता पाईरहेको छ । सन २००० मा विश्वका १८९ देशहरुको सामुहिक हस्ताक्षरमा २०१५ सम्म विकासका ८ उदेश्य, १८ लक्ष्य र ४८ सुचकहरु हासिल गर्ने प्रतिवद्धताकासाथ सहश्राब्दी विकास लक्ष्य (एमडिजी) ल्याइएको थियो । उक्त अवधिमा धेरैजसो प्रतिवद्धताहरु हासिल गरीएतापनि केहि हासिल गर्न सकीएन तथा भ्याइएन । हासिल नभएका तथा गर्न नभ्याइएका प्रतिवद्धताहरु हासिल गर्न र विकास प्रक्रियालाई पुनः निरन्तरता दिन सन २०१५ मा सहश्राव्दी विकास लक्ष्यको समाप्तीसंगै यसको अर्को श्रृङखलाको रुपमा २०३० सम्म विकासका १७ उदेश्य, १६९ लक्ष्य र २३० सुचकहरु हासिल गर्ने प्रतिवद्धताकासाथ एसडिजी २०३० कार्यानवयनमा ल्याइयो । यसले पहिलाका विकास प्रक्रियाहरुमा पिछडिएका, राम्ररी ध्यान नदिइएका र समावेश हुन नसकेका मुद्दाहरुलाई बृहद रुपमा विश्लेषण र पुनरमूल्याङ्कन गरी अहिलेको विकास अभियान एसडिजी २०३० मा कसैलाई पछाडि नछाड्ने र सवभन्दा पछाडि रहेकालाई अगाडि ल्याउने मूलभूत प्रतिवद्धता गरेको छ ।

हाल विश्वको विकास प्रक्रिया एसडिजी २०३० को रोडम्याप अनुसार अघि बढीरहेको छ र नेपाल यसको पक्ष राष्ट्र हो । विकासमा सबैलाई समावेस गर्न र विकास प्रक्रियाको उपयुक्त कार्यानवयन र मूल्याङ्कन गरी लक्ष्य हासिल गर्न सही, ताजा, वृहद, रचनात्मक, समावेशी तथा अलग–अलग प्रकृतिका खुल्ला तथ्याङ्क (Open Data)हरु नै प्रमुख पूर्वाधार हो भन्ने अवधारणा राख्दै आएको एसडिजी २०३० ले सबै सदस्य राष्ट्रहरुलाई समयमै यस्ता तथ्याङ्क उत्पादन गरी सोही तथ्याङ्कका आधारमा नीति–नियम निर्माण तथा विकासका कार्यक्रमहरु अवलम्वन गर्न सुझाव तथा निर्देशन दिएकोछ । विकास प्रक्रियामा तथ्याङ्कको आवश्यकता र महत्वको महसुस सहश्राब्दी विकास लक्ष्य घोषणासंगै गरीएको थियो, तत्पश्चात विश्वव्याी रुपमा तथ्याङ्क उत्पादन प्रक्रिया, तथ्याङ्कको कुल परिमाण र विकास प्रक्रियामा यसको उपयोगमा वृद्धि भएकोछ र यस कार्यमा डिजिटल प्रविधि तथा उपकरणहरुको प्रमुख भूमिका रहदै आएकोछ जसले परम्परागत विधिबाट तथ्याङ्क उत्पादन गरीदै आइएको कठीन प्रक्रियालाई सहजता र वैकल्पिक मार्गदर्शन गरेकोछ । तसर्थ, एसडिजी २०३० कार्यानवयन पछि तथ्याङ्क क्रान्ति (Data Revolution)लाई प्राथमिकताकासाथ अघि बढाइएकोछ र यस काममा दिगो विकास तथ्याङ्क विश्व साझेदारी संस्था (जिपिएसडीडी)को नेतृत्वमा खुल्ला तथ्याङ्क सम्बन्धि विभिन्न अन्तराष्ट्रिय कार्यक्रमहरु हुदै आएकाछन् जसमा विश्वभरीका सरकार, नीजी क्षेत्र, नागरीक समाज, अन्तरराष्ट्रिय संस्थाहरु, तथ्याङ्क वैज्ञानिक तथा विश्लेषकहरु, बौद्धिक वर्ग र तथ्याङ्कमा काम गर्ने अन्य संस्थाहरु सामेल हुदै आइरहेका छन् । मानव कल्याण तथा वातावरण संरक्षणमा तथ्याङ्कमा आधारित विकासका कार्यक्रमहरुको कार्यानवयन र प्रभावकारीता बढाउन तथ्याङ्कको प्रयोग विभिन्न ढाँचाबाट गरीएकोछ जस्तै खुल्ला तथ्याङ्क, वृहद तथ्याङ्क, सही तथ्याङ्क, सरकारी, समावेसी, अलग–अलग, रचनात्मक तथ्याङ्क आदि ।

के हो खुल्ला तथ्याङ्क (Open Data)?

