तिम्रो र मेरो एउटै हो देश
|सेतो हिमाल हरियो पहाड
र, रंगीचंगी फूल फुलेको
समतल्ल तराई
तिम्रो मात्र होइन, मेरो पनि हो–
हिउँ पग्लेर बनेको
खोल्सो, खोला अनि नदी,
बरफ फुटेर उमे्रको
मृत सञ्जीवनी बुटी,
आकाश छेड्लाजस्तो अग्लो
सल्लो, साल र देवदारको रुख
तिम्रो मात्रै होइन मेरो पनि हो–
किनकि, नेपाल बसेकै कारण
नेपाली तिमीमात्र होइनौ
देश छाडेर बाहिरिएको विश्वभर पुगेको
नेपाली म पनि हुँ ।
दशैँमा नेपालमा नहुँदा
तिमीलाईभन्दा मलाई दशैँ बढ्ता दुख्छ–
तिमी बिजुली किन्न नदी बेचिरहेछौ
मरुभूमिको रापले भन्दा मलाई
देशको प्यासमा घाँटी सुक्छ
तिमी मीठा भाषण गर्छौ, मलाई पगाल्छौ
म पग्लिन्छु, आशा र आकांक्षामा अग्लिन्छु
स्कुलबाट कलेज पुग्छु,
शैक्षिक प्रमाणपत्रले दराज भर्छु
जागिरमा आवेदन गर्दागर्दै थाकेर
जब साँझ फर्कन्छु,
फेरि तिम्रै रेमिटेन्सको भाषणले फुर्कन्छु ।
देशमा कतै नबिकेका प्रमाणपत्रहरु
कतै कोचेर थाकेको मलाई
वैदेशिक रोजगारीको आकर्षण र
उच्च शिक्षा पाउने आशा देखाएर
तिमी मेरो कठालो समातेर विमानमा हुलिदिन्छौ
र, पर्खिरहन्छौ
तिम्रो बजेट सन्तुलित बनाउन मेरो कमाइ–
नखाएर, नपिएर, प्यासिएर, पिल्सिएर
म थोपाथोपाले घैलो भर्छु
एकएक पलको कमाइ देशमा पठाउने ध्याउन्नमा हुन्छु,
तिमी मूलबाट धारामा पानी बाँडेझैँ
मालपोत बढाएर, महंगी चर्काएर
गुण्डा साथ लाएर, चन्दा उठाएर
मेरो पसिनाका थोपाथोपा
उठौती उठाउँदै, महल ठड्याउँदै
तिमी रातारात सडकबाट सदन
सदनबाट सरकारमा उफ्रँदै
सम्मानित भनाउन पुगेका छौ
पैसाको साथमा पदको दुरुपयोग गर्दै
तिमी आफूलाई सच्चा नेपाली
र मलाई,
पलायनवादी आरोप लगाउन पुगेका छौ ।
म विदेशबाट घोटिएर देशको गाथा गाइरहेको छु
तिमी देश डकारेर रेमिट्यान्सको गीता
भट्याइरहएका छौ
यता म पग्लिएर, चेप्टिएर गन्दै छु
देश फर्कने साइत हर निमेश,
गलहत्याएर नपुगी परैबाट
लात हान्ने प्रयास नगर मलाई
तिम्रो र मेरो एउटै हो देश ।
Ati sundar rachana. Man chhoyo sanbuwa.
Thank You for your inspirational comment.