गजल


प्रेम रैछ जिन्दगी प्रेम रैछ धड्कन
प्रेम रैछ चाहना प्रेम स्वच्छ आँगन

त्राण दिन्छ प्रेमले दर्दमा,विपत्तिमा
चन्द्र सूर्य जत्तिकै टिक्छ प्रेमबन्धन

दूर भाग्छ प्रेममा पीर ताप,वेदना
दिन्छ हर्ष प्रेमले प्रेममा छ ओजन

प्रेम हो हराभरा प्रेम हो वसुन्धरा
प्रेम हो सुवासना प्रेम सौम्य कानन

प्रेम झल्ल दीप हो अन्धकार नाशने
प्रेम ज्योतिपुञ्ज हो प्रेम दीप्त रोशन

झाङ्गिदैन अज्ञता प्रेमका समीपमा
प्रेम ज्ञानचक्षु हो प्रेममा छ चिन्तन

बढ्छ वृक्ष प्रेमको स्नेहले र साथले
छर्छ शान्ति प्रेमले साम्य गर्छ रोदन

प्रेममा छ वन्दना प्रेममा छ साधना
क्लेश हुन्न प्रेममा प्रेम हुन्छ पावन

प्रेम हो सहायता,प्रेम शुद्ध मित्रता
भै बहार प्रेमले हर्छ कष्ट,उल्झन

हुन्न रोष प्रेममा हुन्न तुच्छ लाञ्छना
प्रेम हो सुभावना प्रेममा छ शोभन

(मञ्जुला छन्द)
४ र ७ मा विश्राम

Add a Comment

Your email address will not be published. Required fields are marked *