यो त्यस्तो तथ्याङ्क हो जसलाई उपलब्धताकालागि तोकीएका प्रक्रियाहरुको अनुसरण गरी जो कोहिले बिना कुनै मूल्य स्वतन्त्र रुपमा सुचना तथा ज्ञान उत्पादन गर्ने उदेश्यले प्रयोग, पुनःप्रयोग र वितरण गर्न सक्छ । तथ्याङ्कले कुनैपनि मुद्यामाथि वहस गर्न उत्प्रेरित गर्छ र त्यस्तो वहसले नीति निर्माण तथा कार्यानवयनमा योगदान तथा नेतृत्व गर्छ । प्रभावकारी सरकारी नीति तथा योजना निर्माणमा गुणस्तरीय तथ्याङ्क र तथ्याङ्क व्यवस्थाको महत्वपूर्ण भूमिका रहन्छ र प्रभावकारी कार्यक्रमहरु(तथ्याङ्कमा आधारीत)द्धारा राज्य तथा अर्थतन्त्रलाई प्रगतिशील र अझ समावेशी बनाउन तथ्याङ्क शक्तिशाली हतियार हो । समग्रमा, खुल्ला तथ्याङ्कले दिगो विकासको सम्भावना अझ बढाउँछ र तथ्याङ्क क्रान्तिद्धारा एसडीजी २०३० को लक्ष्य र प्रतिवद्धता क्रमशः हासिल हुनेक्रममा अघि बढीरहेका छन् ।
केहि दशक यता विश्वमा दिगो विकास प्रक्रियालाई तीव्रता दिन र प्रभावकारी उपलब्धि हासिल गर्न तथ्याङ्क क्रान्तिको अभियान चलिरहेको छ र यसक्रमलाई अघि बढाउन एसडिजी २०३० का सदस्य राष्ट्रका सरकारहरुले जतिसक्दो समयमै सही, ताजा, वृहद, रचनात्मक, समावेशी तथा अलग–अलग प्रकृतिका तथ्याङ्कहरु खुल्ला सरकारी तथ्याङ्क (Open Government Data) शिर्षकमा उपलब्ध गराइरहेका छन् जसले विकास प्रक्रियाहरु सहज ढंगबाट अघि बढाउन मद्धत मिलेको छ । नेपालमा पनि तथ्याङ्क क्रान्तिबारे वहस र काम भैरहेको छ र नेपाल सरकार, केहि निजी क्षेत्रका संस्थाहरु र गैर सरकारी संस्थाहरु जिपिएसडीडीका साझेदार रहेका छन् । विश्व खुल्ला तथ्याङ्क सुचकका अनुसार खुला तथ्याङ्क उपलब्धताको श्रेणीमा विश्वमा नेपाल क्रमशः सन २०१३, २०१४, २०१५ र २०१६ मा ५२औं, ६३औं, ६१औं, ६९औं स्थानमा रहेको थियो । खुल्ला तथ्याङ्क विकासमा नेपालको प्रगती सन्तोषजनक छैन । जिपिएसडीडीले नेपाल खुल्ला तथ्याङ्क सुचकको श्रेणीमा अघि बढ्न नसक्नुमा तथ्याङ्क साक्षरतामा कमी, दिगो विकासमा तथ्याङ्कको महत्व र भूमिका नबुझ्नु तथा उदासीन हुनु, समयमै सही तथ्याङ्क संकलन गर्न आर्थिक तथा मानवीय श्रोतको अभाव, डिजिटल प्रविधि तथा उपकरण र प्राविधिज्ञहरुको अपर्याप्तता, राजनीतिक इच्छाशक्तिमा कमी, सामाजिक तथा सांस्कृतिक कठीनाईहरु आदि औंल्याएको छ । तथ्याङ्क विज्ञहरुका अनुसार, नेपालमा सरकारको नेतृत्व तह, स्थायी सरकार मानिने कर्मचारीतन्त्र, वौद्धिक वर्ग तथा नागरीक समाजमा तथ्याङ्क नै विकासको प्रमुख पूर्वाधारहरु मध्य एक हो र दिगो विकास लक्ष्य हासिल गर्न खुला तथ्याङ्कले अभुतपूर्व योगदान पुर्याउन सक्छ भन्ने अवधारणा बुझ्नेको संख्या न्युन रहेकोछ, यसलाई नोभेम्बर २०१७ मा ओपन नलेज नेपालद्धारा आयोजीत खुल्ला तथ्याङ्क जागरण कार्यक्रममा गरीएको सर्भेले पनि पुष्टि गरेकोछ । सर्भेको तथ्याङ्कले १९% सहभागीहरुले खुल्ला तथ्याङ्कबारे थाहा पाएको, ५% ले सुनेको र ७६% ले नसुनेको बताएका थिए । यसकारण, अव यो बुझ्नु आवश्यक छ कि मुलुकको आर्थिक–सामाजिक रुपान्तरण गर्न र दिगो विकास लक्ष्य हासिल गर्न राज्यका सबै तह तथा जिम्मेदार निकाय, निजी क्षेत्र, नागरीक समाज तथा नागरीकहरुमा विकासमा तथ्याङ्कको महत्व र प्रभावकारीताबारे जागरण गराउनुका