गजल

नियतिको छल रहेछ जिन्दगी
विरहको पल रहेछ जिन्दगी

थिलथिलो छ अति तीक्ष्ण चोटले
विवश ओखल रहेछ जिन्दगी

दिनदिनै भल बहन्छ आँसुको
फगत घायल रहेछ जिन्दगी

जति गरे पनि पुगिन्न लक्षमा
बहुत दुर्बल रहेछ जिन्दगी

स्थिर हुँदैन मन दुक्ख दर्दले
अधिक चञ्चल रहेछ जिन्दगी

असल काम पनि भुल्छ लोकले
फजुल कौशल रहेछ जिन्दगी

विकल हुन्छ परितापले सधैँ
असजिलो हल रहेछ जिन्दगी

घृणित हुन्छ मद सिद्धियो जब
अरख बोतल रहेछ जिन्दगी

समय दिन्छ हर रोज यातना
सकसको थल रहेछ जिन्दगी

हिमचुलीसरि चुलिन्छ वेदना
नभन ‘कोमल’ रहेछ जिन्दगी

प्रियंवदा छन्द
४ अक्षरमा विश्राम

One Comment

Leave a Reply to अरबिन्द सिंह लामा Cancel reply

Your email address will not be published. Required fields are marked *