गजल

हृदय मेरो सरस योग्य भएन खै ?
सकस मेरो परख योग्य भएन खै ?

बहुत पीडा छ दिनरात सताउने
वतन मेरो सयल योग्य भएन खै ?

सकल इच्छा मृत भए परितापले
रहर मेरो समय योग्य भएन खै ?

पर छ आशा मगनको,सुखशान्तिको
डगर मेरो समझ योग्य भएन खै ?

जति थिए हर्ष अवरुद्ध हुँदै गए
सफर मेरो प्रमद योग्य भएन खै ?

सजल पारी नयन आज रुँदैछु म
जलन मेरो सहन योग्य भएन खै ?

विरह मात्रै प्रखर भो अभिव्यक्तिमा
गजल मेरो कदर योग्य भएन खै ?

छन्द – महालङ्गुर
सूत्र – lll SSl llS llS lS
गण – न त स स ल.गु.
विश्राम – ५ र ९ अक्षरमा

Add a Comment

Your email address will not be published. Required fields are marked *