साथै समयमै उत्पादीत सही र रचनात्मक तथ्यांङ्कमा आधारीत नीति निर्माण र विकासका कार्यक्रमहरुको कार्यानवयनलाई उच्च प्राथमिकता दिइनु पर्छ । राजनीतिक शंक्रमणकालबाट आर्थिक शंक्रमणकालमा प्रवेश गरेको नेपालले विकासको यो अन्तरराष्ट्रिय मोडललाई बुझेर समयमै उपयुक्त कदम चाली विषयगत क्षेत्रका जानकार, वौद्धिक तथा युवा वर्गको साथ र सहयोगमा यो अवसरलाई आफ्नो अनुकुल उपयोग गर्न सके समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा नेपालले अभूतपूर्व छलाङ मार्न सक्छ र यस कामकालागि यो नै अनुकुल समय हो ।
तथ्याङ्क क्रान्तिले सन २०१५ मा तथ्याङ्कको प्रभावकारीता प्रोजेक्ट सम्पन्न गरेको थियो जसमा विश्वका विकसित तथा विकासशील मुलुकहरुमा विभिन्न समयमा गरीएका ८८ वटा केश स्टडीहरु समावेस गरीएका थिए । स्वास्थ्य, शिक्षा, कृषि, वातावरण, सेवा, अपराध जस्ता मानव कल्याण तथा वातावरण संरक्षणका क्षेत्रहरुमा सही, रचनात्मक र उच्च गुणस्तरीय तथ्याङ्कमा आधारीत भएर यि केश स्टडीहरु गरीएका थिए । कुल ८८ वटा केश स्टडीहरु मध्य १६ वटा सफल, प्रभावकारी र विश्वकै लागि उदाहरणीय भएका थिए भने केहि औषत सफल भएका थिए र केहि विविध कारणले असफल भएका थिए । तथ्याङ्क क्रान्तिको रिपोर्टले यस्ता प्रोजेक्टहरु सफल हुनुमा सरकारको सहयोग, राजनीतिक इच्छाशक्ति र साधन स्रोतको पर्याप्तता थियो भने असफल हुनुमा यिनै तत्वहरुको अभाव औंल्याएको थियो, तसर्थ यसले विकासकालागि उच्च गुणस्तरीय तथ्याङ्क मात्र पर्याप्त नहुने निष्कर्ष निकालेको थियो । तथ्याङ्कको उच्च प्रभावकारीताका कारण सफल प्रोजेक्टका प्रभावकारी उपलब्धिहरु विकासका मोडल कहलिए र हाल विश्वभरी अनुसरण हुने क्रममा छन्, यि मध्य केहिको अनुसरण नेपालले पनि गर्यो (मापसे नियन्त्रण), केहि गरीने क्रममा छन् (डिजिटल सडक म्याप तथा ट्राफिक व्यवस्थापन) र केहि मोडलहरुको अनुसरण अपराध नियन्त्रण (वलत्कार, अपहरण, हत्या, हिंसा), वातावरण प्रदुषण नियन्त्रण जस्ता समवेदनशील क्षेत्रहरुमा गर्न सकिन्छ । एकदशक यता विश्वमा गरीएका केहि सफल केश स्टडीहरु निम्न छन्ः
 कोलम्वियाको काली शहर मानव हिंसा, अपहरण र हत्याका कारण विश्वका खतरनाक १० शहरमा पर्दथ्यो, हरेक एकलाखमा १२० जना मारीन्थे, हत्या मृत्युको प्रमुख कारण बनेको थियो र यसो हुनुमा लागूपदार्थ कोकीनको कारोबार प्रमुख कारण रहेको आम बुझाई थियो । समाधानका लागि काली शहरका मेयरले हिंसा, अपहरण र हत्याबारे मुख्य कारण पत्ता लगाउन र बिस्तृत जानकारी लिन गुणस्तरीय तथ्याङ्क उत्पादनकालागि पुलिस प्रसासन, अस्पताल र स्थानीय अदालतबाट हरेक हप्ता तथ्याङ्क संकलन गराए र तथ्याङ्कमा आधारीत अपराध नियन्त्रण कार्यक्रम ल्याए । तथ्याङ्कले धेरैजसो हिंसा, अपहरण र हत्या साताको अन्त्यमा, विदाको दिन र तलव बुझ्ने दिन हुने गरेको; ५०% भन्दा बढी हत्या बारमा हुने गरेको, र ८०% भन्दा बढी हत्या बन्दुकबाट हुने गरेको देखाएको थियो । नियन्त्रणकालागि मेयरले नीतिमै परिवर्तन ल्याई साताको अन्त्यमा र विदाको दिनमा बन्दुक बोक्न नपाइने र राती दुई बजेपछि मादकपदार्थ बेच्न प्रतिबन्ध लगाए । यसको केहि महिना पछि अपराध ३५% र तीन वर्षमा ५०% ले घटेको थियोे ।

