डेलावरमा बालबालिकाहरुको लागि नेपाली कक्षा संचालन
|अमेरिकाको डेलावर राज्यमा अमेरिकामा रहेका नेपाली भाषीहरुका छोराछोरीहरुका लागि नेपाली भाषा कक्षा संचालनमा आएको छ ।
गत डिसेम्बर १५ बाट सुरुभएको सो कक्षामा ३० जना भन्दा बढी बिद्यार्थीहरु पठन पाठन गर्दैछन ।
नेपाली पढ्नको लागि डेलाबर मात्रै नभई छिमेकी राज्यहरु पेन्सिलभेनिया तथा मेरिल्याण्डदेखि बालबालिकाहरु आउने गरेको जानकारी नेपाली कक्षा व्यवस्थापकहरुमध्येका एक शैलेन्द्र देवकोटाले नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ ।
दुईवटा कक्षा रहेका पाठशालामा दुई सत्रमा बाडिएको छ । पहिलो सत्रमा नेपाली पाठ्य पुस्तकमा आधारित रहेर पाठन तथा दोस्रो सत्रमा अतिरक्त रमाइला कार्यक्रम (खेल, बालकथा, गीत आदि) समाबेश गरिएका छन् । पाठशालमामा अनिरा कंडेल, सपना देबकोटा, मंजु पाण्डे, शोभा श्रेष्ठ , प्रमिला पौड्याल, मुना गैरे तथा अन्य अतिरिक्त स्वयंसेबकहरुको टोलीले पठन-पाठन गराउदै आएको छ भने कक्षा ब्यबस्थापन तर्फ सुनिल श्रेष्ठ , शैलेन्द्र देवकोटा तथा बिजय गैरे लगायतको टोलीले सहयोग गर्दै आएको छ ।
पाठशालाले पठन-पाठनसँगै अन्य गतिबिधि पनि संचालन गर्दै आएको छ। यसघि क्रिसमसको अवसरमा उपहार आदान-प्रदान कार्यक्रम राखेको थियो भने तथा गत फेब्रुअरी १० तारिख विद्याकी देवी सरस्वती माताको पूजा-आराधनाको कार्यक्रम आयोजना गर्यो । कार्यक्रम महालक्ष्मी हिन्दु मन्दिर होकेसनमा आयोजना गरिएको थियो । स्थानीय मन्दिरका पुजारीबाट सरस्वतीमाताको पूजा-अर्चना गरिसकेपछि नेपाली पण्डित ओम न्यौपानेले मन्दिर परिक्रमा गर्दै सम्पूर्ण देवी-देवताको चिनारी तथा परिचय गराउनुभएको थियो ।
करिब ७० जना विद्यार्थि, शिक्षक र अबिभाबकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा फूल, प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा डा. उमेश बास्तोलाले सरस्वती मन्त्र बाचन गर्नुभएको थियो भने डा. देब जैसी , विजय गैरे लगायतले सरस्वती पूजाको महिमा र महत्व माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै शैलेन्द्र देवकोटाले बालबालिकाहरुसहित उपस्थित सबैलाई फलफूल तथा प्रसादको ब्यबस्थागर्नुहुने अबिभावकहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
पाठशालाले आगामी अप्रिलमा नेपाली नयाँ बर्ष २०७६ मनाउने कार्यक्रम राखेको छ । स्वयंसेवी अभियन्ताहरूको निरन्तर प्रयासले छोटो समयमै बालबालिकाहरू नेपाली अक्षर लेखपढ गर्न सक्ने मात्र नभएर आफ्नो खुबीसमेत नेपाली भाषामा प्रस्तुत गर्न सक्ने भएका छन ।