 त्यस्तै, नामिबियामा मलेरीया महामारी नियन्त्रण गर्नकालागि गुणस्तरीय तथ्याङ्कका आधारमा तय गरीएको नीति तथा कार्यक्रमको प्रभाकारीताका कारण सात वर्षमा ९८% रोग नियन्त्रणमा आएको थियो । तथ्याङ्क संकलनमा अनुसन्धानको नयाँ अवधारणा तथा अत्याधुनिक प्रविधि स्याटलाईट र स्मार्ट फोनको प्रयोग गरीएको थियो । स्याटलाईटबाट लिइएका तस्वीरहरुको सहयोगमा महामारी फैलिएका क्षेत्रहरुको जनघनत्व, भौगोलीक, हावापानी, वर्षातको अवस्था र मलेरीया फैलाउने मच्छडहरुको अवस्थाबारे र मोबाइल फोनको टावरबाट सम्बन्धित ठाऊँका जनताहरुको गतिविधिबारे सुचना लिइएको थियो । यसरी लिइएका भरपपर्दा तथ्याङ्कहरुका आधारमा नीति तथा योजना ल्याएर नियन्त्रणका उपाय र जनचेतनाका कार्यक्रम मार्फत महामारी नियन्त्रण गरीएको थियो ।
 दक्षिण कोरीयाको सिओलमा राती हिंड्ने यात्रीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले स्मार्ट फोनहरुबाट शहरको गतिविधि बुझ्न आवश्यक तथ्याङ्क संकलन गरी तथ्याङ्कका आधारमा रात्री वस अतिआवश्यक हुने स्थानहरुमा वससेवा संचालन गरी वस उपलब्ध हुने समय, स्थान र दुरीको सुचना दिने उदेश्यले एप (एपीआइ)को निर्माण गरीएको थियो, जसले नीजि सवारीको चापमा कमी, इन्धनको खपतमा कमी, यात्रीहरुको सुरक्षा (खासगरी महिलाहरुको), जनताको आयमा वचत र कार्बनडाई–अक्साइड उत्सर्जनमा कमी तथा वातावरण संरक्षणमा अन्य सकारात्मक प्रभाव पारेको थियो । अमेरीकाको लस एन्जलसमा ट्राफीक चाप व्यवस्थापनकालागि चौबाटोहरुमा अनुसन्धानको नयाँ पद्धती म्याग्नेटीक सेन्सरको प्रयोगबाट संकलित तथ्याङ्कको आधारमा ट्राफीक सिग्नलहरुको समय निर्धारण गरी यातायात सहज गराउन सफलता मिलेको थियो । त्यस्तै, केन्याको नैरोवीमा स्मार्ट फोनहरुबाट शहरको गतिविधि बुझ्न आवश्यक तथ्याङ्क संकलन गरी तथ्याङ्कका आधारमा दैनिक यात्रा गर्ने ३५ लाख यात्रीहरुकालागि सजिलै बाटो र बसस्टप पत्ता लगाउन डिजिटल सडक नक्शा तयार पारी प्रदान गरीएको सेवा प्रभावकारी भएको थियो ।
 यसकासाथै, अनुसन्धानको अर्को अत्याधुनिक प्रविधि अन्तरीक्षबाट गरीने पृथ्वी अवलोकन (ईओ) पद्धतीबाट पृथ्वीमा आईपर्ने प्राकृतिक बिपत्तीहरु सामुद्रीक आँधी, बाढी, पैरो, वन डढेलो, सुख्खा, मरुभूमिकरण आदिको न्युनीकरण तथा रोकथाममा विश्वभरी अभुतपूर्व रुपमा कामहरु भइरहेका छन् । यो प्रविधिले पृथ्वीमा भइरहेका गतिविधिहरुको हाई रीजोलुसन फोटो तथा भिडियो खीची तथ्याङ्कको रुपमा पठाउँछ र विशेषज्ञहरुले यही तथ्याङ्कका आधारमा बिपत्ती न्युनीकरणकालागि सुचना वितरण तथा कार्यक्रहरु ल्याउने गर्दछन् ।
मानव कल्याण तथा वातावरण संरक्षणमा गरीएका यस्ता अध्ययनहरुले यो पुष्टी गर्छन् कि गुणस्तरीय तथ्याङ्क उत्पादनका विभिन्न चुनौतीहरुका वावजुद डिजिटल प्रविधि तथा उपकरणहरुमा भएको उच्च विकास र व्यवहारमा तिनको ब्यापक उपयोगका कारण तथ्याङ्कमा आधारीत विकास तथा परिवर्तन सम्भव भएकोछ । रुपान्तरणको अभियानमा अघि बढीरहेको नेपालले पनि यस्ता प्रभावकारी अन्तराष्ट्रिय मोडलहरुको सिको गरी गुणस्तरीय तथ्याङ्क संकलनद्धारा समस्याको मूल कारण पत्ता लगाएर तथ्याङ्कमा आधारीत नीति तथा कार्यक्रमहरु कार्यानवयनमा ल्याइ मानव कल्याण तथा वातावरण संरक्षणको क्षेत्रमा परीवर्तनकारी काम गर्नसक्छ । खासगरी, समाजमा बढ्दै गइरहेका बलत्कार, अपहरण, हत्या, हिंसा जस्ता अमानवीय आपराधिक घटनाहरुमा कडाइकासाथ यस्ता प्रभावकारी मोडलहरुको अनुसरण गर्नु जिम्मदार निकायको उत्तरदाइत्व र बदलिदो समय तथा परिस्थितीको माग हो । bsirjana@gmail.com

सन्दर्भ सामग्रीहरुः

Balami, N. (2018). New survey reveals the importance of developing Nepal’s open data capacity. Open Knowledge Nepal. http://www.neekes.com.np/new-survey-reveals-the-importance-of-developing-nepals-open-data-capacity/

Balami, N. (2018). Making Nepal’s Data Accessible Perpetually through Crowdsourcing. Open Knowledge Nepal. http://www.neekes.com.np/making-nepals-data-accessible-online-perpetually-through-crowdsourcing/

Halais, F. (2017). Making satellite technologies work for sustainable development. DEVEX. https://www.devex.com/news/making-satellite-technologies-work-for-sustainable-development-90730

Hidalgo, P. (2018). Big Data for Sustainable Development: what does it take to get to the next level? UN Data Forum. https://undataforum.org/WorldDataForum/big-data-for-sustainable-development-what-does-it-take-to-get-to-the-next-level/

Open Knowledge Nepal (2017). खुल्ला डाटा पुस्तिका. Kathmandu. OKN. http://handbook.oknp.org/

Open Data Watch (2015). Data Impacts: How the data revolution is making a difference. ODW. https://dataimpacts.org/wp-content/uploads/2015/07/data-revolutions-report3.pdf

Add a Comment

Your email address will not be published. Required fields are marked *